प्रधानन्यायाधीशका लागि वर्षौंको सेटिङ
काठमाडौं । ‘प्रकाशजी, मलाई साह्रै समस्या पर्यो । तपाईं गोपाल पराजुलीभन्दा पछि बस्न तयार हुनुहुन्छ भने म स्थायीमा सिफारिस गर्छु । अन्यथा मेरो समस्या बुझिदिनूस् ।’
आफूले पाँच वर्ष सेवा गरेको सर्वोच्च न्यायालयका प्रधानन्यायाधीशबाट यस्तो सुन्दै अपमान लाग्ने प्रस्ताव आउला भन्ने न्यायाधीश प्रकाशचन्द्र वस्तीले कल्पना गरेका थिएनन् । ‘भावी प्रधानन्यायाधीशको खेल छ, तिमीलाई हुन दिँदैनन्’ भन्ने गाइँगुइँ त उनले साथीहरूबाट सुनेका थिए । तर, पाँच वर्ष अस्थायी न्यायाधीश भइसकेको आफूलाई पुनरावेदनबाट पहिलो पटक आउन लागेका न्यायाधीशभन्दा मुनि राख्ने गरी प्रस्तावै आउला भन्ने उनलाई विश्वास थिएन ।
तर, आगामी १० वर्षसम्म मात्र होइन, त्यसपछि पनि क–कसलाई प्रधानन्यायाधीश बनाउने भन्ने खेलको सिकार हुँदै ५ वर्ष २ महिना ९ दिन अस्थायी न्यायाधीश भएर गत चैत २९ गते उनी घर फर्के । वस्तीलाई स्थायी न्यायाधीश बनाएको भए वरिष्ठताका आधारमा उनी झन्डै एक वर्ष प्रधानन्यायाधीश हुने थिए । उनीसँगै एकै दिन ०६५ माघ ९ गते नियुक्त सुशीला कार्कीले प्रधानन्यायाधीशबाट ०७४ असार २४ गते बिदा लिएपछि बस्ती ०७५ असार ९ गतेसम्म प्रधानन्यायाधीश हुने निश्चित थियो । एक अधिवक्ता भन्छन्– ‘त्यही बुझेर उनलाई रोकिएको हो ।’
न्यायपालिकाभित्र दक्ष र इमानदार छवि बनाएका वस्तीसँगै डा. भरतबहादुर कार्की, ज्ञानेन्द्रबहादुर कार्की र तर्कराज भट्टराई पनि उमेर भएर समेत स्थायी नियुक्ति गरिएन । यसमा न्यायपरिषद्को आफ्नै तर्क छ । ‘अहिले पुनरावेदनका मुख्य न्यायाधीशबाट मात्रै सिफारिस गरिएकाले उहाँहरू पर्नुभएको होइन’– सदस्य खेमनारायण ढुंगाना भन्छन्– ‘हामी त्यसबाहिरको क्राइटेरियामा गएनौं ।’ तर, बारका उपाध्यक्ष टीकाराम भट्टराई भने त्यस तर्कसँग सहमत छैनन् । उनी भन्छन्– ‘यसमा परिषद्को नियत नै सफा देखिएन । उहाँहरूले जे जसरी सिफारिस गर्नुभएको छ, त्यसबाट न्याय क्षेत्रमा गम्भीर आँच पुगेको छ ।’
एक महिनाका लागि महाभारत
प्रधानन्यायाधीशसमेतले बाध्य भएर नाम लिनुपरेका गोपाल पराजुली जम्माजम्मी तीन महिना प्रधानन्यायाधीश बन्नेछन् । ०४८ कात्तिक १८ गते वकिलबाट सिधै पुनरावेदनको न्यायाधीशमा नियुक्त स्याङ्जाका पराजुली त्यसअघि क्याम्पस पढ्दा नेविसंघका केन्द्रीय सदस्य थिए । अहिले उनका लागि यति धेरै मरिहत्ते गर्नुलाई न्यायालयभित्रको राजनीतिका रूपमा लिइएको छ । सुशीला कार्कीले अवकाश पाएपछि २४ असार ०७४ मा प्रधानन्यायाधीश हुने रोलक्रममा रहेका उनले ६५ बर्से उमेरहदका कारण २७ दिनमै २१ साउनमा अवकाश पाउनेछन् । पराजुलीपछि दीपकराज जोशी झन्डै दुई वर्ष प्रधानन्यायाधीश बन्नेगरी क्रम मिलाइएको छ । उनलाई ०४८ सालमा पुनरावेदनमा नियुक्त गर्दा पनि वकालत गरेको १० वर्ष नपुगेका कारण न्यायपरिषद्को बैठक एक महिना ढिला गरिएको सम्झना न्याय क्षेत्रमा भइरहेको छ ।
चोलेन्द्र सबभन्दा बढी
न्याय सम्पादनमा लापरबाही गरेको र पूर्वाग्रह गरेको भन्दै सर्वोच्च अदालतबाटै न्यायिक नोटिसमा लिन आदेश दिइएका चोलेन्द्रशमशेर राणा सर्वोच्चमा तीन वर्षभन्दा बढी प्रधानन्यायाधीश बन्नेछन् । ०५३ वैशाख १ गते पुनरावेदन अदालतको न्यायाधीश नियुक्त राणा २४ असोज ०७६ बाट ०७९ सम्म प्रधानन्यायाधीश हुने गरी क्रम मिलाइएको छ ।
को कहिले बिदा ?
सर्वोच्चमा आठ नयाँ नियुक्त भएमा १२ मध्ये ६ जना प्रधानन्यायाधीश भएर बिदा हुनेछन् भने ६ जना नभएरै बिदा हुनेछन् । यसरी बिदा हुनेमा गिरिशचन्द्रलाल सबभन्दा पहिला २१ पुस ०७२ मा बिदा हुनेछन् भने त्यसपछि गोविन्दकुमार उपाध्याय १५ कात्तिक, ०७३ मा बिदा हुनेछन् । त्यसपछि क्रमश: वैद्यनाथ उपाध्याय १ माघ ०७३ मा, जगदीश शर्मा पौडेल २२ असार ०७४ मा, देवेन्द्रगोपाल श्रेष्ठ २ साउन ०७४ मा र ओमप्रकाश मिश्र १८ पुस ०७५ मा बिदा हुनेछन् ।
वकिललाई बाँकी
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित १५ स्थायी न्यायाधीश राख्न सकिन्छ । हाल चार जना छन् भने न्यायपरिषद्ले ८ जना मात्रै सिफारिस गरेको छ । बाँकी २ जनामा वकिलबाट नियुक्त गर्ने समझदारी काउन्सिलमा भएको छ । त्यसमा पनि हाल परिषद्का सदस्य रहेका वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले आँखा गाडेको चर्चा वकिलहरूबीच छ । स्रोतका अनुसार वकिलहरूमध्येबाट जाँदा कांग्रेसका तर्फबाट आफू पर्ने र चोलेन्द्रशमशेरपछि प्रधानन्यायाधीश बन्ने गरी योजना बनाएको आरोप उनीमाथि लागेको छ ।
को–को थिए प्रतिस्पर्धामा ?
यस पटक सर्वोच्चको न्यायाधीश बन्नका लागि सिफारिस भएका आठ जना न्यायाधीशले धेरै चर्को प्रतिस्पर्धा नै गर्नुपरेन । अहिले पुनरावेदन तहमा रहेका ९७ स्थायी न्यायाधीशमध्ये जम्मा १९ जनाको मात्रै सर्वोच्चमा आउने योग्यता पुगेको थियो । पुनरावेदन तहमा ७ वर्ष काम गरिसकेको न्यायाधीश मात्रै सर्वोच्चमा आउन सक्ने प्रावधान छ । अहिले सिफारिस भएका मध्ये ६ जना वैधनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्द उपाध्याय, ओमप्रकाश मिश्र र देवेन्द्रगोपाल श्रेष्ठ पुनरावेदनका मुख्य न्यायाधीश थिए भने चोलेन्द्रशमशेर राणा र जगदीश शर्मा पौडेल कायममुकायम मुख्य न्यायाधीश थिए । योग्यता पुगेका अन्य न्यायाधीशमा एकराज आचार्य (मुख्य न्यायाधीश), का साथै बलराम विष्ट, दीपकुमार कार्की, तेजबहादुर केसी, केदारप्रसाद चालिसे, पुरुषोत्तम भण्डारी, सुरेन्द्रवीर सिंह बस्न्यात, शम्भुबहादुर खड्का, गिरीराज पौड्याल, शारदाप्रसाद घिमिरे, पोषनाथ शर्मा, मीरा खड्का, बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान थिए ।
सम्धी भन्दै सत्तोसराप
न्यायाधीश सिफारिसका बारेमा पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीले दिएको कडा अभिव्यक्तिप्रति काउन्सिल स्रोतले चर्को असन्तुष्टि जनाएको छ । काउन्सिलका अध्यक्ष तथा प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो– ‘प्रधानन्यायाधीश भइसकेको मानिसले बारभन्दा पनि अघि बढेर अदालतप्रति नै अनास्था फैलाउने गरी प्रतिक्रिया दिनु शोभनीय होइन ।’ थप भनाइ छ– ‘यो कारण हामीलाई थाहा छ ।’ त्यस्तो कारण रहेछ– वरिष्ठतामा छ नम्बर हुँदाहुँदै पनि न्यायाधीश बन्नबाट वञ्चित भएका पुनरावेदन जुम्लाका मुख्य न्यायाधीश एकराज आचार्य नाताले रायमाझीका सम्धी हुन् । ‘आफ्नो मानिस परेन भनेर यति विरोध गर्न सुहाउँदैनथ्यो’– स्रोतले भन्यो ।
बक्स
को कहिले बन्छन् प्रधानन्यायाधीश ?
रामकुमार साह – २४ असोज २०७१
कल्याण श्रेष्ठ – २४ असार २०७२
सुशीला कार्की – १ वैशाख २०७३
गोपाल पराजुली – २४ असार २०७४
दीपकराज जोशी – २१ साउन २०७४
चोलेन्द्र शम्शेर राणा – २४ असोज २०७६
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply