किशोर नेपालको मनमौजी समय
नेपाली पत्रकारितामा अग्रज पत्रकारहरूको नाम लिनुपर्दा किशोर नेपालको नाम कसैले छुटाउन सक्दैन । वरिष्ठ पत्रकार त अरू पनि छन्, तर नियमित लेख्ने सक्रिय पुराना पत्रकारमध्ये उनको समकक्षमा उभिने अर्को पत्रकार छैन । राजनीति र पत्रकारिता दुवैमा लाग्नुभन्दा पहिल्यै परिवर्तनको हुटहुटीले अपरिचित भारतीय नेता राममनोहर लोहियालाई पत्र लेखेबापत जेल परेका किशोर नेपालको उतार–चढावयुक्त रोचक कथा ‘मेरो समय’मा पढ्न पाइन्छ । अरूलाई चाहिँ कत्तिको उपयोगी हुन्छ, भन्न नसकिए पनि पछिल्ला पुस्ताका पत्रकारका लागि भने उनको पुस्तक पञ्चायतीकालको पत्रकारिताको ऐनाभन्दा फरक पर्दैन । हरेक मामिलामा स्वतन्त्र दृष्टिकोण राख्ने, मनमौजी जीवन शैली अपनाउने र भोलिभन्दा आजको बढी चिन्ता गर्ने किशोर नेपालले राजनीतिमा जम्न नसकेको र पत्रकारितामा सधैं संवाददाता शैलीको जीवनकथालाई पुस्तकमा उनेका छन् ।
पक्कै पनि, आत्मकथामा लेखक केन्द्रमा हुन्छ, उसको आँखाबाट गुज्रिएको समयलाई उसले समात्छ र आत्मकथा पढ्नुभन्दा पहिला पाठकले त्यसका लागि तयार हुनुपर्छ । तर, पत्रकार भएका कारण किशोर नेपालको समयले धेरैलाई छोएको छ । काठमाडौंको उच्च वर्गदेखि भारत प्रवासको कहालीलाग्दो जीवनसमेत उनको ऐनाबाट देख्न सकिन्छ । आत्मकथा लेख्दा लेखक बढी आत्मकेन्द्रित हुनु स्वाभाविक भए पनि त्यस्तो सूचनालाई आंशिक रूपमा आफ्नो पक्षमा प्रयोग मात्र गर्नुलाई चाहिँ राम्रो मानिँदैन । किशोर नेपाल यसमा कति इमानदारीपूर्वक उभिएका छन्, उनलाई नजिकबाट जान्ने समकालीन वा पुस्तकमा आएका कतिपय पात्रहरूले अझ बढी दाबीका साथ भन्न सक्लान् । तर, किशोर नेपाल वरिपरि घुमेको समय संघर्ष र मोजमस्ती दुवैको संगम रहेछ भन्ने कुरा यस पुस्तकबाट थाहा पाउन सकिन्छ( ।
सहरमा किशोर नेपालका बारेमा अनेक किस्सा सुनिन्छन् । उनी आफैंले पनि त्यस्ता कतिपय प्रसंगहरूतर्फ संकेत गरेका छन् । उमेर जति भए पनि, हातमा कुनै सञ्चारमाध्यम भए पनि नभए पनि स्त्री, सोमरस र द्रव्यका मामिलामा उनलाई अर्को कसैले भेटाउन सक्दैन भन्ने सुनिन्छ । तर, उनको पुस्तकमा एक पटक अमेरिका पुगेका बेला भेटिएर आफ्नै कोठामा जाउँ भन्ने स्त्रीबाहेक अर्को कुनै त्यस्तो घटना उल्लेख छैन ।
एउटा लेखकका रूपमा किशोर नेपाल जहिले पनि संस्थापनका विरुद्धमा उभिएका छन् । तर, पत्रकारिता गरे पनि त्यसभन्दा धेरै रुचि र सरोकार राख्ने राजनीतिमा उनी आफ्नो विचारधाराका संस्थापन बन्न सधैं आतुर देखिन्छन् । चाहे पञ्चायतकालमा बीपी कोइरालाको प्रेस सहायक बन्नु होस् वा पछि शेरबहादुर देउवाको प्रेस सल्लाहकार बन्न असफल हुँदा र कृष्णप्रसाद भट्टराईको प्रेस सल्लाहकार बन्न सफल हुँदा होस्, उनी स्वयम् चाहिँ सत्ता र शक्तिको वृत्तबाट टाढा हुन चाहँदैनन् । उनले एउटा कुरा नलुकाई लेखेका छन्, गिरिजाप्रसाद कोइरालाको त्यति आलोचक हुनुमा कोइराला प्रधानमन्त्री बन्दा उनलाई केही पद नदिनु नै मुख्य कारक रहेछ ।
एक जना लेखकका रूपमा किशोर नेपाल जति सफल वा बलियो मानिन्छन्, सम्पादकका रूपमा त्यस्तो मानिँदैनन् । उनको आफ्नै स्वभावले पनि होला, उनी धेरै समय एकै ठाउँमा बसेर काम गर्न सक्दैनन् भन्ने विवरण उनकै पुस्तकले पनि दिन्छ । ‘देशान्तर’ स्थापनाको कथा होस् वा ‘नयाँ सडक’को आरम्भ र अन्त्यको विवरण होस्, किशोर नेपाल त्यसमा सफल देखिँदैनन् । अझ विडम्बनाको कुरा, जोसँग पहिला उनको मित्रता हुन्छ र सहकार्य सुरु हुन्छ, त्यहीसँग उनको पछि नराम्रो सम्बन्ध हुँदोहरेछ । ‘देशान्तर’का बन्धु थापा त्यसका अन्तिम उदाहरण होइनन् ।
किशोर नेपाल पत्रकारिता र राजनीतिमा केही मानिसहरूबाट असाध्यै प्रभावित देखिन्छन्, जुन अस्वाभाविक होइन । बीपी कोइरालाभन्दा कृष्णप्रसाद भट्टराईसँग उनी विशेष प्रभावित रहेछन् । पञ्चायतका कठिन दिनमा भारतमा गोली हानी सरोजप्रसाद कोइरालाको हत्या गरेको खबर सुन्दा उनी जति मर्माहत देखिन्छन्, त्यति अरू घटनामा छैनन् । त्यस हत्याको रहस्य आजसम्म नखुलेको भन्दै उनले केही गम्भीर संकेत पनि गरेका छन् । सूर्यप्रसाद उपाध्यायसँगको सानिध्यलाई पनि उनले राम्ररी उपयोग गरेका छन्, जो भारत र दरबारसँग निकट व्यक्तिका रूपमा सर्वपरिचित थिए । पत्रकारितमा उनी चन्द्रलाल झालाई मानक नै मान्दारहेछन् भन्ने पुस्तकमा व्यक्त विभिन्न प्रसंगहरूले दर्शाउँछन् । किशोर नेपालको पहिलो कृति
(रिटर्न अफ दि रेड रोजको नेपाली अनुवाद) दैनिक नेपालका सम्पादक इन्द्रकान्त मिश्रको सहयोगमा भारतीय दूतावासको रकमबाट छापिएको रहेछ भन्ने जानकारी पुस्तकले दिन्छ । एकातिर पञ्चायत सत्तासँग लड्ने अनि कुनै न कुनै रूपमा मरिचमान सिंह, लोकेन्द्रबहादुर चन्द, कमल थापा जस्ता त्यसका हस्तीबाटै सहयोग प्राप्त गर्ने किशोर नेपालको कलालाई पनि मान्नैपर्दछ ।
पञ्चायत व्यवस्थाले किशोर नेपाललाई जति दु:ख दियो, सायद त्यही जगमा नै उनको आजको व्यक्तित्व बनेको छ । राज्यबाटै ज्यानमाथि खतरा रहेको सूचना पाएर भाग्दा होस् वा पटक–पटक गिरफ्तार हुँदा होस्, प्रजातन्त्रप्रतिको उनको आस्थामा आँच आएको देखिँदैन । प्रवासका कठिन दिनहरूदेखि देशभित्र अराष्ट्रिय तत्व भनेर हेलाँहोचो गरिने बेला तयार भएको किशोर नेपालको कांग्रेसी पृष्ठभूमिले उनी दैनिक अखबारमा काम गर्दा पनि छोडेको देखिँदैन । जस्तो– आफू कान्तिपुर दैनिकमा गएपछिको अवस्थाका बारेमा उनी लेख्छन्– ‘…कान्तिपुरले देउवालाई सघाउने नीति लिएको थियो । वास्तवमा यो नीतिको कारक तत्व म नै थिएँ । मेरो प्रवेशपछि कान्तिपुरको समाचार एमाले अल्पमत सरकारका विरुद्ध लक्षित हुन थालेको थियो ।….कान्तिपुरका सञ्चालकहरूसँग देउवाको नियमित विचार–विमर्श हुन थालेको थियो । ….हामी आवश्यकता अनुसार बिनारोकटोक बिहान–बेलुका विचार–विमर्शका लागि त्यहाँ पुग्थ्यौं ।’ यति स्पष्ट लेखिसकेपछि किशोर नेपालको ‘व्यावसाियक’ पत्रकारिताका बारेमा अरू के नै उल्लेख गर्न जरुरी होला र †
राजनीतिक आस्थाका आधारमा मात्र होइन, संघर्ष र समर्पणका हिसाबले पनि किशोर नेपाल नेपाली कांग्रेसका एक जना सक्रिय कार्यकर्ता हुन् । तर, संगठनमा परिधिमा बस्न नचाहने उनको मनमौजी स्वभावका कारण सम्भवत: उनी पार्टीमा सक्रिय भएनन् । तर, जहाँ रहे, त्यहाँबाट उनले कांग्रेसको हितभन्दा पर काम गरेनन् । अचम्म लाग्दो कुरा, सुरुदेखि नै सबै खालका कम्युनिस्टप्रति एकप्रकारको घृणा महसुस गर्ने उनले पछिल्लो कालमा एमाओवादी र विशेषगरी त्यसका आजीवन प्रमुख पुष्पकमल दाहालप्रति भने विशेष आशक्ति राखेको देखिन्छ । कारण स्पष्ट नखुलाइए पनि किशोर नेपालको पञ्चायतकालदेखिकै व्यक्तित्व अध्ययन गर्दा अस्वाभाविक चाहिँ मान्न सकिँदैन ।
व्यक्तिको मूल्यांकनका विषयमा किशोर नेपालका आफ्नै मान्यताहरू छन् । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, सरोजप्रसाद कोइराला, महेन्द्रनारायण निधि, भीमबहादुर तामाङ, चन्द्रलाल झा, इन्दकान्त मिश्र, मोहनगोपाल खेतान, विजय शाह आदिका बारेमा उनले सकारात्मक रूपमा मूल्यांकन गरेका छन् भने गिरिजाप्रसाद कोइरालाप्रति उनी सदैव आलोचक देखिन्छन् । यतिसम्मकि आफ्ना समकालीन हरिहर विरहीलाई पनि पञ्चायत प्रवेश गरेको प्रसंग निकालेर उनले हुर्मत लिन बाँकी राखेका छैनन् ।
व्यक्तिगत जीवनमा किशोर नेपाल भुइँबाट उठेका एक जना बौद्धिक नागरिक हुन्, जसको जन्म काठमाडौंमा भए पनि कुनै दूरदराजको आमनागरिकको छोरोभन्दा उनको नियति फरक छैन । पिताको सानैमा मृत्यु, आमाको भारतमा विजयराजे सिन्धियाका घरमा काम गर्दागर्दै मृत्यु, परिवारको एक्लै सदस्य, आम्दानीको अभाव जस्ता कुराबाट पार लागेर उनी विश्वव्यापी रूपमा गरिएको प्रतिस्पर्धाबाट छानिएर पत्रकारिता पढ्न अमेरिकासम्म पुग्नु सामान्य कुरा होइन, जसलाई उनी स्वयम्ले पनि निकै महत्त्वका साथ उल्लेख गरेका छन् । भारतदत्त कोइराला सम्पादक भएको बेला ‘गोरखापत्र’मा उपसम्पादक तहमा काम गर्न पुगेका उनले गाउँघर स्तम्भ चलाएर नयाँ प्रयोग गरेको कुरालाई उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् ।
समग्रमा किशोर नेपालको ‘मेरो समय’ले पञ्चायतकाल र त्यस उत्तराद्र्धको समयलाई आफ्नो दृष्टिबाट केलाएको छ । सुरुमै भनिएझैं पक्कै पनि आत्मकथामा आफ्ना कुराहरू बढी हुन्छन् । तर, पत्रकार भएका कारणले किशोर नेपालले त्यस समयको राजनीतिलाई नजिकबाट नियाल्ने कोसिस गरेका छन् । इतिहास निर्माण गर्नका लागि भित्रभित्रै भएका घटनाहरूलाई नजिकबाट नियाल्ने मौका पाएका कारण किशोर नेपालको कृति सूचनामुलक पनि बनेको छ, जसका आधारमा इतिहासका अरू कतिपय पत्रहरू उप्काउन सजिलो हुन्छ ।
आत्मकथा व्यक्तिको निजी अनुभव, अवलोकन र वृत्ति भए पनि अरूले पढ्दा त्यो सुपाच्य हुनुपर्छ । नत्र भने त्यो आलोचनाको विषय बन्छ । दृष्टिकोण आ–आफ्ना हुन सक्छन् तर तथ्य र घटनालाई आफूअनुकूल (दुरु)उपयोग गर्न पाइँदैन । यस सन्दर्भमा एउटा घटना
उल्लेखनीय छ ।
भारत स्वतन्त्र भएपछिका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूका विश्वासिला सहयोगी एम.ओ. माथाईले दुई पुस्तक लेखे– ‘माई डेज विथ नेहरू’ र ‘रिमेनिसेन्सेज अफ द नेहरू एज’ । सन् १९५९ मा नेहरूकी छोरी इन्दिरा गान्धीसँगको सम्बन्धको आशंकामा उनका पति फिरोज गान्धीले अरूमार्फत संसद्मा उनका विरुद्ध उचालेपछि राजीनामा दिएका माथाईले नेहरूप्रति आलोचक भएर पुस्तक लेख्दा धेरैलाई चित्त बुझेन । उनका पुस्तकलाई लिएर चर्चित लेखक तथा पत्रकार खुशवन्त सिंहले ‘द इलुस्ट्रेटेड विक्ली अफ इन्डिया’ मा १८ डिसेम्बर १९७७ मा लेखे– ‘डायरी अफ नमक हराम’ । त्यसैले आफूले लेख्दा अरूले पनि चासोपूर्वक हेर्छन् भन्ने कुरामा आत्मकथा लेखकले विशेष सजग हुनुपर्छ ।
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply