अघि बढिरहेको भारतमा पछाडि परे कम्युनिस्ट ?

केन्द्रीय नेतृत्वको घातक फैसला, युवा अनुहारको कमी र बदलिँदो परिस्थितिका साथ चल्न नसक्नु वामपन्थीहरूको पराजयको कारण हो ।
लोकसभा सिट
वर्ष सिट
२००४ ५३
२००९ २०
२०१४ १०
वामपन्थी दल कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई) र कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीएम)लाई प्राप्त १० सिटलाई पछिल्ला ३० वर्षमा सबभन्दा खराब प्रदर्शन मान्न सकिन्छ । २००४ मा प्राप्त प्राप्त ५३ सिटले उसलाई यूपीए सरकारको पहिलो कार्यकालमा दबदबा राख्नका लागि आधार दिएको थियो तर पश्चिम बंगाल र केरल (जहाँ वामपन्थीको सरकार थियो)मा सत्ताविरोधी लहर र २००८ मा यूपीएसँगको सम्बन्ध तोड्दा उत्पन्न विवादले अघिल्लो चुनावमै करारी हार भएको थियो । २००९ मा सीपीआई र सीपीएमले जम्मा २० सिट प्राप्त गरे । सीपीएमको गढ पश्चिम बंगालमा यसको उपस्थिति दुई अंकमा पनि पुग्न सकेन । अहिलेको चुनावमा यिनीहरूले जम्मा १० सिट जितेका छन् । पछिल्ला २५ वर्षमा वामपन्थीहरूले भारतमा आफ्नो जमिन तीव्र रूपमा गुमाइरहेका छन् । १९८९ मा यसको उपस्थिति नौ राज्यमा थियो, आज चुनावी जित तीन राज्यमा सीमित भएको छ ।
दिल्लीको भाइ वीरसिंह मार्गस्थित सीपीएम मुख्यालयको दोस्रो भवनको क्याबिनमा पोलिटब्युरो सदस्य एस. रामचन्द्रन पिल्लै पश्चिम बंगालमा वामपन्थी दलको खुम्चिँदो जमिनको कारण बडो खुला रूपमाा बताउँछन् । उनी मान्छन्– राज्य नेतृत्वले कैयौं प्रशासनिक र राजनीतिक गल्तीहरू गरेको छ । आउँदो वर्ष प्रकाश करातको स्थानमा पार्टी महासचिव बन्न गइरहेका पिल्लै भन्छन्– ‘हामी जनताको ‘मुड’ मापन गर्नमा असफल रह्यौँ ।’ लामो समय सत्तामा रहनुका बाबजुद केही नेतामा अहम् आइसकेको थियो । तर, ७० वर्षीय पिल्लै यस मान्यतालाई पूरै अस्वीकार गर्छन् कि उनी यस पदका लागि धेरै बूढा भइसकेका छन् । उनको गृहराज्य केरलमा सीपीआई र सीपीएमको वाम लोकतान्त्रिक मोर्चा (एलडीएफ) २००४ मा प्राप्त १५ सिटको बदलामा अहिले ६ सिटमा सीमित बनेको छ । तर, पिल्लै यसलाई अस्थायी झड्का मान्छन् । उनी भन्छन्– ‘हामी केरलमा सरकार बनाउनमा थोरै अन्तरले चुकेका थियौँ तर हामी छिटै फिर्ता ल्याउँछौँ ।’
यस कुराको पनि आलोचना भइरहेको छ– आफ्ना गढ दुई राज्यका अलावा उत्तर प्रदेश, महाराष्ट्र, बिहार, ओडिसा र असममा पनि यस पार्टीको सफाया भएको छ । किनभने, यी पार्टीले क्षेत्र विशेषका मुद्दा–समस्याहरूको उपेक्षा गरे । वामपन्थी नेताहरू पनि मान्छन्– उनीहरू जातीय समीकरणका बारेमा संवेदनशील रहेनन् । उत्तर प्रदेश, जहाँ जातिको राजनीतिको वर्चश्व छ, त्यहाँ यिनीहरूको साटो समाजवादी पार्टी, बहुजन समाजवादी पार्टी र राष्ट्रिय जनता दल जस्ता पार्टीले स्थान लिए । महाराष्ट्रमा शिव सेना र असममा एजीपी जस्ता क्षेत्रीय पार्टीले पनि वापमन्थीहरूलाई मुस्किलमा धकेलिदिए ।
राजनीतिक विश्लेषकहरू मान्छन्– १९९९ को निराशाजनक प्रदर्शनपछि २००४ मा वामपन्थी दलहरूले थोरै सफलता पाएका थिए । तर, अहिले यी पार्टी अप्रासांगिक र विलुप्त हुने स्थितिमा छन् । दिल्लीको सेन्टर फर द स्टडी अफ डेभलपिङ सोसाइटिज (सीएसडीएस)का आदित्य निगम मान्छन्– आम आदमी पार्टी (आप) का रूपमा नयाँ वामपन्थी दल उभारका रूपमा आयो, जसले युवाहरूको आदर्शवादी तप्कालाई आकर्षित गरिरहेको छ । निगम भन्छन्– ‘आजका वामपन्थी दल मुलायमसिंह यादवको समाजवादी पार्टी जस्तै हुन् । पार्टीमा नामका अलावा कहीँ पनि समाजवाद छैन ।’ अवसरलाई बुझेर आपले केरलका पूर्वमुख्यमन्त्री वीएस अच्युदानन्दनसमेत कैयौँ वरिष्ठ नेताहरूलाई आफ्नो ब्यानरमा लोकसभा निर्वाचन लड्न निमन्त्रणा दियो । सीपीएमका पूर्वसदस्य प्रसेनजित बोस भन्छन्– ‘उनीहरूको स्थान आपका नेताहरूले लिइसके । आखिर करात र सीताराम यचुरी जस्ता नेता अरविन्द केजरीवालले जस्तै चुनाव किन लड्दैनन् ?’ चार पटक त्रिपुराका मुख्यमन्त्री रहिसकेका माणिक सरकारलाई पार्टीमा अधिक भूमिका दिनुपर्छ भन्ने उनको भनाइ छ ।
पिल्लै यस आक्रमणका जवाफमा सफाइ दिन्छन्– ‘वरिष्ठ नेताहरू चुनाव नलड्नु हाम्रो कार्यविभाजनको परिणाम हो, निर्वाचन क्षेत्रमा ध्यान दिनका लागि धेरै समयको आवश्यकता पर्दछ । संगठनात्मक कार्य एक पूर्णकालिक दायित्व हो । यदि करात चुनाव लड्छन् भने पार्टी कसले चलाउँछ ?’ पिल्लै यो पनि मान्छन् कि आपको सफलताको कारण वामपन्थीहरूको अयोग्यता हो । उनका अनुसार, ‘आपको कुनै विचारधारा वा कुनै मुद्दामा स्पष्ट धारणा छैन । यो ती मानिसहरूलाई तान्न खोजिरहेको छ, जसले व्यवस्थासँग हारिसकेका छन् । यस्तो राजनीति धेरै चल्दैन ।’
बोसका अनुसार, पार्टी बदलिँदो समय अनुसार बदलिनुपर्छ र प्रेस विज्ञप्ति जारी गर्नुको साटो जनतासँग जोडिनका लागि आधुनिक तरिका अनपनाउनुपर्छ । पिल्लै पनि यसमा सहमत छन् तर पर्याप्त स्थान नदिएकोमा सञ्चारमाध्यमको दोषी मान्छन् । उनको प्रश्न छ– ‘मोदी, राहुल गान्धी र केजरीवालका र्यालीको पर्याप्त कभरेज मिल्यो तर हाम्रा र्यालीहरूको किन उपेक्षा गरियो ?’ सञ्चारमाध्यमलाई बलिको बोका बनाउन सजिलो छ तर वामपन्थीहरू प्रासांगिक बनिरहनका लागि यस्ता बहानाका अलावा केही अरू गर्न जरुरी छ ।
इन्डिया टुडे, वर्ष २८, अंक २९, २०१४ मे २२–२८
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply