संसद् सचिवालयका ‘हर्ताकर्ता’
काठमाडौँ । सचिव र सहसचिवमध्ये को ठूलो ? यस्तो प्रश्न गरियो भने उल्टै प्रश्न आउन सक्छ– ‘यो पनि कुनै प्रश्न हो ?’ हुन पनि हो– स्वत: सचिव ठूलो भइहाल्छ । तर, संसद् सचिवालय यस्तो सरकारी निकाय हो, जहाँ सचिवलाई एक जना सहसचिवले फनफनी घुमाएर राखेका छन् । संसद् सचिवालयमा सचिवभन्दा माथि मुख्य सचिवसरहको महासचिवको अर्को पद पनि छ तर महासचिव पनि तिनै सहसचिवको इशारामा चल्ने गर्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।
संसद् सचिवालयका १२ सहसचिवभन्दा सचिव ठाकुरप्रसाद बराल माथि हुने नै भए । तर, माथि भएर के गर्ने ? उनको विडम्बना नै मान्नुपर्छ– उनले गरेका निर्णय अन्तिममा आएर सहसचिव मुकुन्द शर्माले हेर्दाहेर्दै क्षणभरमै उल्टाइदिन्छन् ।
गत शनिबारको एउटा घटनाले सचिव बराल पनि असन्तुष्ट भएको बताइन्छ । सचिवालयले संसद्का अधिकृत र उपसचिवका लागि प्रशिक्षण कार्यक्रम राखेको थियो । साढे २ बजे सचिव बरालले नै उद्घाटन गर्ने भनिएको कार्यक्रममा सबैलाई २ बजे नै आइपुग्न भनिएको थियो । सो कार्यक्रम तलबाट टिप्पणी उठेर सचिव बरालको टेबुलमा पुगेपछि उनले सदर गरेका थिए । कार्यक्रममा सहभागी हुन ४५ जना २ बजे नै सचिवालयमा आइपुगे । स्टाफ कलेजबाट २ जना प्रशिक्षक भरत थापा र केदार रायमाझी पनि आए । तर, अन्तिम घडीमा सहसचिव शर्माले उक्त कार्यक्रम नै स्थगित गरिदिए । प्रशिक्षक थापा जंगिँदै फर्किए ।
यो त एउटा उदाहरण मात्र हो । सचिवले सदर गरे पनि उनले उल्टाइदिएका यस्ता धेरै उदाहरण छन् । सचिवालयका एक कर्मचारीले भने– ‘अस्ति उहाँले जे गर्नुभयो, त्यो बेठीक थियो । यस्ता घटनाले सचिवालय र स्टाफ कलेजबीचको सम्बन्धमा पनि दरार ल्याउँछ ।’ तर सहसचिव शर्मा त्यो कुरा मान्न तयार छैनन् र उनी भन्छन्– ‘यो निर्णय करिब डेढ महिना अगाडि नै भएको थियो । तर, अहिले समितिहरू बनेर धमाधमा संविधानसभाको काम भइरहेका बेला प्रशिक्षण कार्यक्रम गरेर संविधान निर्माणमा अवरोध पुर्याउने कि प्रशिक्षण केही पर धकेल्ने भन्ने भन्ने संवेदनशील प्रश्न हामीसँग थियो, हामीले दोस्रो विकल्प रोज्यौँ ।’ अहिले सचिवालयसँग करिब २ सय ६० कर्मचारी छन् । एकै व्यक्तिले तीन–चार वटा समिति हेर्नुपर्ने अवस्थामा समितिको कामको चापाचापलाई ध्यानमा राखेर कार्यक्रम पछाडि सारिएको
उनले बताए ।
सचिवालय स्रोतका अनुसार, महासचिव मनोहरप्रसाद भट्टराई अलिक बिन्दास खालका छन् । उनलाई कार्यालयको कामकाजका विषयमा खासै मतलब छैन । तर, शर्माले बीसौँ वर्ष सचिवालयमा बिताएकाले उनलाई त्यहाँका अन्तरकुन्तर थाहा छ । यसै पनि थाहा हुन्छ, टाइपिस्टबाट काम सुरु गरेर शर्माले यो ठाउँसम्म आइपुग्न कम मेहनत गरेका छैनन् †
सचिवालको प्रवक्ताको पनि जिम्मेवारी सम्हालेका शर्माको सबल पक्ष पनि धेरै नै छन् । सबैभन्दा राम्रो उनको गुण भनेको सुमधुर जनसम्पर्क र सचिवालयका हरेक विषयमा राम्रो दख्खल रहेको बताइन्छ । राति १२ बजे फोन गर्दा पनि उनी रिसिभ गरेर प्रश्नकर्ताको कौतुहल मेटाउँछन् । तर, उनको यी राम्रो गुणको निशानामा अरू सहसचिव पनि पर्ने गरेको स्रोतले बतायो । उनीबाहेक, सचिवालयमा अहिले ११ सहसचिव कार्यरत छन् । बलदेव खड्का, रामशरण घिमिरे, सोमबहादुर थापा, हिमलाल सुवेदी, विनोदकुमार अधिकारी, बीरेन्द्र कार्की, भरतराज गौतम, ध्रुवप्रसाद घिमिरे, कृष्णहरि खड्का, सुदर्शन खड्का र जीवराज बुढाथोकीमध्ये कतिपय सहसचिव राम्रो क्षमताका भए पनि शर्माको भूमिकाका कारण ओझेलमा परेका छन् । आफूहरू माथि बढ्न शर्मा नै बाधक भएको भन्दै कतिपयले उनको दख्खलताप्रति डाहा गर्ने गरेको पनि बताइन्छ । शर्माले आफूहरूलाई राम्रो भूमिका र जिम्मेवारीसमेत नदिने गरेको भन्दै उनीहरूले असन्तुष्टि पोख्ने गरेका छन् ।
हुन पनि शर्मालाई सचिवालयको ‘टाइकुन’ कै रूपमा हेर्ने गरिएको छ । सानो समस्या केही पर्यो भने यो शर्माकोमा ठोकिने गर्छ । कतिसम्म भने संसद् बैठक कक्षको व्यवस्थापकीय काम पनि उनी बिना पार नै लाग्दैन । कामको चापले कति पटक त उनी रातभर कार्यालयमै बसेको पनि बताउँछन् । कतिसम्म भने सूचना प्रवाहमा पनि सिन्डिकेट जस्तै छ । हुन त प्रवक्ता भएकाले उनकै माध्यमबाट सूचना प्रवाह हुनुपर्छ । तर, कतिपय यस्ता साना मसिना विषय हुन्छन्, तीनबारे सचिवालयको सम्बन्धित फाँट प्रमुखलाई सोधियो भने पनि पहिले शर्माबाट अनुमति लिनुपर्ने जवाफ पाउँदा सञ्चारकर्मीलाई समेत हैरान हुने गरेको छ । शर्मा विभिन्न समितिमा रहेको र संसद् बैठकमा पनि जाने हुनाले सधँै सूचनाको स्रोतका लागि उनको पहुँचमा पुग्न गाह्रो हुन्छ । तर, सामान्य प्रशासनिक विषयमा जानकारी माग्दा पनि उनैलाई देखाउने गरिन्छ । यस विषयमा प्रश्न गर्दा शर्माले भने– ‘यो त सम्बन्धित कर्मचारीको काम गर्ने शैली र स्वभावमा भर पर्छ ।’
संसद्का महत्त्वपूर्ण समितिमा पनि शर्माले नै आसन जमाएका छन् । राजनीतिक संवाद समिति, सुरक्षा विशेष समिति, राज्य व्यवस्था समिति जस्ता महत्त्वपूर्ण मानिने समितिमा सचिव उनै छन् । यसमा पनि अरू सहसचिवले बाहिर–बाहिर गुनासो गर्ने गरे पनि भित्र भने मुख खोल्ने हिम्मत गर्न नसकेको बताइन्छ । तर, शर्मा यो कुरा पनि स्वीर्कादैनन् । भन्छन्– ‘मेरो पाटोबाट चाहिँ कसले हेरिदिने ? मैले चाहेर राखिएको होइन, तर मलाई नै किन संवेदनशील कामको जिम्मा दिइन्छ ?’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply