कठिन दिनको साहसिक यात्रा

हरेक मानिस, जीवन बाँच्ने क्रम/उपक्रममा संघर्षका अनेकौँ आयाम र रेखाहरू छिचोल्दै गतिशील हुन्छन् । फरक यत्ति हो– कसैको संघर्षका आयाम फराकिलो हुन्छ भने कसैको साँघुरो । र, हरेक मानिसको विकास–यात्रा संघर्षले नै तय गर्दछ । तथापि, सामान्य जीवनशैली गुजार्ने र राजनीतिक परिवर्तनको दिशामा अग्रसर व्यक्तिबीच भने संघर्ष गर्ने तौरतरिकामा धेरै ठूलो अन्तर हुने गर्दछ ।
राजनीतिककर्मी अष्टलक्ष्मी शाक्यको जीवन–यात्राका समुच्च पक्षहरू खोतल्ने कृति ‘मेरो पाइला, मेरो अनुभव’ एउटी संघर्षशील महिलाको मार्मिक कथावरिपरि मात्रै घुमेको छैन, नेपाली राजनीतिको कठिन बाटो पार गरिएको एक विशेष कालखण्डको दस्तावेजसमेत बन्न पुगेको छ । राजनीति गर्नेहरूलाई सहज रूपमा, कुनै विवेक नै प्रयोग नगरी, बाटो–घाटो वा चियापसलहरूमा हलुका पाराले आलोचना गर्ने गरिन्छ । राजनीतिज्ञहरूलाई गालीगलौज गर्ने, अविश्वास प्रकट गर्ने र सराप्ने कार्य त नेपाली समाजको एउटा रोगका रूपमै स्थापित भइसकेको छ । तर, देश र जनताको हक, हित, न्याय एवम् परिवर्तनका पक्षमा समर्पित राजनीतिज्ञहरू कस्ता संकट, व्यवधान र अप्ठ्याराहरू पार गर्दै आफ्ना लक्ष्यप्रति समर्पित रहे, उनीहरूले भोगेको दु:ख र कष्टका आयामहरू कति फराकिला थिए, भन्ने कुरा छर्लंग बुझ्न शाक्यको उक्त कृतिले जोकोहीलाई सघाउ पुर्याउनेमा द्विविधा छैन ।
काठमाडौँको परम्परागत नेवार परिवारमा जन्मिएकी शाक्य सानैदेखि परिवर्तनकामी सोच राख्ने रहिछन् । आफू जन्मिएको समाज, परिवेश र माहोलले काँचुली फेरोस् भन्ने भावना उनमा सानैदेखि तीव्र नभएको भए काठमाडौँको तुलनात्मक रूपमा सुविधासम्पन्न जीवन छोडेर उनले अनिश्चित गन्तव्य रोज्ने थिइनन् । अध्ययनका खुट्किलाहरू पार गर्दै जाँदा उनी प्रगतिशील विचारप्रति आकर्षित हुँदै जान्छिन् । स्कुले जीवनमा प्रगतिशील विचार र चिन्तनधारामा बाँधिएका व्यक्ति र साथीहरूसित सघन रूपमा संगत बढ्दै गएपछि उनमा विस्तारै कम्युनिस्ट राजनीतितिर पाइला हाल्ने सोच उम्रिन्छ । र, घरपरिवारलाई कुनै सुइँको नदिई पार्टी काममा होमिन्छिन् । उनका गतिविधिलाई परिवारका सदस्यहरू, अझ सबभन्दा बढी आमाले नै शंकास्पद रूपमा हेर्न थाल्छिन् र उनीमाथि तीव्र निगरानी बढाइन्छ । त्यसलाई चिर्दै, परिवारको दबाब र यातनाहरू सहँदै उनी पार्टी काममा लाग्छिन् । अन्तत: पारिवारिक दमन, पीडा, कष्ट र असहज परिस्थितिका कारण व्यवधान मात्रै उत्पन्न हुन थालेपछि उनी घर–परिवार त्यागेर भूमिगत हुन्छिन् ।
तीसको दशकमा तत्कालीन पञ्चायती व्यवस्थाले फरक राजनीतिक आस्था राख्ने व्यक्तिहरूप्रति असहिष्णु व्यवहार मात्रै प्रदर्शन गरेन, दमनको शृंखला नै चलायो । झापा विद्रोहपछि सल्बलाउन थालेको कम्युनिस्ट आन्दोलनलाई पूरै समाप्त पार्ने असफल कार्यमा तत्कालीन व्यवस्थाका पृष्ठपोषकहरू मैदानमा उत्रिए । शाक्यले तिनै कठोर दिनहरूमा भूमिगत भई राजनीति गर्ने निर्णय गरेकी थिइन् । भूमिगत हुने क्रममा उनलाई पार्टीले सिन्धुपाल्चोकको पिस्करमा पठायो । पिस्करको गरिब, अल्पसंख्यक र वर्षांैदैखि शोषणमा परेका थामी समुदायसित भिजेर काम गर्नु कदापि सजिलो थिएन । कहाँ काठमाडौँको सुविधासम्पन्न नेवार समुदायमा हुर्किएको मान्छे, कहाँको गरिबीले तन्नम तुल्याएको पिस्करका जनतासित भिज्नुपर्ने परिस्थिति † तर, जतिसुकै कष्ट बेहोर्नु परे पनि उनले निडरतापूर्वक पार्टीको काममा आफूलाई अब्बल रूपमै स्थापित तुल्याइरहिन् । त्यही क्रममा, तत्कालीन मालेका नेता अमृत बोहरासित वैवाहिक सम्बन्ध कायम गरेकी शाक्यले भूमिगतकालमै दुई सन्तान पनि जन्माइन् ।
भूमिगत कालमा सुत्केरी हुँदा र दुधेबालक काखमा हुँदा पनि अष्टलक्ष्मी शाक्यले बिदा नलिएर पार्टी काम गरिरहिन् । पुस्तक पढ्दा सबभन्दा मार्मिक सन्दर्भ यही प्रतीत हुन्छ । लुकेर बस्दा अरूले थाहा पाउलान् कि भनेर बच्चा खेल्दा वा रुँदा पनि दूध चुसाएको प्रसंगले प्रत्येक आमाबाबुको संवेदनालाई नराम्ररी चिमोट्छ । साथै, त्यतिबेलाको समयमा महिला भएर काम गर्दाका दु:ख, कष्ट र पीडालाई पुस्तकमा सरल रूपमा टिपिएको छ ।
शाक्यले आफ्नो संघर्षशील जीवन–कथा उतार्ने क्रममा पारिवारिक पृष्ठभूमिदेखि भूमिगत राजनीति हुँदै खुला परिवेशसम्मका उतारचढावमय पक्षहरूलाई पस्किएकी छन् । यसले उनको समग्र जीवनकथाबारे सर्सर्ती बुझ्ने औसर प्रदान गर्छ । तर, कतिपय सन्दर्भलाई भने अपुरो हुने जस्तैगरी कोट्याएर मात्रै छाडेकी छन्, जुन सन्दर्भप्रति आम पाठकले बढी कौतूहल जनाउँछन् । भूमिगतकालमा नेता अमृत बोहरासित चलेको प्रेम–प्रसंगलाई त्यति धैरै तन्काउने मनसाय लेखकको देखिँदैन । सिधै बिहे–प्रस्तावको प्रसंग मात्र उप्काइएको छ । बोहरालाई मन पराउनुका कारणहरू त उनले खोतलेकी छन् । तर, बिहेअघिका प्रेम–सन्दर्भहरू पनि खुलाइएको भए पुस्तक अझ पठनीय बन्ने थियो ।
अर्को कुरा, कम्युनिस्ट–लेखकहरूले पछ्याउने गरेको परम्परागत शैलीलाई नपछ्याइएको भए झनै राम्रो हुने थियो । कुनै पनि नेताका नाम उल्लेख गर्नुअघि ‘कमरेड’ जस्ता शब्द अनावश्यक रूपमा राखिँदा त्यस्ता किताब आम पाठकलाई होइन, आफ्ना पार्टीका कार्यकर्ताहरूलाई पढ्नका लागि मात्रै लैखिएको हो कि भन्ने भान पर्नु स्वाभाविक हुन्छ । र, किताब पर्याप्त रूपमा सम्पादन नभएको प्रस्ट देखिन्छ ।
यद्यपि, शाक्यको यो किताब एउटी संघर्षशील महिलाको साहस–गाथाको रूपमा नेपाली पाठकहरूसामु आएको छ । र, यो किताबले अहिलेको सहज राजनीतिमा लाग्न नेपाली महिलालाई निश्चित रूपमा उत्प्रेरित गर्नेमा विश्वस्त हुन सकिन्छ ।
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply