माधव नेपाललाई हामीले किन अनुरोध गर्यौं ?
एक वर्षअगाडि नै नवौं महाधिवेशनमा हामी के निर्णय गर्छौं, कसरी निर्णय गर्छौं, कस्तो नेतृत्व हुन्छ भन्ने बारेमा मभित्र धेरै खुल्दुली मच्चिएको थियो । व्यक्तिगत रूपमा धेरै नेताहरूसित मैले पटक–पटक छलफल गरें । नवौं महाधिवेशन नेकपा (एमाले)को जीवनमा ऐतिहासिक मोड हुन्छ भन्ने मलाई लागेको छ । यो महाधिवेशनले कस्तो निर्णय गर्छ ? कस्तो विचार, कस्तो नीति, कस्तो योजना र कस्तो नेतृत्व लिन्छ भन्ने कुराको आधारमा एमालेको भविष्य निश्चित हुन्छ ।
पार्टीभित्रको समग्र अवस्थाको विश्लेषक गर्दा यिनै विषयमा मलाई चिन्ता लाग्यो । मैले माधव कमरेडलाई भनें– ‘जे मैले देखिरहेको छु, त्यो के हो ? यस्तो अवस्थामा यो पार्टी कसरी अगाडि जान्छ ? यो कहिले विस्फोट हुन्छ ? त्यो टुलुटुलु हेरेर बसिरहनेपर्ने हो कि ? निरीह भएर तमासा हेरिरहनुपर्ने हो कि केही गर्न सक्ने हो ? यदि गर्न सक्ने होइन भने हालत माओवादीको जस्तै हुन्छ । देख्दादेख्दै माओवादी पाँच वर्षको अवधिभित्र विभाजित भएर यो अवस्थामा पुगेको छ । अब पालो एमालेको छ । एमालेमाथि विभिन्न ढंगले प्रहारकेन्द्रित छ । भित्र, बाहिरबाट पार्टी फुटाउने, कमजोर बनाउने प्रयत्न भएका छन् ।’
एमालेमा हामीले गौरव गर्नुपर्ने कुरा के छ भने सही विचार र नीति हामीले अपनाएका छौं । यो हाम्रो सबैभन्दा ठूलो पुँजी हो । एमालेसँग कुनै पनि पार्टीसँग भन्दा विशाल संगठनको सञ्जाल छ । हजारौं हजार योग्य नेताहरूको पंक्ति छ । पूर्वदेखि पश्चिमसम्म यति लोभलाग्दो पंक्ति छ कि जो अञ्चल, जिल्ला, क्षेत्र र गाविसमा मात्र होइन, वडासम्म फिँजिएको छ । जुन पंक्ति जनतामा स्थापित भएको छ । कांग्रेस, माओवादीहरूले समेत एमालेको यो विशाल पंक्तिको प्रशंसा गर्छन् । यो विचार, यो संगठन, यी कार्यकर्ता निर्माण गर्नका लागि मदन भण्डारी, मनमोहन अधिकारी, जीवराज आश्रितलगायतका नेताहरूको बलिदान भएको छ । हजारौं कार्यकर्ताको रगत, पसिना बगेको छ । ००६ सालदेखि अहिलेसम्मको अथक, निरन्तर र कठोर प्रयत्नको परिणाम हो– नेकपा (एमाले) । त्यसको परिणाम हो– जनताको बहुदलीय जनवाद ।
विचार त्यत्तिकै जन्मेको होइन । अनेकौं संघर्षको परिणाम, अन्तरपार्टी संघर्षका अनेक मोडहरू पार गर्दै जानेक्रममा हामी यो ठाउँमा आइपुगेका हौं । यसरी निर्माण भएको हो– यो मुलुक निर्माण गर्ने शक्ति, जनताको बहुदलीय जनवाद । अहिले उखानटुक्का हालेर मान्छेलाई हँसाउने वा कुनै धार्मिक ग्रन्थ जस्तो होइन । यो नेपाली विशिष्टताको माक्र्सवाद हो । गतिशील विज्ञान हो । यो नेपाली माक्र्सवाद हो, जो निरन्तर गतिशील भइरहन्छ । तर, यहाँ जनताको बहुदलीय जनवादलाई गायत्रीमन्त्रका रूपमा, गीता पाठकको रूपमा बुझ्ने प्रवृत्ति देखिएको छ । त्यति मात्र होइन, जनताको बहुदलीय जनवादलाई कसैको पेवा सम्पत्ति जस्तो ठान्ने, आफ्नो उत्तराधिकारी घोषणा गर्नेजस्ता चिन्तन र प्रवृत्तिहरू पार्टीमा देखापरेको स्थिति छ । यस्तो अवस्थामा मुलुकलाई कसरी अगाडि लैजाने भन्ने चिन्ताको विषय हो ।
जबजलाई गीत गाउने र भाषणको किस्सा मात्र बनाउनु हुँदैन । अब, यसलाई लागू गर्ने बेला भएको छ । कहिले कार्यान्वयन गर्ने जनताको बहुदलीय जनवाद बारम्बार भनिरहने, भाषण गरिरहने तर लागू गर्न नपर्ने ? यसरी जनताको बहुदलीय जनवादलाई बुझ्ने हो भने अन्त्यमा यो सिद्धान्त नै असफल सावित हुन्छ । त्यसैले, यसको सान्दर्भिकतालाई बढाउनका लागि, यसको आवश्यकतालाई अझ बढी जनताको बीचमा स्थापित गर्नका लागि जनताको बहुदलीय जनवाद सही विचार रहेछ भनेर अरू राजनीतिक पार्टीहरूलाई पनि ‘कन्भिन्स’ गर्नका लागि पनि यसलाई कार्यान्वयन गर्ने बेला आएको छ ।
यहाँ दुईथरी विचार सतहमा आएका छन् । ‘क्रान्ति भन्दा के हुन्छ, नभन्दा के हुन्छ ?’ भन्ने लेखहरू पनि आएका छन् । यदि क्रान्ति नभन्दा के हुन्छ भने क्रान्तिका लागि अर्को तयारी गर्नुपर्यो । यदि यो क्रान्ति होइन भने अर्को क्रान्तिको तयारी गर्नुपर्यो । त्यसका लागि आन्दोलन, घेराउ, जुलुसको तयारीमा लाग्नुपर्यो । होइन, क्रान्ति भइसकेको हो भने क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्नुपर्यो । क्रान्तिका उपलब्धि संस्थागत गरेर मुलुक निर्माण गर्ने, सामाजिक–आर्थिक रूपान्तरणको दिशामा मुलुकलाई लैजाने र यो मुलुकलाई समृद्ध बनाउने दिशामा जानुपर्यो ।
हामीले बुझ्नुपर्ने कुरा हो– क्रान्ति भएको छ । अबको पहिलो आवश्यकता भनेको क्रान्तिका उपलब्धि जोगाउने कुरा हो । संस्थागत गर्ने हो । अर्को कुरा, मुलुकको समृद्धि र विकासको हो । स्वाभाविक रूपमा हामी महाधिवेशनमा जाँदा नीति र सिद्धान्तको विषय मुख्य हुनेछ । तर, नीतिको साथसाथै, नेतृत्वको कुरा अर्को महत्त्वपूर्ण विषय हो । नेतृत्व भनेको कुनै प्राविधिक कुरा होइन । रहर पुर्याउने कुरा होइन । पालो पुर्याउने कुरा होइन । नेतृत्व भनेको सिद्धान्तसँग जोडिएको कुरा हो । हामी जुन दस्तावेज र सिद्धान्त पास गर्छौं त्यसको विपरीत नेतृत्व निर्माण गर्छौं भने त्यो सिद्धान्त किताबमा सीमित हुनेछ । जीवनमा लागू हुनेछैन । त्यसैले, हामीले जस्तो सिद्धान्त पास गर्छौं, त्यही सिद्धान्त बोक्ने र लागू गर्ने नेतृत्व छान्नुपर्छ । माक्र्सवाद संसारका धेरै किताबहरूमा छापिएको छ, धेरैले पढेका छन् तर नेपाली धर्तीमा, नेपाली जनताको जीवनमा माक्र्सवादलाई लागू गर्नका लागि तदनुरूपको नेतृत्व भएन, संगठन भएन भने माक्र्सवादका किताब पुस्तकालयमै थन्किनेछन् । यो सच्चाइलाई हामीले बुझ्नुपर्छ ।
सिद्धान्तले जहिले पनि व्यवहारलाई पछ्याइरहेको हुनुपर्छ । सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर भयो भने त्यस्तो अवस्थामा माक्र्सवाद जनताको जीवनमा लागू हुन सक्दैन । माक्र्सवादले जनताको मुक्तिका लागि काम गर्न सक्दैन । माक्र्सवाद जनताको मुक्तिको सिद्धान्त हो ।
हामीभित्र यस्ता प्रवृत्तिहरू छन्, जसलाई रोक्न सकिएन भने यो पार्टी कम्युनिस्ट पार्टीका रूपमा रहिरहन सक्दैन । त्यतिबेला यो पार्टी पुँजीवादी पार्टीको रूपमा रूपान्तरण हुनसक्ने खतरा देखिँदैछ । यो चिन्ता पनि मैले माधव नेपाललाई व्यक्त गरें । मैले भनें– ‘यो तरिकाले यदि जाने हो भने यस्तो प्रवृत्तिलाई रोक्न सक्ने होइन, हामी हेर्दाहेर्दै सोभियत संघ र पूर्वी युरोप ढलेझैं ढल्न सक्छौं ।’ त्यसो भए के गर्ने त ? उहाँले भन्नुभयो– ‘मलाई अध्यक्षमा उठ्ने इच्छा छैन । धेरै वर्ष दोहोरियो भन्छन् ।’ मैले फेरि उहाँलाई जोड गरेपछि उहाँले भन्नुभयो– ‘ठीक छ, युवा साथीहरूसँग सल्लाह गरौंला ।’
माधव नेपालको इच्छा पूरा गर्नका लागि उहाँलाई अगाडि सारिएको होइन । आज यो पार्टी र मुलुकको आवश्यकता पूरा गर्न जुन किसिमको नेतृत्व आवश्यकता पर्छ, त्यसको खोजी गरेका हौं । अरू नेतालाई नालायक देखेको होइन तर भएमध्येबाट सर्वोत्तम छानेका हौं । महाधिवेशनमा सकेसम्म सर्वसम्मत, भएन भने पनि प्रतिस्पर्धाबाट नेता छान्ने काम हामीले गर्नैपर्छ । त्यसो भएर अहिले यो कुरा गरिएको हो । महाधिवेशनपछि फेरि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेछ । हाम्रो पार्टी यति धेरै विविधतायुक्त छ कि धेरै समूह मिलेर बनेको छ । एमाले एउटा यस्तो नदी हो जहाँ धेरै खोलाहरू मिसिएका छन् । यस्तो पार्टीमा धेरै नेता, कार्यकर्तालाई मिलाएर लैजान सक्ने नेतृत्वको आवश्यकता छ ।
गुटबन्दी गर्न अभ्यस्त साथीहरू नेता हुन सक्दैनन् भन्ने मलाई लाग्यो । उनीहरूले यो विविधतालाई समेट्न सक्दैनन् । आज एमालेको काँधमा सिंगो मुलुकको लोकतान्त्रिक आन्दोलन हाँक्ने जिम्मेवारी पनि भएकाले एमालेको मात्र होइन, अरू पार्टीले सम्मान गर्ने नेताको पनि खाँचो छ । त्यो नेता एमाले भित्रैबाट आउँछ । गुटको नेता पार्टीको नेता त हुन सक्दैन भने देशको नेता हुनसक्ने कुरै भएन । त्यसर्थ, गुटबन्दी नगर्ने, संयोजनकारी भूमिका खेल्ने र गलत प्रवृत्ति तथा आचरणविरुद्ध खरो ढंगले जुध्ने व्यक्ति पनि आवश्यक भएकाले माधव नेपालको नाम अगाडि सारेका हौं ।
हिजो गिरिजाप्रसाद कोइरालाले ‘राजतन्त्र फ्याँक्नु हुँदैन, बेबी किङ चाहिन्छ’ भनिरहेका थिए । प्रचण्डहरू जंगलमा बन्दुक पड्काइरहेका थिए । त्यस्तो बेलामा शान्तिपूर्ण जनआन्दोलनबाट गणतन्त्रमा जानुपर्छ भनेर पार्टीको सातौं केन्द्रीय कमिटी बैठकबाट प्रस्ताव गर्ने र त्यो कार्यनीतिक नारा पारित गराउने व्यक्ति माधव नेपाल नै हो । त्यतिबेला ‘गणतन्त्रको आवश्यकता छैन, गणतन्त्र आउने बेला भएको छैन’ भनेर नोट अफ डिसेन्ट लेख्ने र भन्ने तर नोट अफ डिसेन्ट नलेख्ने साथीहरू पनि थिए । म नाम भन्न चाहन्न, त्यो सबैलाई थाहा छ । म यहाँबाट भन्न चाहन्न तर नेता रोज्ने बेला भएकाले त्यस्ता कुरा खोल्ने बेला भएको छ । प्रत्येक व्यक्तिको हिसाब–किताब हुनुपर्छ । प्रत्येक व्यक्तिको सम्पत्तिको छानबिन हुनुपर्छ । त्यसै देश हाँक्न सकिन्छ ? त्यसै क्रान्तिका उपलब्धि जोगाउन सकिन्छ ?
सिद्धान्तको भाषण गर्न जसले पनि सक्छ । सिद्धान्तको ब्यानर टाँगेर कुरा गर्न जसले पनि सक्छ तर सिद्धान्त अनुसारको आचरण, व्यवहार छ कि छैन ? यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।
व्यक्तिको खोजी सिद्धान्तसँग र नेपालको भविष्यसँग जोडिएको छ । त्यसैले, हिजो शान्ति प्रक्रियाको पनि नेता भएको हुनाले अब नयाँ नेपाल निर्माण गर्ने काममा एक पटक तपाईं उभिदिनुस्, एक पटक खुट्टा टेकिदिनुस् भनेर हामीले माधव नेपाललाई आग्रह गरेका छौं ।
त्यसैले नेकपा (एमाले) लाई एउटा गतिशील र क्रान्तिकारी पार्टी बनाउनका लागि सम्पूर्ण जनताको आशा र भरोसाको केन्द्रको रूपमा नेकपा (एमाले)लाई उभ्याउनका लागि, आगामी आम निर्वाचनमा नेकपा (एमाले)लाई देशको पहिलो पार्टी बनाएर राष्ट्रको नेतृत्व गर्नका लागि, नेकपा (एमाले)लाई सुदृढ, संगठित र व्यापक बनाउँदै अन्य वामपन्थी समूहलाई नेकपा (एमाले)मा एकताबद्ध गर्नका लागि र महाधिवेशनपछि नेकपा (एमाले)लाई अत्यन्तै द्रूतताका साथ अगाडि बढाउनका लागि म आगामी नवौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन भूतपूर्व प्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गर्दछु र हाम्रो विचार समूहबाट उहाँको उम्मेदवारी घोषणा गर्दछु ।
(शनिबार प्रज्ञा भवन, कमलादीमा व्यक्त धारणाको सम्पादित अंश)
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
-
निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
-
एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
Leave a Reply