जबज जडसूत्र होइन

यसरी कमरेड मदन भन्डारीले माक्र्सवादलाई एक गतिशील विज्ञानको रूपमा मान्ने जुन दृष्टिकोण अगाडि सार्नुभा’छ, यही कुरा जनताको बहुदलीय जनवादका निम्ति पनि लागू हुन्छ । जनताको बहुदलीय जनवाद पनि कुनै कोरा सिद्धान्त होइन । यो नेपालको विशिष्ट परिस्थितिमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने क्रान्तिकारी सिद्धान्त र कार्यक्रम हो । यो नेपालको ठोस परिस्थितिको ठोस विश्लेषणको उपज हो । यो कुनै कोरा कल्पना होइन र जडसूत्र पनि होइन ।
माक्र्सवाद–लेनिनवादका मूल सैद्धान्तिक मान्यता, नेपाली कम्युनिस्ट आन्दोलनले आफ्नो प्रारम्भ कालदेखि नै अँगाल्दै आएको लोकतान्त्रिक मूल्य मान्यताहरू र राष्ट्रिय–अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरू जबजका सैद्धान्तिक आधार हुन् भने नेपालको विशिष्ट अवस्था, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विशिष्ट अवस्था र नेपाली कम्युनिस्ट आन्दोलनको विशिष्ट अवस्था यसका वस्तुगत आधार हुन् । यो नेपाली कम्युनिस्ट आन्दोलनको विकासक्रममा प्राप्त अनुभवहरूको सश्लेषणबाट निकालिएको निष्कर्ष हो । यसमा तीन खाले मान्यता छन्– (क) दार्शनिक, (ख) कार्यक्रमिक र (ग) कार्यनीतिक । यसमा सात प्रकारका दार्शनिक मान्यताहरू छन् :
१. द्वन्द्वको नियम सार्वभौम भएकाले सर्वत्र लागू हुन्छ भन्ने मान्यता ।
२. अन्तर्वस्तु एवम् सारको प्रधानता र रूपमा बहुलता हुन्छ भन्ने मान्यता ।
३. क्रान्ति मनोगत प्रक्रिया नभई वस्तुगत प्रक्रिया हो भन्ने मान्यता ।
४. श्रमजीवी वर्ग र उत्पादक शक्तिको पक्षपोषण गर्ने मान्यता ।
५. वर्ग संघर्ष प्रधान हो, संघर्षका रूप सापेक्ष हुन्छन् भन्ने मान्यता ।
६. अधिनायकत्व होइन जनताको जनवादी राज्यसत्ता भने पुग्छ भन्ने मान्यता ।
७. पुरानोका गुण नयँँमा आउँछन्
भन्ने मान्यता ।
जबजले अगालेका यी दार्शनिक मान्यताहरू हामीले छाड्न नहुने मान्यता हुन् । यिनीहरूलाई हामीले अँगालिराख्नु पर्दछ ।
जबजका कार्यक्रमिक मान्यताहरू अन्तर्गत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि मान्यता रहेका छन् ।
जबजका राजनीतिक मान्यता हुन्— संविधानको सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण, मानव अधिकार तथा मौलिक हक, आवधिक निर्वाचन, बहुमतको सरकार तथा अल्पमतको विपक्ष, जनताप्रति उत्तरदायी शासन–प्रशासन । त्यसैगरी यसका सामाजिक—सांस्कृतिक मान्यता हुन्— बहुलवादी खुला समाजको स्थापना र जाति, भाषा, धर्म, संस्कृति, लिंग र वर्गको आधारमा गरिने विभेदको अन्त्य । र, यसका आर्थिक मान्यता हुन्—सामन्तवाद, दलाल–नोकरशाही पुँजीवाद, वैदेशिक एकाधिकार पुँजीवाद तथा साम्राज्यवादका शोषण, उत्पीडन र प्रभुत्ववादका सबै आधार र अवशेषहरूलाई अन्त्य गरी जनवादी अर्थ व्यवस्था अर्थात् समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्नु ।
०६२/६३ को क्रान्तिबाट जबजका उपर्युक्त राजनीतिक मान्यताहरू सबैजसो लागू भइसकेका छन् र सामाजिक मान्यताहरू पनि कानूनत: लागू भइसकेका छन् । आर्थिक कार्यक्रमहरू भने लागू भइसकेका छैनन् । अब तिनीहरूलाई पनि क्रमश: लागू गर्दै जान सकिने अवस्थामा हामी आइपुगेका छौं । यसरी नेपाली समाजको ठोस स्थितिमा परिवर्तन आएको छ र परिवर्तित परिस्थितिको ठोस विश्लेषण गरी जबज कार्यान्वयनका ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने बेला भएको छ । जबजले कार्यनीति सम्भावना होइन, वास्तविकतामा आधारित हुनुपर्दछ भन्ने मान्यता राख्दछ । यही मान्यता अनुरूप नै हामीले अहिलेको वास्तविकतामा आधारित कार्यनीति तय गर्नुपर्दछ र जबज कार्यान्वायन गर्दै समाजवादको दिशामा अगाडि बढ्ने कार्यदिशा अँगाल्नु पर्दछ । जबजका मूल दार्शनिक र सैद्धान्तिक मान्यतामा परिवर्तन गर्ने होइन । यसका कार्यक्रमिक र कार्यनीतिक मान्यतामा भने बदलिएको परिस्थिति अनुरूप आवश्यक परिमार्जन र परिवर्तन गर्न सकिन्छ र गर्नुपर्दछ ।
कमरेड मदन भण्डारीले ‘माक्र्सवाद—लेनिनवादलाई जडसूत्रको रूपमा ग्रहण गर्ने र गतिशील रचनात्मक विचार विज्ञानको रूपमा ग्रहण गर्ने दुईवटा फरक–फरक शैली र दृष्टिकोणहरू छन् । इमानदार क्रान्तिकारी कम्युनिस्टहरूले अपनाउने दृष्टिकोण पहिलो होइन, दोस्रो हो ।’ भन्नुहुन्छ । (बहुदलीय जनवादका सम्वन्धमा कार्यपत्र) जबजका सम्बन्धमा पनि ठ्याक्कै यस्तै भएको छ । यसलाई ग्रहण गर्ने पनि दुईखाले दृष्टिकोण देखापरेका छन् । एउटा यसलाई जडसूत्रको रूपमा ग्रहण गर्ने दृष्टिकोण र अर्को यसलाई गतिशील एवम् रचनात्मक विचार विज्ञानको रूपमा ग्रहण गर्ने दृष्टिकोण । सही दृष्टिकोण दोस्रो नै हो । हामीले यही सही दृष्टिकोण अँगालेर मात्रै जबजको रक्षा र विकास गर्नसक्छौं, ओठे भक्तिले मात्र होइन ।
जबज धर्मावलम्बीहरूले जपिरहने मन्त्र जस्तै कहिल्यै नबदलिने मन्त्र वा जडसूत्र होइन । यो त समाजको परिवर्तनका निम्ति र जीवनको परिवर्तनका निम्ति व्यवहारमा लागू गर्ने वैज्ञानिक सिद्धान्त हो । समाज र जीवन गतिशील हुन्छन् त्यसैले जीवनसँग जोडिएको सिद्धान्त पनि गतिशील हुन्छ, हुनुपर्दछ । समाज र जीवन परिवर्तनशील हुन्छन् त्यसैले सिद्धान्त पनि परिवर्तनशील हुन्छ र हुनुपर्दछ । संसारको कुनै पनि वस्तु, घटना, संस्था, व्यक्ति, सिद्धान्त, विचार कसैको पनि जीवन गतिमा अडेको हुन्छ । गतिमा नै अस्तित्व निहीत हुन्छ । गतिशील भएन र गतिहीन भयो भने कसैको पनि र कुनै चिजको पनि अस्तित्व सम्भव हुँदैन । त्यसैले विचार एवम् सिद्धान्तको अस्तित्व र विकास पनि गतिशीलतामा नै निर्भर गर्दछ । त्यसो हँुदा जबजको जीवन पनि गतिशीलतामै निहीत छ । जबजलाई बचाइराख्ने हो भने यसलाई गतिशील बनाएर मात्र सम्भव छ, जडतामा कैद गरेर होइन ।
जबजको निर्माणमा अगुवाको भूमिका निर्वाह गर्नुहुने जननेता कमरेड मदन भण्डारीले ‘हरेक वस्तुको रूप पक्ष र सारपक्ष हुन्छ । राजनीतिक सत्ताको पनि रूप र सारपक्ष हुन्छन् । सत्ताको सारपक्ष राज्ययन्त्रसँग सम्बन्धित कुरा हो भने त्यसको रूप शासनतन्त्रसँग सम्बन्धित कुरा हो । कुनै पनि राजनीतिक सत्ताले कुन–कुन वर्गको हित साधन गर्छ र कुन वर्गमाथि अधिनायकत्व लागू गर्छ भन्ने कुरा सत्ताको सारतत्वसँग सम्बन्धित विषय हुन्छ । केवल रूप पक्षलाई मात्र हेरेर कुनै पनि राज्यसत्ताको वर्ग चरित्र टुंगो लाउन सकिन्न’ ( मदन भण्डरी – बहुदलीय जनवाद वारे केही कुरा – पृ.८–९) भन्दै सार पक्ष प्रधान हो भन्ने कुरामा जोड दिनुभएको छ । त्यसैगरी उहाँले– ‘जनवाद वा प्रजातन्त्रको पहिचान त्यसको वर्गीय अन्तर्वस्तुबाट हुन्छ । वर्गीय अन्तर्वस्तुलाई बेवास्ता गरेर उल्लेख गरिने जनवाद एउटा खोक्रो शब्दावली मात्र हुनेछ । औपचारिकता निम्ति कथित शब्द मात्र हुनेछ । जनताको आर्थिक अधिकारबिनाको जनवाद भन्नाले जनताले उपयोग गर्ने जनवाद हुँदैन’ (पाँचौ महाधिवेशबाट परित राजनितिक प्रतिवेदन (२०५३ आश्रिन) पृ.५४) भन्दै राज्यसत्ताको अन्तर्वस्तुमा ध्यानदिनुपर्छ भनेर जोडगर्नु भएको छ । हामीले कमरेड मदनको यही भावनालाई समात्नु पर्दछ र जबजको सार पक्षलाई पक्डेर रूपमा आवश्यक परिमार्जन गरी यसलाई अझ समृद्ध पार्नुपर्दछ । यसरी मात्रै जबजको रक्षा र विकास गर्न सकिन्छ, यसलाई झोलीको देउता बनाएर वा जपिरहने मन्त्र अर्थात जडसूत्र बनाएर होइन । अन्तर्वस्तुमा ध्यानदिनुपर्छ भनेर जोडगर्नु भएको छ । हामीले कमरेड मदनको यही भावनालाई समात्नु पर्दछ र जबजको सार पक्षलाई पक्डेर रूपमा आवश्यक परिमार्जन गरी यसलाई अझ समृद्ध पार्नुपर्दछ । यसरी मात्रै जबजको रक्षा र विकास गर्न सकिन्छ, यसलाई झोलीको देउता बनाएर वा जपिरहने मन्त्र अर्थात जडसूत्र बनाएर होइन ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply