रूपान्तरणमा नारीवादी विमर्शको रूपरेखा

नेपालमै पहिलोपटक नारीवाद र नारीवादी विमर्शको सचेत अभिव्यक्ति मुखरित गर्दै अढाइ दशकअघि छापा माध्यममा उदाएको अस्मिता मासिक र सोही नामको महिला अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणका लागि क्रियाशील संस्था हो । महिलाको सम्मानित जीवनका लागि न्यायपूर्ण, समतामूलक र हिंसारहित समाज स्थापना तथा यसनिम्ति समावेशी लोकतन्त्रलाई प्रवद्र्धन गर्नु यसको उद्देश्य हो । यसका लागि महिलाको राजनीतिक, सामाजिक, सांस्कृतिक एवम् आर्थिक अधिकार र तिनको पूर्ण उपभोगका लागि नारीवादी देष्टिकोणबाट पैरवी गर्ने, लिंग आधारित हिंसाको अन्त्यका लागि चेतना जगाउने, लैंगिक समानताको प्रवद्र्धनका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, संवैधानिक र कानुनी संरचनाको पुनर्निर्माणमा योगदान पुर्याउने, लैंगिक पूर्वाग्रहरहित सञ्चार र सञ्चार संस्थाहरूको स्थापना र विकासमा जोड दिने, सम्बन्धित क्षेत्रहरूमा महिलाको दक्षता र क्षमता विकास गर्ने अस्मिताका घोषित लक्ष्य हुन् । यही उद्देश्यलाई आत्मसात् गर्ने सन्दर्भमा अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा स्रोत संस्थाले एउटा गहकिलो पुस्तक बजारमा ल्याएको छ– ‘रूपान्तरणमा महिला’ ।
मुलुकमा लोकतन्त्रसँग जोडिएका आन्दोलनको इतिहासलाई केलाउँदा त्यसमा महिलाको योगदान पुरुषकै हाराहारीमा रहेको छ तर आन्दोलनपछि परिवर्तनलाई संस्थागत गर्ने र अधिकारको बाँडफाँट गर्ने सवालमा भने महिलाहरू आजसम्म पनि किनारामा छन् । यही किनाराकृत प्रवृत्तिविरुद्धको एक सशक्त उद्बोधन पनि हो, ‘रूपान्तरणमा महिला’ ।
सचेतनापूर्वक होस्, धेरैलाई चेतना नभएरै होस् वा कतिपयले चाहेर अथवा नचाहेरै किन नहोस्, मुलुकमा राजतन्त्रको पतन र संघीय गणतन्त्रको अभ्यासको सुरुआतसँगै नेपाल र नेपाली समाज पछिल्ला सात–आठ वर्षदेखि विस्मयकारी ढंगले परिवर्तन र रूपान्तरणको प्रक्रियाबाट गुज्रिरहेको छ । रूपान्तरणका लागि विमर्शहरू भइरहेका छन् । परिवर्तन र रूपान्तरणका दृश्यमान–अदृश्यमान शक्तिहरू चलायमान छन् । समाजको आधारभूत चरित्र र संरचना नजानिँदो तर तुलनात्मक रूपमा चाँडोचाँडो परिवर्तन हुँदै गइरहेका छन् । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, संवैधानिक यावत् क्षेत्रमा जारी यी सबै प्रक्रियामा महिला उपस्थिति कहाँ छ ? के महिलाहरूले आफ्नो क्षमता अनुसारको स्थान, सहभागिता र भूमिका पाउन सकेका छन् ? अथवा, पुरुष दृष्टिकोण ‘मेल सौभिनिज्म’ले गर्दा कृपा र दयामाया पाएर मात्र केही ‘फिल इन दि ब्ल्यांकस’ भर्ने अवसर प्राप्त भएको मात्र छ ? सामन्ती उत्पादन सम्बन्धहरू तीव्र रूपमा ह्रास हुँदै पुँजीवादी वितरण पद्धति हावी हुँदै गइरहेको वर्तमान नेपाली समाजको ‘सार्वजनिक क्षेत्रमा अन्य सामाजिक सम्बन्ध भने जातभातजस्ता परम्परागत सामन्ती पद्धतिका अवशेषहरू र नयाँ व्यक्तिवादी सामाजिक पद्धतिका संघर्षमा फसेका हुन्छन् तर महिलाको स्थितिमा ती दुईथरि सम्बन्धबाहेक पितृसत्ताको बोझसमेत थपिएको हुन्छ । यी तीनैथरि सम्बन्ध एकआपसमा जेलिएका छन् । व्यक्तिले आफ्नो अस्तित्व र स्थान त्यस जालोभित्र खोज्नुपर्ने हुन्छ । महिलाले आफ्नो मुक्तिका लागि सबै अन्य उत्पीडित जात/जाति, वर्ग र क्षेत्रीय समूहसँगै जानुपरेको छ भने अर्कोतर्फ महिला पुरुष सबै मिलेर पितृसत्ताको सर्वव्यापी दबदबालाई तिर्नुपरेको छ ।’ समीक्ष्य पुस्तकले आजको नेपाली पृष्ठभूमिमा यस्ता आन्दोलन कहाँबाट सुरु गर्ने र कसरी सुरु गर्ने भन्ने प्रश्नहरूको विश्लेषण र उत्तर खोज्ने प्रयास
गरेको छ ।
डा.मीना आचार्य, डा.प्रभादेवी कैनी, डा.अरुणा उप्रेती, प्रा.डा.सुधा त्रिपाठी, डा.सेरा तामाङ, डा.इन्द्र अधिकारी, डा.यामबहादुर किसान, अधिवक्ताद्वय इन्दु तुलाधार र बिन्दा मगर, शान्तालक्ष्मी श्रेष्ठ, प्रतिभा सुवेदी, दुर्गा घिमिरे, जगत देउजा, विधान आचार्य, शुभेच्छा बिन्दु तुलाधर, पुष्पा घिमिरे निरौला, निर्मला शर्मा ढुंगाना, राजेन मानन्धर, थीर केसी, मोहम्मद सिद्दिकी, मञ्जु थापा, दीप्ति खकुरेल र बिन्दा पाण्डे गरी विभिन्न २३ लेखकका १९ लेख यस डिमाई साइज पुस्तकमा समेटिएका छन् । लेखकहरूको सूची हेर्दै थाहा हुन्छ, यो पुस्तक नेपाली महिला आन्दोलनमा उल्लेखनीय योगदान गर्ने अग्रज विज्ञहरूदेखि समकालीन अभियानहरूमा संलग्न अभियन्ताहरूसम्मको अनुभव र अन्तक्र्रियाको उपज हो । रोचक के छ भने ती सबै लेखले अलग–अलग विषयवस्तु उठाएका छन् । जस्तो– पुस्तकको पहिलो औपचारिक लेख सुरु हुन्छ डा. सेरा तामाङको ‘राष्ट्र, राष्ट्रियता र नागरिकताको लैंगिकीकरण’ शीर्षकको विचारोत्तेजक लेखबाट, जसले नेपाली महिलाको अस्तित्व छ वा छैन भन्ने पहिचानको सूक्ष्म सवालमा विमर्श उठाएको छ र अन्त्य हुन्छ डा. प्रभादेवी कैनी/डा. इन्द्र अधिकारीको संयुक्त सामयिक आलेख ‘सशस्त्र द्वन्द्वको प्रभाव’ बाट । अन्य १८ अध्याय विकासात्मक प्रयास र आर्थिक पक्ष, स्वास्थ्य–शिक्षा–सञ्चार–साहित्य–धर्म/संस्कृतिसमेतका सामाजिक परिवेश र व्यवहार तथा राजनीतिक पक्ष गरी तीन समष्टिगत समूहमा प्रस्तुत गरिएका छन् ।
पुस्तकले धेरै नै विषय उठाएको भए पनि मुलुकमा पछिल्ला केही समयदेखि चर्चित विमर्शहरू जनजाति, आदिवासी, मधेसी र दलित समुदायका महिलाबारे सामग्रिक पृथक् अध्यायजन्य प्रस्तुति दिएको पाइँदैन, यद्यपि विभिन्न लेखहरूभित्र ती विमर्शलाई यथोचित स्थान दिइएको छ । झुमा र देउकीजस्ता परम्परा अनि जीवित देवी कुमारीजस्ता आस्थाजन्य प्रथा एवम् यीजस्तै अन्य पक्षप्रति पनि नारीवादी विश्लेषण दिन सकेको भए ‘रूपान्तरणमा महिला’ पुस्तक आफैंमा नेपाली महिला आन्दोलनसम्बन्धी एक उत्कृष्ट इन्साक्लोपिडिया नै बन्न सक्ने थियो यद्यपि जे जति अहिले समेटिएको छ त्यो आफैंमा कम्ती छैन । विशेषगरी समग्र महिला अध्ययन (वुमन स्टडिज) का लागि त यो पुस्तक अचूक सिटामोल नै हो ।a
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply