अध्यक्षमा माधव नेपाल किन ?

हामी नेकपा (एमाले)को महान् पर्व नवौँ राष्ट्रिय महाधिवेशनको सँघारमा उभिएका छौँ । विचार निर्माण, संगठनात्मक सिद्धान्त, विधि निर्माण र नेतृत्व चयनका दृष्टिले यो महाधिवेशनको ऐतिहासिक महत्त्व छ । ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौँ, माक्र्सवादको सिर्जनात्मक प्रयोग गरौँ’ भन्ने व्यानरमा पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । यसै निष्कर्षको धरातलमा नेपाली विशिष्टता अनुसार माक्र्सवादको प्रयोग र विकास गर्ने सन्दर्भमा जननेता मदन भण्डारीको अगुवाइमा नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद पारित गरिएको थियो । विचार निर्माणको सवालमा पाँचौँ महाधिवेशन एमालेको जीवनमा ‘कोसेढुंगा’ थियो । त्यसपछिका २२ वर्षमा वाग्मतीमा धेरै पानी बग्यो तर हामीले विचारका प्रश्नमा पार्टीको आधिकारिक फोरममा त्यति धेरै बहस गरेनौँ । यद्यपि, क्रान्तिसँग जोडिएका केही महत्त्वपूर्ण मुद्दामा विभिन्न ढंगले बहस/छलफल हुँदै आयो र आज हामी नवौँ महाधिवेशनको सामु छौँ । महाधिवेशनका दस्तावेज निर्माण गर्ने क्रममा यो बहस संस्थागत भयो । हामीले उद्घोष गर्दै आएका विचारहरूले पार्टीको आधिकारिक मञ्चमा ठाउँ पाए र तिनीहरू पारित पनि भए । यसर्थ, पार्टीको नवौँ महाधिवेशन विचार निर्माणका दृष्टिले ‘टर्निङ प्वाइन्ट’ अर्थात् निर्णायक विन्दु बनेको छ ।
क्रान्तिका कार्यभार
महाधिवेशनका सन्दर्भमा विचारको सवाल नै प्रमुख सवाल हो । यतिबेला हामीले नेपाली समाजको चरित्रलगायतका विषयमा बहस छेडेका छौँ । नेपाली समाज आज सामन्ती वा अर्ध–सामन्ती रहेन र सामन्तवादका केही अवशेषहरू रहे पनि यो समाजको चरित्र मूलत: पुँजीवादी छ । नेपाल कसैको उपनिवेश वा यसको चरित्र अर्ध–औपनिवेशिक होइन, नेपाल स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, स्वाधीन मुलुक हो । यद्यपि, नवऔपनिवेशिक शोषण–उत्पीडन भने कायम छन् । ०६२/०६३ को क्रान्तिले सामन्ती राजतन्त्र ढालेर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको छ । एउटा राजनीतिक–सामाजिक व्यवस्थाको स्थानमा नयाँ राजनीतिक–सामाजिक व्यवस्था आएको छ र एउटा युगको अन्त्य भई नयाँ युग उदाएको छ । यसर्थ, यो युगान्तकारी परिवर्तन हो, यो क्रान्तिकारी परिवर्तन हो । यो परिवर्तनलाई हामीले ‘पुँजीवादी जनवादी क्रान्ति’को रूपमा सूत्रीकरण गरेका छौँ । राजतन्त्र र सामन्तवाद समाप्त भएपछि नेपाली समाजका अन्तरविरोधहरूमा पनि स्वाभाविक रूपमा परिवर्तन आएको छ । यी निष्कर्षका आधारमा हामीले नेपाली क्रान्तिको आगामी केही कार्यभारहरू तय गरेका छौँ ।
पहिलो, वैचारिक रूपमा जनताको बहुदलीय जनवादलाई हाम्रो मार्गदर्शक सिद्धान्तका रूपमा अझ समृद्ध गर्ने । हामीभित्र पनि जबजको मर्मलाई तोडमरोड गर्ने एउटा कोण छ भने जबजलाई समय र परिस्थिति अनुरूप विकास गर्ने कुरालाई संशोधनवाद देख्ने अर्को कोण छ । यी दुवै अतिवाद हुन् । जबज नेपाली समाजमा लागू गरिने नेपाली विशिष्टताको माक्र्सवाद हो । यो विचार माक्र्सवादको सिर्जनात्मक प्रयोग र कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणका रूपमा अगाडि आएको हो । हामी लोकतान्त्रीकरणका कुरा गरिरहँदा दक्षिणपन्थी भासमा जान सक्ने र क्रान्तिकारीकरणका नाममा उग्रवादी भड्कावमा पर्न सक्ने खतराबाट जोगिनुपर्छ । त्यसैले जबजको प्रकाशमा नेकपा (एमाले)लाई क्रान्तिकारी लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्नु आजको हाम्रो दायित्व हो । जबज कुनै गायत्री मन्त्र होइन, यो त जनताको जीवनसँग गाँसिनुपर्छ । त्यसैले हामीले भनेका छौँ कि आजको जबज देखिने, सुनिने, व्यवहारमा लागू गरिने र जनताको जीवनसँग जोडिने हुनुपर्छ । लोकतान्त्रिक विधिबाट समाजको प्रगतिशील रूपान्तरण गर्ने मार्गदर्शक सिद्धान्तको नाम हो, जबज ।
दोस्रो, शान्तिपूर्ण राजनीतिक क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्ने, त्यसका लागि अग्रगामी, प्रगतिशील, लोकतान्त्रिक संविधान निर्माण गर्ने ।
तेस्रो, आर्थिक–सामाजिक रूपान्तरणका काम गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्ने ।
चौथो, प्रगतिशील कार्यक्रमहरूमार्फत उत्पादन वृद्धिमा जोड दिने, उद्यमशीलता बढाउने, रोजगारका अवसर सिर्जना गर्ने, सामाजिक सुरक्षाका कार्यक्रमहरूमार्फत सामाजिक न्याय कायम गर्ने, राष्ट्रिय पुँजी र लगानीलाई प्रोत्साहन गर्ने, दलाल नोकरशाही पुँजीवादका शोषण र नियन्त्रणलाई अन्त्य गर्ने, राष्ट्रिय पुँजीवादको विकास गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवादका आधार तयार गर्ने ।
पाँचौँ, उपरोक्त कार्यभार पूरा गर्नका लागि सबल, सुदृढ, सशक्त र अनुशासित पार्टी निर्माण गर्ने ।
जब हामी समाजको चरित्र निरूपण गर्छौं अर्थात् हाम्रा समस्या के हुन् भनेर पहिचान गर्छौं, समाजका अन्तरविरोधको किटानी गर्छौं, तब क्रान्तिका आगामी कार्यभार निर्धारण गरिन्छ । अनि, ती कार्यभार पूरा गर्ने सबल पार्टी निर्माण गरिनुपर्छ । त्यसरी नै त्यस्तो पार्टीको नेतृत्व पनि सक्षम, कुशल, इमानदार र क्रियाशील हुनुपर्छ । अर्थात्, विशाल कार्यकर्ता पंक्ति र जनताको अगुवाइ गर्ने विशाल पार्टीलाई हाँक्ने कुशल चालकका रूपमा योग्य नेताको आवश्यकता पर्छ ।
आज हामी महाधिवेशनको सँघारमा एमालेको आगामी नेतृत्वका बारेमा छलफल गरिरहेका छौँ । उपरोक्त पृष्ठभूमिमा पार्टीका वरिष्ठ नेता माधव नेपाललाई नेकपा (एमाले)को नवौँ महाधिवेशनका लागि अध्यक्ष पदमा अघि सारिएको छ । यसै सन्दर्भमा यतिबेला माधव नेपाल नै पार्टीको अध्यक्ष किन भन्ने प्रश्न पनि उठेको छ । माधव नेपाल नै किन त ?
१. कम्युनिस्ट पार्टीमा जसको विचार पारित हुन्छ, त्यही व्यक्ति नेता हुन्छ भन्ने कुरा स्थापित सत्य हो । अर्थात्, जसको नीति उसको नेतृत्व । पार्टी केन्द्रीय कमिटीबाट पारित उल्लिखित विचारहरू माधव नेपाल नेतृत्वको विचार समूहले अघि सारेको कुरा पुष्टि भइसकेको छ । यसरी पार्टीद्वारा पारित सही विचारको नेतृत्व माधव नेपालले गर्नुभएकाले ‘जसको नीति उसको नेतृत्व’ अनुसार ती विचार कार्यान्वयनका लागि उहाँ नै पार्टी अध्यक्ष हुने हक राख्नुहुन्छ ।
२. पार्टीभित्र नेतृत्व हस्तान्तरणको विषय जोडदार रूपमा उठेको छ । नेतृत्व हस्तान्तरणको वकालत गरिरहने पुरानो पुस्ताका कतिपय नेताहरू स्वयम् नवौँ, दसौँ, एघारौँ महाधिवेशनसम्मका लागि भागबन्डा लगाएर खाने सम्झौता बोकेर हिँडिरहनुभएको छ । जबकि, माधव नेपालले प्रस्ट भाषामा पुरानो पुस्ताका नेताहरू तयार हुने हो भने यसै महाधिवेशनबाट नयाँ वा दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न तयार रहेको घोषणा गर्नुभएको छ । यसरी माधव नेपाल मात्र नेतृत्व हस्तान्तरणको नेतृत्वकर्ता हुनुहुन्छ । त्यसैले अन्य नेताले नमानेको अवस्थामा एकपटकलाई माधव नेपाल अध्यक्ष बन्नुहुनेछ ।
३. माधव नेपालसँग विचारशील, अध्ययनशील, संगठन कुशल, सक्रिय, इमानदार, जुझारु, क्रियाशील नयाँ पुस्ताको टिम छ । उहाँ आफैँ अत्यन्त सक्षम, क्रियाशील र वेदाग हुनुहुन्छ भने छवि राम्रो भएका, स्थापित, लोकप्रिय र वेदाग दोस्रो पुस्ताको पार्टी र राष्ट्रले आशा भरोसा गरेका युवा नेताहरूको ‘क्रिम टिम’सहित उहाँ अघि बढ्नुभएकाले उहाँको अध्यक्ष पदको दाबी ओजिलो छ ।
४. माधव नेपाल एजेन्डामा कडा र व्यवहारमा लचिलो व्यक्तिका रूपमा चिनिनुहुन्छ । जतिबेला माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउनैपर्ने थियो, अनेकौँ खतरा मोलेर सिलीगुढीदेखि रोल्पा र रोल्पादेखि दिल्लीसम्म वार्ता गरेर १२ बुँदे सम्झौता गराउनमा नेतृत्वकारी भूमिका खेल्नुभयो । त्यति मात्र होइन, माओवादीले सडकबाट सत्ता कब्जा गर्ने रणनीति लिएको अवस्थामा माओवादी अतिवादलाई थला पार्ने काम पनि उहाँले नै गर्नुभयो ।
५. उग्रवामपन्थी अतिवादका साथै घोर दक्षिणपन्थी अतिवादका विरुद्ध पनि सतिसालजस्तै लडेको व्यक्ति हो माधव नेपाल । राजतन्त्रको अन्त्य र गणतन्त्र प्राप्तिको जनआन्दोलनका समयमा सडकदेखि जेलको कस्टडीसम्म दृढताका साथ उहाँले संघर्ष गर्नुभयो । ०६२/०६३ र अन्य आन्दोलनहरूमा उहाँ सधँै आन्दोलनको अग्रिम मोर्चामा उभिनुभयो । एमालेका लागि त्यस्तै ‘पिलर पर्सनालिटी’ चाहिएको छ ।
६, ०६४ को निर्वाचनमा षड्यन्त्रमूलक तरिकाले पराजित गरिएपछि पनि संविधानसभामा माधव नेपालको आवश्यकता पर्यो । उहाँलाई संविधानसभामा ल्याएर संवैधानिक समितिको सभापति बनाइयो र संविधान निर्माणमा उहाँ सक्रिय रहनुभयो ।
७. नेपालको इतिहासमा सबैभन्दा लोकप्रिय सरकार भनेको मनमोहन अधिकारी नेतृत्वको एमालेको नौमहिने सरकार हो । सो सरकारको निर्णायक व्यक्तित्व उपप्रधानमन्त्री माधव नेपाल नै हुनुहुन्थ्यो । आफ्नो गाउँ आफैँ बनाऔँ, नौ स, वृद्ध, विधवा, अपाङ्ग भत्ता, सुकुमबासीलाई जमिनजस्ता लोकप्रिय कार्यक्रमका ‘डिजाइनर’ माधव नेपाल अब पनि एमाले र राष्ट्रका लागि आवश्यक छ ।
८. माधव नेपाल एक जना राष्ट्रवादी नेताको छवि बनाएको व्यक्ति हुनुहुन्छ । कुनै शक्तिका सामु शिर नझुकाएर उभिन सक्ने स्वाभिमान उहाँसँग छ । त्यसैले राष्ट्रवादीहरूले उहाँको खोजी गरेका हुन् ।
९. माधव नेपालको चरित्र, आचरण, अनुशासनका सवालमा आजसम्म कसैले पनि कुनै प्रश्न उठाउन सकेका छैनन् । उहाँको छवि स्वच्छ र निर्मल छ । पार्टीभित्र हुर्कंदै गएको डनवाद, धनवाद, विकृति र विसंगतिका विरुद्ध उहाँ अर्जुन भएर लड्नुहुन्छ । पार्टीलाई नीति, विधि र सिस्टमबाट चलाउन माधव नेपाल चाहिएको हो ।
१०, राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा स्वीकारिएको, प्रतिष्ठा बनाएको र एउटा बेग्लै व्यक्तित्व बनाएको कारणले पनि माधव नेपाल खोजिएको हो ।
११, जुनसुकै कारणले भए पनि पार्टीले निर्वाचनमा पराजय भोगेपछि त्यसको नैतिक जिम्मेवारी लिने कुनै व्यक्ति छ भने त्यो पनि माधव नेपाल नै हो । ०६४ को निर्वाचन परिणामपछि नैतिकताका आधारमा महासचिव पदबाट राजीनामा दिएर नैतिक मूल्य–मान्यताको पक्षमा उभिनुभयो ।
१२, पार्टी विभाजनको पीडाबाट मुक्त गर्नका लागि एमाले र मालेको बीचमा एकता गराएर पार्टी जोगाउने कामको नेतृत्व पनि माधव नेपालले नै गर्नुभएको थियो । गुटबन्दीले थिलथिलो पारेको पार्टीमा सबैलाई समेटेर लिने र पार्टी एकतालाई बलियो बनाउनका लागि पनि माधव नेपाल एमालेको अध्यक्ष हुनु जरुरी छ ।
१३. नेकपा (एमाले) आज प्राविधिक कारणले दोस्रो स्थानमा छ । भोलि हुने स्थानीय वा कुनै पनि निर्वाचनमा पार्टीलाई विजयको शिखरमा पुर्याउन र पार्टीलाई राष्ट्रको पहिलो शक्ति बनाउन माधव नेपालको नेतृत्व आवश्यक छ ।
१४. जनताको बहुदलीय जनवादको स्थापनामा मदन भण्डारीको सबैभन्दा निकट रहेर योगदान गरेको व्यक्ति माधव नेपाल नै हो । त्यसैले जबजको वास्तविक उत्तराधिकारी उहाँ नै हुनुहुन्छ । आज जबजको प्रवक्ताका रूपमा माधव नेपाललाई अध्यक्ष बनाउँदा नै जबजको समृद्धिमा सफल हुन सकिन्छ ।
१५. मदन भण्डारी र जीवराज आश्रितको कहालिलाग्दो हत्यापछि पार्टी महासंकटमा परेको थियो । त्यो संकटबाट पार्टीलाई जोगाउनका लागि माधव नेपाललाई नै योग्य नेताका रूपमा अघि सारियो । र, त्यसपछि उहाँको नेतृत्वमा पार्टीले प्रगति र अग्रगति लिन सफल भयो । यसरी मदन–आश्रितको अभावको पूर्ति गर्न सक्षम नेता माधव नेपाल नै हुनुभयो ।
त्यसैले जनक्रान्तिका उपलब्धिको रक्षा गर्दै जबजको मार्गदर्शनमा सुदृढ र एकताबद्ध पार्टी तथा समृद्ध राष्ट्र निर्माणका लागि नेकपा (एमाले)को अध्यक्षमा माधव नेपालको आवश्यकता अपरिहार्य छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
-
निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
-
एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
Leave a Reply