एमालेको नवौँ महाधिवेशन र प्रतिनिधिको भूमिका
नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशन अबको एक सातापछि काठमाडौँमा हुँदैछ । कम्युनिस्ट आन्दोलनको इतिहासमा यसपटकको एमालेको नवौँ राष्ट्रिय महाधिवेशन ऐतिहासिक महत्त्वको हुँदैछ । वि.सं. २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएपछि निरन्तर रूपमा कम्युनिस्ट पार्टीले सामन्तवादविरोधी आन्दोलनको अगुवाइ गर्दै आएको थियो । ०६२/०६३ को शान्तिपूर्ण जनक्रान्तिबाट सामन्तवादको नाइके बनेको राजतन्त्रको अन्त्य भई मुलुकमा गणतन्त्रको स्थापना भएपछि सामन्तवादविरोधी राजनीतिक आन्दोलनको कोर्स पूरा भएको निष्कर्षका साथ यतिखेर नेकपा (एमाले)ले नवौँ महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको छ । माक्र्सवादी भाषामा पुँजीवादी राजनीतिक क्रान्ति सम्पन्न भइसकेको निष्कर्षका साथ नेकपा (एमाले)ले अब समाजवादको लक्ष्य र ध्येयका साथ आर्थिक–सामाजिक क्रान्तिको बाटोलाई अगाडि बढाउने कार्यनीतिक कार्यदिशा निर्धारण गर्नुपर्ने प्रस्तावलाई अगाडि सारेको छ ।
कम्युनिस्ट पार्टीमा कार्यनीतिक कार्यदिशा ठीक ढंगले निर्धारण हुन नसक्दा क्रान्तिलाई पूर्णतामा पुर्याउन अलमल हुने मात्रै होइन, कम्युनिस्ट पार्टी पनि यथास्थितिमा नै रहन्छ । पाँच वर्षअगाडि नै आठौँ महाधिवेशनमा नेकपा (एमाले)भित्र घनश्याम भुसाल, डा. विजय पौडेललगायतका युवाहरूले परिवर्तित परिस्थितिमा नेपाली समाजको चरित्रमा आइरहेको परिवर्तन र पार्टीको कार्यनीतिक कार्यदिशाका बारेमा अगाडि सारिएको नयाँ विचार र दृष्टिकोणलाई स्वीकार गरी तदनुरूपको नेतृत्व निर्माण भएको भए यतिखेर नेकपा (एमाले)ले राष्ट्रिय राजनीतिमा नेतृत्वकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्ने मात्रै होइन, मुलुक सामाजिक–आर्थिक क्रान्तिको बाटोबाट अगाडि बढ्न सकेको हुने थियो । यद्यपि, अहिले कमरेड माधवकुमार नेपाल विचार समूहका तर्फबाट आठौँ महाधिवेशनमा प्रस्तुत विचारलाई नै पुन: अगाडि सारिएको छ र पार्टी केन्द्रीय कमिटीले माधवकुमार नेपालले अगाडि सारेको विचारलाई स्वीकार गरी राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रस्तावमा समाविष्ट गरेको सन्दर्भमा आसन्न नवौँ महाधिवेशनले प्रस्तुत विचारलाई ग्रहण गरेमा पार्टीका सामु नेपाली क्रान्तिलाई नयाँ कोर्सका साथ अगाडि बढाउने अभिभारा आउने भएको छ ।
यसरी वैचारिक हिसाबले अग्रणी मोड लिन लागेका बेला आसन्न एमालेको महाधिवेशनबाट पार्टीलाई नीति र विचारको हिसाबले समुन्नत बनाउन र तदनुरूपको नेतृत्व निर्माण गर्न महाधिवेशनको महत्व रहेको छ । महाधिवेशन पार्टी कामको विगतको वस्तुनिष्ठ समीक्षा गर्ने थलो पनि भएको हुँदा, महाधिवेशनमा सहभागी प्रतिनिधहरूका सामु यतिखेर ऐतिहासिक अभिभारा आएको छ ।
जसको नीति उसकै नेतृत्व
नवौँ राष्ट्रिय महाधिवेशनमा विचारको बहस खुला भएपछि पार्टीभित्र मूलत: दुई विचार समूह देखा परेका छन् । पहिलो माधवकुमार नेपाल विचार समूहले नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट पुँजीवादी युगमा प्रवेश गरिसकेको र ०६२/०६३ को युगान्तकारी परिवर्तनलाई पुँजीवादी राजनीतिक क्रान्ति पूरा भएको दृष्टिकोण अगाडि सारेको छ भने केपी ओली विचार समूहले ०७० वैशाख ९ मा दिशाबोध पत्रिकामार्फत राजनीतिक क्रान्ति भइनसकेको र नेपाली समाज अर्धसामन्ती अवस्थामा नै रहेको विचार सार्वजनिक गरेको थियो । यद्यपि, केन्द्रीय कमिटीले माधव नेपाल विचार समूहले अगाडि सारेको विचारलाई ग्रहण गरी सर्वसम्मत रूपमा महाधिवेशनमा राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रस्ताव प्रस्तुत गर्ने भएको छ । यदि मस्यौदा गरिएको राजनीतिक प्रतिवेदन र प्रस्ताव महाधिवेशनबाट पारित भएमा स्पष्ट रूपमा माधव नेपाल विचार समूहबाट अगाडि सारिएको विचार पार्टीभित्र स्थापित हुनेछ । पार्टीभित्र नयाँ विचार आएपछि स्वाभाविक रूपमा संगठनात्मक हिसाबले पार्टीलाई अगाडि बढाउन तदनुरूप नै नेतृत्वको आवश्यकता पर्छ । नीति एउटाले प्रस्तुत गरेको पारित हुने तर नेतृत्वचाहिँ अर्को नयाँ व्यक्तिबाट हुने हो भने नीति कार्यान्वयनमा अलमल पर्छ र पार्टी यथास्थितिमा नै रहन्छ । ०१४ सालमा नेपाल कम्युनिस्ट पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा क. पुष्पलालले प्रस्तुत गर्नुभएको गणतन्त्रको कार्यनीतिक नारालाई दुईतिहाई बहुमतबाट पारित गरे पनि पार्टीको महासचिवचाहिँ डा. केशरजंग रायमाझीले हत्याए । अन्तत: केशरजंग रायमाझीले राजापरस्त लाइन लिन पुगेकै कारण ०१७ सालमा राजा महेन्द्रले प्रतिगामी कदम चालेका थिए । अत: कम्युनिस्ट पार्टीभित्र जुन विचार समूहले प्रस्तुत गरेको विचार पारित हुन्छ, नेतृत्व पनि उही विचार समूहको प्रतिनिधित्व हुने गरी निर्माण हुन सक्दा मात्र, नीति अनुरूप पार्टीले गति लिन सक्ने हुँदा महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको यसतर्फ गम्भीरतापूर्वक ध्यान जानुपर्ने देखिएको छ ।
डनवाद र धनवादविरुद्धको वैचारिक अभियान
सर्वहाराकृत जीवनशैली र लेनिनवादी कार्यशैलीले मात्र कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी बनाउँदै श्रमजीवी वर्गको अग्रदूतका रूपमा स्थापित गर्छ । पार्टीभित्र अनुशासित, नेता–कार्यकर्ताको विकासले मात्र पार्टीलाई क्रान्तिकारी बनाउन मद्दत पुर्याउँदछ । तर, पार्टीलाई ठूलो पार्टी बनाउने नाममा वा नेतृत्वले आफ्नो वरिपरि थुप्रै कार्यकर्ता हिँडाउने नाममा समाजमा आपराधिक काममा संलग्न व्यक्तिहरूलाई धमाधम प्रवेश गराई अपराधीहरूलाई संरक्षण गर्ने, आपराधिक काममा संलग्न व्यक्तिहरूलाई नै पार्टी कमिटीको नेतृत्वमा पुर्याउने कामले पार्टीभित्रैबाट सामाजिक अपराध नियन्त्रण गर्न चुनौती खडा हुँदै गएको छ । पार्टीका नेता–कार्यकर्ताको जीवनशैली पनि भड्किलो बन्दै गएको छ । औसत जनताको भन्दा भड्किलो जीवनशैली जनताका लागि प्रिय बन्न सक्दैन । भव्य महल बनाउने, पजेरो चढ्ने र उत्पादनमा संलग्न नभईकन पनि अकुत धनसम्पत्तिको आडम्बर देखाउने, जेजस्तो फजुल खर्च गर्ने/गराउने, पार्टीमा पूर्णकालीन कामको जिम्मेवारी पूरा गर्नुको सट्टा व्यावसायिक काममा संलग्न नहुने, आय आर्जनको पारदर्शिता पार्टीभित्र प्रस्तुत नगर्ने खालको परिपाटीले पार्टीभित्र जे जसरी पनि पैसा कमाउने, धनसम्पत्ति जोड्ने खालको संस्कृतिको विकास हुँदैछ । अत: पार्टीभित्र देखा परेको ‘डनवाद’ र ‘धनवाद’को संस्कृतिका विरुद्ध तीव्र वैचारिक संघर्ष गर्दै पार्टीलाई अनुशासित र क्रान्तिकारी बनाउने दिशामा महाधिवेशनको विशेष ध्यान जानुपर्छ ।
गुटगत गतिविधिलाई निरुत्साहित गर्ने
पार्टीको आठौँ महाधिवेशनबाट पार्टीभित्रको गुटबन्दी तिनाउ खोलामा फालेको उद्घोष गरिए पनि छैठौँ महाधिवेशनदेखि झाँगिँदै आएको गुटगत गतिविधिले विगत पाँच वर्षमा पार्टीलाई आक्रान्त तुल्यायो । महाधिवेशनलगत्तैदेखि विभिन्न जिल्लामा पार्टी कमिटीका विरुद्ध गठन भएका ‘समानान्तर कमिटी’ र नेताका नाममा अपारदर्शी र पार्टीको संस्थागत निर्णय नभई गैरसरकारी संस्था (एनजीओ) खडा गरी सोमार्फत भएका समानान्तर गतिविधिले पार्टीको समग्र काममा गतिरोध सिर्जना गर्यो ।
गुटगत गतिविधि बढ्दै जाँदा पार्टी कमिटीका बैठक हप्तौ दिनसम्म बसी कहिल्यै नटुंगिने अवस्था सिर्जना भयो । निर्वाचित नेतृत्वलाई असहयोग गर्ने, निर्वाचनमा समूह बन्दी भएर चुनाव लड्ने, पराजित भएमा पराजयलाई स्वीकार नगर्ने र पराजित भएपछि पार्टीको विधानमा नभएको पद सिर्जना गरी व्यक्तिलाई सम्मान गर्नुपर्ने परिपाटीजस्ता सबै प्रवृत्तिका विरुद्ध वैचारिक संघर्ष गर्न आवश्यक छ । कम्युनिस्ट पार्टीका कार्यकर्ताले व्यक्तिका पछाडि अन्धभक्त भएर नलागी पार्टीको नीति र निर्णयका पछाडि लाग्ने परिपाटीलाई स्थापित गर्दै जाने र पार्टीभित्र अनुशासनको विधि र पद्धतिलाई दृढतापूर्वक स्थापित गर्ने हो भने पार्टीभित्र गुटगत गतिविधि स्वत: अन्त्य भएर जान्छ । अत: एमालेको यस महाधिवेशनले गुटगत गतिविधिलाई समूल अन्त्य गर्ने दिशामा ध्यान दिनुपर्छ ।
नेताका रूपमा पार्टीलाई स्थापित गर्ने
यतिखेर नेकपा (एमाले) कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा अगाडि बढेको छ । ०६२/०६३ को शान्तिपूर्ण जनक्रान्तिमा लोकतान्त्रिक गणतन्त्रको नारा अगाडि सारेर (पार्टीभित्र केही असहमति भए पनि) वैचारिक नेतृत्व गरेको नेकपा (एमाले)ले यतिखेर अगाडि सारेको विचार नै राष्ट्रिय राजनीतिमा स्थापित हुँदै गएको छ । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरू यतिखेर नेकपा (एमाले)ले परिवर्तित सन्दर्भमा अगाडि सारेको विचारप्रति आकर्षित भइरहेका छन् । भावना, उत्तेजना र उग्रतामा उग्रवामपन्थीको विरोध गर्ने तर दक्षिणपन्थी प्रवृत्तिलाई प्रोत्साहित गर्ने एकपाखे प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न सकिँदैन । अत: वैचारिक रूपले सुस्पष्ट, नीति, दृष्टिकोण र तदनुरूपको शालीन, जुझारु र परिपक्व नेतृत्वले मात्र कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउन मद्दत पुग्दछ । अत: आसन्न एमाले महाधिवेशनले समग्र कम्युनिस्ट आन्दोलनको अगुवाइ गर्न सक्ने व्यक्तित्वलाई नेतृत्वमा छनोट गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ ।
अवसरवादी गठबन्धलाई परास्त गर्ने
विचार, व्यवहार र कार्यशैलीमा भिन्नता हुँदा पनि मानिसहरू पद र अवसर प्राप्त हुने लालसामा एक ठाउँमा उभिने प्रवृत्तिले अवसरवादीको जन्म गराउँदछ । अहिले महाधिवेशनका क्रममा केन्द्रीय तहमा कतिपय नेताका बीचमा देखा परेको गठबन्धनको प्रवृत्तिले अवसरवादी गठबन्धनको पुन: पुष्टि गरेको छ । विगतमा एकअर्काबीच उछितो काढ्ने, लेबल लगाउने, एकअर्काका बीचमा भ्रष्टाचारीको आरोप लगाउने आदि व्यक्तिहरूको जमात खडा भइरहेको छ र यस प्रवृत्तिले नेतृत्व प्राप्तिको आत्मरतिका लागि तीन/चार जना व्यक्तिका बीचमा आगामी २० वर्षसम्म पार्टी नेतृत्वको भागबन्डा गरी पार्टीलाई निजी कम्पनीकै रूपमा रूपान्तरण गर्ने प्रयत्न गर्न खोजेको छ । यस प्रवृत्तिले नेतृत्व हस्तान्तरणको चर्को नारा दिने गरेको छ । तर, यही प्रवृत्तिले पार्टीको माथिल्लो कमिटीको पदहरू पनि ओगटिरहेको छ र जनसंगठनहरूमा कसैलाई पनि नेतृत्वमा आउन नदिई एकल ढंगले नेतृत्व पनि गरिरहेको अवस्थामा नेतृत्व हस्तान्तरणको विषय पनि हावादारी विषय बनेको छ । अत: महाधिवेशनले यस किसिमको अवसरवादी गठबन्धनलाई परास्त गर्दै योग्य, सक्षम, इमानदार, त्याग, समर्पण र आन्दोलनमा अगुवाइ गरेको/गर्न सक्ने सक्षम व्यक्ति छनोट गर्न ध्यान दिनुपर्छ । साथै, सक्षम युवा पुस्तालाई अहिलेदेखि नै पार्टीको माथिल्लो पदमा पुर्याई पार्टीको भावी नेतृत्व सहज ढंगले हस्तान्तरण गर्न ध्यान पुर्याउनुपर्छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply