फेरि यस्तो देख्न नपरोस्

‘हाइटेक शैली’ नेकपा (एमाले)को संविधानसभाको थेगो हो । जनताले भोट हालिदिएका छन्, कार्यकर्ताले सदस्यता नवीकरण गरिदिएका छन् र त, यामलाल कँडेलजस्ता अराजक नेता यो मुलुकमा पार्टीलाई तिर्नुपर्ने ३ लाख रुपियाँ लेबी तिर्नुपर्छ भनेर अञ्चल कमिटीको बैठकमा पनि जाँदैनन् । प्रसंग सुर्खेतको हो, कँडेलले पार्टीलाई तिर्नुपर्ने ३ लाख रुपियाँ लेबी तिरेनन् र केपी ओली र वामदेव गौतमको समीकरण बनेपछि उनलाई लेबी मिनाहको प्रस्ताव अञ्चल कमिटीमा गयो । जबकि सुर्खेतकै सहिद परिवार कमला शर्माले पार्टीलाई तिर्नुपर्ने लेबी तिर्न नसक्दा खेत बेच्नुपर्यो । यिनै यामलाल कँडेलले एमालेको नवौं महाधिवेशनमा टोली नेताको प्रतिस्पर्धामा रहेका विष्णु रिजाललाई धम्काए, हातपातको प्रयास गरे । मन्त्री भएको एउटा नेता भेरी अञ्चलबाट टोली नेताबाट प्रतिस्पर्धा गरिरहँदा कसरी एक जना पत्रकार, टोली नेताकै प्रतिस्पर्धी रिजालमाथि जाइलाग्न खोजे, यसले प्रस्ट पार्दैन र, उनी गाउँमा कसरी प्रस्तुत होलान्, कार्यकर्तालाई कुन तहको व्यवहार गर्लान् ।
नेकपा (एमाले)भित्र हाइटेक शैलीका नाममा फस्टाउँदो गुन्डागर्दी, अराजकता र नवसंशोधनवादका पहेलीहरू बखान गरिसाध्य छैनन् । नवौं महाधिवेशन उद्घाटन सत्रमा महासचिव ईश्वर पोखरेलले रामचन्द्र पौडेललाई गरेको कटाक्षले पनि प्रस्ट हुन्छ कि, हामी अरूलाई सम्मान गर्न कति कन्ज्युस्याइँ गर्छौं । एक त महाधिवेशन उद्घाटन सत्रमा जान लाग्दा गेटमै भित्र छिर्न नपाएका एमाले कार्यकर्ताको अपमानको सिकार भएका पौडेललाई मञ्चमा पनि उचित सम्मान गर्न एमालेका नाममा ईश्वर पोखरेलले सकेनन् । उनी कांग्रेसका उपसभापति थिए । सभापति अमेरिकामा उपचारमा रहेकाले कार्यबाहक सभापति थिए । यो मुलुकमा पटक–पटक उपप्रधानमन्त्री भएका व्यक्ति थिए, पोखरेलजस्तो १३ दिने उपप्रधानमन्त्री र सभासद्को प्रतिस्पर्धामा लगातार हारेर २६ मा पर्न लालायित अनुहार पनि थिएनन् । उसो त मुलुकको पहिलो पार्टी कांग्रेस भएकाले अतिथिको आसन ग्रहणमा पौडेल प्राथमिकतामा पर्नुपर्छ नै । पोखरेलले बल्लतल्ल आसन ग्रहण गराए ‘कांग्रेस उपसभापति’ भनेर । पौडेलले पोखरेललाई भने, ‘म कार्यबाहक सभापति हुँ ।’ पोखरेलले उडाए, ‘उहाँ कार्यबाहक सभापति पनि हुनुहुन्छ रे ।’ कार्यकर्ता गलल्ल हाँसे । यतिखेरसम्म तेस्रो पटक पौडेलको अपमान एमालेले गरिसकेको थियो । अतिथि आसन ग्रहणको लिस्टसमेत थिएन महासचिवसँग, त्यसैले उनले राप्रपा नेपालका चन्द्रबहादुर थापालाई आसन ग्रहण गराएपछि पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई आसन ग्रहण गराए । उद्घाटनमा त्यो भद्रगोल यस्तो देखियो कि, महासचिवको प्रस्तुतिले उनको क्षमतामा औंला ठड्याइरहेको थियो ।
उद्घाटनसत्रमा कार्यकर्ताहरू भित्र छिर्न पाएनन् । केहीले स्वागत द्वार भत्काए, केहीले झन्डा पनि च्याते रे । निषेधको राजनीति हुर्कंदै गरेको मुलुकमा कार्यकर्ता यति अराजक के बनेका थिए, केहीले भने, ‘यी हाम्रा कार्यकर्ता होइनन्, भिजिलान्ते हुन् ।’ केहीले भने, ‘यी सबै माधव नेपालका हुन् ।’ टेलिभिजनले सबै अनुहार देखाएका छन्, ती कार्यकर्ता हुन् कि भिजिलान्ते या माधव नेपालका मान्छे ? मञ्च व्यवस्थापन संयोजक विष्णु रिमाल, महासचिव पोखरेल र उपाध्यक्ष वामदेव गौतमविरुद्ध नारा लगाउँदैमा सबै माधव नेपालको मान्छे हुने कस्तो जवाफ हो नेताहरूको ? यसले एमालेमा निषेधको राजनीति अरू कति हुर्केला भनेर सहजै अनुमान गर्न सकिन्छ ।
उद्घाटन उस्तै खल्लो रह्यो । नेताहरूलाई बस्न असहज भइरहेको थियो । सबै ईश्वर पोखरेलजस्ता तन्नेरी नेताहरू मात्र थिएनन्, बूढापुस्ताका बिरामी नेताहरू पनि थिए अतिथि । तर, उनीहरूको सामान्य वास्ता पनि एमालेले गर्न सकेन । आफ्नो पालो कहिले आउला र घर जाउँला भनेर नेताहरू, पूर्वप्रधानमन्त्रीहरू हतारिएका थिए । समयमा सांस्कृतिक टोलीले झाँकी देखाउन सकेन । रोबोट भनेर पुष्पवृष्टिका लागि प्रयोग गरिएको रोबोट कुनै आठौं आश्चर्य थिएन । रक्सौल, रुपैडिया, जोगबनी, सुनौलीतिर गयो भने बच्चालाई किनिने खेलौना यो भन्दा शानदार हुन्छ भनेर कार्यकर्ताहरू भन्दै थिए । विदेशी पाहुनालाई त झन् यो झुम्राको पुतली जति पनि नलागेको हुनुपर्छ । पत्रकारहरूले पास पाउन सकेका थिएनन् । पास बाँड्नेहरूले समान व्यवहार नगरेको भनेर प्रचार सचिव सूर्य थापालाई धेरैले सामाजिक सञ्जालमा आलोचना गरेका पनि थिए । थापाको पनि बाध्यता थियो होला ।
बन्दसत्र सुरु भएदेखि नै अनेक पहेलीहरू देखिन थाले । माधवकुमार नेपाल पक्षलाई के गरी कमजोर बनाउन सकिन्छ भनेर भुइँफुट्टा हल्ला गर्ने काममा ठूलै शक्ति लागेको थियो । बन्दसत्रमा बनेका टोली नेतामा को माधव नेपालका र को केपी ओलीका प्रस्टै थिए । तर, बाहिर भने १७ टोलीमा १३ वटा ओलीको र ४ वटा नेपालको भनेर हल्ला फैलाइयो भने मदन भण्डारी अध्ययन केन्द्रले सार्वजनिक गरेको माधवकुमार नेपाल विचार समूहको ‘हाम्रा दृष्टिकोणहरू’ पुस्तक च्यात्ने काम भएको थियो । राजेन्द्र राईले लेखेको लेखमा नेता केपी शर्मा ओली बिरामी छन् भन्ने वाक्यमा असन्तुष्टि जनाउँदै पुस्तक च्यात्नेहरूले कसरी विचारको लडाइँ गर्लान् भन्ने समस्या भयो । बन्दसत्र नै केहीबेर स्थगित भयो । यसको नेतृत्व गरेका थिए पर्शुराम बस्नेतले र साथ दिएका उनका कार्यकर्ताहरूले पनि ।
टोली बनेर प्रतिवेदनमाथि बहस जारी थियो । आइतबार केपी ओली समूहका भेलाका लागि सरकारी गाडी निकै दुरुपयोग भएको थियो । उपप्रधानमन्त्री गौतम, कृषि मन्त्री हरि पराजुली र ऊर्जामन्त्री राधा ज्ञवाली निकै नै कार्यकर्ता फकाउने काममा लागेका थिए । महिलाहरूलाई ऊर्जामन्त्री ज्ञवालीले निवेदन दिनू, भोलि बैठक छ, म निर्णय गराइदिन्छु भनेकी थिइन् भने गौतमले धेरै आकर्षक पदहरू, प्रतिनिधिका छोराछोरीलाई जागिरको ‘अफर’ गरेका थिए । विभिन्न नियुक्ति र जागिरका ‘अफर’का लागि हरि पराजुलीको मुसादौड हेर्न अरू लायक थियो भने महाधिवेशन सचिवालय प्रमुख बनाइएका प्रदीप नेपालको एकोहोरो प्रहार माधवकुमार नेपालमाथि थियो । उनले माधवकुमार नेपालकै कारण म सभासद्को टिकट पाउनबाट वञ्चित भएको, समानुपातिकमा नपरेको, २६ मा पनि पर्न नसक्ने मात्र होइन, माधव नेपालकै कारण आफू यस पटक अध्यक्ष मण्डलमा पनि नपरेको भन्दै माधव नेपालका पक्षमा सीआरबीटी राख्ने स्वयम्सेवकलाई पनि हटाउन भनिरहेका थिए । सचिवालय प्रमुख भने पनि उनको भूमिका माधव नेपाल समूहले पत्रकारसँग के बोले, कुन कागज बाँडे भनेर चासो लिने र त्यसलाई खण्डन गराउने काममा व्यस्त थिए ।
सोमबार भएको बन्दसत्रमा जनसंगठनका नेता बनेका महेश बस्नेतले समूहका छलफल भएको कुरा मञ्चमा गएर बोलेनन् । प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माले भने, ‘हामीसँग भएको छलफलका विषयभन्दा फरक आफ्नै कुरा राखे बस्नेतले ।’ जबकि, जनसंगठनमा बहुमत नेपाल पक्षको थियो र बखेडा गरेको भए बस्नेत टोली नेता हुनबाट पनि रोकिन्थे । हुलहुज्जत गर्ने, झगडा गर्ने भन्दा रक्षात्मक अवस्थामा शालीन रूपमा प्रस्तुत हुने नेपाल पक्षधरको अडानका कारण बस्नेतहरूको चरित्रले मौलाउने अवसर पाएको भन्दै केही कार्यकर्ता नेपाल पक्षसँग पनि गुनासो गरिरहेका थिए ।
प्रधानमन्त्री सुशील कोइराला पनि सकारात्मक रहेको विषयमा उनको अनुपस्थितमा उपप्रधानमन्त्री गौतमले कार्यबाहक प्रधानमन्त्रीको भूमिका निभाउँदा अर्को विवादास्पद काम गरे । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरुवा गर्न नमानेर हंगामा मच्चाएर बसेका जगेडाका उपसचवि भरतराज सुवेदीलाई ठाडो आदेशमा अर्थ मन्त्रालयमा पदस्थापनको काम गौतमले मोटो रकम लिएर र अर्थमन्त्री डा. रामशरण महतसँगको मिलेमतोमा गरेको भनेर पेसागत समूहका महाधिवेशन प्रतिनिधिले आवाज उठाए । लालबाबु पण्डित पनि बैठकमा नभएको मौका पारेर गौतमले यस्तो गरे । र, गौतमले उनीहरूको जवाफ दिएनन् । महाधिवेशन प्रतिनिधिले गौतमविरुद्ध नारा लगाउने भने पनि उनी भने होटल चहार्न व्यस्त थिए । कसलाई जागिर दिने, कसलाई नियुक्ति दिने भन्दै पद र पैसा बाँड्ने आश्वासनमा गौतम निकै व्यस्त थिए ।
मंगलबार साँझसम्ममा एमालेको निर्वाचन प्रक्रिया सुरु हुने सम्भावना थियो । तर, बाधक बन्यो, भोटिङ मेसिन । ओली पक्षले आफूलाई निर्वाचन जिताउन उपयोगी ठानेको र कहीँकतै परीक्षण र अनुमति तथा विस्वसनीयता नभएको भोटिङ मेसिनमा नेपाल पक्षले विमति जनाएपछि त्यो काम रोकियो । त्यसले महाधिवेशन केही दिन लम्बिने नै भयो । तर, महाधिवेशनमा नेपाल पक्षले उठाएका अडानमा बन्दसत्र लाचार भएर प्रस्तुत हुनुले महाधिवेशन हलमा नेपाल कमजोर छैनन् भन्ने पुष्टि मात्र गरेको छैन, नेताहरू केपी ओली समूहलाई जिताउने भन्दा पनि आफूलाई सुरक्षित गर्ने दौडधूपमा निकै व्यस्त बन्न थाले । बाहिर देखाउन चाहिँ केपी शर्मा ओलीलाई हाइहाइ गराउने समूह परिचालन भएको थियो । महाधिवेशन सबै पक्षबाट फितलो, कमजोर, कार्यकर्ताको मन दुखाउने खालको त भयो नै, यसलाई कसरी सुधार गर्ने भन्नेबारे नेताहरू गम्भीर भएका छैनन् । सत्ताको शक्ति, बल, पैसाले पदमा रहन सकिन्छ भन्ने भ्रममा कार्यकर्तालाई तान्नु, धम्काउनु, नियुक्तिको लोभ दिनु पक्कै शोभनीय विषय होइन । महाधिवेशनमा भएको खर्चको ‘ब्रेकडाउन’ पनि सार्वजनिक गर्न कार्यकर्ताको माग छ । वर्षको १ करोड रुपियाँ पार्टीको आम्दानी भइरहँदा ३ लाख रुपियाँसम्म लेबी नतिर्नेहरू पनि केन्द्रीय सदस्यका आकांक्षी बनेका छन् भने बलात्कारी आरोपमा दुई महाधिवेशन प्रतिनिधिको सदस्यता नै काटकुट भएको छ । ती सबै केपी शर्मा ओलीका पक्षधर शंकर पोखरेलका मान्छे भनेर बाहिर आएकै छ । पार्टीमा आन्तरिक लोकतन्त्र या जनवादको अभ्यास हुनु राम्रो हो । यसले सबल नेतृत्व जन्माउँछ, तर धेरैको चिन्ता छ, निषेधको राजनीतिक संस्कार जसरी नेताहरू हुर्काउँदैछन् पुस्तान्तरणको नाममा, यसले एमालेका असल, इमानदार र पार्टीसँग केही नमाग्ने कार्यकर्ताहरूको भावनामा भने कति ठेस लागेको होला, सोचनीय विषय बनेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply