लोकमानलाई सुनुवाइमा ल्याउन दबाब

किन बदल्छन् यति धेरै मोबाइल ?
काठमाडौं । संसद् नभएको बेला राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश जारी भएर नियुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई संसदीय सुनुवाइमा ल्याउन लबिङ सुरु भएको छ । एकै देशमा दुई तरिकाका नियुक्ति हुने भएकाले एकरूपता कायम गर्न केही युवा सभासद्हरूले त्यसका लागि दलका नेताहरूसँग लबिङ गरिरहेको थाहा भएको छ ।
गत वर्ष प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउने गरी बाधा अड्काउ जारी हुँदा सवैधानिक अंगको नियुक्तिको कुरा पनि घुसाइएको थियो । तर, पछि संविधानसभाको निर्वाचन भएपछि त्यतिबेला जारी भएका अध्यादेशहरू अनुमोदनका लागि संसद्मा ल्याइए पनि संसदीय सुनुवाइ गर्नुपर्ने नियुक्तिहरू भने ल्याइएको छैन । अभियानमा सहभागी एक सभासद्ले बुधबारसँग भने– ‘अब बाँकी रहेका संवैधानिक अंगका पदाधिकारी तथा सदस्य नियुक्त गर्दा सुनुवाइ हुन्छ । अनि एउटै निकायमा सुनुवाइ भएका र नभएका दुईथरी अधिकारीहरू रहन सक्दैनन् । त्यसैले हामीले सुनुवाइमा ल्याउनुपर्छ भनेर अभियान चालेका छौं ।’ उनका अनुसार, यसका बारेमा सभामुख सुवास नेम्वाङसँग पनि कुराकानी भइरहेको छ ।
यसैबीच, एमालेनिकट कानुन व्यवसायीहरूको संगठन प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संघ (पीपीएलए)ले राष्ट्रिय सम्मेलनबाटै संसदीय सुनुवाइ गर्न आग्रह गरेको छ । संघले पारित गरेको प्रस्तावको छ नम्बर बुँदामा भनिएको छ– ‘बाधा अड्काउ फुकाउ आदेशको आधारमा नियुक्त भएका सबै संवैधानिक अंगका प्रमुख र सदस्यहरूको संविधानबमोजिम संसदीय सुनुवाइ हुनै पर्दछ ।’ साथै, संघले ‘नयाँ संविधान जारी भएपश्चात सबै संवैधानिक अंगका पदाधिकारी र सबै तहका अदालतका न्यायाधीशहरूको पुन: नियुक्ति गरिने संवैधानिक व्यवस्था नयाँ संविधानमा स्पष्ट रूपमा उल्लेख गर्न’ पनि माग गरेको छ ।
अरू धेरै कुरामा एक ठाउँमा उभिन नसक्ने दलहरू शाहीकालीन मुख्यसचिव कार्कीलाई अख्तियारको प्रमुख बनाउन भने एकमत भएका थिए । एमालेले अन्तिममा अलि–अलि विरोध गरे जस्तो गरे पनि पहिला समर्थन नै गरेको थियो ।
यति धेरै मोबाइल किन ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्त हुनासाथ कार्कीले सीधा जनसम्पर्कमा बस्नका लागि आफ्नो नम्बर नै सार्वजनिक गरेका थिए । तर, अहिले कसैले उनलाई सम्पर्क गर्न चाहेमा निकै कठिन छ । बुधबारले प्रतिक्रियाका लागि कार्कीसँग सम्पर्क गर्न खोज्दा छ वटा मोबाइलमा प्रयास गर्दा पनि सफल भएन । कार्कीका प्रेस सल्लाहकार ओमबन्धु कार्कीले भने– ‘सरले आइतबार मोबाइल चेन्ज गर्नुहुन्छ, पछिल्लो नम्बर मसँग पनि भएन ।’
बुधबारले प्राप्त गरेका कार्कीका भनिएका नम्बरहरूमध्ये कुनैमा फोन लाग्दैन भने कुनैमा गए पनि अर्कैले उठाउँछन् । उनीसँग अख्तियारमा नहुँदैदेखिको नेपाल टेलिकमको अन्तिममा १ भएको सीडीएमए (९७४१) फोन थियो भने त्यसलगत्तै अन्तिममा ० भएको एनसेल (९८०८६) वाला नम्बर थियो । क्रमश: टेलिकमको अन्तिममा ७ भएको पोस्टपेड (९८५११) नम्बर, अन्तिममा ६ भएको अर्को नम्बर र ९८५१२ वाला अन्तिममा ६ भएको अर्को नम्बर थिए । टेलिकमको अन्तिममा ७ भएको प्रिपेड नम्बर पनि फोन लाग्दैन ।
यति धेरै मोबाइल बदल्नुमा कार्कीले आफ्नो नम्बर ट्यापिङ हुने गरेको बताउने गरेको निकटस्थहरू बताउँछन् । उनीसँग नियमित सम्पर्कमा रहेको एक स्रोतले भन्यो– ‘त्यही भएर नम्बर बदल्नुपरेको उहाँले बताउने गर्नुभएको छ ।’ तर, कोबाट त्यस्तो काम भइरहेको छ भन्नेबारेमा भने स्रोतले बताउन चाहेन ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply