बैठक चलाउनै हम्मे–हम्मे !
काठमाडौं । ठूलो संख्या भएका कारण एमालेको केन्द्रीय कमिटीको बैठक सञ्चालन नै भद्रगोल देखिएको छ । बैठकलाई व्यवस्थित बनाउनका लागि आचारसंहिता नै पारित गरिए पनि केन्द्रीय सदस्यहरूले आफूलाई लागेका कुरा ढुक्कले राख्न पाएका छैनन् ।
‘ठूलो संख्या भएका कारण समस्या परेको छ’– महासचिव ईश्वर पोखरेलले भन्नुभयो– ‘त्यसलाई व्यवस्थित गरेर विषयवस्तु केन्द्रित बनाउन आचारसंहिता र कार्यविधि पारित गरेका छौं ।’ गत साउन १ गते पहिलो बैठकमै अध्यक्ष केपी ओलीले ‘भाषण जिल्लातिर गएर गर्ने हो, यहाँ लामो कुरा गर्ने होइन’ भनेपछि केन्द्रीय सदस्यहरूले चर्को आलोचना गरेका थिए ।
१ सय ६१ सदस्यीय केन्द्रीय कमिटीमा ५४ जना पुराना सदस्य छन् भने १०७ जना पहिलो पटक सहभागी बनेका छन् । उनीहरूले बैठकको सञ्चालनलाई त्यति राम्रो मानेका छैनन् । ‘बैठक भद्रगोल लाग्यो’– एक केन्द्रीय सदस्यले भने– ‘जिल्ला कमिटीका बैठकहरू पनि अलि व्यवस्थित हुन्छन् ।’
ठूलो संख्या भएका कारण एउटाले बोल्दा अरूले सुन्नमा पनि समस्या परेको छ । अध्यक्ष ओलीले त बैठकमा बोल्दा माइक नै प्रयोग गर्न थाल्नुभएको छ । एक जनाले बोल्दा कसैले आपसमा कुराकानी गरिरहेका हुन्छन् भने कतिले मोबाइल चलाइरहेको देखिन्छ । बैठक चल्दाचल्दै मोबाइलमै कतिपय केन्द्रीय सदस्यहरूले तस्बिर ‘अपलोड’ गरिहेको देखिन्छ ।
मुख्य एजेन्डा थाती
केन्द्रीय कमिटीको दोस्रो बैठक कुनै ठोस निर्णयबिना शनिबार साँझ सम्पन्न भएको छ । गत साउन १ गते बसेको पहिलो बैठकले १० वटा एजेन्डा तय गरे पनि चार दिन चलेको बैठकले मुख्य कुनै पनि विषयमा निर्णय गर्न सकेन । कार्यसूचीमा केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजनका साथै पार्टीको महत्त्वपूर्ण नीतिगत र तत्कालीक निर्णय लिने स्थायी समिति र पोलिटब्युरो चयनलाई महत्त्वका साथ राखिएको थियो । तर, आउँदो असोज १० गते अर्को बैठक बस्ने निर्णय गर्दै त्यतिबेलासम्मका लागि एमालेले कामचलाउ व्यवस्था गरेको छ । जस अनुुसार, भूगोलमा पहिला संयोजक रहेका केन्द्रीय सदस्यहरूले जितेको भए तिनीहरूले नै संयोजकको काम गर्ने छन् भने नजितेको भए जसले भूगोलबाट जितेका छन्, त्यतिबेलासम्म तिनले नै कामलाई निरन्तरता दिनेछन् । विभागका हकमा पनि महाधिवेशनअघि जिम्मेवारी सम्हालेकालाई नै कामचलाउ तोकिएको छ । बाँकीका हकमा भने केन्द्रीय सचिवालयले संयोजन गर्ने भनिएको छ । कार्यविभाजन र पोलिटब्युरोका बारेमा निष्कर्षमा पुग्न नसके पनि वरिष्ठ नेता माधवकुमार नेपालले अघिल्लो मंगलबार आफ्नो निवासमा भेट्न आएका अध्यक्ष केपी ओलीलाई पदाधिकारी मात्रै राखेर भए पनि स्थायी समिति गठन गर्न सुझाव दिनुभएको थियो । तत्काल निर्णय लिनुपर्ने अवस्थामा संस्थागत निर्णय गर्नका लागि पदाधिकारी मात्रै राखेर भए पनि स्थायी समिति गठन गर्न उहाँको जोड थियो । उपाध्यक्ष वामदेव गौतमले पनि स्थायी समिति नबनाउने हो भने व्यक्तिगत रूपमा पार्टी चल्छ भन्दै गठनमा जोड दिनुभएको थियो ।
किन बनेन स्थायी समिति ?
स्रोतका अनुसार, अध्यक्ष ओलीले स्थायी समितिको आकार बढाउन चाहेकाले गठन हुन नसकेको हो । १ सय ६१ सदस्यीय केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी समिति सदस्य संख्या रहने व्यवस्था एमालेको विधानमा छ । यस आधारमा पोलिटब्युरो ५३ सदस्यीय र स्थायी समिति १७ सदस्यीय हुन्छ । स्थायी समितिका १४ पदाधिकारी र वरिष्ठ नेता झलनाथ खनाल स्वत: हुने नै हुनुभयो भने अर्का वरिष्ठ नेता माधव नेपाल पनि पर्नु नै हुने भयो । बाँकी एक पदमा छान्न अध्यक्ष ओलीलाई आफ्नै गुटबाट अप्ठेरो छ । त्यसका लागि उपमहासचिवमा पराजित शंकर पाखेरेल मुख्य दाबेदार छन् भने महाधिवेशनअघि नै ओलीले प्रदीप नेपाल, मुकुन्द न्यौपाने र छविलाल विश्वकर्मालाई वचन दिइसक्नुभएको छ । नेपाल पक्षले महासचिवमा १५ मतले पराजित सुरेन्द्र पाण्डेको नाम अघि सारेको छ । त्यसैले पोलिटब्युरोको संख्या ६३ बनाएर स्थायी समिति सदस्यको संख्या २१ पुर्याउने ओलीको चाहना छ । एक केन्द्रीय सदस्यले भने– ‘त्यही कारण स्थायी समिति गठन हुन सकेन ।’
विधान पनि सल्टिएन
विधानका बारेमा पनि एमालेको बैठक निष्कर्षमा पुग्न सकेन । महासचिव ईश्वर पोखरेलको संयोकत्वमा गठित कार्यदलले ठोस रायबिना दुवै विकल्प बैठकमा राखिदिएपछि उत्पन्न भएको अन्योलबारेमा ५७ जना केन्द्रीय सदस्यले चार दिन लगाएर बोले पनि कुनै निष्कर्ष निस्केन । महाधिवेशनबाट एक कार्यकाल केन्द्रीय सदस्य भएकाले मात्रै पोलिटब्युरो सदस्य हुन पाउने व्यवस्था गरेकोमा अध्यक्ष ओली पक्षधरहरूले त्यसो गर्दा आफ्ना सदस्य पर्ने भएकाले पहिलो पटक सदस्य भएकाले पनि पोलिटब्युरो हुन पाउनुपर्ने अडान लिएका छन् भने नेपाल पक्षधरले महाधिवेशनको निर्णय परिवर्तन हुन नसक्ने अडान लिएका छन् । बैठकपछि महासचिव पोखरेलले जारी गरेको वक्तव्यमा उल्लेख छ– ‘विधानको धारा ३८ का सन्दर्भमा पार्टीका पदाधिकारी तथा वरिष्ठ नेताहरूसँग परामर्श गरी सहमति कायम गर्ने र तत्पश्चात विधान प्रकाशित गर्ने निर्णय गरेको छ ।’
साउन १ गते शपथ ग्रहण गर्दा अध्यक्ष ओलीले अरूसँग जस्तो आफूसँग पर्याप्त समयको सुविधा नभएको भन्दै सबै काम फटाफट हुने घोषणा गर्नुभएको थियो । तर, साढे दुई महिनासम्म केन्द्रीय सदस्यहरूकै कार्यविभाजन नहुने भएकाले एमालेमा असन्तुष्टि बढेको छ । उता, ओली नेता निर्वाचित भएको पाँच महिना बितिसक्दा समेत संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन सकेको छैन ।
कामचलाउ को कहाँ ?
एमालेको निर्णय अनुसार, अर्को व्यवस्था नभएसम्म निम्नानुसार केन्द्रीय सदस्यहरूले कामचलाउ रूपमा अञ्चल संयोजक भएर काम गर्नेछन् : मेची– हिक्मत कार्की, कोसी– जीवन घिमिरे, सगरमाथा– जगन्नाथ खतिवडा, जनकपुर– लक्ष्मण पौडेल, नारायणी– काशीनाथ अधिकारी, बाग्मती– पशुपति चौलागार्इं, उपत्यका– जीवनराम श्रेष्ठ, गण्डकी– मायानाथ अधिकारी, धौलागिरि– श्रीमाया थकाली, लुम्बिनी– छविलाल विश्वकर्मा, राप्ती– प्रकाश ज्वाला, भेरी– यामलाल कँडेल, कर्णाली– गोरखबहादुर बोगटी, सेती– महेश्वर पाठक, महाकाली– गणेशसिंह ठगुन्ना ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
-
निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
-
एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
Leave a Reply