खगराजको दिनगन्ती सुरु

काठमाडौं । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै विवादास्पद कार्यहरूमा कीर्तिमान कायम गरेका खगराज अधिकारीले आफूलाई हटाइन लागेको संकेत आफू स्वयम्ले नै खुलासा गरेका छन् । केही दिनअघि उनले आफू मन्त्री पदमा रहिरहे चाँडै नै नेपालमै भ्याक्सिन उत्पादन गर्ने कुरा बताएका थिए । मन्त्री भएदेखि नै अनेक विवादमा मुछिँदै आएका मन्त्री अधिकारीले आफूलाई एमालेले फिर्ता बोलाउन लागेको संकेत आफूनिकटका व्यक्तिहरूलाई समेत दिइसकेका छन् । र, उनले आफूलाई कुनै पनि बेला फिर्ता बोलाउन सक्ने भएको हुँदा अधुरा कामहरू पूरा गर्न पनि निर्देशन दिइसकेको बताइन्छ ।
मन्त्री भएदेखि नै अधिकारीले मन्त्रालयलाई नोक्सान पुर्याउने कार्य मात्रै गर्दै आइरहेका छन् । पछिल्लो समय उनले सार्वजनिक बिदाका दिन पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्ने निर्णय गरेर स्वास्थ्यकर्मीहरूलाई आक्रोशित तुल्याएका थिए । उनले सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गर्नुपर्ने मन्त्रीस्तरीय निर्णय गरेपछि नेपाल चिकित्सक संघले तीव्र विरोध जनाइसकेको छ । मन्त्रीले आफ्नो निर्णय नसच्चाए आन्दोलनमा उत्रिने चेतावनी चिकित्सकहरूले दिएपछि उनी उक्त निर्णयबाट एक कदम पछि हट्न बाध्य भएका थिए । स्वास्थ्यकर्मीहरूमाथि जबर्जस्ती लादिएको यस्तो निर्णयपछि उनलाई हचुवाको भरमा निर्णय गर्ने मन्त्रीको रूपमा अहिले मन्त्रालयभित्र चिनिने गरिन्छ ।
यसअघि, मन्त्री अधिकारी ग्लोबल फन्डको कन्ट्री को–अर्डिनेटर मेकानिज्मको संयोजकमा शिव आचार्यलाई नियुक्त गरेर विवादमा मुछिएका थिए । आचार्यलाई नियुक्त गरेपछि नेपालमा एचआईभी/एड्स, क्षयरोग र मलेरियाजस्ता प्राणघातक रोगहरूको नियन्त्रणका लागि विगत लामो समयदेखि अनुदान सहयोग गर्दै आइरहेको ग्लोबल फन्डले सहयोग रोक्ने आसयको पत्र पठाएको थियो । करिब १३ वर्षदेखि सहयोग गर्दै आइरहेको फन्डले आगामी सन् २०१५ सम्म ४ अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाए पनि पछिल्लो चरणको किस्ता भने एकाएक रोकेको थियो । र, नयाँ कार्यक्रमका लागि पठाइएको अवधारणा पत्र पनि फिर्ता गरेको थियो । फन्डको राष्ट्रिय संयोजकमा मन्त्रीले आफ्ना व्यक्तिलाई भर्ती गरेको पत्ता लगाएपछि फन्डले सहायता नै रोक्ने निर्णय गरेको थियो ।
मन्त्री भएको केही महिनापछि नै अधिकारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा कनिष्ठ व्यक्तिलाई ल्याउन खोजेपछि लामो समयसम्म नियुक्ति प्रक्रिया रोकिन पुगेको थियो । मन्त्री अधिकारीले उपकुलपतिमा आफ्नै गृहजिल्लाका डा.गणेश गुरुङलाई अघि सारेपछि लामो समयसम्म सहमति बन्न सकेन । मन्त्री स्वयम् संयोजक रहेको सिफारिस समितिका दुवै जना सदस्यले डा.गुरुङको नाममा आपत्ति जनाएका थिए । तर, पछि नेपाली कांग्रेससित भागबन्डा मिलेपछि उनले अघि सारेकै डा.गुरुङ उपकुलपति नियुक्त भएका थिए । त्यसअघि, मन्त्री अधिकारीले मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा ठूलो संख्यामा करारमा कर्मचारीहरू नियुक्ति गरेर विवाद निम्त्याएका थिए । उनले एकैचोटि १ हजार ३ सय ४६ जनालाई नियुक्त गरेका थिए । तर, पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करारमा भएको नियुक्तिलाई बदर गरेको थियो ।
मन्त्री भएदेखि नै मन्त्रालयभित्रका कामहरूलाई अस्तव्यस्त तुल्याउँदै आएका अधिकारीको कामप्रति एमालेका नेताहरू सन्तुष्ट नरहेको बताइन्छ । उनको कामले विवाद मात्रै निम्त्याउने गरेको हुँदा उनलाई उपयुक्त समयमा फिर्ता बोलाउन सक्ने सम्भावना प्रबल रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply