सेनापति–सशस्त्र आईजीबीच मनमुटाव
काठमाडौं । दुई वर्षअघि पदावधि सकिए पनि करारमा उपरथी रहिरहन सफल नरेशबहादुर बस्नेतलाई बढुवा गर्ने प्रधानसेनापति गौरवशमशेर राणाको प्रयास सफल भएन । स्वच्छ छविका प्रधानमन्त्री सुशील कोइरालाले उक्त प्रस्ताव अस्वीकृत गरेकोमा आश्चर्य नमाने पनि बस्नेतलाई बढुवा गर्न नदिनका लागि सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त किन लागे होलान् भनेर जंगी अड्डाले ठम्याउन सकेको छैन ।
सबैलाई ‘रिझाउन सक्ने क्षमताका धनी’ बस्नेतलाई करारमै बढुवा गराउनका लागि प्रधानमन्त्री कोइरालामाथि पनि चर्कै दबाब परेको थियो । प्रधानसेनापति राणाले इच्छाएको एउटा बढुवा गरिदिँदा फरक पर्दैन, सेनासँग राम्रो सम्बन्ध रहन्छ भन्दै दबाब पर्दा प्रधानमन्त्री पनि लचिलो भएका थिए । स्रोतका अनुसार, यसबारेमा उनले आफ्नो कार्यालयमा मुख्यसचिव लीलामणि पौडेलसँग पनि राय मागेका थिए । नेपाली सेनामा दुई जना मात्रै रथी रहेका बेला अर्को पद थप्दा ओएनएम (संगठनात्मक संरचना)मै फरक पर्छ भन्ने सुझाव पाएका प्रधानमन्त्री कोइरालाले सशस्त्र प्रहरी महानिरीक्षक वन्तबाट पनि त्यस्तै सल्लाह आउला भन्ने अपेक्षा गरेका थिएनन् । तर, आईजी वन्तले यसरी माग गरेका आधारमा बढुवा गर्दै जाने हो भने भोलि मैले माग्दा के भन्नुहुन्छ ? म पनि आईजी थप्छु भन्दै कुनै पनि हालतमा बढुवा नगर्न सुझाव दिएका थिए । स्रोतले भन्यो– ‘प्रधानमन्त्रीसँग मात्र नभएर उनीनिकट सभासद्सँग पनि वन्तको राम्रो हिमचिम भएका कारण तिनीहरूको पनि राम्रै उपयोग भएको रहेछ ।’
यता, प्रधानसेनापति राणाले नेपाली सेनाले बनाउन लागेको १४ तलाको भेट्रान्स अस्पताललाई टुंगोमा पुर्याउन बस्नेतलाई बढुवा गर्न पाएको भए भन्ने इच्छा राखेका थिए । उनको तर्क थियो– ‘नरेशले जत्तिको कुरा बुझ्न अरूलाई एक वर्ष लाग्छ । फेरि अरूले यसलाई टुंगोमा पुर्याउन पनि सक्दैनन् । आफ्नै कार्यकालमा यति काम गरेर जाउँ भन्ने लागेर सिफारिस गरेको थिएँ । अरू साथीहरूलाई टाउको दुखेछ ।’ नेपाली सेनामा बस्नेतले सम्हालिरहेका विकास निर्माण तथा स्थपति महानिर्देशनालयले सबै प्रकारका निर्माण, मर्मत जस्ता कामहरू गर्दछ । महांकालमा सेनाले बहुउद्देश्यीय भवनका रूपमा विशाल भवन बनाएर भेट्रान्स अस्पताल चलाउने योजना बनाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले लबिङ गरेको कुरा थाहा पाएर प्रधानसेनापति राण क्रुद्ध बन्ने नै भए । ‘त्यसले मेरो काममा चासो राख्ने के मतलब ? त्यो को हो र ?’ भन्दै उनले निकटस्थहरूसँग आक्रोश पोख्ने गरेको स्रोतले बतायो । स्थापनाकालदेखि नै संरचना, हतियार जस्ता विषयमा सेना र सशस्त्र प्रहरीबीच सुमधुर नभएको सम्बन्ध दुई हाकिमबीचको लफडाले थप तिक्त बनेको एक उच्च अधिकारीले बताए ।
‘दुई इन्जिनियरबीच के रहेछ ?’
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले किन लबिङ गरे होलान् भन्ने बुधबारको जिज्ञासामा एक सैनिक अधिकारीले भने– ‘खोइ दुई इन्जिनियरबीच के खटपट रहेछ †’ आईजी वन्त र उपरथी बस्नेत दुवै इन्जिनियर हुन् । यससम्बन्धमा बुझ्न खोज्दा आईजी वन्त उपलब्ध भएनन् ।
बस्नेतको बढुवा नहुने पत्र पाएपछि बल्ल सैनिक मुख्यालयले कहाँ–कहाँबाट लबिङ भएछ भन्ने पत्ता पाएको छ । स्रोतका अनुसार, नेपालको आन्तरिक मामिलामा चासो राख्ने विदेशी मुलुकका दूतावाससमेत यसमा सक्रिय भएको सूचना मुख्यालयसँग छ ।
किन छ चिसो सम्बन्ध ?
०५८ सालमा सरकारले अर्धसैनिक संरचनाको सशस्त्र प्रहरी बल गठन गर्दा नै नेपाली सेनाले असन्तुष्टि राखेको थियो । बढी सशस्त्र संगठन बनाउनुको साटो सेनामै संख्या र भौतिक पूर्वाधार थप्नुपर्ने सैनिक अधिकारीहरूको सुझावलाई त्यतिबेला अस्वीकार गर्दै सेना र प्रहरीबाट जनशक्ति लिएर सशस्त्र प्रहरी बल गठन गरिएको थियो । त्यसपछि पनि एउटा समस्या दुई संगठनका बीचमा रहँदै आएको छ । त्यो हो– मर्यादाक्रम र वरिष्ठता । सेनामा एउटै पदमा रहेका अधिकारीहरू सशस्त्रमा गएर फटाफट बढुवा हुने र आफूले सलाम गर्नुपर्ने भएपछि सैनिक अधिकारीहरूलाई चित्त बुझेको छैन । जस्तो– नेपाली सेनामा प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) रहेका सनत बस्नेतले सशस्त्र प्रहरी प्रमुख भएर बिदा पाएको तीन वर्ष बितिसकेको छ । जबकि, उनको ब्याजका लेक हरिबहादुर बस्नेत, अनुज बस्नेतहरूले एक महिनाअघि मात्रै उपरथी हुने मौका पाएका छन् । यसैगरी, एउटै ब्याजका शैलेन्द्र श्रेष्ठ पनि सशस्त्रको आईजी भएर बिदा भइसकेका छन् भने उनको ब्याजका जगदीश पोखरेलहरू बल्लतल्ल सहायकरथी छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply