वैचारिकता वरिपरि
‘कवि कविता होस्, कविता कवि होस्, तब पो कविता हुन्छ । शब्द थुपारिकन के हुन्छ ? भाव भए पो हुन्छ’ पारसमणि प्रधानले यसरी धेरै वर्षपहिले कविताको अर्थ, भावनाको मर्म र कविको कवि हृदयलाई प्रस्ट्याएका थिए । कविता आफंैमा एक महासागरीय साहित्यिक विधा हो । जुन यसको भावात्मक गहिराइले अनन्त र अमाप्य छ । अनन्त अन्तरिक्षको शून्य बिन्दुबाट आरम्भ भई अदृश्य अनकन्टार धर्तीको कुनै कन्दरामा निसंकोच प्राप्त गर्न सकिने भावको डुंगा सयर गर्ने एक अमर कृति कविता हो र कविता कविहृदयको काल्पनिक संसारको यथार्थ हो । यस्तै, भावनात्मक संसारको काव्यिक रचना बन्न पुगेको छ– एक कल्प ।
सांसारिक दर्पणको कारिन्दाको कलात्मक सिर्जनाले सिँगारिएको सानो किस्साझंै भावनात्मक संगीतले सिँगारिएको कृति ‘एक कल्प’ कवि गोविन्दराज भट्टराईको कविहृदयमा फक्रिएका पुष्पहरूको सुन्दर माला हो । गद्यता र पद्यताको संयोजनले सिर्जनाको अनुपम मगमगाहट दिइरहने यो काव्यिक रचना कविता भोगी, साहित्यप्रेमी तथा सुन्दरताका पुजारीका लागि रचित अनमोल कृति मान्न सकिन्छ । साहित्यरूपी कल्पवृक्षको एक हिस्सा समान ‘एक कल्प’ मीठा कविताहरूको सँगालो हो । ‘एक कल्प’ भित्रका कविताहरू कविको कवित्व र समाजको यथार्थ चित्रणको सजीवताले सजिएको छ ।
प्रजातन्त्र राष्ट्रको ढुकुटीको, सपनाको पहिलो खुसी हो भने राष्ट्रप्रेम सबैको अपनत्वको भावना जगाउने प्राण हो । यही शब्दबाट शुभारम्भित सिर्जना जीवनको गीत मा अन्त्य भएको छ । उक्त कवितामा जीवन छ, जीवनगाथा छ र जीवनको वास्तविक अर्थ छ । विश्लेषणभित्रको संश्लेषणले यस कृतिका सिर्जनाहरूलाई अमर तुल्याएको भान हुन्छ । मानिसका जीवनका आरोह–अवरोह मात्र नभई सुखद अवस्थाका क्षणहरू र दु:खद अवस्थाका बिलौनाका विम्बहरूले सजीव पारिएका प्रत्येक कविता पाठकका लागि अतृप्त छन्, अनमोल छन् र अवश्यम्भावी विचार उत्पादक छन् । मानवीय मनको शल्यक्रिया कलमले गर्न सक्ने कवि भट्टराई ‘एक कल्प’का माध्यमबाट गतिशील कवि बनेका छन् ।
विचारले सिर्जना र सिर्जनात्मक विचारको संयोजन ‘एक कल्प’ समाज परिवर्तनको सम्वाहक बन्न पुगेको छ, देशभक्तिको ज्वलन्त उदाहरण बन्न पुगेको छ । व्यक्तिलाई समाज र जीवन सोच्न बाध्य तुल्याउने सशक्त माध्यम बन्न पुगेको छ । कृतिका प्रत्येक कविताहरू कवित्वको अमरताले सृजित भएको भान हुन्छ । किनकि, प्रत्येक कविता समाजका कुरीति, कुसंस्कार र व्यक्तिवादी विचारका विरुद्ध प्रस्तुत गरिएका छन् । आधाभन्दा बढी कविताहरू भावनात्मक गहिराइसँग बोधगम्यताका दृष्टिकोणले मनको गहिराइसम्म स्थान बनाउन सफल छन् । प्रत्येक कविताहरू पढ्न जब पुस्तकका पन्नाहरू पल्टिँदै जान्छन्, लाग्छ यो पुस्तक कहिल्यै नसकियोस्, यो विचार अमर रहोस् र यो कृति प्रत्येक नेपाली मनमा गढिरहोस् ।
चोटिला प्रहारले कुसंस्कृतिको पछि लाग्ने व्यक्ति र समाजलाई सत्यको बाटो देखाउन कृतिकारले कञ्जुस्याइँ गरेका छैनन् । ‘म खाउँ, मै लाउँ सुख सयल वा मोज म गरुँ’ भन्ने मान्यता राख्ने कथित अगुवाहरूको सेखी झार्न सक्षम छ यो कृति । पछि परेको समाजलाई विकास र वैचारिक चिन्तनले सिँगारी सिंगो नेपालको एक ध्वनि बजाउँदै समाज परिवर्तनको सपना बोकेको छ यस कृतिले । साथै, यसले ‘ज्ञान गंगाको अन्त्य हुँदैन’ भन्ने बालकृष्ण समको वाणीलाई चरितार्थ गर्दै ज्ञानरूपी बागका विशाल ढोकाहरू खोलिदिएको छ । प्रत्येक कविताको रचना उच्चकोटिका शब्दको चयन, विशेष प्रकारको रचनात्मक संयोजन र वैचारिक सन्निकटताको सञ्जालले रचिएका छन् । अर्थभित्रको भाव र भावभित्रको चिन्तनलाई प्रस्तुत गर्ने कृति साहित्य अनुरागीलाई पाठ्य सामग्रीका रूपमा उपलब्ध गराई दिएको छ, ओरिन्टल पब्लिकेशनले ।
यो कृति कविलाई कुनै अदृश्य शक्तिले च्यापी सपना देखाएको अवस्थामा सृजित झंै लाग्छ । किनकि, यो कृतिकारको स्वार्थको जालोभन्दा पर पुग्न सकेको छैन । यसमा सर्जकको समाज परिवर्तन गर्ने, कुरीतिको निराकरण गर्ने र स्वार्थीपन निमिट्यान्न पार्ने स्वार्थ लुकेको छ । यस कृतिमा संग्रहित बाह्र वटा सुन्दर कविताहरू सन्देशका सम्वाहक बनेका छन् भने आकारमा मध्यम भए पनि विचारमा भने चोटिला छन् । सर्जकको भाषिक गहनताले कविताहरू अझ बहुभाषिक मर्म बोकेका छन् । यही त हो, सर्जकको भाषाभित्रको कला, कृतिको भाषिक अमरता । करिब तीन दशकबीचका अमर कृतिहरू नेपालको विभिन्न ऐतिहासिक र सांस्कृतिक स्थानहरूमा रचिएका छन् । हरेक कृति जीवनगाथा बोकेका उर्वर छन् । वैचारिक उच्चताका साथै अंग्रेजीप्रतिको युवा मोहलाई सजीव तुल्याउने प्रत्येक कविता सलल बगेका छन् । अन्त्यमा, अमर सृजना ‘एक कल्प’ नेपाली साहित्यरूपी बागको मगमगाउँदो पुष्प सधैँ भइरहने अपेक्षा सँगाल्न सकिन्छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply