कहाँ–कहाँ ढल्यो समाजवाद ?
बीसौँ शताब्दी समाजवाद स्थापना र पतन दुवैका लागि विश्व इतिहासमा अविस्मरणीय छ । खास गरी, रुसमा सन् १९१७ मा बोल्सेभिक क्रान्ति सम्पन्न भएपछि त्यसको प्रेरणामा पूर्वी युरोपमा धमाधम क्रान्तिले सफलता पाएको थियो । जसरी रुसी क्रान्तिका कारण जनवादी क्रान्ति गर्न दुनियाँ उद्देलित भएको थियो, त्यसै गरी त्यसको पतनले पनि समाजवादी दुनियाँलाई नराम्रो धक्का दियो । समाजवादी र पुँजीवादी गरी दुई ध्रुवमा विभाजित विश्वको समाजवादी ध्रुवको नेतृत्व गरिरहेको सोभियत संघ भित्रभित्रै मक्किन थालेपछि त्यसको असर अरू मुलुकमा पनि तीव्र रूपमा पर्न थालेको पाइन्छ । कम्युनिस्टहरूले त्यसलाई प्रतिक्रान्तिको संज्ञा दिए । त्यस्तो प्रतिक्रान्ति कहीँकतै बाहिरी प्रयासबाट अलिअलि भए पनि अधिकांश त स्वयम् कम्युनिस्ट पार्टीभित्रैबाट भएको थियो ।
समाजवाद विघटन भएपछि कतिपय मुलुकमा नयाँ रूपमा कम्युनिस्ट पार्टीहरू पुन:गठित भए पनि कतिपय मुलुकमा पूरै कम्युनिस्ट आन्दोलन नै उठ्न नसक्ने अवस्थामा पुग्यो । हिजो शासन गरेका धेरै मुलुकमा आज कम्युनिस्ट पार्टी छँदै छैनन्, भए पनि अत्यन्त कमजोर अवस्थामा छन् । कहाँ–कहाँ ढलेको थियो त समाजवाद ?
अफगानिस्तान (१९७८–९०) मा पिपुल्स डेमोक्रेटिक पार्टी अफ अफगानिस्तानले शासन गरेको थियो । समाजवाद ढलेपछि त्यसले माक्र्सवाद–लेनिनवाद छोडेर आफूलाई सामाजिक जनवादी पार्टीमा रूपान्तरण गर्यो । अल्बानिया (१९४४–९१)मा पार्टी अफ लेबर अफ अल्बानियाले शासन गरेको थियो भने अंगोला (१९७७–९०)मा पपुलर मुभमेन्ट फर द लिबरेसन अफ अंगोलाले शासन गरेको थियो । पछि यो माक्र्सवाद–लेनिनवाद छोडेर सामाजिक जनवादी पार्टीमा रूपान्तण भएको थियो ।
बेनिन (१९७५–८९)मा पिपुल्स रिभ्युलसनरी पार्टी अफ बेनिनले क्रान्तिमार्फत शासन गरेको थियो । पछि यसले पनि आफूलाई माक्र्सवाद–लेनिनवादप्रति प्रतिबद्ध राखिरहन सकेन र सामाजिक जनवादी पार्टीमा रूपान्तरण भयो । बुल्गारिया (१९४४–९०)मा बुल्गारियन कम्युनिस्ट पार्टी र कम्बोडिया (१९७५–७९)मा कम्युनिस्ट पार्टी अफ कम्पुचिया (खमेर रुज)ले शासन गरेका थिए । रिपब्लिक अफ कंगो (१९७०–९०)मा कंगोलिज पार्टी अफ लेबरले शासन गरेको थियो । समाजवाद ढलेपछि यसले माक्र्सवाद–लेनिनवाद नै छोड्यो ।
चेकोस्लोभाकिया (१९४८–८९) मा कम्युनिस्ट पार्टी अफ चेकोस्लोभाकिया, इथियोपियामा (१९८४–९०) वर्कर्स पार्टी अफ इथियोपिया, पूर्वी जर्मनी (१९४९–८९)मा सोसलिस्ट युनिटी पार्टी अफ जर्मनी, हंगेरी (१९४९–८९) हंगेरियन सोसलिस्ट पार्टी र मंगोलिया (१९२१– ९१)मा मंगोलियन पिपुल्स रिभ्युलसनरी पार्टीले शासन गरेका थिए । मंगोलियन पार्टीले पछि माक्र्सवाद–लेनिनवाद नै परित्याग गर्यो र सामाजिक जनवादी पार्टीमा रूपान्तरण भयो । मोजाम्बिक (१९७७–९२)मा शासन गरेको फ्रेलिम्पो पार्टीले पछि माक्र्सवाद–लेनिनवाद परित्याग गर्यो र सामाजिक जनवादी बन्यो । पोल्यान्ड (१९४५–८९) मा पोलिस वर्कर्स पार्टी/पोलिस युनाइटेड वर्कर्स पार्टी, रोमानिया (१९४७–८९)मा रोमानियन कम्युनिस्ट पार्टी र सोमालिया (१९७६–९१)मा सोमाली रिभ्युलसनरी सोसलिस्ट पार्टीले शासन गरेका थिए । समाजवादीहरूको केन्द्रका रूपमा रहेको सोभियत युनियन (१९१७–९१)मा समाजवाद मात्र विघटन भएन, मुलुक नै १५ टुक्रामा विभाजित भयो । पहिला द रसियन कम्युनिस्ट पार्टी (बोल्सेभिक)का रूपमा परिचित पार्टीले पछि कम्युनिस्ट पार्टी अफ द सोभियत युनियनका रूपमा रूपमा शासन गरेको थियो । दक्षिणी यमन (१९७८–९०)मा यमनी सोसलिस्ट पार्टी र युगोस्लाभिया (१९४३–९०)मा लिग अफ कम्युनिस्ट्स अफ युगोस्लाभियाले शासन गरेका थिए ।
सशस्त्र संघर्षमा कम्युनिस्ट पार्टी
कुनै बेला थियो, विश्वको एकतिहाइ भूभागमा सशस्त्र संघर्ष चलिरहेको थियो । बहुराष्ट्रिय कम्पनीले ‘चिसो भनेकै कोकाकोला हो’ भनेर प्रचार गरेझैँ ‘कम्युनिस्ट पार्टी भनेकै सशस्त्र पार्टी हो र यसको काम नै सशस्त्र संघर्ष गर्नु हो’ भन्ने मान्यता थियो । तर, आज एक्काइसौँ शताब्दीमा आउँदा त्यस्तो मान्यतामा परिवर्तन आएको छ र अत्यन्त कम भूभागमा मात्र कम्युनिस्ट पार्टीहरू सशस्त्र संघर्षमा छन् । जहाँ–जहाँ उनीहरू संघर्षमा छन्, त्यहाँ पनि प्रभाव अत्यन्त न्यून छ । उनीहरूको शक्ति बढ्नुभन्दा घटिरहेको देखिन्छ । विगतमा युद्धमा सहभागी धेरै जसो कम्युनिस्ट पार्टी आज शान्तिपूर्ण राजनीतिमा संलग्न छन् ।
सशस्त्र संघर्षमा रहेका कम्युनिस्ट पार्टीहरूले आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद र लेनिनवादलाई कम महत्त्व दिएर माओवादलाई बढी जोड दिने गरेका छन् । धेरै जसो मुलुकमा त त्यस्ता पार्टीहरूले आफ्ना नामका पछाडि माओवादी शब्द नै राखेका छन् ।
अहिले विश्वका २१ मुलुकमा सशस्त्र संघर्षमा विश्वास राख्ने माओवादी पार्टीहरू अस्तित्वमा छन् । अफगानिस्तान, अर्जेन्टिना, बंगलादेश, बोलिभिया, भुटान, क्यानाडा, चीन, अमेरिका, कोलम्बिया, इक्वेडर, भारत, इरान, इटाली, जापान, नेपाल, नर्वे, पेरु, फिलिपिन्स, पोर्चुगल, श्रीलंका र टर्कीका त्यस्ता पार्टीमध्ये केही नाम, घोषणापत्र र झन्डामा मात्र सीमित छन् भने केहीले सशस्त्र संघर्ष चलाइरहेका छन् ।
अहिले कम्युनिस्ट पार्टीले चलाइरहेको सशस्त्र संघर्षमध्ये भारतीय सशस्त्र संघर्षलाई सबैभन्दा ठूलो मानिन्छ । सन् १९६७ मा पश्चिम बंगालको नक्सलवाडीबाट चारु मजुमदारको नेतृत्वको सुरु भएको सशस्त्र संघर्षकै निरन्तरता स्वरूप अहिले भारतीय कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा सशस्त्र संघर्ष जारी छ । २१ सेप्टेम्बर २००४ मा दुई प्रभावशाली माओवादी पार्टी भाकपा (माले) पिपुल्स वार ग्रुप र माओवादी कम्युनिस्ट केन्द्र भारत (एमसीसीआई)बीच एकता भएर मुप्पाला लक्मणा राव अर्थात् गणपतिको नेतृत्वमा रहेको यस पार्टीले सिंगो भारतलाई प्रभावित पारेको छ । सन् २००६ मा तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहले यसलाई ‘द सिंगल विगेस्ट इन्टरनल सेक्युरिटी च्यालेन्ज’ (सबभन्दा ठूलो आन्तरिक सुरक्षा चुनौती) भन्नुले पनि यसबाट भारत प्रभावित छ भन्ने बुझ्न सकिन्छ । सन् २०१२ मा गृह मन्त्रालयले एक आँकडा सार्वजनिक गर्दै ‘लेफ्ट विङ्ग अतिवाद’बाट ८७ जिल्ला प्रभावित रहेको र अरू ८६ जिल्लामा विचारधारात्मक प्रभाव रहेको स्वीकार गरेको थियो । छत्तीसगढ, उडिसा, विहार, झारखण्ड, महाराष्ट्र, पश्चिम बंगाल र आन्ध्रमा माओवादी प्रभाव छ ।
यकिन तथ्यांक नभेटिए पनि विभिन्न अनुसन्धान संस्थाहरूका अनुसार लडाकु दस्ताका रूपमा रहेको पिपुल्स लिबरेसन गुरिल्ला आर्मी (पीएलजीए)का नौदेखि दस हजार स्थायी लडाकु छन् भने ६ हजार ५ सय छापामार छन् । सन् २०१० मा माओवादीका महासचिव गणपतिसँग अन्तर्वार्ता लिने पत्रकार गौतम नौलखाका अनुसार उनीहरूका १२ कम्पनी र २५ प्लाटुन छन् ।
सन् २०१० मा माओवादी प्रवक्ता आजादले सार्वजनिक गरेको जानकारी अनुसार ४५ सदस्यीय केन्द्रीय कमिटीका २२ जना सदस्यको हत्या भएको छ भने आठ जनालाई गिरफ्तार गरिएको छ । अहिले पुन:गठन गरेर केन्द्रीय कमिटीलाई २२ सदस्यीय बनाइएको छ ।
One response to “कहाँ–कहाँ ढल्यो समाजवाद ?”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
thik cha k bho ta.ahile pani hami haru bistarabad ko biruddmaa ladi nai raheko chau.