प्रदीपलाई पद त्याग्दा बधाई!
काठमाडौं । कुनै बेला नेकपा (एमाले)का ‘डाइनामिक’ नेताको परिचय बनाएका प्रदीप नेपाल छ महिनाअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको प्रमुख सल्लाहकार बनेपछि थुप्रै आलोचना कमाए । ०५६ सालको निर्वाचनमा काठमाडौं–१ बाट उल्लेख्य मतले आफैंले पराजित गरेका र त्यही आसपासमा आफैंले खुलामञ्चबाट ‘नेपालको १ नम्बरको भ्रष्टाचारी’ घोषणा गरेका गौतमको सल्लाहकार बनेर राजनीतिक कद घटाएको टिप्पणी गर्नेहरूको लर्को नलागेको होइन । आफैं तीन पटक मन्त्री भइसकेका नेपालले ‘मन्त्रीको सचिवालयमा जानु हुँदैनथ्यो’ भन्ने टिप्पणी एमाले पंक्तिमा प्रशस्तै सुनिएका थिए ।
धेरैको आलोचना, सुझाव र टिप्पणी किनारा नलाग्दै एमाले नेता नेपालले चार दिनअघि गौतमको प्रमुख सल्लाहकारबाट राजीनामा दिएका छन् । आफूले राजीनामा दिनुपर्ने कारणमा नेपालले ‘कर्मचारी प्रशासन र आफूबीचको चेपुवामा गृहमन्त्री परेको महसुस भएकाले’ भन्ने उल्लेख गरेका छन् । तर, नेता नेपालले राजीनामाको कारणमा गृहमन्त्री चेपुवामा परेको उल्लेख गरे पनि मुख्य कारण उनी स्वयम् पार्टीमा गौतमको चेपुवामा परेको देखिएको छ ।
राजनीतिक जीवनको लामो कालखण्डमा एमाले अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेलहरूसँग दूरी कायम राख्दै आएका नेपाल पछिल्लो समयमा भने तिनै नेताहरूसँग गाँसिन पुगे । एमालेको नवौं महाधिवेशनमा ओली समूहबाट उपाध्यक्षमा उम्मेदवारी बनेर पराजित भए । माधव नेपाल नेतृत्वमा रहँदा उनका विश्वासपात्र मानिने नेता नेपालले छ महिनाअघि रोजेको गृहमन्त्री गौतमको प्रमुख सल्लाहकार पद त्याग्नुमा भने गौतमले उनीप्रति देखाएको उपेक्षा नै प्रमुख कारण रहेको बताइन्छ ।
आफूलाई सघाउन आग्रह गरेका गृहमन्त्री गौतमले एमालेको स्थायी समिति चयनका क्रममा पाखा लगाउने प्रयास गरेपछि नेपालले असन्तुष्ट भएर पद त्याग गरेको बताइन्छ । एमाले उपाध्यक्ष गौतमले आफूलाई स्थायी समितिमा लैजान पहल गर्नुको साटो किरण गुरुङको पक्षमा अडान लिएपछि नेपाल गौतमप्रति आक्रोशित हुन पुगेका थिए । यसअघि स्थायी समितिमा पटक–पटक रहिसकेका नेपालले अहिले उक्त ठाउँ खोज्नुलाई नाजायज मान्न पनि सकिँदैनथ्यो । विगतमा आफूसँगै स्थायी समितिमा रहेका मुकुन्द न्यौपानेलाई केही दिनअघि सकिएको केन्द्रीय कमिटीको बैठकले स्थायी समितिमा उकालेपछि नेता नेपालले पनि त्यसका लागि पहल गर्नु स्वाभाविकै थियो । तर, उपाध्यक्ष गौतमले आफ्नो नाममा रातो चिन्ह लगाएर किरण गुरुङलाई अघि सारेपछि प्रमुख सल्लाहकारमा बस्ने इच्छा मारेको बताइन्छ ।
गृहमन्त्री गौतम स्वयम्ले अनुरोध गरेर प्रमुख सल्लाहकार बनेका नेपालसँग गत भदौमा सिन्धुपाल्चोकको जुरेमा पहिरो गएयता गौतमले न कुनै सल्लाह लिए, न त भेटघाट गर्न नै आवश्यक ठाने । गृहमन्त्री गौतमको उपेक्षाभावको सिकार भएपछि मन्त्रालयका कर्मचारीहरूसँग घाम ताप्दै गफ गरेर बस्नु सायद नेपाललाई उपयुक्त नलागेको हुनसक्छ र त्यही कारण उनले राजीनामा दिएको बताइन्छ ।
नेता नेपालले चार दिनअघि गृहमन्त्री गौतमको प्रमुख सल्लाहकारबाट राजीनामा दिएको जानकारी आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेपछि विभिन्न व्यक्तिहरूले फरक–फरक प्रतिक्रिया दिएका छन् । कृष्ण बजगाईले लेखेका छन्– ‘तपाई त्यहाँ जानै हुन्थेन । जे गर्नु भो, ठीक गर्नु भो ।’ अविनाश बुढाथोकीले लेखेका छन्– ‘ठीकै गर्नु भो कमरेड । वामदेवले आफ्नो असली हर्कत देखाइरहेको अवस्थामा यो राम्रो आत्मनिर्णय लिनुभयो ।’ जनकमान डंगोल लेख्छन्– ‘जिन्दगीमा पहिलो पटक राम्रो काम गर्नु भएछ कामरेड । खुसी लाग्यो ।’
आरसी मरहठ्ठाको भनाइ चाहिँ यस्तो छ– ‘ए, तपाई घर मन्त्रीज्यूको सल्लाहकार हुनुहुन्थ्यो ? त्यत्रो कुइन्टलका कुइन्टल सुन ल्याउँदा किन बोल्नु भएन दाइले ? हुन त बिरामी हुनुहुन्थ्यो क्यार । ल, जे गर्नु भो, एकदम ठीक गर्नुभो, बेलैमा छाडेर । यहाँको सुस्वास्थ्यको कामना । नयाँ नयाँ कृतिहरू पढ्न पाऊँ । नेपाली वाम राजनीतिको बारेमा विगत र वर्तमान भेदलाई मूल्यांकन गरी पुस्तक कोर्नोस् दाइ ।’ इन्द्रमणि नेपाल लेख्छन््– ‘कहाँको हरिद्वार, कहाँको …द्वार । कहाँ प्रदीप नेपाल, कहाँ वामदेव…अनि कसरी बस्नु त ।’ गोकुल पराजुलीले यस्तो प्रतिक्रिया जनाएका छन्– ‘ठीक गर्नु भो कमरेड । वामदेवजीले अहिले गोल्ड तस्करीमा जोड दिएर बेकाम गरेका छन् । तेस्को दोष तपाईंले बोक्नु ठीक हुँदैनथ्यो ।’
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply