खँदिलोपनको अभाव

धेरैजसो स्रष्टाहरू सघन र मोटा–मोटा विषयवस्तुहरूलाई नै आफ्नो लेखनको आधार बनाउन चाहन्छन् । दैनन्दिन जीवनका सामान्य तर स्पर्शनीय विषयहरू कतिपयको दृष्टिबाट टाढा नै रहन्छन् । तर, कथाकार ईशा शाह भने सानातिना विषयवस्तुहरूलाई आफ्नो कथा–संसारमा उतार्न खप्पिस देखिएका छन् । अत्यन्तै सामान्य विषयलाई पनि उनी गहन र स्पर्शनीय ढंगले उतार्छन्, यो नै उनको कथा–लेखनको विशिष्ट खुबी हो । शाहको नयाँ कथाकृति ‘ईशाका सिर्जना’भित्रका अधिकांश कथा मानवीय सम्बन्ध, कटुता र संवेदनाकै वरिपरि घुमेका छन् ।
‘अन्योल’ को विषयवस्तु अत्यन्तै सामान्य छ । तर, सामान्य विषयवस्तु भए पनि गहन भावबोधले भरिपूर्ण रहेको छ । कुनै सरकारी कार्यालयमा कार्यरत एउटा विशिष्ट तहका कर्मचारीले समस्यामा परेकी एउटी युवतीलाई हृदयदेखि नै सघाउँछन् । एउटा पत्र बन्न ढिलाइ हुँदा ती युवतीले भोग्नुपरेको मानसिक तनाव बुझेर नै, ती कर्मचारीले सघाउन उपयुक्त ठान्दछन् । र, एयरपोर्टमा जहाज छुट्ने तहसम्म पुगेकी ती युवतीलाई आफंैले मोटरसाइकलमा राखेर पुर्याइदिन्छन् । तर, ती कर्मचारीले गरेको सहयोगप्रति ती युवतीले कृतज्ञता प्रकट गर्नुभन्दा आफ्नै स्वार्थ निप्ट्याउन मात्र लाग्छिन् । मानिसहरूमा विस्तारै मौलाउँदै गइरहेको कृतघ्न स्वभाव र चरित्र उदांगो पार्न यो कथाले उल्लेख्य भूमिका खेलेको प्रतीत हुन्छ । ‘बालविचार’ले बालकहरूको अबोधगम्यतालाई दर्साउन चाहेको छ । आफ्नै पिताले मृत्युवरण गर्दा एउटा बालकको अबोधपन कसरी प्रकट हुन पुग्छ ? यही पक्ष केलाउन यो कथा अग्रसर देखिएको छ । मृत्युपछि पनि आफूलाई आफ्ना पिताले चकलेट नल्याइदिएकोमा ती बालक मरिसकेको पिताप्रति रुष्ट हुन्छन् र परिवारका अरु सदस्यहरू शोकमा डुब्दा पनि उनमा भने अबोधपन, निर्दोषपन र बालस्वच्छन्दता सल्बलाइरहेको हुन्छ ।
‘संगत’ सहरिया युवा पुस्ताको मनोदशा केलाउने कथा हो । सहरमा बस्ने युवा–युवतीहरू प्रेम, बिहेको सन्दर्भमा कतिसम्म संकीर्ण हुन्छन् भन्ने देखाउन चाहेको छ, यो कथाले । र, सहर–बजारमा युवतीहरूमा भित्रिइरहेको स्वच्छन्द प्रवृत्ति र युवाहरूमा व्याप्त संकुचित चिन्तनको चिरफार गर्न पनि चाहेको छ । ‘संयोग’ मा अभाव र दरिद्रताबीच बाँचिरहेका सहरका बच्चाहरूको अवस्था झल्काउन खोजिएको छ । पेन्सिल किन्न घरबाट निस्किएका एउटा बच्चा दुई रुपियाँको सिक्का हराएपछि कस्तो मनोदशामा तैरिन पुग्छन् र त्यही बाटोमा दुई रुपियाँको सिक्का फेला पार्ने एक जना भलाद्मीले त्यो बच्चाको मनोविज्ञान बुझेर कस्तो सहृदयी व्यवहार गर्छन् ? यही सेरोफेरोमा घुमेको यो कथाले बालकले आफ्नो घरपरिवारको आर्थिक स्थिति बुझेर देखाएको सुझबुझपूर्ण व्यवहार यो कथामा प्रदर्शन भएको छ ।
पारिवारिक अन्तद्र्वन्द्व र तनावको कथा हो–‘परिवर्तन’ । घर परिवारका सन्दर्भमा सदैव अव्यावहारिकता प्रदर्शन गर्ने एक जना व्यक्तिमा एकाएक आएको व्यावहारिक परिवर्तन देखाउन यो कथा सफल ठहरिएको छ । सधैँभरि परिवारको सदस्यको आफूप्रतिको व्यवहारबारे गुनासो पोख्ने एउटा व्यक्तिले एउटी पात्राको सुझावपछि परिवारका सदस्यप्रति आफ्नो पूर्ववत व्यवहार बदल्न चाहन्छ र त्यही बदलिएको व्यवहारले नै उनलाई व्यावहारिक गोरेटोमा अघि बढाउन मद्दत पुर्याउँछ । मूलत: पारिवारिक तनावमा फसेका एक युवाको वेदना कोट्याउन यो कथा सक्षम रहेको छ । ‘छात्रवृत्ति’ ले छात्रवृत्ति पाएका एउटा युवाले अध्ययनप्रति देखाएको गहिरो लगावतर्फ संकेत गरेको छ । आफ्नो महत्वपूर्ण काम र जिम्मेवारीलाई थाँती राखेर अहिलेका युवा पुस्ता फेसबुकको संसारमा जसरी रमाइरहेका छन्, जसरी फेसबुकको लतमा फसिरहेका छन्, त्यस्ता युवाहरूलाई सचेत तुल्याउन यो कथा अग्रसर देखिएको छ ।
‘हुरी’ प्रेम सम्बन्धमा उत्पन्न दरार र कटुताको दैलो उघार्ने राम्रो कथा बन्न पुगेको छ । एउटा युवा एउटी युवतीसँग घनिष्ट प्रेममा परेका हुन्छन् । तर, समयक्रममा उनीहरूबीचको सम्बन्ध टुट्न पुग्छ । र, युवाले अर्कै युवतीसँग बिहे सम्बन्ध कायम राख्छन् । तर, उनले जुन युवतीसँग बिहे गर्दछन्, ती युवती र आफूले प्रेम गरेकी युवतीबीच तुलना गर्दै पूर्व प्रेमिकाको व्यवहारलाई नै उत्कृष्ट ठहर्याउने तहसम्म पुग्दछन् । यो कथाले आफ्नो जीवनयात्री छनोटका क्रममा चुकेको एउटा युवाको कथा कहेको छ । ‘स्मृति’ एउटा केटा र केटीबीचको सामान्य भेट र त्यस क्रममा भएका सम्वादमा सीमित कथा हो ।
मूलत: मसिना विषयहरूलाई कथा–क्षितिजमा उतार्ने खुबी भएका शाहले नारी र पुरुषबीचको सम्बन्धलाई आफ्नो कथा–लेखनको मूल ध्येय बनाएका छन् । तर, केही कथाहरू भने अति नै सामान्य विषयका छन्, जसले खँदिला विषयवस्तुको अपेक्षा राख्नेहरूलाई खिन्न तुल्याउन सक्दछ ।
कृति : ईशाका सिर्जना
विधा : कथा
प्रकाशक : रत्न सागर प्रकाशन प्रा.लि.
पृष्ठ : १२४ प्लस ८
मूल्य : १२०।–
संवाद
हिमाल, पहाड र तराई छुट्याएर संघीयतामा जानु हुँदैन
लालबाबु यादव
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply