नौलो दृष्टिकोण
भूमण्डलीकरणको तीव्र चपेटामा हरेक क्षेत्र र भूगोल लपेटिन पुगेको धेरै समय भइसक्यो । भूमण्डलीकरणको असरले विश्वका ठूला र अत्याधुनिक सहरहरूलाई मात्र गाँजेको छैन, ग्रामीण क्षेत्रहरूसमेत त्यसको प्रभावले रन्थनिइरहेका छन् । आफ्नै संस्कृति, भाषा र अरु मौलिक पक्षहरू जोगाउँदै बाँचिरहेको गाउँ र गाउँबासीहरूले क्रमश: आफ्नो पहिचान गुमाउँदै गइरहेका छन् र आयातित संस्कृतिको जालोभित्र ग्रामीण विम्ब र पहिचानहरू जेलिइरहेका छन् ।
दार्जिलिङका युवाकवि निमा शेर्पाको नवीन कविताकृति ‘कुरुप फूलको सुगन्ध’भित्रका कविताहरूको लय लगभग एउटै लहरमा बगेका छन् । ‘गाउँको कथा’मा उनले हराएको सिम्फोनीको कथा जुन ढंगले बुनेका छन्, त्यसले भूमण्डलीकरणको छायाँमा बिलाइरहेको एउटा मात्र होइन, अनेक गाउँ र बस्तीहरूको सामूहिक चिन्ता व्यक्त गरेको छ । कविताका पंक्तिहरू बोल्छन्– ‘गोधूलि साँझमा आँगन–आँगनमा/गाउँमा धूलो उड्दैन अचेल/चेपागाँडा र गडेउला खेलाउँदै गाउँसित/खोलाले इत्रिन पाउँदैन अचेल ।’
हरेक पुस्ता अन्तरद्वन्द्वमा बाँचेको हुन्छ । पुराना पुस्ताका चिन्तन, व्यवहार र कार्यशैली नयाँ पुस्तालाई सुपाच्य नहुन सक्छ । पुस्तान्तरणसँगै नयाँ सोच, चिन्तनको विकास हुनुलाई अस्वाभाविक मान्न सकिँदैन । ‘छोरालाई’ शीर्षक कविताले पुस्ता–पुस्ताबीचको अन्तरद्वन्द्व र मतभेदलाई उजागर गर्न चाहेको छ । ‘देश’ले सम्भ्रान्त र गरिब वर्गबीचको बढ्दो दूरीलाई इंगित गर्न खोजेको छ । देशको दायित्व उच्च वर्गका निम्ति हुनुपर्ने हो कि, तल्लो तप्काका जनताका निम्ति हुनुपर्ने हो ? कविले मूलभूत रुपमा यही प्रश्न उठाउन चाहेका छन् । ‘हावामै हल्लिरहन्छ झन्डा’ले राजनीतिक क्षेत्रमा देखिएको विसंगतिको चित्र उतार्न चाहेको छ भने ‘मूर्तिकार र मान्छेको साइज’ले मान्छे शारीरिक बनावटका कारण होइन, बुद्धि, विवेक र वर्कतले माथिल्लो हैसियत राख्न सक्षम हुनेतर्फ औंल्याइएको छ । कवि लेख्छन्–‘काँ कम्मर नापेको ? लचकता नाप्नुस् न त्यसको/टाउको सप्पैको एउटै हो हजुर/त्यसभित्र फल्ने विचार नाप्नुस् त/अनि थाहा पाउनु हुनेछ तपाईले/मान्छेको पक्का साइज ।’
‘मेरो गाउँ घुम्न आउनु होस्’मा कविले ग्रामीण जीवनका निश्छलता पस्किने चेष्टा गरेका छन् । अझै पनि गाउँमा आडम्बर, ढोंग र छलकपटले प्रवेश पाएका छैनन् र ग्रामीण क्षेत्रका मानिसहरूमा निश्छल भाव, चिन्तन र आत्मीयताका अंशहरू बग्रेल्ती रहेको कुरा बताउन कवि अग्रसर देखिएका छन् । ‘खोलाको गीत’मा पहिचानको मुद्दाले प्रबल स्थान पाएको छ । खोला, एउटा पहिचान हो । जसलाई कसैले पनि, कहिल्यै पनि सुकाउन सक्दैन । आफ्नै लय, सुर र तालमा खोला बगिरहन्छ । कविले पहिचानको सवाल यो कवितामा मुखर रूपमा उठाएका छन् ।
‘पाइलाको आकार’ले जातीय र भौगोलिक पहिचानलाई राम्ररी ठम्याएको छ । सबैले आफ्नो पहिचान खोज्छन्, आफ्नो पहिचानलाई विशिष्ट तुल्याउन चाहन्छन् । कवि लेख्छन् पनि– ‘पाइलाको आकार कत्रो हुन्छ ? तेन्जिङले भनेछन्– सगरमाथाजत्रो/म खोज्दैछु अहिले/मेरो बोजुको पाइला/गाउँमा/बारीको गरैगरा ।’ ‘उनीहरू गीत गाउन छाड्दैनन्’मा संघर्षशील आम मानिसको जीवन दर्शनको गहिरो छाप अंकित छ । आम मानिसहरू संघर्षको विकल्प देख्दैनन् र गीत गाउनु उनीहरूका निम्ति जीवन बाँच्ने गहन तरिका हो । कवि लेख्छन्–‘गीतको कुनै रङ हुँदैन/गीतको जात हुँदैन/गीतको धर्म हुँदैन/यसैले हुनुपर्छ/उनीहरू गीतबिना ज्युँन जान्दैनन्/उनीहरू गीत गाउन छाड्दैनन् ।’
मूलत: शेर्पाका कविताहरूमा व्याप्त नयाँ दृष्टिकोण, परिपक्व भावबोध, जीवन्त संवेदनात्मक लगाव र चुस्त भाषा एवम् प्रस्तुतिकरणले कवितालाई अलग्गै उचाइँ प्रदान गरेको छ । सायद, यसैलाई भनिन्छ–कविताको शक्ति ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply