संविधान बनाउँदा अनिष्ट हुने भए आएका किन ?

हामीले भन्दै आएको माघ ८ गते आइसक्यो । देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । छिटो संविधान निर्माण देश, आम जनता र हाम्रा अन्तराष्ट्रिय मित्रहरूको समेत चाहना भएको छ । जनताले लडेर ल्याएका अधिकारहरूलाई संस्थागत गर्न, तिनीहरूलाई सुरक्षित गर्न र देशका समस्याहरू समाधान गर्दै प्रगतिलाई अगाडि बढाउनका निम्ति हामीलाई लोकतान्त्रिक संविधान चाहिएको छ । अर्कातिर, संविधान बन्न नदिने, विभिन्न बहानामा संविधान निर्माणको कामलाई पर धकेल्दै जाने, सहमति गर्छौं–गर्छौं भन्ने तर सहमति हुन नदिने, बिहान एउटा कुरामा सहमत हुने, एकछिन पछि आउँदा त्यो कुरामा सहमति भएकै थिएन भन्ने, संविधान बनाउन छाडेर संविधान बनाउन भूमिका खेल्नुपर्ने दल बाहिर निस्किएर कता त्यान्त्रो भेटिन्छ, कता सिन्को भेटिन्छ बटुलेर भेला गरेर संयुक्त मोर्चा गर्ने, संविधान बनाउन खोज्यो भने उत्पात मच्चिन्छ, अनिष्ट हुन्छ, रगतको खोलो बग्छ भन्ने काम भइरहेको छ । संविधानसभामा संविधान बनाउँदा अनिष्ट हुने भए आएका किन ? संविधानसभाबाट संविधान दिनु छ तर संविधान दिन खोज्यो भने अनिष्ट हुन्छ भन्छन् । संविधान, नियम, कानुन र नियमावली अनुसार चल्न खोज्यो भने ठूलो अनिष्ट हुन्छ भन्छन् । लोकतान्त्रिक ढंगले चल्न खोज्यो भने ठूलो अनिष्ट हुन्छ, अलोकतान्त्रिक ढंगले चल्ने कस्तो परिपाटी ? संविधान, नियम, नियमावली अनुसार नचल्ने कस्तो लोकतन्त्रको पक्षपोषण गरेको ? आजको जमानामा त एउटा तानाशाहले पनि यसो जनतालाई देखाउनका लागि भने पनि ऐन बनाएको हुन्छ, संविधान जारी गरेको हुन्छ । यहाँ त संविधानका कुरा गर्यो भने बुरुक्क उफ्रन्छन्, पाखुरा सुर्कन्छन् । संविधान बन्न नदिनेहरूको एक दल, एक दलबाट सात दल, सात दलबाट १९ दल, १९ दलबाट ३० दल । ३० दलको एउटा मोर्चा बन्यो । त्यसमा अर्को ३३ दलीय मोर्चा थपियो, ६३ दलीय भयो । अर्को एउटा ४२ दलीय पनि थपिएर १ सय ५ दलीय भयो । जनतालाई भ्रम दिने, ताउर–माउर देखाउने ? संविधान बन्न नदिनका निम्ति १ सय ५ दलीय मोर्चा संसारमा कहीँ सुन्नुभएको छ ? त्यसको उद्देश्य के ? मुखमा बेग्लै, पेटमा बेग्लै छ । माघ ८ गतेभित्रै संविधान जारी गर्नका लागि भनिएको छ । तर, माघ ८ भित्र संविधान बन्न त्यसैकारण लगभग असम्भव स्थिति बन्यो । त्यसो भए, सयुक्त मोर्चा सिद्धिनुपर्ने नि † सिद्धिँदैन । मोर्चा झन् चम्केर आएको छ । अथवा, संविधान बन्न नदिने उद्देश्यहरू कायम छन् ।
हाम्रो पार्टीको उद्देश्य र लक्ष्य अनि ती प्राप्त गर्ने तरिकाहरूको सम्बन्धमा हामी स्पष्ट हुन जरुरी छ । अहिले नेकपा (एमाले)लाई अर्को ढंगले बद्नाम गर्ने, कमजोर पार्ने र एमालेभित्र अनेक प्रकारका खेलहरू सुरु गर्ने प्रयास भएका छन् । हुन त यस्ता प्रयास पहिलेदेखि नै सिलसिलाका रूपमा हँुदै आएका छन् । अघिल्लो संविधानसभामा पनि ती भएका थिए । क–कस भनेर निर्माण गर्ने, पार्टी मान्नु पर्दैन, जात मान्नुपर्छ भन्ने, सिद्धान्त र विचारमा हिँड्नु पर्दैन, जातको पछाडि कुद्ने भन्ने चलन त्यतिबेला पनि थियो । पार्टी होइन महिला, पार्टी होइन मधेस भनियो । केही भिन्नता त हुन्छन् । ती भिन्नतालाई कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा लागियो । हिमाली भेगका मान्छेलाई हिमाली भेगका मान्छे, पश्चिमकालाई पश्चिमका मान्छे, पूर्वका लाई पूर्वका मान्छे, जात जातका कुरा, धर्म धर्मका कुरा, क्षेत्र क्षेत्रका कुरा, महिला र पुरुषका कुरा । कहाँ–कहाँबाट भड्काउन सकिन्छ, ती सबै प्रयासहरू भइरहेका छन् । र, यी सबै प्रयास संविधान बन्न नदिन भएका छन् । संविधान बन्न नदिनका निम्ति एमालेबाट सुरु गर्नुपर्छ, एमालेलाई कमजोर पार्ने भनेर लागिरहेका छन् विभिन्नथरी ।
नेकपा (एमाले) आफ्ना उद्देश्य र लक्ष्यहरूमा स्पष्ट छ । नेकपा (एमाले) एउटा शान्तिप्रिय पार्टी हो, शान्तिको बाटोमा अगाडि बढ्छ, शान्ति स्थापनाका लागि यसले काम गर्छ । शान्ति खलबल्याउने, देशलाई फेरि मुठभेडतिर लाने, द्वन्द्व र हिंसातिर फसाउने कुरा एमालेले मान्दैन । शान्तितर्फको हाम्रो यात्रा सुदृढ छ । हामीले लडेको, नेपाली जनताले लडेको, जनता अधिकार सम्पन्न हुन सकून्, सबै अधिकार प्राप्त गर्न सकुन्, जनतामा सार्वभौमसत्ता हुन सकोस् भनेर हो । लोकतान्त्रिक प्रणाली हुन सकोस्, त्यस प्रणालीलाई अगाडि बढाउन लोकतान्त्रिक प्रक्रिया सुचारु रहूून्, लोकतन्त्रका संस्था, जननिर्वाचित संस्थाहरू केन्द्रदेखि स्थानीय तहसम्म हुन सकून, जनताले आफ्ना प्रतिनिधीहरूमार्फत् शासन गरून्, सरकार, संविधान, नीति, नियम सबै जनताले बनाउन पाऊन्, त्यस्तो लोकतान्त्रिक प्रणाली जो अन्तर्राष्ट्रिय स्तर अनुसारको होस् । आफ्ना–आफ्ना परिभाषा अनुसार होइन मानवजातिले विकास गरेका अन्तर्राष्ट्रिय परिभाषा अनुसारको लोकतान्त्रिक प्रणालीमा नेकपा (एमाले) दृढ छ । लोकतान्त्रिक प्रणालीका विरुद्ध कुनै पनि प्रकारको तानाशाही एमाले मञ्जुर गर्दैन । देशलाई त्यता जान दिन तयार छैन । लोकतन्त्रप्रति यो क्रियाशील रहन्छ । नेपाली समाज हिजो सामन्ती पितृसत्तात्मक र पछौटे समाजले वर्णाश्रम व्यवस्थाका नाममा जनताका बीचमा अनेक प्रकारका फाटो ल्याउने, महिला र पुरुषका बीचमा, जातिहरूका बीचमा फाटो ल्याउने र जनतालाई अपमानित, विभाजित, शोषण र दमन गर्ने काम गर्यो । आज लोकतन्त्रमा ती कुरा ग्राह्य छैनन् । हामीले संवैधानिक रूपमा हटाएका छांै र व्यावहारिक रूपमा हटाउने सिलसिला अगाडि बढाएका छौं ।
हामी सामाजिक न्याय चाहन्छौं । हामी यस्तो व्यवस्था चाहन्छांै, जहाँ असमानता र विभेद नहोस् । अन्याय, थिचोमिचो नहोस् । कुनै पनि प्रकारका विभेदहरू नहुन् र भिन्नताहरूलाई मेट्दै जान सकियोस् ।
हाम्रो देश सानो छ । नेपालको भौगोलिक अवस्थिति हामी सबैलाई थाहा छ । यस्तो अवस्थामा हाम्रो देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डता धेरै महत्त्वपूर्ण छ । यसका निम्ति नेपाली जनताका बीचमा एकता आवश्यक छ । हामी राष्ट्रिय एकताको पक्षमा छौं । एकता खलबलिने खालका कुनै कुरा एमालेले हुन दिँदैन । नेपाल पछाडि परेको छ । नेपाललाई समृद्ध देश बनाउनुपरेको छ, विकसित देश बनाउनुपरेको छ । जनता गरिब छन्, उनीहंरूलाई सम्पन्नतामा लैजानु छ । के खाउँ, के लाउँको यो अवस्था, जाडोमा कठ्यांग्रिएर मर्ने, छोराछोरी पढाउन नपाउने र एउटा छाप्रो हालेर बस्न नपाउने अवस्था अन्त्य गर्नुपर्नेछ । नेपाल अत्यन्तै सुन्दर मात्रै होइन, सम्पन्न देश छ । प्राकृतिक साधन–स्रोतहरूले भरिपूर्ण छ । गरिब हुनै नसक्ने यो देशलाई गरिब बनाइयो । त्यसकारण, देशबाट पछौटेपन र गरिबी हटाएर छाड्ने हाम्रो संकल्प छ । यस देशलाई विकास गर्न नदिने, पछौटेपनमै कायम राख्ने प्रकारका कुनै षड्यन्त्र एमालेले हुन दिँदैन । शान्ति, लोकतन्त्र, समानाता, राष्ट्रिय एकता र समृद्धितर्फको यात्रा हाम्रा उद्देश्यहरू हुन् । हामी त्यस अनुसारको संविधान निर्माण गर्न चाहन्छौं ।
लोकतान्त्रि संविधान बनाउनुपर्छ भन्ने शक्तिहरूको दुई तिहाइभन्दा बढी अवस्था जुन छ, त्यसलाई खत्तम पार्ने अर्को षड्यन्त्र भइराखेको छ । एउटा धेरै सोधिने प्रश्न– माघ ८ पछि सरकार के हुन्छ ? म सबैलाई भन्न चाहन्छु– नेकपा (एमाले)को ध्यान सरकारमा होइन, एमालेका कुनै नेताको ध्यान कुर्सीमा होइन, संविधानमा छ । हामी देशका लागि काम गरिरहेका छौं, पद र ओहदाका लागि होइन । कुनै पद प्राप्त गर्नका लागि हामी दौडन गइरहेका छैनौं । देश बनाउनका लागि अभियान चलाइरहेका छौं । म स्पष्ट पार्न चाहन्छु– माघ ८ गते संविधान जारी गर्ने हामीले भनेका थियौं, अब मैले भन्नैपर्छ– केही प्रक्रिया अगाडि बढाउन समय लाग्ने भयो । माघ ८ गते संविधान जारी गर्न सम्भव नहुने नै भयो । सहमति र प्रक्रियाका नाममा केही समय अलमल भयो । माओवादीका नेतालाई संवाद समितिको सभापति बनाइदिएपछि तीन महिना त्यसैमा अल्झियो । पाइलो सार्न खोज्यो कि अल्झाइहाल्ने † जसले गर्दा हामीले भनेकै समयभित्र संविधान जारी गर्न सकिएन । संविधान हामीले मात्र बनाउने होइन, अरू समेतलाई लिँदा त्यस रफ्तारका साथ अघि बढ्न हामीलाई गाह्रो पर्यो । तर, म एमालेका तमाम साथीहरूलाई, देशभरका तमाम दाजुभाइ, दिदीबहिनीहरूलाई भन्न चाहन्छु– यस संविधानसभाले असफलता बेहोर्नुपर्ने छैन । यस संविधानसभाले संविधान दिन्छ, निकट भविष्यमै दिन्छ ।
नेकपा (एमाले) एउटा उद्देश्यसहितको पार्टी हो । निर्वाचन आयोगमा दर्ता खुल्यो, बहुदल आयो, दर्ता गरौं, यसो पार्टी चलाउँ भनेर चलाएको पार्टी होइन । यो राणाशासनको अन्धकार युगमा बनेको पार्टी हो । त्यहाँदेखि आफ्नो एउटा अभियानमा लागेको छ, यहाँसम्म ल्याइपुर्याएको छ, अरू अगाडि बढाउँछ । कसैले यो देशलाई के भो र, आजको जमानामा अमरसिंह छैनन, बलभद्र छैनन, आज त यो देशलाई जे गरे पनि हुन्छ भन्ने ठान्यो भने म त अमर सिंह, बलभद्रहरूका सन्तानै सन्तान देख्छु । यस देश, सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमानलाई कसैले तलमाथि पार्न सक्ने छैन । नेकपा (एमाले) छ, रक्षकको
रूपमा उभिन्छ ।
हामीले सम्पूर्ण रूपमा ध्यान लोकतान्त्रिक संविधान निर्माण गर्ने दिशामा लगाइरहेका छौं । हिजो पनि हामी दिनभरि बैठक बस्यौं । आज पनि बिहान ८ बजेदखि बैठक थियो । बिहान ८ बवजे एउटा सहमति भयो । ९ बजेदेखि अर्को अलि धेरै नेताहरूको बैठक थियो । त्यसमा पनि सहमति नै भयो । एक ढंगको सहमति गरेर आ–आफ्नोमा छलफल गर्नुपर्छ भनेर उठेर गए । अलिक पछि आएर त्यो त हाम्रो सहमति नै भएको थिएन भने । यसको केही दबाइ हुन्छ ? यसमा कुनै डाक्टर, अस्पतालको केही लाग्दैन । तर, म भन्न चाहन्छु– जतिसुकै जालझेल, तिकडम जे–जे गरे पनि संविधान निर्माण प्रक्रियालाई अगाडि बढाइन्छ । हामीसँग दुई तिहाइ वा सोभन्दा बढी छ, त्यसलाई जोगाइन्छ । अनिवार्य रूपमा यो देशमा लोकतान्त्रिक संविधान जारी गरिन्छ ।
संविधान जारी गर्न नदिनका लागि, जनताका बीचमा फाटो ल्याउनका लागि अनेक प्रयास भएका छन् । हाम्रा सभाद्हरूलाई पार्टीको आदेश मान्ने होइन, हामी जनजाति–जनजाति भनेर उचाल्न खाजिएको छ, मधेसी–मधेसी भनेर उचाल्न खोजिएको छ, पार्टीको आदेश मान्ने होइन, हाम्रो जात–जातको कुरा सुन्नुपर्छ भनेर अभियान चलाउन खोजिएको छ । कसैले एमालेभित्र त्यस्तो आशा नगरे हुन्छ, नेकपा (एमाले)का सभासद्हरू सिपाहीका रूपमा संविधानसभामा गएका छन्, एमालेका नीति अनुसार संविधान निर्माण गर्न गएका छन्, कसैले एमालेका नीति, निर्णय, दृष्टिकोण र निर्देशनहरूको उल्लंघन गर्ने छैनन, कसैले कासिस नै नगरे हुन्छ । एमाले पार्टीगत रूपमा एकढिक्का छ । एमालेभित्र कुनै पनि प्रकारका मतभेद छैनन् । एमालेभित्र कुनै प्रकारको गुटबन्दी छैन । एमालेका सभासद्हरूभित्र समस्या छैन । दर्शन ढुंगा चपाइ हेर्यो भने दाँत फुक्लने खतरा हुन्छ । एमाले चाख्न खोज्दा दर्शन ढुंगा पर्ला † एमाले अत्यन्तै सुदृढ छ । संविधानसभाभित्र सुदृढ छ, पार्टीभित्र सुदृढ छ । भ्रम फिजाउन खोज्छन्, अनेक प्रकारका अन्योल सिर्जना गर्न खोज्छन, नैराश्य प्रदान गर्न खोज्छन् तर हामी निराश हुनु हँुदैन । अघिल्लो संविधानसभा जुन शक्तिले चार वर्षमा असफल बनाए, ती शक्तिहरू अहिले पनि छन् । तर, चार वर्ष होइन, तीनिहरूले अलिकति मात्रै समय लम्ब्याउन सक्छन्, त्योभन्दा बढी संविधानसभालाई असफल पार्ने, संविधान बन्न नदिने क्षमता राख्न सक्दैनन् । तिनीहरूसँग त्यो क्षमता छैन ।
हाम्रा पाँच वटा प्रमुख कुरा हुन् । शान्ति, लोकतन्त्र, समानता, राष्ट्रिय एकता र समृद्धितर्फको यात्रा । यी कुरा हुन नदिनका निम्ति संघीयताको मामलालाई बढो अनौठो ढंगले प्रस्तुत गर्ने गरिएको छ । अचम्म के लाग्छ भने कता–कताको मान्छे कहिले झापाको ठेकदार भएर निस्कन्छ, कहिले कञ्चनपुरको ठेकदार भएर निस्कन्छ । तर, ऊ त्यतातिरको होइन । त्यहाँका जनतामा जुन चिन्ता छैन, जुन सरोकार छैन, अन्तै कतैको मान्छेले भन्छ– मलाई यो त चाहिन्छ । त्यहाँका जनप्रतिनिधिहरू, सभासद्हरू कुनै त्यस्तो माग गर्दैनन्, अन्तैको कसैले नभई हुँदैन भनेर जिद्धी गर्छ । जताबाट पनि एउटै कुरा आउँछ, झापा, मोरङ, सुनसरीलाई पहाडसँग मिलाउन पाइँदैन । पहाड र तराईलाई मेचीदेखि महाकालीसम्म अलग नगरी नहुने, यसको आशय के हो ? यसको माग के हो ? यसको आवश्यकता के हो ? यो नेपालविरोधी कुरा हो । कुनै पनि हालतमा यसलाई स्वीकार गरिँदैन । मिलाउँ न त भन्नेले यसको छुटै प्रदेश बनाउन त भन्छ । कुरा उही हो, पहाडसँग जोडिनै नहुने । यस्तो पनि कुनै तर्क हुन्छ ?
यो देशमा हामी १ सय २५ जातजाति छौं । धिमालहरू झापाको दमक र मोरङको पूर्वीभेगमा मात्रै छन् । उनीहरूको संसारमा थातथलो भनेको त्यति मात्रै हो । अस्ति धिमालहरू हेरको हेर्यै भए । धिमालहरूको उत्पतिथलोमा एक दिन एउटाले लिम्बुवान भनेर बन्द गर्यो । भोलिपल्ट अर्कोले कोचिला भनेर बन्द गर्यो । ठाउँ आफ्नो, लिम्बू भइयो, कहिले भइयो ? कोचिला भइयो, कहिले भइयो ? जनता आफ्ना ठाउँमा छन्, तमासा गर्नेहरू अन्त–अन्त छन् । अनि, संघीयता चाहिएको त्यहाँका जनतालाई कि अन्तैको अरू कसैलाई ? त्यहाँको धिमाल, राजवंशी, दराई, सतार, कुमाललाई चाहिन्छ होला नि † अनि, राउटे के यो देशका नागरिक होइनन् ? चेपाङ यो देशका नागरिक होइनन् ? दराई यो देशका नागरिक होइनन् ? कि कमजोर जतिलाई हामी पेलिदिन्छौं, उनीहरू गिन्तीमा छैनन् ? जुवाडेहरूले गर्छन्, ठूलो–ठूलो खालमा सानो च्याँखे वात भन्छन्, लिँदै लिँदैनन । हामी पनि जुवाडे जस्तै हो, ठूलो ठूलो दाउ हान्ने ? नेपालको जनता कुनै सानो भनेर हेपिने हुन्छ ? कुनै समुदाय सानो भनेर हेपिने हुन्छ ? हिजो सानो ठूलोको विभेद भयो, अब हुन सक्दैन । सम्पूर्ण नेपाली जनतालाई अधिकारसम्पन्न बनाउनुपर्छ, उत्तिकै अवसर दिनुपर्छ, उत्तिकै सम्मान पाउनुपर्छ । अबको लोकतन्त्र त्यो हो । कसैको अधिकार धेरै, कसैको थोरै हँुदैन । जनव्यवस्था, जनवाद, जनसत्ता जस्ता केही जन राखेर दुई/चार जनाको शासन चलाउने, जनतालाई चाहिँ पेलेको पेलेकै गर्ने, जनतामा विभाजन ल्याउने, फुट पार्ने कुराहरू उपयुक्त हँुदैनन । जनता खुसी पार्न छाडेर अन्त कतै कसैलाई खुसी
पार्न सकिँदैन ।
१ सय २५ जातजातिमा कुन–कुन चाहिँ हकवाला हुन्, कुन–कुन चाहिँ हकवाला होइनन् ? सबै जनता त हकवाला नै होलान् नि † क–कसलाई पहिचान चाहिन्छ ? पहिचान नभए पनि हुने को–को छन् ? पहिचान नभई नहुने को–को हुन् ? १ सय २५ नै जातिलाई पहिचान चाहिन्छ । अनि केहीलाई मात्र पहिचान चाहिने, के हामी सामन्ती मानसिकताका साथ बलकै भाषा बोल्दैछौं ? वर्गका कुरामा १७ हजार मान्छे मारिए । हिँड्दै आउँदा वर्गका कुरा बिर्सिएछन् अनि जातका कुरा । गरिबको कुरा गर्दैनन्, जातको कुरा । यसरी जनता भड्काउन खाजिएको छ । जात भनेको कुनै माग हुन्छ ? जात भनेको के हो ? जागिर हो ? उद्योगधन्दा, कलकारखाना हो ? बिजुली हो ? पोल हो ? ट्रान्नफर्मर हो ? खेतमा सिँचाइ गर्ने कुलो, नहर हो ? जात भनेको कुनै माग होइन, भावना मात्रै हो । तसर्थ, हामीले माया गर्ने हाम्रो देशलाई हो । हाम्रो देशका तमाम दाजुभाइ, दिदीबहिनीलाई हो । कोही पहाडमा, कोही तराईमा, कोही हिमाली भेगमा बस्छन् । कोही पश्चिममा बस्छन्, कोही पूर्वमा । सबैको समस्या एउटै छ, गरिबीबाट देशलाई मुक्त गनुपर्नेछ ।
(एमाले अध्यक्ष ओलीले शुक्रबार सभागृहमा आयोजित कार्यकर्ता भेलामा
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply