युरोप टेक्दाका सुन्दर अनुभूति

स्विट्जरल्यान्ड पृथ्वीकै मनोहर देश मानिन्छ । समृद्ध देशहरूको लहरमा आबद्ध स्विट्जरल्यान्ड आफ्ना प्रँकृतिक सम्पदाका कारण हरेक वर्ष करोडौं विदेशीहरूलाई भित्र्याउन सक्षम रहँदै आएको छ । तर, प्रकृतिले समृद्ध स्विट्जरल्यान्डले आर्थिक सफलता बटुल्न परिश्रम र मिहिनेतलाई पहिलो प्राथमिकतामा राखेको पक्ष भने छर्लंग नै छ । युवाकवि वासुदेव अधिकारीले स्विट्जरल्यान्डको विकासतिर इंगित गर्दै लेखेका छन्–
तिमी त पहाडलाई नै छेड्दा रहेछौ
हिमालको आभा फ्रेंकमा बेच्दा रहेछौ
कति जानेका तिमीले
आफंैभित्रबाट उज्यालो झिक्न
पहाडको कण–कणबाट सौन्दर्य निकाल्न ।
केही वर्षपूर्व, केही युरोपेली भूभाग टेक्ने औसर पाएका कवि अधिकारीले तिनै भूगोल टेक्दा उत्पन्न अनुभूतिहरूलाई ‘युरो–स्पर्श’मार्फत् सार्वजनिक गर्न रुचाएका हुन् । यो उनको यात्रा–कविताकृति हो । युरोपका विभिन्न भूगोलमा पाइला राख्ने क्रममा उनले युरोपेली मुलुकहरूले विकासमा मारेको फड्को र समृद्धपनाको खुलेरै प्रशंसा गरेका छन् । उत्तरी धु्रवमा अवस्थित आम्सटर्डमलाई निकै चिसो भूभाग मानिन्छ । ‘युरोपेली घामसँग’मा कविले तिनै चिसो वातावरणप्रति बेखुसी जनाएका छन् । सुदूर उत्तरमा चम्किने घामको प्रकाशलाई कुहिरो र बादलहरूले बिथोलेको प्रति उनको असन्तुष्टि भाव व्यक्त भएको छ । ‘आम्सटर्डमको आकाशसँग’ मा पनि कविले चिसो परिवेशकै चर्चा गरेका छन् । कवि लेख्छन्–
आम्सटर्डम
हावाले मिलले उठाउँछ हो तिमीलाई ?
अघिल्लो हप्ता लागेको घामले
तेजिलो बनाउँछ हो तिमीलाई ?
कि हिउँको हाइनेक लगाएर तातिन खोजेकी तिमी ?
कि हु्स्सुको बर्कोले न्यानिन्छौ तिमी ?
पेरिस, युरोपको अर्को आकर्षक थलो हो । लाखौं पर्यटकहरूले पेरिस टेक्ने लालसा राख्छन् । ‘फेरि पेरिस आइपुगेँ’मा कविले पेरिसको भव्यताको बखान गरेका छन् । विश्व प्रसिद्ध कलाकृति मोनालिसामा भिन्चीले रङ भर्नुमा पेरिसकै वातावरणले भूमिका खेलेको छ । कविले मोनालिसालाई सम्बोधन गर्दै मोनासिलाको हृदयभरिको मुस्काउन उबाउन आफूले पुन: पेरिसको भूभाग टेकेको उल्लेख गरेका छन् । ‘पेरिसको हावासँग’ पनि पेरिसकै सौन्दर्य र सन्दर्भलाई उघार्न उद्यत देखिएको छ । कवि लेख्छन्–
पेरिस आउँदा
तिम्रो रेनेसाको गर्व
कण्ठै गरेर आएको छु
भिन्सी वागको पराग
काठमाडौंमै सुँघेर आएको छु ।
पेरिसको भव्यता र युरोपेलीहरूको सभ्यताप्रति मन्त्रमुग्ध हुने क्रममा कविले युरोपेली सहर र काठमाडौंबीच तुलना गर्न पनि उत्तिकै रुचि देखाएका छन् । ‘हल्याण्डको ढुकुरसँग’ मा भने उनले हिउँले कठ्याङ्ग्रिएका हल्यान्डका सुन्दर पन्छी ढुकुरसँग आत्मीयता साट्न खोजेका छन् । चिसो मौसममा ढुकुरहरूले भोग्नुपरेको प्रतिकूल वातावरणप्रति उनी द्रवित भएका छन् । र, उनी यसरी भावुक भएका छन्–
प्रिय, ढुकुर
बढ्दो जाडो
खस्दो हिउँ
भुत्लाले धान्छ तिम्रो ?
कसैले न्यानो बाँड्छन् तिमीलाई ?
के छ तिम्रो खान्की ?
किरा फट्याङ्ग्रा
सबै हिउँले खाइसक्यो
पाकेका मकै गहुँ
मेसिनले काटिसके
हाम्रोमा झैं
जमिनमा एउटै दाना खस्न पाउँदैन
के खान्छौं तिमी ?
‘अनाम सडककी ठिटीसँग’मा उनले युरोपको सडकमा बाटो बिर्संदा सकारात्मक प्रतिक्रिया दिन नचाहने एउटी युवतीप्रति गुनासो प्रकट गरिएको छ । उनले आफू कसैको भाषा बिथोल्न नभई पेरिसको विकास हेर्न, सौन्दर्य छाम्न र मोनासिलासँत बात मार्न युरोप आएको प्रस्टीकरण दिएका छन् । ‘रूख र युवती’मा कविले फेसनप्रति युवतीहरूको बढ्दो चाह देखाउन चाहेका छन् । जाडो याम सुरु हुँदा रूखहरू नांगिँदै जाने र युवतीहरू चाहिँ बाक्ला कपडा लगाउने र गर्मी सुरु हुँदा रुखहरू पल्लवित हुने र युवतीहरू चाहिँ छोटा कपडामा सजिएर नांगिने अवस्थाको कविले चित्रण गर्न खोजेका छन् । ‘हावा मिल’मा उनले हावाबाट ऊर्जा बटुल्ने युरोपेलीहरूको बुद्धि र क्षमताको प्रशंसा गरेका छन् भने ‘चढेँ आइफेल’मा संसारकै अद्भूत मानिने पेरिसको मानवनिर्मित आइफेल टावर चढ्दाको अनुभूति पस्किने जमर्को गरेका छन् । तर, कविले आइफेल टावर चढ्दाको अनुभूतिलाई बाँड्ने क्रममा आफ्नै देशको धरहरा नचढेको प्रसंगको पनि खुलासा गरेका छन् । ‘कलाको जंगलमा’मा विश्वमै कलाकृतिका लागि प्रख्यात र समृद्धशाली मानिएको पेरिसप्रति उनी नतमस्तक देखिन्छन् । लेख्छन्–
पाहुनालाई भात होइन
कला पस्किन्छ प्रत्येक घर
यो पेरिसमा
हावा होइन
भाव गंगा बहन्छ हरपल ।
तीन वर्षअघि मूलत: स्विट्जरल्यान्डको भ्रमणमा गएका कविले बाटोमा पर्ने अरू युरोपेली मुलुकहरू पनि टेक्ने औसर पाएका थिए । त्यही क्रममा उनले ती युरोपेली देशहरूका पर्यटकीय स्थलदेखि कला संग्रहालयहरू पनि घुम्न चाहे । तिनै थलोहरू घुम्दा उब्जिएका अनुभूतिका तरंगहरूलाई उनले ‘युरो–स्पर्श’मा भित्र्याएका हुन् ।
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply