बहसको नयाँ बिन्दु

मृत्यु, जीवनको अन्तिम बिसाउनी हो । स्वाभाविक रूपमा, कुनै पनि जीवित प्राणीले जीवनको एउटा बिन्दुमा पुगेपछि मृत्यु ग्रहण गर्नुपर्छ नै । तर, मानिसको मृत्युपछि भने अनेक संस्कार जोडिएर आउने गरेका छन्, त्यस्ता संस्कारहरू मानिसले पार गर्नु नै पर्दछ । त्यस्ता मृत्युसंस्कार पनि विभिन्न धर्म, जात र सम्प्रदाय अनुरूप फरक–फरक छन् । र, सबभन्दा कष्टप्रद र लामो अवधिको मृत्युसंस्कार अँगाल्नेमा हिन्दू धर्मावलम्बीहरूलाई लिने गरिन्छ ।
‘संस्कार’ जन्मदेखि मृत्युसम्म मानिसले बेहोर्नुपर्ने संस्कारजन्य पक्षहरूमाथि वैज्ञानिक हिसाबले हेर्न चाहेको दृष्टिकोणहरूको संकलित रूप हो । स्रष्टा विजयराज आचार्यले आफ्नो पिताको देहावसानपछि नेपालका प्रगतिशील र प्रजातान्त्रिक विचार अँगाल्ने र यी दुवै विचारयुक्त सांस्कृतिक आन्दोलनमा क्रियाशील रहेका केही बुद्धिजीवीहरूलाई अनुरोध गरेर लेख्न लगाएका रचनाहरूको संकलित रूप नै उक्त कृति हो । जसलाई अग्रज स्रष्टा खगेन्द्र संग्रौलाले संयोजन गरेका हुन् ।
‘संस्कार’भित्र नेपाली कम्युनिस्ट आन्दोलनमा थुप्रै भोटाहरू फटाएका मोहनविक्रम सिंह, मोदनाथ प्रश्रित, खगेन्द्र संग्रँैला, घनश्याम शर्मा पौडेल र प्रजातान्त्रिक धारका नरहरि आचार्य र डा. विष्णु दहालका लेख समाविष्ट छन् भने यी बुद्धिजीवी/विद्वान्हरूका विचारमाथि विद्वान् डा.रामचन्द्र गौतम, नेता प्रदीप ज्ञवाली र आहूतिका टिप्पणीहरूले स्थान पाएका छन् ।
वामपन्थी नेता मोहनविक्रम सिंह साहित्यिक/सांस्कृतिक विषयहरूमा पनि कलम चलाउँछन् । उनले ‘जीवनसित जोडिएका संस्कार, आचरण र चाडबाडहरूको सैद्धान्तिक विवेचना’मा सामाजिक जीवनमा देखिएका परिवर्तनसँगै कतिपय संस्कार र आचरणहरूमा पनि समयानुकूल परिवर्तन हुँदै जाने तथ्य औँल्याएका छन् । कुनै समय, नेपाली समाजमा कथित माथिल्लो जातका भनिने बाहुन र क्षेत्रीहरूले धोती फेरेर भान्सामा पस्ने चलन थियो । तर, अहिले आधुनिक जीवनशैलीलाई पछ्याउनेहरू, सहर बजारमा जीवन गुजारा गर्ने बाहुन, क्षेत्रीहरूले त्यस्ता आचरणलाई पछ्याउने गरेका छैनन् । सभ्यताको विकास क्रमसँगै मानिसहरूले पुराना संस्कार र मान्यताहरू छाड्दै जाने र त्यसको स्थान नयाँ मूल्य र मान्यताले लिनेतिर सिंहको आलेखले जोड दिएको छ । नेपालका कतिपय धार्मिक, सांस्कृतिक, सामाजिक कुप्रथाहरूको अन्त्यका पछाडि भारतमा चलेका त्यस्ता कुप्रथा विरोधी आन्दोलनको असर र प्रतिफल हो भन्ने सिंहको ठम्याइ छ । उनले लेखेका छन्– ‘नेपालमा जंगबहादुरद्वारा सतीप्रथाको अन्तको घोषणा भारतमा सतीप्रथाका विरुद्ध चलेको आन्दोलनको नै परिणाम थियो ।’
मोदनाथ प्रश्रितको ‘मानिसको मृत्युपछि गर्नुपर्ने काज क्रिया, श्राद्ध आदि विषयको सम्बन्धमा’ मा उनले मृत्यु संस्कारका सम्बन्धमा केही गम्भीर तथ्य र तर्क अगाडि सारेका छन् । उनी लेख्छन्– ‘अहिले विज्ञानको विविध क्षेत्रको तीव्रतम् विकास हुँदै जाने क्रममा मृत्युपश्चात् आफ्ना आँखा वा अन्य अंगहरूका साथै सिंगै शरीर दान गरेमा शरीरका विभिन्न अंग विभिन्न रोगीहरूको उपचारमा उपयोगी हुने कुरा पनि देखा पर्दै आएको छ । यस्तो स्थितिमा कुनै मानिसले मृत्युपश्चात् आफ्नो सिंगो शरीर नै विभिन्न रोगीको उपचार निम्ति पहिले नै दान गर्ने चलन पनि सुरु भएको छ । यो प्रक्रिया बढ्दै जान पनि सक्छ । त्यसरी आफ्नो शव नै अस्पताललाई दान गर्ने अवस्थामा मृतकको काजक्रियाको रूप कस्तो होला ?’
नरहरि आचार्यले ‘सनातन संस्कार र तिनको सरलीकरण’मा अहिले चलिरहेको तेह्रौं दिनसम्मको मृत्युसंस्कारलाई पाँच दिनमा झार्न सकिने आधारहरू पस्किएका छन् । व्यक्तिको जीवनपद्धति र बसोबासको शैलीमा आएको परिवर्तन तथा समाज व्यवहार र कार्यपद्धतिमा पनि थपिएको नयाँपन र जटिलतालाई विचार गरेर मृत्युसंस्कारका दिनहरू छोट्याउनु उपयुक्त हुने विचार आचार्यले राखेका छन् । लेखक खगेन्द्र संग्रौलाले भने सांस्कृतिक रूपान्तरणमा जबर्जस्ती गर्न नहुने तर्कसँग नजिक छन् । उनले विगतमा माओवादी जनयुद्धको उदाहरण पस्किँदै लेखेका छन्–‘आम जनमानसमा पैदा गरिने वैचारिक सांस्कृतिक उथलपुथल र आत्मीक जागरणबिना बाहुबलको तुजुकले संस्कृति र संस्कारमा परिवर्तन, परिमार्जन र रूपान्तरण सम्भव छैन ।’
घनश्याम शर्मा पौडेलको ‘हिन्दु र हिन्दु संस्कारहरू’ लामो आलेखमा दरिएको छ । शर्माले संस्कार र संस्कृतिजन्य पक्षहरूमा दार्शनिक चिन्तनको भूमिका रहने प्रसंग उल्लेख गर्दै सैद्धान्तिक तर्क र पक्षकहरू सार्वजनिक गर्ने ध्येय सँगालेका छन् । डा.विष्णु दाहालको लेखले भने शास्त्रीय पक्षमा नै बढी मात्रामा जोड दिएको छ । विभिन्न विचार र संस्कार अँगाल्ने यी छ जना व्यक्तिहरूको विचारमाथि भने पुरातन धर्म र संस्कारका प्रबल पक्षधर डा.रामचन्द्र गौतम, एमाले नेता प्रदीप ज्ञवाली र साहित्यकार आहूतिले बेग्लाबेग्लै कोणबाट आफ्ना विचारसहितको टिप्पणी पेस गरेका छन् ।
स्रष्टा आचार्यको पहलमा निस्किएको यो कृतिले मूलत: नेपाली समाजमा प्रचलित रूपमा रहेका विभिन्न संस्कारहरूबारे वैज्ञानिक रूपले पर्गेल्ने र त्यसलाई नयाँ परिवेश र समयानुकूल परिवर्तन गर्दै जानुपर्नेतर्फ मताधिकार जाहेर गरेको त छ नै, यसले बहसको नयाँ बिन्दु पनि तय गरेको छ ।
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply