रामशरणलाई भर्ती गर्न हतार
काठमाडौं । अरूलाई संविधान बन्छ वा बन्दैन भन्ने चिन्ता भइरहेका बेला अर्थमन्त्री रामशरण महतलाई भने सरकारी निकायमा कसरी आफू निकट व्यक्तिहरू भर्ने भन्ने चिन्ताले सताएको छ । अदालतलाई समेत चुनौती दिँदै सरकारी संस्थानहरूमा आफू निकटलाई नियुक्ति गरिसकेका महतको आँखा यतिबेला नेपाल राष्ट्र बैंंकतिर सोझिएको छ ।
नेपाल राष्ट्र बैंकको गर्भनर रिक्त हुन अझै झन्डै दुई महिना बाँकी छ । तर, चैत ६ गते गभर्नर युवराज खतिवडाले अवकाश लिएपछि नियुक्त गर्नुपर्ने गभर्नरका लागि अर्थमन्त्री महतले अहिलेदेखि नै हतारो देखाउनुलाई आश्चर्यका रूपमा हेरिएको छ । अझ सत्ता साझेदार एमालेसँग कुनै छलफल नै नगरी मन्त्री महतले सिफारिस समिति गठनको प्रयास थालेको सूचना पाएपछि एमाले नेताहरू आक्रोशित बनेका छन् । स्रोतका अनुुसार, स्वाभाविक रूपमा हेर्दा फागुन अन्तिम सातासम्म नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरे हुनेमा त्यतिबेलासम्म सरकार रहन्छ कि रहन्न भन्ने त्रासमा रहेका मन्त्री महतले अहिले नै आफ्नो अध्यक्षतामा सिफारिस समिति गठन गरेर नियुक्ति टुंग्याइहाल्ने योजना बनाएका छन् । ऐन अनुसार, गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको अध्यक्षतामा राष्ट्र बैंकका एक जना गभर्नर र एक जना अर्थविद् सदस्य रहने व्यवस्था छ ।
डा. खतिवडा गभर्नर नियुक्त हुँदा पनि कांग्रेस एमालेको संयुक्त सरकार थियो । त्यतिबेला अर्थमन्त्री सुरेन्द्र पाण्डेको अध्यक्षतामा सिफारिस समिति गठन गर्दा त्यसलाई सन्तुलित बनाउन कांग्रेसले सिफारिस गरे अनुसार डा. भोला चालिसेलाई सदस्यमा राखिएको थियो भने अर्का सदस्यमा पूर्वगभर्नर गणेश थापा सदस्य थिए । स्रोतले भन्यो– ‘यस पटक सिफारिस समिति नै एकलौटी बनाउने योजनामा अर्थमन्त्री रहेका छन् ।’
सत्ता साझेदार एमालेले भने सजिलै गभर्नर नियुक्तिलाई लिने संकेत देखिएको छैन । अघिल्लो पटक एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा डा. खतिवडालाई गभर्नर बनाउँदा कांग्रेसले चर्को बार्गेनिङ गरेको थियो । एमालेले गभर्नरको बदलामा जो प्रधानमन्त्री हुन्छ, उहीसँग रहने योजना आयोग छोडेको थियो । एमालेका एक नेताले भने– ‘यस पटक कांग्रेसले एकलौटी गर्न चाहेको भए त्यो पूरा हुँदैन ।’
मातहतका निकायमा आफ्ना कार्यकर्ता भर्ती गर्नमा अर्थमन्त्री महत सबभन्दा अगाडि देखिएका छन् । उनको मातहतमा अर्थतन्त्रसँग सम्बन्धित निकाय छन् र तिनमा अहिले गर्ने नियुक्तिले महतलाई लामो समय फाइदा भइरहन्छ । अर्थमन्त्री महतले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा रेवतबहादुर कार्की, नेपाल बैंक लिमिटेडको अध्यक्षमा अर्थसचिव सुमन शर्मा, कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लीलाप्रकाश सिटौला, बिमा संस्थामा अश्विनीकुमार ठाकुरलगायतलाई नियुक्त गरिसकेका छन् । चार वर्ष राष्ट्र बैंकमा नेतृत्व नहुँदा कांग्रेस निकट व्यक्तिहरू छटपटिएका कारण अर्थमन्त्री महत समयअगावै नियुक्त गर्न हौसिएका हुन् । अवकाशभन्दा एक महिना पहिला गभर्नर बिदामा बस्ने चलन छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply