झोखाङदेखि मजाटलानसम्म
यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रूपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरू पनि यस विधाप्रति आकर्षित भइरहेका छन् । कवयित्री गीता खत्री यसैका पछिल्ला उदाहरण हुन् । ‘झोखाङदेखि मजाटलानसम्म’ कवयित्री एवम् नियात्राकार गीता खत्रीको २०७१ जेठमा पछिल्लो कृतिको रूपमा प्रकाशित भएको छ । यस कृतिभित्र झोखाङ मन्दिर र राजकुमारी भृकुटी, हङकङको कमइ, मजाटलानको एक फन्को, महासागरमै ठोक्किएको बाटो, पैसाको लागि असिन–पसिनलगायत विभिन्न शीर्षकका २४ वटा नियात्राहरू समेटिएका छन् ।
यस संग्रहभित्रको झोखाङ मन्दिर र राजकुमारी भृकुटी शीर्षकको पहिलो नियात्रामा नारीमा कस्तो शक्ति हुँदोरहेछ, कत्रो त्याग र तपस्या हुन सक्ने रहेछ भन्ने कुराले नियात्राकार गीताको हृदय द्रबिभूत हुन्छ । भृकुटीले देश बचाउने क्रममा आफ्नो व्यक्तिगत इच्छा, आकांक्षा, चाहना सबैलाई, बिर्सिएर आफ्नो भाषा, संस्कृति केही नमिल्ने ठाउँमा कसरी जीवन बिताइन् होला । अहिले आफूलाई त्यो ठाउँमा राखेर सम्झँदा पनि कहाली लागेर आउने कृतिमा उल्लेख छ । हङकङको कमाइ शीर्षकभित्र हङकङ ४२६ वर्ग माइलमा फैलिएको रहेछ । ४.५० प्रतिशत पानीले ढाकेको भए पनि जताततै पानीपानी देखिने र वरिपरि साना–साना डाँडाले घेरिएको उपत्यकै भने पनि हुने । डाँडाभरि ठूला–ठूला घरहरू ठड्याइएका माथि डाँडाबाट तल हेर्दा देखिने लोभलाग्दो दृष्टिको पुस्तकमा वर्णन छ । मजाटलानको एक फन्को शीर्षकभित्र मेक्सिकोको ऐतिहासिक स्क्वायर संसारको सबैभन्दा ठूलो पब्लिक स्क्वायर रहेछ भन्ने जानकारी हुन्छ, काठमाडौंको रत्नपार्क जस्तै । मेक्सिकेको मुटु रहेछ यो । यसैमा विरोध जुलुस हुने, यसमै समर्थन जुलुस निकाल्ने, यसमै जात्रा देखाउने, यस्तै चाडपर्व मनाइने भनेर नियात्राकार गीताले लेखेकी छन् ।
कोलोराडोमा भानुजयन्ती शीर्षकभित्र तीनै दिन ‘फुड प्वाइजन’ शब्द कोलोराडोभरि व्यापक भएको प्रसंग छ । घरघरमै यसको चर्चा भएछ । कार्यक्रमभरि यसैको कुरा भएछ । यस पटकको यात्रामा सुरुदेखि अन्त्यसम्म पनि फुड प्वाइजनले निकै चर्चा पायो भनिएको छ । रक्की पर्वतको चिसो हावा शीर्षकभित्र कोलोराडोको इस्टेट पार्क छिर्न प्रवेश शुल्कबापत एउटा मोटरको २० डलर तिर्नुपर्ने रहेछ । रक्की पर्वत शृंखलामा जम्माजम्मी ७२ वटा विभिन्न नाम गरेका पार्क रहेछन् । ती मध्येको इस्टेटपार्क एक हो । यो पर्वत शृंखलाको सबैभन्दा अग्लो भाग समुद्रको पर्वत हो भनिएको छ । आँखाले पढेको हृदयभन्दा मनले भेटेको शब्द बढी प्रभावकारी हुन्छ यात्रामा । प्रस्तुत नियात्राकृति स्रष्टाले देखेको, भोगेको यथार्थ पनि हो । प्रस्तुत कृतिमा स्रष्टा गीताले आफूले देखेको, भोगेको र अनुभूति गरेको यथास्थितिलाई प्रस्तुत गरेकी छन् । साथै यस संग्रहभित्रका नियात्राहरूमा जीवनबोध, जीवनको मौलिक परिभाषा र जीवनको कटु सत्यलाई आत्मसात् गरेको पाइन्छ । नियात्राकार गीताले हामीलाई युरोप, एसिया, अमेरिका, दक्षिण अमेरिकाका अनेक भूभाग मनमौजी तालले घुमाउँछिन् । एसियाका दुई संस्मरण रहेका छन्, तिब्बत र हङकङ बारेका तीता–मीठा विरचणसाथ । अमेरिकी सहर र स्थानका अनेक स्मृतिले यहाँ ठाउँ पाएका छन् । एक दर्जनभन्दा बढ्दा नियात्राहरू अमेरिकाली सन्दर्भ, परिवेश र पात्रकै सेरोफेरोमा रहेका छन् । धेरै नियात्राहरू त साहित्यकै वरिपरि गाँसिएका छन् । विशेषत: कोलोराडोसँग जोडिएर आएका डेनभर, रक्की, अरोरा, माउन्ट एभान्स वा एटलान्ससँग टाँसिएर आएका अथवा वासिंगटन डिसीसँग मिसिएर आएका रचनाहरू साहित्य र साहित्यिक कर्मकै प्रतिफल हुन् भन्दा पनि हुन्छ ।
नियात्राक्रममा इन्डियाना पोलिसको आन्मा–नासाको प्रसंग र विविध अनुभूतिलाई पनि यहाँ समावेश गरिएको छ । यसले व्यक्ति र प्रवृत्तिका चरित्रलाई बुझ्न सघाउँछ । डेनभरको सिमसिमे पानी शीर्षकभित्र डेल्टाको जहाजभित्रका अनुभूतिलाई उतारिएको छ । यात्रा वृत्तान्तको गीताको यो पहिलो कृति हो । यसमा लेखकको आफ्नै अनुभूति स्वाद छ, उनको निजी भावना जताततै छरिएको छ । लेखनशैली स्वतन्त्र छ । उनका यात्राहरू रोचक र रसिला छन् ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply