सालिन विद्रोह स्वर
जीवन, एउटा अन्तहीन अध्याय हो । हरेक व्यक्तिले जीवन अध्यायलाई आ–आफ्नो ढंग र शैली पछ्याउँदै पढेका हुन्छन् । चाहे पूर्ण शिक्षित होस् वा निरक्षर, सबैले जीवनलाई आ–आफ्नै लिपिमा अध्ययन गरेका हुन्छन् । भारतको पश्चिम बंगाल राज्यस्थित कालेबुङका नेपाली भाषी कवि प्रदीप लोहागुणको कविता ‘कविताबाजे’मा उनी शिक्षित र अशिक्षितबीचको भेद बेग्लै तरिकाले खुट्याउँछन् । कुनै पनि व्यक्ति अनुभव–समृद्ध हुनमा अक्षरी ज्ञान मात्र काफी हुँदैन, त्यसमा जीवन बाँच्ने र ज्युँने कला पनि अन्तर्निहित हुनुपर्छ भन्ने भाव धरातलमा उभिएको यो कविताले पूर्वजको ज्ञान, अनुभव, संस्कार र शिष्टताप्रति हार्दिक रूपमा नमन गरेको सहज प्रतीतबोध हुन्छ ।
लोहागुणको नवीन काव्यकृति ‘सनकी समय’भित्र मानव जीवनका बहुध्वनि गुन्जिएको सहज महसुस गर्न सकिन्छ । जीवनका अनगिन्ती तरंगहरूलाई उनले अत्यन्तै विम्बात्मक तवरले आफ्नो काव्य मैदानमा उतारेका छन् । यस्तो विशिष्ट खुबी कमै सर्जकहरूमा हुन्छ । तर, उनले भने ग्रामीण/सहरिया दुवै क्षेत्रमा प्रचलित भाषा, जनबोली आदिलाई टिपेर आफ्नो काव्यधारामार्फत् प्रवाहित तुल्याएका छन् । ‘धरतीलाई किन माया गर्दैन मान्छे’ मा उनी अभिव्यक्त हुन्छन्, यसरी–
‘हरेक बिहान
घामका ज्योतिहरू टेक्दै
धरती चियाउन आइपुग्छ आकाश
र, सुम्सुम्याइरहन्छ वृद्धहरूको खोकी
अनि स्कुले नानीहरूको निन्द्रा’
परिवर्तन, एउटा अनिवार्य पक्ष हो । तर, परिवर्तनका नाममा नेगेटिभ पक्षको बाहुल्यता हुनु सुखद् पक्ष होइन । ‘गाउँमा पैरो’ले परिवर्तनको नमीठो पक्ष उद्घाटन गरेको छ । ‘बोजुउत्खनन’ उनको अर्को बेजोड सिर्जना हो । मानिसहरू आधुनिक बन्ने होडबाजीमा आफ्ना परम्परागत पक्षहरू त्याग्दै गइरहेका छन् । परम्परागत ज्ञान, सीप र खानपिनका कतिपय पक्षहरू समृद्ध हुँदाहुँदै त्यसलाई तिलान्जली दिएर आधुनिक र सभ्य बन्ने क्रममा फाल्तु पक्षहरू अँगालिरहेका छन् । यही पक्षप्रति कवि रोष प्रकट गर्छन्–
‘अहिले हामीसँग
कर्पोरेट आमाले वालमार्टको अजिनोमोटो हालेर बनाएको
जंकफुडजस्ता दु:खहरू छन्
अलिकति टोक्न खोज्छु
दाँतहरू कुहेर झर्न थाल्छन्’
‘रफस्केचमा आमा’ले आमाको माया, ममता र स्नेहको फराकिलो क्षितिज उघारेको त छँदैछ, आमाप्रति गहिरो सद्भाव र स्नेहसमेत बग्रेल्ती रूपमा पोखिएका छन् । ‘ओ, दार्जिलिङ’ले पहाडको रानी भनेर जुगौंदेखि पुकारिँदै आएको, अंग्रेजहरूले गर्मी बिदा मनाउन बसाइएको एउटा सुन्दर सहर दार्जिलिङको भव्यताको बखान गरेको छ । ‘सनकी समय’ले भने वर्तमानमा मान्छेले भोग्नु परिरहेका भयावह परिस्थितिलाई इंगित गर्न चाहेको छ । कवि लेख्छन्–‘सप्तरंगी सपनाहरू देखाएर
कुनै धुर्मैलो साँझमा
दृष्टि खोसिएको मान्छे हुँ म
म कसरी सद्दे हुन सक्छु ?’
लोहागुणका कविताहरू नम्र भावभूमिमा उभिएका मात्र छैनन्, विद्रोहका स्वर उराल्न पनि उनका कविता उत्तिकै सक्षम छन् । ‘हत्यारालाई सम्बोधन’ राजनीतिमा व्याप्त विसंगति र नेताहरूका जनविरोधी चरित्रप्रति विद्रोहको स्वर उराल्न सक्षम कविता हो । ‘जदौ मालिक’ युगौंदेखि टाउकोमाथि वन्चनाको घन बजारिएर थिल्थिलो पारिएका दलित, जनजाति, आदिवासीजस्ता सीमान्तकृत, पहिचानविहीन वर्गहरूको पक्षमा दह्रो र खरो रूपमा आवाज उठाउन सक्षम कविता हो । कविले सशक्त रूपमा हस्तक्षेप गर्दै लेख्छन्–
‘जदौ सरकार मालिक
म तपाईंलाई चिराचिरा परेको मेरो खुट्टा होइन
चिराचिरा परेको मेरो भाग्य देखाउन आएको छु
लट्टा परेको मेरो बाल होइन
लट्टा परेको मेरो पहिचानको सवाल देखाउन आएको छु ।’
सालिन विद्रोह पस्किएर आफ्ना अधिकार, खोसिएका सपनाहरूको पुनप्र्राप्तिको पक्षमा उनका कविताहरू शक्तिशाली रूपले उभिएका छन् । ‘जंगली फूल’मा उनले जुन रूपमा सभ्य र सालिन हिसाबले विद्रोही स्वर उठाएका छन्, त्यसले नै उनको काव्यशक्ति र फलकको समग्र पहिचान दिन्छ । उनी लेख्छन्–
‘होलुङ खोलाको गड्तिरमा बसेर
किन रोयौ ए एतवारी उराँव †
यसले त तिम्रो आँसु बगाइलगेर
तोर्सा खोलामा मिसाइ पठायो
तोर्साले पनि तिम्रा आँसु बगाउँदै बगाउँदै
लगेर बंगोपसागरमा मिसाइ पठायो
अनि त्यसपछि त बनिएको हो
कलकत्तामा सल्टलेक’
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply