खगराजलाई किताबबाटै जवाफ
काठमाडौं । ‘जसले मुटु चुँडेर लग्यो, उही घुम्छ नजरभरि…’ यो चर्चित गीत गायिका अन्जना गुरुङले गाएकी हुन् । अहिले त्यही गीतमा व्यक्त भावनाजस्तै हुन पुगेको छ, पोखराकी इन्द्रकला बरालको जीवन । स्वास्थ्यमन्त्री खगराज अधिकारीले बरालसँग सम्बन्ध विच्छेद गरेको दुई वर्ष पनि पूरा भएको छैन । तर, आफ्नै मुटु चुँडेर लैजाने तिनै अधिकारी अझैसम्म पनि बरालको नजर वरिपरि घुम्न छाडेका छैनन् ।
बरालको नजर वरिपरि अधिकारी असल पात्रका रूपमा होइन, खलपात्रका रूपमा उभिँदै छन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरिरहेकी बरालले आफ्नो मुटु चुँडेर लैजाने स्वास्थ्यमन्त्री अधिकारीलाई लक्षित गरेर अहिले किताब लेखिरहेकी छन् । गत असारमा काठमाडौंमा भएको नेकपा (एमाले)को नवौं महाधिवेशनमा नै सार्वजनिक गर्ने गरी बरालले किताब लेखिरहेकी थिइन् । त्यतिबेला उनले ६०/७० पृष्ठसम्म लेखिसकेकी थिइन् । तर, त्यतिबेलै प्रकाशनमा ल्याउन चाहे पनि एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीको आग्रहका कारण बरालले किताब निकाल्ने योजना स्थगित गरेकी थिइन् ।
सूत्रका अनुसार, अधिकारीले छाडेपछि विक्षिप्तजस्तै बन्न पुगेकी बरालले एक दिन आफ्नै निवासमा उपाध्यक्ष भण्डारीलाई निम्त्याएर आफूले लेखिरहेको किताब महाधिवेशनको मुखमा सार्वजनिक गर्ने बताएकी थिइन् । प्रत्युत्तरमा उपाध्यक्ष भण्डारीले ‘अहिले किताब ननिकाल्नुस्, म तपार्इंहरूबीचको सम्बन्ध फेरि पनि कायम गराइदिन्छु’ भनेर आश्वासन दिएका थिइन् । अझ महाधिवेशनको मुखमा अधिकारीविरुद्ध लेखिएको किताब सार्वजनिक हुँदा अधिकारीले पराजय भोग्ने भएको हुँदा भण्डारीले किताब सार्वजनिक नगर्न अनुरोध गरेकी थिइन् । बरालले पनि ‘मेरो बारेमा किताबै लेखेर नानाभाँती लेख्न हुने, मैले लेख्न नहुने ?’ भनेर जवाफ दिएकी थिइन् । त्यतिबेला स्वास्थ्यमन्त्री अधिकारीले आफ्नो राजनीतिक, पारिवारिक जीवनमा आधारित रहेर ‘माया मारेको मान्छे’ नामक किताब सार्वजनिक गरेका थिए । उक्त पुस्तकमा अधिकारीले त्यतिबेला भर्खरै आफूले छाडेकी बरालप्रति तीता शब्दहरू पोखेका थिए ।
उपाध्यक्ष भण्डारीले अधिकारी र बरालबीच पुनर्मिलन गराइदिने आश्वासन बराललाई दिएको महिना दिन पनि नबित्दै अधिकारीले ललितपुरतिरकी शिक्षिकासँग बिहे गरे । त्यतिबेला अधिकारीले ‘छोरीको आग्रहमा बिहे गरेको’ बताएका थिए । अधिकारी र बराल छुट्टिए पनि उनीहरूकी छोरी भने अधिकारीसँगै बस्दै आएकी छन् ।
बरालले ल्याउन लागेको किताब अधिकारीको ‘माया मारेको मान्छे’को जवाफ वा खण्डन मात्र मात्र नभई अरू पक्षहरू पनि समेटिने बताइन्छ । तर पनि, उनले अधिकारीले आफूलाई दिएका दु:ख, कष्टहरूमै बढी केन्द्रित हुने सम्भावना रहेको बताइन्छ । कम्तीमा पनि डेढ सय पृष्ठको हाराहारीको उक्त पुस्तकलाई बरालले अहिले अन्तिम रूप दिइरहेकी छन् ।
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply