मैले किन एमाले रोजेँ ?
अहिले सबैभन्दा ठूलो पार्टी कांग्रेस छ । तर, मैले एमाले नै रोज्नुका पछाडि कारण छ । मलाई अन्याय, अत्याचार, शोषण जस्ता कुरामा पहिलेदेखि नै पटक्कै चित्त बुझ्दैनथ्यो । ‘हावा जता लागेको छ त्यतै लाग्नुपर्छ’ भनेर म एमालेमा आएको हुँ । हावाले जहिले यताबाट ठेलेको छ, उताबाट पनि ठेलेको छ, कहिल्यै सहयोग गरेन । खासमा ‘एन्टी करेन्ट’मा जान सकिँदैन । ‘अहिलेका यी नेता के नेता † गोविन्दविक्रम पो नेता †’ भनेर जाजरकोटका जनताले आदर गर्छन् । ०७० को निर्वाचन परिणामपछि कतिपय साथीले ‘तपाईंले जितेर के हुन्थ्यो र ? न राप्रपाको सरकार बन्छ, न केही काम हुन्छ । बरु ठूला पार्टीको भए केही गर्न सकिन्छ’ भने । जिल्लामा कांग्रेसको नेतृत्व नै ठीक भएन । राजीव शाह पैसाको बलले नेता भएका हुन् । दीपकजंग शाह त पैसा खाएर आफ्नै पार्टीका नेता शेरबहादुर देउवाको सरकार ढाल्ने मानिस भइहाले ।
एमालेमा नभए पनि मैले विगतमा एमालेका लागि काम गरिदिएको छु । त्यसैले एमालेका साथीहरूले अहिले म एमालेमा आउँदा आरिस गर्ने वा चित्त दुखाउने गर्नुहुन्छ जस्तो लाग्दैन । म माननीय भएको अवधिमा सिंहदरबारभित्र पाँच हजारभन्दा बढी मान्छे छिराएँ । कांग्रेस, एमाले केही भनिनँ । ठीक मान्छे त गोविन्दविक्रम नै हो भन्ने पारेको छु ।
०७० को चुनावको परिणाम आएकै दिन एमालेका उम्मेदवार कृष्ण बिसीसहित भैरव श्रेष्ठलगायतका साथीहरूले ‘आउनु पर्यो, हामी एकै ठाउँमा लाग्नुपर्यो’ भन्नुभयो । मैले ‘पख्नुस्, हेर्दै जाऔं’ भनेँ ।
हेर्दै गएँ– अहिलेको करवीर शाही नेतृत्वमा आए । उनको नेतृत्व मलाई राम्रो लाग्यो । ०४९ मा म सभापति हुँदा भैरवजी उपसभापति हुनुहुन्थ्यो । उहाँसँग पनि कुराकानी भइरहेको थियो । म जाजरकोट एमालेको प्रेरणा र पहलकदमीबाट नै एमालेमा आएको हुँ । म सांसद हुँदाको साथीका नाताले प्रकाश ज्वालाले पनि बल गर्नुभयो । उहाँहरूले पोहोर पनि विभिन्न नेताहरूलाई भेटाउनुभएको थियो । यस क्रममा मैले केपी ओली, माधव नेपाल, वामदेव गौतम र ईश्वर पोखरेललाई भेटें । खै किन हो, झलनाथ खनाललाई चाहिँ उहाँहरूले भेटाउनु भएन, मैले एक्लै भेट्ने कुरा पनि भएन । वामदेवले चाँहि ‘हजुरलाई गाह्रो पर्ने हो कि ? अध्ययन गर्नुपर्छ, कम्युनिस्टको अनुशासन कडा हुन्छ’ भनेर अलिक बढी आदर्श छाँट्नुभयो । केपी ओली त गजबको मान्छे हुनुहुँदोरहेछ । म सबैभन्दा बढी प्रभावित उहाँसँगै भएको छु । ‘ठीक छ, आउनूस्, आदर्श, अनुशासन केही पनि छैन, काम गर्न सकिन्छ’ भन्नुभयो । सबैभन्दा खुलस्त बोल्ने नेता हुनुहुँदोरहेछ ।
एमालेमा प्रवेश गरेपछि राप्रपाका अध्यक्ष पशुपति शमशेरले मोबाइलमा म्यासेज पठाएर ‘भेट्न आऊ’ भन्नुभएको थियो । तर, म गइनँ । राप्रपामा हुँदा पनि म उहाँको लाइनको मान्छे थिइनँ, लोकेन्द्रकहादुर चन्दसँग थिएँ । महाधिवेशनबाट चक्रीय प्रणालीमा अध्यक्ष चुन्ने भनियो तर अहिले ‘कहाँ चक्रीय प्रणाली ?’ भन्दै जबर्जस्ती पशुपति अध्यक्ष हुन मिल्थ्यो ? सरासर झूट बोल्न थालेपछि त्यस्तो पार्टीमा कसरी बस्नु भन्ने भयो । डा. प्रकाशचन्द्र लोहनीले धेरै पटक फोन गर्नुभयो । मैले उहाँको फोन उठाइनँ । मलाई अलिकति अप्ठ्यारो उहाँले पार्नुहुन्थ्यो । पहिले मुख हेरेको उहाँहरूकै हो । दीपक बोहरा, विक्रम पाण्डेले पनि फोन गर्नुभयो । ‘ठेक्काको बारेमा कुरा गर्नुछ’ भनेपछि भेट्न गएँ । ‘किन अप्रत्यासित रूपमा यस्तो गर्नुभएको ? मलाई त थाहा पनि थिएन’ भन्दै हुनुहुन्थ्यो । मैले ‘कसैलाई थाहा दिन पनि नखोजेको हो, अब निर्णय लिइसकेँ, पुनर्विचार हँुदैन’ भने ।
बुबाले त एक वर्षअगाडि नै एमालेतिर लाग्न सङ्केत दिइसक्नुभएको थियो । ‘यो राप्रपाबाट केही हुँदैन’ भन्नुहुन्थ्यो । यसपालि चाहिँ मैले उहाँलाई सोधिनँ । तर, मलाई के विश्वास छ भने मेरो यो निर्णयमा बुबाको कुनै विरोध छैन ।अहिले जिल्लाका साथीहरूको नियमित सम्पर्कमा छु । १५ गतेतिर जिल्ला जाँदै छु । १८–१९ गतेसम्म बृहत् बैठक आयोजना गर्छौं । एमालेका साथीहरूले ‘२५–२६ तिर कार्यक्रम गर्नुपर्छ’ भनिरहनुभएको छ । सकभर राप्रपालाई जिल्लाबाट निखारेरै एमालेमा ल्याउने योजना छ । व्यक्तिगत रूपमा एक–दुई जना नआउने भए भने पनि उसले राप्रपाको झन्डा थामेर नबस्ने बनाउँछांै । अब जाजरकोटमा राप्रपाको झन्डा, ब्यानर हुँदैन ।
मेरो जन्म ०१५ सालमा जाजरकोटको खलंगामा भएको हो । त्यसबेला म जन्मेको ठाउँ सल्यानमा पर्दथ्यो । त्यो बेला जाजरकोट राज्य अरूभन्दा ठूलो थियो । भाइ–भाइलाई राज्य भाग लगाउँदा हाम्रा जिजुबाजेहरूले हामीलाई त्यहाँ पठाए । ०१८ सालमा राजा रजौटा उन्मूलन भयो । सल्यान, रुकुमका थुप्रै भाग त्यसबेला जाजरकोटमा नै पर्थे । पछि जिल्ला विभाजन हुँदा कुनै सल्यानतिर परे, कुनै रुकुमतिर । म जन्मेको ठाउँ चाहिँ अहिले सल्यानमा पर्छ । ०२४ सालपछाडि हामी जाजरकोट गएका हौं । बुबाको सम्पत्ति सल्यानतिर पनि थियो, जारकोटमा पनि थियो । बाईसे राजाहरूमध्ये हामी पनि हौं, राज्य पनि शक्तिशाली नै थियो, सम्पत्ति नहुने कुरै भएन ।
मैले कहिल्यै जागिर खाइनँ । सानैदेखि बुबा तेजविक्रम शाहको राजनीति सघाउनतिर लागें । ०२१ सालदेखि नै बुबा पञ्चायतको सभापति, माननीय हुनुभयो । अहिले पनि उहाँ राजनीतिमा हुनुहुन्छ । ०४४ देखि ०४६ चैत २२ सम्म उहाँ आपूर्ति सहायकमन्त्री हुनुहुन्थ्यो । मैले बच्चैदेखि काठमाडौंमा पढेँ । पहिले लेब्रोटरी स्कुलमा पढेँ । रत्नराज्य क्याम्पसमा पनि पढेँ । स्नातकोत्तर चाहिँ जनप्रशासन क्याम्पसबाट गरेँ । पढेलेखेको हुनाले पनि मैले बुुबालाई सघाउनुपर्नेभयो । बाईसे राजाका बेला काजीहरू मन्त्री भएर जनतालाई दु:ख दिएको अवस्था रहेछ, त्यहाँ । तर, हाम्रो बुबाहरू अलिक जनपक्षीय खालको हुनुहुन्थ्यो । शाह, ठकुरी राजा भए पनि जनपक्षीय खालका पनि हुँदारहेछन् । बुबाको पालादेखि हामीलाई सघाएका मान्छेहरू अहिले पनि कांग्रेस, एमाले र एमाओवादीमा छन् । मलाई साथीहरूले धेरै पहिलेदेखि राजनीतिमा प्रत्यक्ष रूपमा आउन आग्रह गरेका थिए । तर, मैले बुबाको राजनीतिलाई मात्र सघाइरहेँ । बहुदल आएका बेलादेखि नै म राजनीति गर्छु भनेर लागेको भए, सायद द्वारिकाप्रसाद प्रधान, भैरव श्रेष्ठ, गोपाल आरसी जस्ता मान्छे जागिर छाडेर राजनीतिमा आउँदैनथें होला । उहाँहरूले मलाई आग्रह पनि गर्नुभएको थियो । उहाँहरू सबै एउटा विद्यालयका शिक्षकहरू तर, जागिर छाडेर ०४८ को आम निर्वाचनमा द्वारिकाजी कांग्रेस, गोपाल आरसी जनमोर्चा र भैरव श्रेष्ठ एमालेबाट लड्नुभयो । त्यसबेला मलाई यो मुलुकमा बहुदल मात्र आएको हो भन्ने लागेको थियो, कांग्रेस, कम्युनिस्ट पनि आएका हुन् भन्ने नै थाहा भएन । त्यो थाहा भएको भए एउटा विकल्प छनोट गर्थें होला । बुबा पञ्चायतमा भएको हुनाले सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणाहरूलाई चिनिराखेको थिएँ । त्यही भएर उनीहरूकै पछि लागेर पनि राम्रो काम गर्न सकिन्छ भनेर त्यतैतिर लागेँ । जाजरकोटका साथीहरूले ‘लौ अब कतातिर लाग्ने तिमी निर्णय गरेर आऊ’ भनेर मलाई काठमाडौं पठाएका थिए, ०४७ मा । दुई–चार जना मान्छे चिनेकै कारण म राप्रपामा लाग्ने निर्णय गरेर जिल्ला फर्कें । त्यसबेला हामीलाई चुनाव हारिन्छ जस्तो नै लाग्दैनथ्यो । अझ हाम्रो बुबालाई त ‘मलाई हराउन त राजा वीरेन्द्र नै आएर लड्नुपर्छ’ भन्ने दम्भ थियो । तर, ०४८ को निर्वाचनमा कांग्रेसका द्वारिकाप्रसादले जिते, बुबाले ६ सय २० मतले हार्नुभयो । सीडीओ नै रक्सीका जर्किन बोकेर कांग्रेसको प्रचारमा हिँडेपछि कस्को के लाग्थ्यो र ? ०५१ को चुनावमा पनि राप्रपाबाट बुबा नै उठ्नुभयो र ७ सय मतले हार्नुभयो । ०५१ मा म उठेको भए जित्ने थिएँ, तर बुबाले मान्दै मान्नुभएन । किनभने, म ०४९ मा जिल्ला विकास समितिको सभापति भइसकेको थिएँ । जबकि स्थानीय चुनावमा जिल्लामा हाम्रो सिट अत्यन्तै कम थियो । तर, कांग्रेस, एमालेले भोट दिएर नै सभापतिमा मलाई जिताए । १३ जनाको कार्यसमतिमा राप्रपाबाट म एक्लै सभापति, अरू सबै कांग्रेस, एमाले र जनमोर्चा थिए । कालीबहादुर मल्ल र भक्तबहादुर शाह, जो ०६४ मा एमाओवादीबाट जितेर आए, तिनीहरू ०४९ मा म जिविस सभापति हुँदा जनमोर्चाबाट एक जना जिविस सदस्य र एक जना गाविस अध्यक्ष थिए । सभापति हुँदा राम्रो काम गरेकै कारण ०५६ को संसदीय निर्वाचनमा मैले जितेँ । त्यसबेला कांग्रेस र एमालेको संयुक्त सरकार थियो । त्यसको आशय नै खुद्राखाद्री पार्टीलाई मास्ने थियो । तर, मैले जितेँ । मैले संसद्मा पार्टीको प्रमुख सचेतक भएर पनि काम गरेँ ।०६४ को निर्वाचन परिणामबाट म छक्क परेँ । ‘केही गल्ती गरेको भए जनअदालत हुन्छ, जनताले सजाय दिन्छन्’ भन्थे । तर, मैले केही गल्ती गरेको छैन तर किन सजाय पाएँ ? प्रश्न अझै पनि मनमा उठिरहन्छ । ०६४ र ०७० को चुनाव मैले हानुपर्ने कारण के हो ? यसको जवाफ मैले अझै पाउन सकेको छैन । ०६४ मा त कांग्रेस र एमाले पनि सोत्तर भएका थिए, संविधान बनाउने एउटा अभियान थियो रे † तर, ०७० मा पनि मैले पनि मैले किन हारें ? अचम्म लागेको छ । अरू पार्टीका उम्मेदवारले समेत मलाई ‘कम्तीमा ६ हजार मत ल्याउँछ’ भन्थे तर १८ सय मात्र कसरी आयो ? न मैले केही बदमासी गरेको हुनुपर्यो । सारा जनताको अनुमान एउटा छ, परिणाम अर्कै छ । दिल्लीमा केजरीवालको जितै भयो । सर्वेक्षणले ३८ सिट जित्ने देखाएको थियो, ६७ सिट ल्याए । मेरो त्यति परिणाम आउनुको कारण खोज्दै जाँदा थाहा भयो– पार्टीको आकार र हैसियत नै सानो हुनु । अर्को कारण राजावादीको बिल्ला पनि थियो । ‘हामी राजावादी होइनांै’ भनिरहेका छांै तर ‘हुन्’ भनेर डंका पिटाइयो । ०६२/६३ को आन्दोलनका बेला कांग्रेस, एमालेले पनि हामीले लिएका निर्णयलाई ‘ठीक’ भने । तर, आन्दोलन सफल भएको भोलिपल्टैबाट ‘प्रतिगामी’ पो भन्न थाले । पानी नै नचल्ने पो बनाइदिए ! म कहिल्यै राजावादी भइनँ । म त ‘राजाले कसलाई के गरे र’ भन्छु । हामी एकोहोरो सहयोग गर्यौं तर राजाबाट केही सहयोग पाएनौं । अरूले देख्दा राजावादी देख्ने तर सीमित घेराकाले केही पाएको भए बेग्लै कुरा, हामीले चाहिँ केही पाएनौं । बुबालाई पनि राजाले मन्त्री बनाएको होइन । उहाँले बालिग मताधिकारबाट चुनाव जितेर आएको हुनाले सल्यानका मरिचमान सिंहले ‘जाजरकोटको मान्छे चाहिन्छ’ भनेर मन्त्री बनाएका हुन् । त्यो राजाको निगाहले होइन, राजाबाट त जहिले पनि हामी अन्यायमा परेका छौं ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply