मिथ र आधुनिकताको सम्मिश्रण
नेपाली नाटक लेखनमा कृष्ण शाह ‘यात्री’को उपस्थिति पछिल्लो समय सघन, प्रभावशाली र शक्तिशाली बन्दै गइरहेको छ । नाटक लेखनका साथै निर्देशनमा समेत दख्खल राख्ने यात्रीले अहिलेसम्म पाँच थान नाटककृति ल्याइसकेका छन् । करिब अढाई दशकदेखि नाटक लेखन, निर्देशन र अनुसन्धानमा क्रियाशील यात्रीको पछिल्लो नाट्यकृति ‘बामियानका चीसा बुद्धहरू’ भित्रका नाटकहरूमा मिथमा आधारित पात्रहरूलाई उभ्याएर वर्तमान समाज, राजनीति, सांस्कृतिकलगायत क्ष्ँेत्रमा व्याप्त विसंगत पक्ष्ँ र चरित्रहरूमाथि कटु प्रहार गर्न चाहेको देखिन्छ ।
एकाध दशकपूर्व, अफगानिस्तानको बामियान उपत्यकामा अवस्थित शताब्दीऔं पुराना बुद्धका मूर्तिहरू ढालिएका थिए । विश्वभर निन्दा र भत्र्सनाको विषय बनेको उक्त घटनालाई धार्मिक असहिष्णुताको पराकाष्टा नै मानिएको थियो । विश्वकै प्राचीन धरोहरको रूपमा स्थापित, सांस्कृतिक एवम् धार्मिक महत्त्वले ओतप्रोत बामियानका बुद्धका प्रस्तर मूर्तिहरू सम्बन्धित देशको उच्च सम्पदाको रूपमा पनि चिन्हित थियो । तर, तालिवानजस्ता धार्मिक कट्टरपन्थीहरूको समूहले युगौं पुराना बुद्धका मूर्तिहरू ढालेर धार्मिक असहिष्णुताको बिजारोपण गरेको सन्दर्भलाई ‘बामियानका चीसा बुद्धहरू’ नामक नाटकमा देखाइएको छ ।
उक्त नाटकले बामियानमा बुद्धका सालिकहरू ढालिएपछि एउटा मूर्तिकारमा पलाएको मनोदशा राम्ररी खिच्न चाहेको प्रतीत हुन्छ । बुद्धका सालिकहरू तोडिएपछि मूर्तिकार र भिक्षुहरूमा पलाएको भयावह मानसिक अन्तरद्वन्द्वको दैलो उघार्न पनि यो नाटक सक्षम सावित ठहरिएको छ । मूर्तिकारका चेला कामानी वेदनामिश्रित स्वरमा भन्छन्– ‘यी चीसा गुफामा वर्षौं लगाएर बनाएका आफूभन्दा प्रिय मूर्तिहरूमा कसैले निर्ममतापूर्वक महिनौंसम्म सयौं रकेट, ग्रिनेट र विस्फोटक प्रहार गर्छ भने कसको मुटु छियाछिया हुँदैन र ?’
‘अर्थात् असमाप्त अध्याय’मा महाभारतकालीन चर्चित पात्र द्रौपदीलाई उभ्याइएको छ । बहुपतिलाई स्वीकार्न बाध्य द्रँैपदी महाभारतको एउटी यस्ता पात्र हुन्, जसले सयौं अपमान, तिरस्कार र उत्पीडन सहेकी थिइन् । र, महाभारत युद्ध तिनै द्रौपदीको कारण भएको पनि मानिन्छ । तर, यो नाटकमा उनले आधुनिक द्रौपदीहरूमाथि प्रश्नचिन्ह उठाउन खोजेका छन् । नाटकमा द्रौपदी बोल्छिन्– ‘भन कृष्ण, किन अप्ठ्यारो मान्छौं ? यो महाभारतकालीन समय होइन । यो एक्काइसौं शताब्दी हो । भन, यहाँ कुनै कुरुक्षेत्रको नाटक भइरहेको छैन । यहाँ आधुनिक नाटक मञ्चन हुन लागिरहेको छ । अझ तिमी उत्तरआधुनिक पनि भन्न सक्छौं ।’
‘अनन्त सपनाहरू’ले सपना देख्न बाध्य तर देखेका सपना पूरा नहुनेहरूका कथा हो । हरेक मानिसले सपना देख्छन्, तर ती सपनाहरू पूर्ण हुँदैनन् । तर, पूर्ण नभए पनि सपना देख्ने लतमा फसेका मानिसहरूले सपना देख्न भने छाड्दैनन् । जस्तै, एक जना पात्रले भनेझैं ‘यी निभेका दियोहरूले पनि सपना बाँच्छन् । अर्थात् उनीहरू फेरि बल्ने सपना देख्छन्’ । नेपालीहरूले वर्षौंदेखि विभिन्न स्तर र रङले युक्त सपनाहरू देख्दै आए । तर, ती सपनाहरू कता हराए, बिलाए । त्यसैले त आज पनि सूत्रहरू यस्ता शब्द ओकल्न बाध्य छन्– ‘सपनाहरू अनन्त छन् । राता सपनाहरू । नीला सपनाहरू । पहेला सपनाहरू । सपनाको आ–आफ्नै रङ हुन्छ । सपनाको आ–आफ्नै सिद्धान्त हुन्छ । सपनाको आ–आफ्नै जात हुन्छ । सपनाहरू कहिले हिमाल चढ्न जान्छन् र हिउँमा पुरिएर मर्छन् । सपनाहरू कहिले खाडी मुलुकतिर जान्छन् र मरुभूमिमा डढेर खरानी बन्छन् ।’
प्राचीन कालमा राजा ययातिले आफ्ना कनिष्ट सुपुत्र पुरुसँग उमेर साटेर युवा बन्ने चाहना राखेका थिए । र, उनको त्यो चाहना पूरा भएको थियो । तर, आधुनिक युगका अन्वेषक डा.ययातिले भने उमेर साट्न मिल्ने एउटा मेसिनको आविस्कार गरेका छन् र आफ्ना कनिष्ट पुत्र पुरुसँग आयु साट्छन् । तर, उनले यस्तो कार्य सहमतिमा होइन, झुक्याएर गर्छन् ।
नाटक ‘आयुयन्त्र’ले आधुनिक मानिसहरूमा बढ्दै गइरहेको स्वार्थीपन, जालसाजीयुक्त प्रवृत्ति र अतिकेन्द्रियकतालाई उजागर गर्न चाहेको छ । यो नाटकले आधुनिक मानवले प्रविधिको विकासमा पाएको उल्लेख्य सफलतासँगै बढिरहेको अमानवीय पक्षहरूलाई पनि सँगसँगै उठाउन चाहेको छ । अर्को नाटक ‘हामी’ भने निकै सशक्त रहेको छ । खासगरी, द्वन्द्वकालीन समय र अरु समयहरूमा राजनीति र आर्थिक प्रलोभनका कारण बेपत्ता पारिएका नागरिकहरूको स्वरलाई उद्धृत गर्ने दिशामा केन्द्रित उक्त नाटकले विशिष्ट भूमिका खेलेको छ ।
मूलत: यात्रीको यो नाट्यकृतिले मिथहरूको सहारा लिएको भए पनि हामी बाँचिरहेको वर्तमान समय, समाज र राजनीतिका विसंगत पाटोहरूलाई सशक्त र संवेदित रूपले उजागर गर्नमा कुनै कन्जुस्याइँ गरेको छैन । यात्रीले नाट्य क्षेत्रमा चालेका पाइलाहरूले सफलताको शिखर चुम्नेमा कुनै सन्देश नरहेको त छ नै, उनले यस्ता कृतिहरू ल्याएर नेपाली नाटक साहित्यमा परिरहेको कृतिहरूको खडेरीमा पनि केही हिसाबले पुर्ताल गरेको ठहर गर्न सकिन्छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply