आरकेका लागि १२ वर्षमा खोलो फर्कियो
राधाकृष्ण मैनालीलाई अहिले माइती फर्केकी चेलीलाई जस्तो भएको छ । धेरै दिनसम्म सम्पर्कमा नआएका साथीहरूले फोन गरेर बधाई दिइरहेका छन् । अमेरिकाको बोस्टनमा रहेका छोरा डा. दिनेशले फोनमा अपार खुसी प्रकट गरेका छन् । आफन्तहरूले राम्रो भयो भनिरहेका छन् । एमालेले १२ वर्षपछि केन्द्रीय कमिटीमा पुन:स्थापित गरेपछि खुसी भएका मैनाली भन्छन्– ‘धेरै साथीहरूको सद्भाव र माया रहेछ । यसबाट मलाई थप प्रेरणा मिलेको छ ।’
मैनालीका शब्दमा ‘१२ वर्षमा खोलो फर्केको छ’, त्यो पनि उनलाई ल्याउने पुलसहित । आइतबार केन्द्रीय सदस्य बनेपछि नेताहरूलाई धन्यवाद दिँदै उनले औपचारिकता पूरा गरिसकेका छन् । एक दशकभन्दा बढी बाहिर रहँदा पनि कार्यकर्ताले देखाएको आत्मीयता र सम्मानबाट मैनाली प्रफुल्ल छन् । मालेका संस्थापक मैनाली जति टाढा गए पनि उनलाई कार्यकर्ताले त्यति टाढा ठानेका रहेनछन् भन्ने अहिले महसुस गरेका छन् । ‘म पनि टाढा थिइनँ, जहाँ गए पनि एमाले भन्थे, एमालेको संस्थापक भन्थे’– मैनाली भन्छन्– ‘आफैँले बनाएको घरमा फर्किंदा खुसी पनि लागेको छ, दु:ख पनि लागेको छ ।’ नेतादेखि कार्यकर्तासम्मलाई मैनालीले भन्ने गरेका छन्– ‘हिजो के भयो ? अब समीक्षा नगरौं । जुन विश्वास गरेर पार्टीले जिम्मेवारी दिएको छ, त्यसलाई सकेसम्म पूरा गर्छु ।’
यसबीचमामैनालीले एमालेमा फर्किन इच्छा देखाएको धेरै भइकेको थियो । गत असारमा आयोजित नवौं महाधिवेशनमै उनलाई प्रतिनिधि बनाएर भित्र्याउन नेताहरूबीच सहमति भइसकेको रहेछ । तर, नताहरूबीचको रस्साकस्सीले प्रतिनिधि मनोनयन नै नभएपछि त्यो विषय त्यत्तिकै सेलायो । महाधिवेशनबाट उनका जिल्लाबासी मात्र होइन, १६ वर्ष एउटै कोठामा बसेका केपी ओली अध्यक्ष चुनिएपछि मैनालीमा थप आशा पलाउने नै भयो । तर, कुरा मिलेको थिएन । मैनाली ‘स्थायी समिति चाहियो’ भन्ने, ओली चाहिँ माधव नेपालतिर देखाएर ‘तिनले मान्दैनन्’ भन्ने । यही रस्साकस्सीमा उनले आठ महिना बिताए । अन्तत: आइतबार बसेको स्थायी समितिमा अध्यक्ष ओलीले अर्का पूर्वपोलिटब्युरो सदस्य विजय सुब्बासँगै उनलाई पनि केन्द्रीय कमिटीमा ल्याउने प्रस्ताव ल्याए ।
१४ वर्ष जेल बसेका मैनाली एमालेभित्र व्यवहार कुशल नेताका रूपमा चिनिन्छन् । नेताहरूबीच विवाद भएमा मिलाउन सक्ने, आफैं कसैको पूरै पक्ष लिएर नलाग्ने र कार्यकर्तासँग घुलमिल हुने उनका गुणलाई कार्यकर्ताले सम्झिने गरेका छन् । सानै उमेरदेखि वाम राजनीतिमा सक्रिय यी नेता एमाओवादी ठूलो पार्टी भएको बेला त्यता पनि कस्तो रहेछ भनेर पुगे । आफैंलाई सम्हाल्न मुस्किल परिरहेको बेला आरकेलाई एमाओवादीले कता सम्हाल्नु ! एमाओवादी प्रवेश गरेलगत्तै उनको विरक्ति बढिसकेको थियो । ‘त्यहाँ राजनीतिक संस्कार नै रहेनछ’– मैनाली थप्छन्– ‘खासमा घुलमिल हुन पनि सकिएन । उनीहरूमा बन्दुक संस्कृति हावी रहेछ ।’
०४६ सालको जनआन्दोलनमा संयुक्त वाममोर्चाका कार्यबाहक अध्यक्ष बनेका मैनाली त्यतिबेला राजासँग नरम सम्झौता गरेकोमा आलोचित थिए । तर, पछि जब नेताहरूले कुरा बुझे, त्यसभन्दा बढी गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा उनीहरू पनि पुगे । मैनालीले एमाले बनाउन पसिना बगाएका छन् । साथै, उनलाई बनाउन पनि एमालेले कम मिहिनेत गरेको छैन । ०४८ सालमा एमालेले सीमित अवसर पाउँदा मैनाली प्रतिनिधिसभाको शक्तिशाली लेखा समितिको सभापति बनेका थिए । ०५१ मा एमालेको अल्पमतको सरकार बन्दा उनले कृषि र भूमिसुधार गरी दुई मन्त्रालयको जिम्मेवारी पाएका थिए भने ०५३ मा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा उनी स्वास्थ्यमन्त्री बनेका थिए । ०५४ मा एमालेमा विभाजन आउँदा मैनालीले वामदेव गौतमलाई साथ दिए र लगत्तै पार्टीको नेतृत्व गर्दै गिरिजाप्रसाद कोइरालाको सरकारमा सूचना तथा सञ्चारमन्त्री बने ।
०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकार बर्खास्त गर्नुअघि नै एमालेभित्र मतभेद देखा पर्न थालेको थियो । केही नेताहरू लुकीलुकी ज्ञानेन्द्र र उनका प्रतिनिधिहरूसँग भेट गर्दै थिए भने पार्टीले अरू दलको समर्थनमा प्रधानमन्त्रीको दाबी गर्दै राजदरबारमा पत्र बुझाएको थियो । त्यही बेला मैनालीलाई पनि राजाले केही गर्छन् भन्ने परेको थियो । ०५९ माघमा जनकपुरमा सातौं महाधिवेशन हुनुअघि उनी स्थायी समितिमा थिए । महाधिवेशनबाट पनि उनी अत्यधिक मत ल्याएर केन्द्रीय सदस्य चुनिए । तर, उनी त्यसपछिको स्थायी समितिमा परेनन् । आफूले जिम्मा पाएको स्वास्थ्य विभाग पनि सम्हालेनन् । एकातिर कार्यकर्ता प्रतिगमन विरोधी आन्दोलमा सडकमा उत्रिँदै थिए भने अर्कातिर केन्द्रीय कमिटी सदस्य मैनाली चाहिँ राजाले केही गर्न सक्छन् भनेर आशा गर्दै लेख्दै थिए । एमाले नेतृत्वमाथि उनलाई कारबाही गर्न दबाब परिरहेको थियो । त्यसपछि उनी कारबाहीमा परे र ०६१ माघ १९ पछि राजाको मन्त्रिपरिषद्मा शिक्षामन्त्री भए ।
यस घटनालाई मैनालीले अहिले पनि ‘माधव नेपालले आफूलाई कारबाही गरेको र पार्टीबाट निकालेको’ भन्न छोडेका छैनन् । यदि पार्टीले कारबाही गरेपछि कतै नगएर बसिरहेको भए यो कुरा मान्न पनि सकिन्थ्यो । तर, लगत्तै राजाको मन्त्री बन्न गएकाले उनको कुरा तथ्यबाट पुष्टि हुँदैन । ‘त्यतिबेला मलाई स्पष्टीकरण दिने मौका पनि दिइएन’– मैनालीको गुनासो छ– ‘मलाई जबर्जस्ती धकेल्ने काम भयो ।’
धेरैले अहिले पनि मैनालीसँग ‘राजालाई सघाउन किन गएको ?’ भनेर सोधिरहन्छन् । ‘यस कुराको जवाफ पटक–पटक दिइसकेको छु’– मैनाली भन्छन्– ‘पार्टीमा थिइनँ । नागरिक थिएँ । सहयोग गर्नुपर्यो भने । कुरा राम्रै गरे । केही गर्छन् होला, बहुदलीय व्यवस्थालाई ट्रयाकमा ल्याउँछन् होला भन्ने लागेको थियो । तर, त्यो मेरो गल्ती बुझाइ रहेछ ।’
मालेलाई एमालेसँग मिलाउन गठित वार्ता टोलीका संयोजकका रूपमा मैनालीले एकताका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए । तर, पछि वामदेव गौतमले पनि आफ्ना पक्षमा आवाज नउाठएकोमा उनी खिन्न छन् ।
एमालेले गत महाधिवेशनबाट ७० वर्षपछि पार्टीका पदमा बस्न नपाउने विधान बनाएको छ । यस हिसाबले मैनालीले एमालेमा जम्मा तीन वर्ष सक्रिय रहन पाउनेछन् । ‘जति रहन्छु, आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्छु, सक्रिय हुन्छु’– बुधबारसँग भने– ‘यो चाहियो र त्यो चाहियो भन्ने कुरा छैन । जुन पदबाट निकालेका थिए, त्यसैमा पुन:स्थापना होस् भन्ने पुरानै माग छ ।’ उनले स्थायी समिति चाहेका छन् र नेताहरूले मिलाएर ल्याउने वचन पनि दिएको बुझिन्छ ।
अध्यक्ष ओलीसँग नेता मैनालीको राजनीतिक त छँदैछ, पारिवारिक सम्बन्ध समेत छ । मैनालीकी श्रीमतीलाई ओलीले दिदी भन्छन् र यही नाताले मैनाली भिनाजु पर्छन् । खुसीको मुडमा ओली जहिले पनि मैनालीलाई ‘के छ भिना ?’ भनेर कुरा सुरु गर्छन् भने राजनीतिक विषयमा आउँदा ‘बूढा’ भनेर सम्बोधन गर्छन् । बाल्यकालदेखि चिने–जानेका र बुझेका ओलीबाट आफूलाई बुझ्नमा मद्दत मिल्ने आशा मैनालीले त राखेका छन् नै, परिवार पनि आशावादी देखिएको छ । मंगलबार बिहान अमेरिकाबाट फोनमा छोरा दिनेश भन्दै थिए– ‘मामा (ओली)ले सबै कुरा बुझ्नुभएको छ, सबै कुरा मिल्ला ।’ आरकेले अमेरिकाबाट फर्केपछि आफ्नो छोरा राजनीतिमै लाग्ने बुझेका छन् । ‘यताका कुरा मैले भन्दा बढी गर्छ, फेसबुक, अनलाइन के–के हेर्दोरहेछ’– उनले भने– ‘यहाँ हुँदा पनि अखिलमा काम गरेको हो । राजनीतिप्रति धेरै रुचि छ । फर्केपछि राजनीति नै गर्छ होला ।’
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply