रसुवाको विकासका सम्भावना : के गर्दैछौं हामी ?

यतिबेला मुलुकमा संविधान निर्माण अवरुद्ध छ । लामो समयदेखि संक्रमणमा जकडिएको मुलुकलाई त्यसबाट मुक्त गराई उचित विकास दिन संविधान मूल आवश्यकता हो । तर, मूलधारका राजनीतिक पार्टीमध्ये एमाओवादी र मधेस केन्द्रित दलहरूको बखेडाको कारण अहिले संविधान बन्ने/नबन्ने वा बने पनि कहिलेसम्म बन्ने भन्ने अन्योल कायमै छ । उनीहरू संविधान बनाउनमा केन्द्रित हुनुभन्दा पनि अनावश्यक बखेडा झिकी जननिर्वाचित सार्वभौमसत्ता सम्पन्न संविधान सभालाई नमान्ने र आफैंले गरेको सहमति बिर्संदै संख्या र गणित मान्दैनौं भन्दै सोझा जनतालाई सडकमा ल्याएर शक्ति प्रर्दशन गर्दै छन् । यसरी न संविधान बन्न सक्छ, न सहमति नै हुन सक्छ । साँच्चै संविधान चाहेको हो भने वार्ता र सहमतिबाहेक कसरी निकास निस्कन्छ र ? यसरी संविधान बनाउनका लागि राजधानी आएका सभासद्हरू अहिले अलमल र अन्योलमा छन् । फेरि पनि पहिलो संविधानसभाको निर्वाचनको जस्तै समय त्यसै जाने, राज्यशक्तिको स्रोत खर्च हुने तर मुलुकले संविधान नपाउने खतरा बढ्दै गएको छ । यसो हुनु मुलुकका लागि कदापि हितकारी हुँदैन । हामी सभासद्हरूलाई संविधानसभामार्फत संविधान बनाउनु र सँगै आफ्नो जिल्लाको विकासका लागि पनि प्रयास लिनु उत्तिकै जिम्मेवारी छ । जनताको चाहना पनि यही छ । यसैले म यस आलेखमार्फत रसुवा विकास, सम्भावना र केही प्रयासबारे चर्चा गर्न गइरहेको छु ।
दूरीका हिसाबले राजधानीदेखि नजिक भए पनि रसुवा एक विकट जिल्लाकै रूपमा चित्रित छ । यहाँको गतिविधि र भौगोलिक क्षेत्र विकट जस्तो देखिए पनि विकासका प्रशस्त सम्भावना भने छन् । यतिबेला विकासको कामहरू धेरै अघि बढिरहेका छन् भने केही ओझेलका सम्पदा र स्रोतहरूको खोजी गरी विकासको मूलधारमा ल्याउने प्रयास भइरहेको छ । यसमा रसुवाली जनताको साथ पनि पाइरहेका छौं, जुन ज्यादै प्रेरक छ ।
२०७० मंसिर ४ गते भएको दोस्रो संविधान सभाको निर्वाचनबाट पहिलो पटक नेकपा (एमाले) ले विजय हासिल गर्यो । अहिले एमालेबाट एक समानुपातिकसहित २ जना सभासद् छौं । यो रसुवाली जनताको ठूलो विश्वास र जिल्लाको उचित विकासप्रतिको तीव्र चाहनाको प्रतिफल हो । विगतमा आंशिक जिम्मेवारी मात्र पाएको एमालेले संविधानसभाको निर्वाचनको विजयबाट पूर्ण रूपमा जिल्लाको विकास गर्ने जिम्मेवारी पाएको महसुस भएको छ ।
रसुवाली जनताको चाहना र समयको मागसँगै उज्यालो र समुन्नत रसुवाको चित्र कोरिएको छ । बिहान—बेलुकीे हातमुख जोर्न संघर्ष गरिरहेका रसुवालीको आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक हैसियत उकास्दै समुन्नत बनाउने योजनामा छौं । अन्यौलपूर्ण र नजानिँदो तरिकाले मध्यमाञ्चलको कर्णालीको संज्ञा पाएको यस जिल्लामा विकासका सम्भावनाहरू छन् । तर, तिनलाई वास्तविकतामा नउतारेसम्म कसैले पत्याउँदैन । यसैले हाम्रो मुख्य दायित्व भएका सम्भावनाहरूको उचित संयोजन गरी विकासमा लम्किनु हुनेछ ।
रसुवा विकासले ठगिएको र केन्द्रीय राजनीतिबाट उपेक्षित हुँदै आएको क्षेत्र हो । अहिलेसम्म यहाँका नेताहरू न कुनै दलको केन्द्रीय सदस्य हुन सके न जिल्लाको समस्याको उचित छलफल नै केन्द्रीय मुद्दामा पर्न सके । प्रशासनिक क्षेत्रमा पनि रसुवा उपेक्षित क्षेत्रमा नै भएको महसुस गरेका छौं ।
विगतमा रसुवाले नेता पायो, विकास पाएन । आश्वासन पाए परिर्वतन पाएनन् । गोसाइँकुण्ड र नौ कुण्डको पानी घरघरमा पुर्याइने सपना बाँडियो तर जनता काकाकुल भई बाँच्न आजसम्म विवश छन् । यथार्थमा जनता भोट बैंक मात्रै भए । ती नेता चुनाव सकिएपछि न रसुवा फर्के र न रसुवालीलाई बाँडेको सपनानै पूरा भयो ।
राप्रपाका रामकृष्ण आचार्य पटक–पटक मन्त्री भए तर जिल्लामा विकासका नाममा देखिने काम केही भएनन् । अर्का गैरजिल्लाबासी डीबी लामा यहीँबाट सांसद् भई मन्त्री पनि भए । उनले पनि केही गरेनन् । पहिलो संविधानसभाको चुनावमा एमाओवादीका प्रेम तामाङले रसुवालीलाई अनेक सपना बाँडेर सभासद् भए । उनको पनि हालत त्यही भयो । जनता आजित भए । विकास शून्य भयो । बरू उल्टै कमिसनतन्त्र, घूसखोरी र निरंकुशवादी शासकको हावीले विकासमा अन्योल छाइरह्यो । यही कारण हामीलाई जनताले विश्वास गरेका छन् । यही मान्यतालाई ध्यानमा राखेर सभासद् छोवाङ्तेन्जिन तामाङ (समानुपातिक) र मैले सक्दो कोसिस गरिरहेका छौं । जनताको चाहना र वाचाअनुसार समृद्ध रसुवा निर्माण गर्न योजनाबद्ध रूपमा अघि बढिरहेका छौं ।
रसुवालाई यहाँको प्रमुख पर्यटकीय क्षेत्र, जैविक विविधता, सांस्कृतिक, ऐतिहासिक र धार्मिक स्थलहरू र सुन्दर हिमालयहरूले विश्वमै चिनाएका छन् । जलस्रोतको अत्यन्तै धनी यस जिल्लामा यतिबेला दर्जनौं जलविद्युत् केन्द्र स्थापना भइरहेका छन् । यही सम्भावनाहरूलाई उचित प्रयोग र दीर्घकालीन योजना बनाएर अघि बढ्न सके रसुवा निकट भविष्यमै समुन्नत हुने कुरामा दुईमत छैन । नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा विश्वमा नै परिचय स्थापना गर्न प्रयत्नशील लाङटाङ क्षेत्रको समुचित विकासका लागि हिमाल, जैविक विविधता, वन्यजन्तु, विश्व रामसार क्षेत्रमा सूचीकृत पवित्र तीर्थस्थल गोसाइँकुण्डलगायतका तालतलैयाको उचित संरक्षण कार्यलाई प्राथमिकतामा राखी यहाँका नयाँ तथा पुराना पर्यटकीय पथलाई विश्व बजारमा प्रचार–प्रसार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन क्षेत्रलाई थप जिम्मेवारी र जवाफदेही बनाउँदै अघि बढ्नु अर्काे महत्त्वपूर्ण काम हो ।
भर्खरै मात्र केरुङ नाका खुलेको छ । अब यो छिट्टै त्रिदेशीय (चीन–नेपाल–भारत) व्यापारको दृष्टिले छोटो नाकाको रूपमा स्थापित हुँदैछ । यसले सिंगो रसुवाको पूर्वाधार र जिल्लाको विकासलाई गति दिन मद्दत पुग्नेछ भने राज्यको आयस्रोतका लागि पनि एक गतिलो माध्यम बन्नेछ । चीनबाट यही गन्तव्य हुँदै द्रुत गतिको रेल सेवा सञ्चालन हुने विषय पनि प्राथमिकतामा परेको छ, जुन रसुवाबासी मात्र नभई नेपालीहरूकै लागि अर्काे खुसीको कुरा हो । रसुवागढी नाकालाई लक्षित गर्दै निकट भविष्यमा सुक्खा बन्दरगाह बनाउने, अध्यागमन विभाग स्थापना गरी व्यापारिक माहोललाई पारदर्शी बनाउने मात्र नभई चीन हुँदै आउने विदेशी पर्यटक भित्रिने केन्द्रको रूपमा विकास गर्न संवैधानिक तवरले उठान गरी व्यवस्थापनका लागि पहल थालनी गरिएको छ ।
जनताको आर्थिक उन्नतिका लागि हाल सञ्चालनमा रहेका दर्जनौं जलविद्युत् केन्द्रहरूलाई तीव्रता दिन र थप क्षेत्रको सम्भावना खोजी गरी कार्यान्वयनमा लैजानका लागि हामी सबै रसुवालीले एकमत भई सहयोग गर्नुपर्ने देखिन्छ । भर्खरै भएको चिलिमे काण्ड जस्तो बखेडा झिक्ने हो भने हामी विकासमा पछि पर्नेछौं । यसमा हामी सबै सचेत हुनु आवश्यक छ । यसका लागि हामीले कमिसन र घुसखोरीतन्त्रको जरो उखेल्नु आवश्यक छ । नेपाललाई लोडसेडिङ मुक्त बनाउने अभियानमा पनि रसुवाबाटै थाल्न सक्छौं । जुन सम्भवना रसुवाली खोलामा छ । जति धेरै जलविद्युत् केन्द्र बन्छन्, त्यति धेरै हामी रसुवाली धनी हुनेछौं, समग्र मुलुकको आर्थिक विकासमा टेवा पुग्नेछ र समृद्ध नेपाल निर्माणमा सहयोग मिल्नेछ ।
रसुवाले हिमाली जडिबुटीमा प्रचुर सम्भावना बोकेको कारण यहाँ बहुमुल्य जटिबुटीहरू उत्पादन भइरहेका छन् । यसका लागि जडिबुटी तथा तरकारी र पशुजन्य उत्पादन गरी बाह्य क्षेत्रमा आफ्नो उत्पादन बिक्रीमार्फत साटासाटको नीति अवलम्बन गरी थप बढाउने रणनीति अविलम्ब गर्नु पनि त्यत्तिकै आवश्यकता छ ।
सडक विभागको दुहुनो गाई बनेको मूलखर्क, राम्चेलगायतको पहिरोलाई सधँै यही अवस्थामा राख्ने हो भने यसले सिंगो जिल्लाको विकासलाई बाधा पुर्याउनेछ । ६ महिना चल्ने र ६ महिना बन्द हुने हुँदा विकासको काममा ठूलो बाधा उत्पन्न हुनेछ । भू–धरातल सुहाउँदो सडक विस्तार तथा विकास गरी यहाँको कृषि उपजको व्यावसायिक बजारीकरणमा हामीले तदारूपताका साथ योजना बनाउनु आवश्यक छ । कमजोर धरातलमा सडक होइन, पर्यटन पूर्वाधारका संरचना निर्माण गर्दै सकेसम्म हरेक बजार केन्द्रित पक्की सडकका लागि हामीले पहल गर्नुपर्दछ । पूर्वमा यार्सा, सरमथली र भोर्ले उत्तरतिरका गाविस हाकुलगायत लाङटाङ र तामाङ सम्पदा मार्ग होस् या गोसाइँकुण्ड मार्गमा पर्यटनमैत्री सडक विस्तार योजना तय गरी त्यहाँको सम्भावित वा तयार भइसकेको पर्यटनको पूर्वाधारलाई जीवित राख्नुपर्छ । यसका लागि हामीले दीर्घकालीन योजना पनि तय गरेका छौं । केही ठाउँमा पूर्वाधार निर्माणको काम पनि सुरु भइसकेको छ ।
जिल्लाका विकासका योजनामा देखिएको राजनीतिक बाँडफाँटलाई समयानुकूल सुधार गर्दै विकासमैत्री र जन आवश्यकतामैत्री योजना तर्जुमा तथा विनियोजन गर्ने दिशामा अघि बढ्नुपर्छ । अहिलेकै स्थितिमा विकास निर्माणको योजनाहरू बाँडफाँट भइरहने हो भने विकास होइन विनास हुनेछ र विकासको नामका केही दलहरूको भुँडी मात्र भरिनेछ । यो यर्थाथ हो । हामीले केलाउनुपर्छ । यसका लागि जनता जागरुक हुनुपर्छ । भरखरै सम्पन्न २३औं जिल्ला परिषद्ले सुधारका केही संकेत पाएको छ । जसबाट न्यायोचित तवरबाट जनताका माग तथा गुनासा सम्बोधन गर्ने प्रयास गरेका छौं । विकासमा प्राथमिकतामा पर्न नसकेको ठूलोस्याफ्रु सडक निर्माणका लागि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममार्फत बजेट विनियोजन गरी यसै वर्ष सडक पुर्याउनका लागि पहल लिएका छौं ।
शैक्षिक क्षेत्रको उपलब्धिलाई हेर्ने हो भने हरेक वर्ष गुणस्तर खस्किँदै गरेको अवस्था छ । विद्यालयमा हुने गरेको अनियमितता, शिक्षकको अध्यापनमा भन्दा राजनीतिक खटाइ बढी हुने व्यापक जनगुनासो आइरहेको छ । विभिन्न सहकारी, समूह र उपभोक्ता समूहको नेतृत्व गर्नेतर्फ शिक्षकहरू नै लाग्ने गरेकाले पनि शैक्षिक गुणस्तरमा ह्रास आएको पक्का हो । शिक्षकहरूले आफ्नो प्राथमिकताको क्षेत्रमा उन्मुख हुनुपर्छ । हामी सूचना र सञ्चारको क्षेत्रमा अति नै पछाडि छौं । जनताको सुसूचित हुने अधिकार कुण्ठित भएको छ । पत्रपत्रिका सञ्चालनमा छैनन् । जिल्लाको सञ्चार क्षेत्रको विकास गर्न सबैको प्रयास आवश्यक छ । यसका लागि सरोकारवाला निकायको पनि ध्यान नपुगेको अवस्था छ । सञ्चार क्षेत्रको विकास गर्नका लागि पनि हामीले योजना बनाएर अघि बढ्नुपर्नेछ ।
यसकारण यी तमाम् क्षेत्रको सुधार र समुन्न रसुवा निर्माण गर्न र सबै रसुवाली एकजुट हुनु आवश्यक छ । यसो भएमा दीर्घकालीन विकासको थालनी हुन्छ र सबैमा अपनत्व पनि बढ्छ । हरेक वस्ती वा वडामा कमसेकम एउटा भने पनि नमुना योजना सञ्चालन गरी विकासमा अपनत्वको भावना जनतामा जगाई सुदृढीकरण तथा स्थायित्व गर्ने दिशामा हामी जानु आवश्यक छ । यसो हुँदा हामीले समृद्ध, आत्मनिर्भर जिल्लाको विकास गर्न सक्नेछौं । यसका लागि नेकपा (एमाले)को काधँमा ठूलो जिम्मेवारी भएको हामीले बोध गरेका छन् । यसैले जिल्लाको समग्र विकासको महान् यात्रामा एमाले पार्टीका नेता तथा कार्यकर्ताको पनि सकारात्मक साथ, सहयोग, हौसला र क्रियाशीलता अनिवार्य आवश्यक हुनेछ ।
(ढकाल रसुवाबाट निर्वाचित सभासद् हुन् ।)
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply