सम्भावनायुक्त हस्ताक्षर
नेपालको जनजाति समाजमा विदेशी सैन्य सेवाप्रतिको आकर्षण अझै घटेको छैन । हुन पनि जनजाति समाजभित्र लाहुरे बन्ने कुरा आम प्रचलनकै रूपमा वर्षौंदेखि स्थापित हुँदै आएको छ । विदेशको आकर्षक कमाई र सेवा अवधि गुजारेर स्वदेशमा फर्किएपछि तिनै कमाईबाट बिताउने सम्पन्न जीवनशैली नै लाहुरेहरूको जीवनशैली बन्दै आएको छ । र, लाहुरेलाई आफ्नी छोरी सुम्पिन पाउँदा जनजाति समाजका अभिभावकहरू खुसी हुनु सामान्य पक्ष हो । नेपाली साहित्यवृत्तमा त्यति नसुनिएको नाम हो–लारा । तर, तिनै महिला सर्जक लाराको नयाँ कथाकृति ‘पात्रहरूसँग एक साँझ’ भित्रका कथाहरू अध्ययन गर्ने हो भने सिकारु होइन, सिद्धहस्त कथाशिल्पको सहजै झल्को दिन्छ । त्यही कथाकृतिभित्रको एउटा कथा ‘आरुका फूल र होलीका स्मृतिहरू’ले लाहुरे समाजको अन्तरकुन्तर खोतल्ने प्रयत्न गरेको छ । उक्त कथामा लाहुरे समाजभित्र हुर्किएकी एउटी यस्ती युवतीको कथा अभिव्यक्त भएको छ, जसले लाहुरेको व्यस्ततम जिन्दगी देखेर आफूलाई प्रस्ताव आए पनि लाहुरेसँग विवाह गर्न अनिच्छा व्यक्त गर्छे । मूलत: आफ्नै पिता लाहुर जाँदा आमाभित्र उत्पन्न हुने छट्पटी, वेदनालाई नजिकैबाट नियालेका ती पात्रले लाहुरे समाजभन्दा फरक समाजका व्यक्तिप्रति प्रेमभाव दर्साउन चाहन्छे र विवाहका लागि सोच बनाउँछे ।
‘जुली : अ ग्लिम्सेज अफ होप’ भने अनेक बाध्यताका सिकार भएका तीन जना महिला पात्रहरूको जीवन भोगाईलाई पर्दामा उतार्ने क्रममा कथा तयार पारिएको छ । श्रीलंकाको लामो गृहयुद्धबाट पीडित एउटी किशोरी, घरेलु श्रमिकका रूपमा विदेशमा काम गर्न जाने नेपाली महिला र हङकङमा आएर वेश्यावृत्ति गर्ने चिनिया महिलाहरूको दर्दनाक स्थितिलाई नाट्य रूप दिई पर्दामा उतार्न खोजिएका हुन्छन् । मूलत: यो कथाले कुनै पनि देश र समाजका महिलाहरू प्रताडित हुनु वा उनीहरूले अपमानपूर्ण जिन्दगी गुजार्नुमा ती महिला मात्र कारण बन्दिनन्, पुरुषहरूको पनि उत्तिकै भूमिका रहेको हुन्छ भन्ने पक्षलाई उजागर गर्न खोजेको छ । कथाकार लेख्छिन्–‘हाम्रो समाज, धर्म एवं नैतिकताको आधारमा उत्तिकै सक्रिय पाइन्छ अझै पनि लैंगिक असमान धारणाहरू । अझै पनि संकीर्ण घेराभित्र छ हाम्रो समाज । असामाजिक अनि अनैतिक भनिन्छ सोही विषयमा एउटा महिलाले तर्क गरे भने ।’
‘रातो राहदानी’मा बेलायतमा शरणार्थी जीवन बिताइरहेकी एउटी अफगानी महिलाले रातो राहदानी पाउँदा उत्पन्न देखाएको खुसीलाई उतार्न खोजिएको छ । गृहयुद्धको चपेटामा परेको अफगानिस्ताका ती महिला रातो राहदानी पाएपछि जति खुसी हुन्छे, उनका अर्का आप्रवासी साथी भने ती महिलालाई देखेर दु:खी हुन्छे । कारण के हुन्छ भने, रातो पासपोर्ट पाएपछि ती अफगानी महिलाले आफ्नो भूमि नै बिर्सिन्छे । यो कथाले युद्धको पीडा झेल्न बाध्य मुलुकका नागरिकमा उत्पन्न मनोदशालाई प्रकट गरेको छ । ‘समय, सपना र जिन्दगीहरू’ प्रेममा असफल एउटा जोडीको कथा हो । अझै पनि नेपाली समाज जातीय विभेदको चंगुलबाट उम्किन सकेको छैन । कुनै कार्य असफल हुनुमा जातीय विभेदले पनि उत्तिकै भूमिका खेलेको हुन्छ । कथाका पात्रद्वय नरेन्द्र र प्रभाबीच प्रगाढ प्रेम सम्बन्ध रहे पनि जातीय विभेदको पर्खालले उनीहरूलाई छेक्छ र उनीहरू वैवाहिक सम्बन्धमा बाँधिन सक्दैनन् । जातीय विभेदका कारण आफूहरूबीचको पवित्र प्रेमले मूर्त रूप लिन नपाएपछि छट्पटाहटमा जीवन बिताइरहेकी प्रभाको मनोदशा केलाउने दिशामा यो कथा अग्रसर देखिएको छ ।
‘जून ओर्लिएको रात’ मा विदेशमा बस्ने एकजना नेपालीले स्वदेशमा बस्दा बिताएका सुख–दु:खका क्षणहरूलाई सम्झिने क्रममा भावुक बन्दै गएका पक्षहरूलाई उतारिएको छ । विदेशमा सुख सयलपूर्ण जिन्दगी बिताइरहँदा आफ्नो गाउँघर, साथीसंगीहरूसँग बिताएका पललाई अधिक महत्व दिने क्रममा ती व्यक्ति भावुक हुँदै भन्छन्–‘पोलेको पखेंटा, रिब्स चपाउँदै गर्दा बल्झिन्छन्, एकैचोटि शिव झट्टा, शेरा खोला, भेडेटारमा साथीहरूसँग मनाएका/खाएका नयाँ वर्षका वनभोजहरू ।’
मूलत: लाराका कथाहरूले विदेशमा बस्ने नेपालीहरूको अवस्था कोट्याउनुका साथै समाजमा नारीहरूले भोग्नु परिरहेको दयनिय स्थितिहरूलाई सटिक ढंगले उजागर गर्न खोजेका छन् । उनको लेखन छरितो र चुस्त त छँदैछ, मसिना विषयवस्तुलाई अत्यन्तै कलात्मक ढंगले उतार्ने खुबी पनि उनमा रहेको हुँदा नेपाली महिला कथाकारहरूको लहरमा एउटा सम्भाव्य अनुहारको रूपमा उनलाई स्वागत गर्न कन्जुस्याइँ नगर्दा हुन्छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply