राजावादीमा यस्तो छ आशा
काठमाडौं । भनिन्छ, मानिसलाई सास रहुञ्जेल आश हुन्छ । नेपालमा राजतन्त्रको सास बाँकी नरहे पनि आशा भने बाँकी नै छ । बेलाबेलामा यसो केही चलखेल हुनासाथ दरबारिया वृत्तमा चासो बढ्छ– न कतै केही भइहाल्छ कि !प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले दिएको वक्तव्यमा आफू र दलहरूबीच भएको सहमति कार्यान्वयन हुनुपर्ने माग गरेपछि राजावादी कित्तामा बेग्लै सल्बलाहट देखा परेको छ । नौ वर्षपछि आखिर उनले किन त्यस्तो धारणा व्यक्त गरे होलान् ? यसका पछाडि के कारण लुकेको होला ? गणतन्त्रवादीहरूले केही पनि होइन, कुनै सम्झौता भएकै छैन भनेर हल्का रूपमा लिए पनि राजावादीहरूबीच भने यस सरगर्मी पैदा गरेको छ । पूर्वराजा ज्ञानेन्द्र एक महिनाअघि १५ दिनसम्म झापामा बसेका थिए । त्यही बेला उनको केही स्वदेशी र विदेशीहरूसँग भेट भएको सूचना त्यस वृत्तमा प्रसारित छ । भन्नेहरूले यतिसम्म भनेका छन्– ‘त्यतिबेला ज्ञानेन्द्रको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग दुई पटक भेट भएको थियो ।’
नेपालमा चलिरहेको संक्रमणकाल, यसबीचमा राजनीतिक नेतृत्वले प्रदर्शन गरेको असक्षमता र नेपालको अस्थिरताका कारण आफूहरूलाई डिस्टर्ब हुने निष्कर्ष निकालेर उत्तरी
र दक्षिणी दुवै छिमेकीले यसबीचमा नेपालकै मामिलामा छलफल गरेको पनि सूत्रको दाबी छ । त्यही अनुसार, ज्ञानेन्द्रका पक्षमा माहौल बन्ने उनीहरूको अपेक्षा छ । एक उच्च स्रोतले भन्यो– ‘भारत र चीन दुवैले नेपालको अस्थिरताबाट आफूलाई बेफाइदा हुने देखेर भरपर्दो शक्ति खोजिरहेका छन् । त्यसका लागि उनीहरूका बीचमा पनि कुराकानी भइरहेको छ ।’ अहिले अवस्थामा राजतन्त्र पुन:स्थापना जस्तो सुन्दै अचम्म लाग्ने कुरा कसरी सम्भव होला त भन्ने प्रश्न उक्त सूत्रले भन्यो– ‘भइहालेमा पनि अहिल्यै हुँदैन । यस अस्थिरताका बीचमा केही समयका लागि सेना अगाडि बढ्न सक्छ । जसका हातबाट त्यो काम गराउन चाहेको हो, त्यसलाई क्रमश: अघि बढाइन्छ र सेनाले छिट्टै उसैलाई जिम्मा दिन्छ । त्यसपछि त्यही सरकारका पालामा काम हुन्छ ।’
लामो समय राजदरबारसँग निकट रहेको उक्त स्रोतका अनुुसार, त्यसपछि ज्ञानेन्द्रलाई नबनाएर करण सिंहले अघि सारेकै विकल्प अनुसार उनका नाति हृदयन्द्रका लागि बाटो खुला गर्नेबारे पनि कुराकानी भइरहेको छ । तत्कालीन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको दूतका रूपमा नेपाल आएका बेला ०६३ वैशाख ८ गते करण सिंहले ज्ञानेन्द्रलाई गद्दी छोड्न र छोरा पारसको छवि नराम्रो भएका कारण नाति हृदयन्द्रलाई सत्तामा सुम्पन सुझाव दिएका थिए । पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि बेबी किङको कुरा सार्वजनिक गरेका थिए । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालले आफ्नो आत्मकथामा बेबी किङको कुरा आफूले अघि सारेको, त्यही अनुसार तत्कालीन प्रधानमन्त्री कोइरालालाई कन्भिन्स गरेको तर त्यही कुरा सुन्नासाथ ज्ञानेन्द्रले त्यो कुरा आफ्नो लासमा टेकेर मात्रै सम्भव छ भनेको उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply