सङ्घर्षशील यात्रा
नेकपा (एमाले)ले केन्द्रीय कमिटीको वैकल्पिक सदस्यमा खगेन्द्र चुडाललाई मनोनयन गरेपछि धेरैले उनीमाथि न्याय गरिएको प्रतिक्रिया व्यक्त गरिरहेका छन् । तत्कालीन महासचिव मदन भण्डारीसँग लामो समय पार्टी काम गरेका उनी २०५२ सालयता प्राय: उपेक्षित नै रहे । त्यसयता उनी कामविहीन थिए । ‘हामीजस्ता केही पुराना कार्यकर्ताहरूको ०५० सालमा कमरेड मदनको अवशानसँगै राजनीतिक अवशान गराइएको थियो, बल्ल आएर मूल्यांकन गरिएको छ’– उनले भने । १७/१८ वर्ष उनी पार्टीमा कामविहीन भएर रहे । ‘अहिले मभन्दा तलका भाइ–भतिजाहरू नै धेरै माथि पुगिसके । तैपनि ठीकै छ, हेरौं पार्टीले के कस्तो जिम्मेवारी दिन्छ’– उनी भन्छन् ।
चुडाल परिवार तेह्रथुम आठराईको मुखिया परिवार हो । गाउँमा उनको हजुरबाको पालादेखि नै सानसौकात नै बेग्लै थियो । त्यस्तो परिवार पछि भने कम्युनिस्ट बन्यो । अधिकांश चुडाल परिवार कांग्रेस वा दरबारिया पृष्ठभूमिका थिए । तर, चुडाल भने आफ्नै गणित शिक्षक नेत्र घिमिरेको प्रभावबाट नजानिँदो किसिमबाटै कम्युनिस्ट भइसकेका थिए । ८ कक्षामा पढ्दैदेखि उनी विद्यालयका विभिन्न गतिविधिहरूमा सक्रिय भइसकेका थिए । स्वतन्त्र विद्यार्थी युनियनको उपसभापति भएका थिए मेची क्याम्पसमा । सीपी मैनाली र आरके मैनालीहरूले विद्यार्थी राजनीति गर्दा त्यसको प्रभाव उनलाई नपर्ने कुरै भएन ।
सुस्ता महेशपुरमा भारतले सीमा मिचेपछि राष्ट्रव्यापी रूपमा उठेको आन्दोलनमा उनी पनि सरिक भए । सँगसँगै झापाबाट उठेको किसान आन्दोलनसँग पनि उनी जोडिए । नेत्र घिमिरेको चेलाका रूपमा उनको चिनारी भइसकेको थियो । वर्ग शत्रु सफाया अभियान चल्न थालिसकेको थियो । सामन्तको सूची बन्दै थियो । उनका मामा पनि सम्पन्न परिवारको भएकाले सामन्तको सूचीमा थिए । जन्म दिने आमाको मत्यु भएपछि उनको अधिकांश समय र पढाइ–लेखाइ मामाघरमै बितेको थियो । आफूलाई हुर्काई–बढाई पढाउने जेठो मामाविरुद्ध नै उनी लाग्ने परिस्थिति बनेपछि मावलीसँग पनि राम्रो सम्बन्ध हुने कुरै भएन । तर, ०३६ सालको आसपास काइँलो र कान्छो मामालाई खगेन्द्रले नै कम्युनिस्ट बनाए । पार्टीमा संगठित भएर विद्यार्थी फाँटमा काम पनि गरे ।
०३१ सालमा एसएलसी पास गरे उनले । त्यसपछि खाद्य प्रविधि विषय पढ्न भर्ना भए । राजनीतिको प्रभावले पढाइमा दिने समय कम हँुदै गयो । आर्थिक स्थिति कमजोर हँुदै गएपछि उक्त पढाइ छोडेर मेची क्याम्पसमा आईए भर्ना भएर पढाइ र राजनीति सँगसँगै अघि बढाउन थाले । मामासँग वैचारिक मतभेद भएपछि उनले मामाघर नजाने अठोट गरे । विराटनगर आएर उनी जब बीए पढ्न थाल्दै थिए, ०३५/३६ को विद्यार्थी आन्दोलनको प्रभाव बढ्न थाल्यो । क्याम्पसको राजनीतिक गतिविधिमा उनको पकड बढ्दै थियो, यही क्रममा ०३६ सालमा उनको मदनकुमार भण्डारीसँग भेट भयो । त्यसपछि उनी तत्कालीन रेड गार्ड अर्गनाइजेसन(आईजीओ)मा संलग्न भए भने मदनकै सल्लाहमा क्रान्तिकारी बुद्धिजीवी संघ बनाएर पनि संगठन विस्तारमा लागे । त्यसअवधिमा मनमोहन अधिकारी र मदन भण्डारीको भेट गराइदिने तथा दुई पक्षको खबर आदान–प्रदान गर्ने काममा पनि चुडालको ठूलो भूमिका रह्यो । मदनको प्रत्यक्ष निर्देशनमा रहेर काम गर्ने क्रममा उनी मालेको तत्कालीन विराटनगर नगर कमिटीको सचिव भएर काम गर्न थाले, जुन कमिटीलाई सिधै अञ्चलले हेथ्र्यो । ०३८ साल मंसिर २५ गते तत्कालीन विद्यार्थी नेता फणीन्द्र तिम्सिनाको गोली हानी हत्या भयो । विजय गच्छदारको तारोमा त्यो बेला फणीन्द्रसँगै खगेन्द्र पनि थिए तैपनि चुडाल बच्न सफल भए । फणीन्द्रको हत्यापछि उनी पूर्वी पहाडी भोजपुरमा संगठन गर्न जानुपर्ने अवस्था आयो । उनी भोजपुर जिल्ला संगठन कमिटीमा सरुवा भएर पार्टी काममा
जुट्न थाले । तर पछि, ०३९ सालमा पार्टीमा असामान्य अवस्था आयो । सीपी मैनालीलाई कारबाही भएपछि विद्यार्थी फाँटमा पनि विभाजन देखा पर्न थाल्यो । टंक कार्की, घनश्याम भुसाललगायतका नेताहरू सीपीको लाइनमा लागेपछि अखिल टिकाउनकै लागि उनलाई नेताहरूले विद्यार्थी फाँटमा सरुवा हुन आग्रह गरे । उनी विद्यार्थी संगठनको संयोजक भएर राष्ट्रिय सम्मेलनको तयारी गर्न काठमाडौं आए । मदनले उनलाई सम्मेलन गर्ने र अध्यक्ष हुने भनेर २ वर्षको छुट्टी दिएका थिए । तर, तत्कालीन नेता माधवकुमार नेपाल अर्थात रन्जनको जोडमा रामकुमार ज्ञवाली अध्यक्ष बनाइए । त्यसपछि चुडाल फेरि पार्टी काममै तेह्रथुम लागे । त्यहाँ संगठन विस्तार गर्न थाले । जिल्ला संगठन कमिटीको संस्थापक सचिव भए । ०४३ सालको चुनावमा जनपक्षीय उम्मेदवार परशुराम खापुङलाई विजय गराउन सफल भए । कोसी र सगरमाथा क्षेत्रीय कमिटीको सचिव मदन आफैं हुनुहुन्थ्यो भने चुडाललगायत अशोक राई, नरेन्द्र पोखरेल उक्त कमिटीका सदस्य थिए । मदनको प्रत्यक्ष निर्देशनमा पार्टी काममा संलग्न हँुदै गर्दा ०४६ सालको आसपास उनलाई पारिवारिक समस्याले पिरोल्यो । आमा र श्रीमती दुवै बिरामी परेपछि उपचारका लागि काठमाडौं आउनुपर्ने र यतै बस्नुपर्ने भयो । त्यसपछि पार्टीसँग कुरा गरेर उनी हात्तीगौंडामा बस्दै गुजाराका लागि शिक्षण पेसा गर्दै परिवारको उपचारमा लागे । पार्टीमा एक न एकतिर त जोडिनै पर्छ भनेर उनी काठमाडौं विशेष जिल्ला कमिटी सदस्य रहे । परिवारको भरपर्दो आम्दानीको स्रोत नहँुदा कष्टकर जीवन चल्न थाल्यो भने त्यही अभावका बाबजुद उनी पार्टीमा दिइएको जिम्मेवारीमा संलग्न रही नै रहे । त्यही बेलाको अवधारणा अनुसार हरेक जिल्लाको सम्पर्क मञ्च आफूहरूले नै बनाउन थालेको र पछि मात्र यसलाई पार्टीले व्यवस्थित गरेको उनी बताउँछन् ।
०५० मा मदनको हत्यासँगै जबजको स्पिरिट व्यवस्थित नभएको, मनमौजी व्याख्या हुन थालेको भन्दै उनले गुनासो गरे । ‘मदनसँग साह्रै नजिक रहेर कतिपय कार्यक्रमिक छलफलमा भाग लिएर प्रतिपादन भएको जबज अचेल मूल स्पिरिट अनुसार व्याख्या नगरिएको’ उनी बताउँछन् ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply