हत्यामा पनि प्रहरी उदासीन
काठमाडौं । दिनभरि हाँसी–खेली गरेका एक जना मानिसले राति आफ्नै घाँटी चक्कुले रेटेर आत्महत्याको बाटो रोज्न सक्छ ? त्यस्तो सम्भावना अन्यन्तै न्यून हुन्छ । तर, करिब डेढ महिनाअघि नवलपरासी, कावासोतीका होटल व्यवसायी दीपेन्द्र पाण्डेको हत्यालाई प्रहरीले नै ‘आत्महत्या गरेको’ ठोकुवा गरेपछि अहिले उनको परिवार पूरै तनावमा रहेको छ ।
कावासोती नगरपालिका वडा नं.२ मा विगत चार वर्षदेखि मनकामना गेस्ट हाउस सञ्चालन गर्दै आएका पाण्डेले गत माघ १७ गते एउटा बिहे भोजका लागि क्याटरिङ गर्ने जिम्मा पाएका थिए । स्थानीय ठाउँको यामाहाको सोरुमसँगै क्याटरिङको व्यवस्था गरिएको थियो र त्यहाँ पाण्डेले करिब ५ सय जनालाई खानपिनको प्रबन्ध मिलाएका थिए । उनी दिनभरिजसो नै तनावमुक्त थिए र बिहे भोजमा आउनेहरूलाई मीठो ख्वाउने उद्देश्यले उनलाई फुर्सद नै थिएन । तर, बेलुकी साढे चार बजे भने उनले क्याटरिङमा व्यस्त रहेका कुकहरूलाई एक्कासी भने– ‘म अहिले एक पटक डन्डा पुग्नुपर्ने भयो । आधा घन्टापछि नै आउँछु । खाना पुगेन भनेर पकाएर ख्वाउनू ।’ त्यसपछि पाण्डे साढे तीन किलोमिटर पश्चिममा रहेको डन्डातिर लागे ।
आधा घन्टामै फर्किने बताएर हिँडेका पाण्डे बेलुकी ६ बजेसम्म नफर्किंदा
उनको मोबाइलमा सम्पर्क गरियो । तर, उनको मोबाइलमा पटक्कै सम्पर्क हुन सकेन । एकै पटक राति १० बजे मोबाइलमा सम्पर्क त भयो तर पटक्कै उठेन । उनका बुबा गजेन्द्र पाण्डे त्यतिबेलाको प्रसंग उप्काउँदै भन्छन्– ‘हामीले लगातार ५५ पटकसम्म कल गर्यौं । तर, फोन उठ्दै उठेन । अन्तिममा मोबाइल नै बन्द भयो ।’
अचानक हराएका पाण्डेको मृत शरीर भोलिपल्ट बिहान ९ बजे पूर्व–पश्चिम राजमार्गको चालीस किलोमिटर भन्ने ठाउँबाट डेढ किलोमिटर भित्र रहेको थुम्कीदेवी सामुदायिक वनमा फेला पर्यो । जंगलभित्र मृत फेला परेको पाण्डेको शव वरिपरिका मसिना बोटबिरुवाहरू लतारिएको र घटनास्थलमा दुई वटा चक्कुसमेत फेला परेकाले उनको परिवार हत्या भएकै ठोकुवामा पुगे । र, मृतक पाण्डेका बुबाले कावासोतीस्थित इलाका प्रहरी कार्यालयमा उक्त हत्यामा शंकास्पद ठानिएका दुई जनाविरुद्ध जाहेरी दिए । जाहेरीमा पाण्डेकै गेस्ट हाउसमा करिब एक महिनासम्म बसेका चोरमाराका ऋचा श्रेष्ठ र कावासोतीकै अभिषेक परियारले हत्या गरेको हुनसक्ने उल्लेख गर्दै कर्तव्य ज्यान मुद्दा चलाउन माग गरिएको थियो । शंकास्पद ठानिएका श्रेष्ठ र परियारले पाण्डेको गेष्ट हाउसमा बस्दा तिर्नुपर्ने ३५ हजार रुपियाँ नतिरेपछि दुवै जनालाई प्रहरीसमक्ष बुझाइएको थियो । पैसा नतिरी भागेपछि उनीहरूलाई समातेर प्रहरीसमक्ष बुझाइएको थियो । दलित समुदायका परियारले लागू औषधिको नशामा लागेकी श्रेष्ठलाई लिएर उक्त गेस्ट हाउसमा बस्दै आएका थिए । प्रहरीसमक्ष बुझाउने क्रममा केटीले पाण्डेलाई ‘म यहाँबाट निस्कन त पाऊँ, तँसँग बदला लिन्छु’ भनेकी थिइन् । निस्कने बेलामा पनि उनीहरूले पैसा नतिरी कागज गरेर निस्केका थिए । तर, तिनै दुई जना छुटेको पन्ध्र दिनपछि नै पाण्डेको हत्या भएको हुँदा उनीहरूलाई नै परिवारले शंकाको घेरामा राखेका हुन् ।
प्रहरीले शंकास्पद मानिएका श्रेष्ठ र परियारलाई ३०/३२ दिन राखेर अहिले छाडिदिएको छ । ती दुई जनालाई छाडेपछि मृतकका आफन्तहरूले जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज अधिकारीलाई भेटेर ‘किन छाडिएको ?’ भनेर सोधेका थिए । तर, डीएसपी अधिकारी भने उक्त हत्यालाई आत्महत्या नै भएको जिकिर गर्दै आइरहेका छन् । प्रहरीले मृतक पाण्डेले आफ्नै दाहिने हातले घाँटी रेटेर आत्महत्या गरेको बताउने गरेका छन् । तर, मृतकका आफन्तहरू भने प्रहरीले अनुसन्धानमा चासो नराखेकोमा रुष्ट बनेका छन् । अझ, डीएसपी अधिकारीले ‘म अनुसन्धानको प्रहरी परिनँ, म त यसअघि पढाउने ठाउँमा थिएँ’ भनेर अनुसन्धानप्रति उदासीनता देखाउँदै आएका छन् । प्रहरीले अनुसन्धानमा ढिलाइ गरेकोप्रति अहिले पाण्डे परिवार प्रहरी प्रशासनप्रति नै रुष्ट बन्न पुगेका हुन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply