एमालेमा एक मत
काठमाडौं । राष्ट्रिय राजनीतिमा नेकपा (एमाले) पछिल्लो समयमा एकढिक्का भएर प्रस्तुत भएको छ । आन्तरिक एकतामा केही प्राविधिक खालका सामान्य समस्या भए पनि राष्ट्रिय राजनीतिमा एमालेले अगाडि सारेका एजेन्डामा एमालेमा एक मत देखिएको छ ।
नौ महिनाअघि सम्पन्न नवौं महाधिवेशनमा दुई प्यानल चुनावी मैदानमा खडा भएकाले पार्टीको आन्तरिक एकतामा त्यसका केही रहल–पहल अझै बाँकी नै छन् । पार्टीको बैठक घरमै बोलाउने अध्यक्ष केपी ओलीको कार्यशैली र नेताहरूको कार्यविभाजनमा एकलौटी भएको भन्दै स्थायी समितिका नेताले त्यसका विरुद्ध ‘नोट अफ डिसेन्ट’समेत दर्ता गराएका छन् । पार्टीको आन्तरिक जीवन पद्धतिका सवालमा मतभेद भए पनि राष्ट्रिय एजेन्डामा भने नेताहरूमा फरक मत देखिएको छैन ।
अहिलेको राष्ट्रिय राजनीतिमा देखिएको जल्दोबल्दो एजेन्डा भनेकै संविधान निर्माणमा देखापरेका केही विवादित अन्तर्वस्तुका बारेमा हो । संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली जस्ता महत्त्वका विषयमा एमालेका नेताहरू एक मत देखिएका छन् । यसअघि संघीयताका सवालमा नेतापिच्छेका फरक–फरक मत थिए । नेतापिच्छे ६ देखि १५ प्रदेशसम्मका अवधारणा अगाडि सारिएका थिए । तर, अहिले पार्टीले ७ प्रदेशमा सहमति जनाएपछि सबै नेताले त्यसमा सहमति जनाएका छन् ।
त्यस्तै, शासकीय स्वरूपका विषयमा संविधानसभा निर्वाचनमा जाँदा लिएर गएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेन्डा छाडेर संसद्बाट निर्वाचित प्रधानमन्त्री भन्ने कांग्रेसको एजेन्डा समाउँदा पनि नेताहरूले मत बझाएका छैनन् । मधेसकेन्द्रित दल र जातीयतावादी दलहरूले संविधानका अन्तर्वस्तुमा एमालेले अगाडि सारेका अवधारणामा तीव्र असन्तुष्टि जनाएका छन् । तर, एमालेभित्रैमा जनजाति र मधेसी नेताले भने पार्टीले लिएको अडानमा समर्थन जनाएका छन् । एकाध नेताहरूमा केही असन्तुष्टि भए पनि उनीहरूले संविधान निर्माण गर्ने सर्तमा पार्टीले लिएको अडानमा मन्जुरी जनाएका छन् ।
जनजातिको समेत प्रतिनिधित्व गर्ने सचिव पृथ्वीसुब्बा गुरुङले
भने– ‘संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली जस्ता संविधानका अन्तर्वस्तुमा पार्टीभित्र फरक मत राख्ने म एउटा हुँ तर मैले संविधान जारी गर, म बोल्दिनँ भन्दिएको छु ।’ यतिबेला संविधान आउनु नै सबैभन्दा ठूलो कुरा भएकाले संविधान निर्माण गर्ने सर्तमा पार्टीमा सबै नेताहरूको एक मत रहेको पनि उनले बताए ।संविधानका अन्तर्वस्तुमा मात्र होइन, संविधान निर्माणको यो दौरानमा अन्य राजनीतिक शक्तिले खेलेको भूमिका र ती शक्तिलाई हेर्ने दृष्टिकोणमा समेत एमाले नेताहरूमा समानता रहेको बताइन्छ ।
युवा संघ पनि एकतातिर
राष्ट्रिय राजनीतिमा आफूलाई एकताबद्ध रूपमा प्रस्तुत गरेको एमालेले विस्तारै पार्टीको आन्तरिक जीवनमा पनि एकताको सकारात्मक सन्देश दिन थालेको छ । भ्रातृ संगठन युवा संघमा देखिएको विवाद विस्तारै समाधानतर्फ उन्मुख भएको छ । युवा संघको इन्जार्चको भूमिकामा पोलिटब्युरो सदस्य शेरधन राईले युवा संघको विवाद हल गर्न क्रियाशीलता बढाएका छन् । सोमबार उनले युवा संघको संस्थापन र असन्तुष्ट समूहलाई एकै ठाउँमा राखेर विवाद समाधानको पहलकदमी लिएका थिए । युवा संघभित्रको विवाद एक हप्ताभित्र समाधान गर्नेसमेत उनले बुधबारलाई बताए । उनले भने– ‘अहिले म औपचारिक–अनौपचारिक रूपमा दुवै समूहका साथीहरूका कुरा सुनिरहेको छु, विधि, विधान र प्रक्रियासम्मत् तरिकाले एक हप्ताभित्र यो समस्या हल गर्छु ।’
युवा संघका महासचिव राजीव पहारीले पनि छिट्टै संगठनभित्रको समस्या समाधान हुने बताए । उनले भने– ‘हाम्रो संगठनमा केही समस्या छन्, ती समस्या विधिसम्मत् तरिकाले समाधान गर्न इन्चार्ज कमरेडले पहलकदमी लिनुभएको छ, चाँडै समाधान निस्कन्छ ।’
सचिव एवम् असन्तुष्ट समूहका नेता अशोक चन्दले पनि विवाद समाधानका लागि कुराकानी अघि बढिरहेको उल्लेख गर्दै भने–‘विधि र प्रक्रिया पुर्याएर समाधान निकाल्ने कुरामा हाम्रो पनि असहमति रहँदैन ।’
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply