किन चोख्याइयो गणेशलाई ?
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले ६९ करोड रुपियाँ अनियमितता गरेको उजुरी हुँदाहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई सुनपानी छर्केपछि आयोग स्वयम् विवादमा तानिएको छ । दरबारिया पृष्ठभूमिका थापालाई त्यही पृष्ठभूमिका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नियतबश उन्मुक्ति दिएको चर्चा व्याप्त बनेको छ ।
संसद्को सार्वजनिक लेखा समितिले छानबिन गरेर थापालाई कारबाही गर्न अख्तियारमा फाइल पठाए पनि अख्तियारले मूल्तवीमा राखेको छ । उनको मुद्दा मोलतोलका आधारमा मुल्तवीमा राखिएको हो कि भन्ने आशंका पनि छाएको छ । अख्तियारले गत फागुन २१ गते सो मुद्दा तामेलीमा राख्ने निर्णय गरेको हो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइ गणेशले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) सँग एन्फाका नाममा करोडौं रकम ल्याएर अनियमितता गरेका थिए । अख्तियारमा सो मुद्दा मूल्तवीमा राख्नका लागि उनले १० करोड रुपियाँ खर्च गर्नुपरे पनि उनलाई अप्ठेरो पर्ने
कुरा भएन ।
थापाले फिफाका अध्यक्ष विन हमामकी छोरीको नामबाट आफ्नो नाममा १ लाख अमेरिकी डलर र हमामको नामबाट छोरा गौरव थापाको नाममा अर्को १ लाख डलर रकम मलेसिया हँुदै नेपाल भित्र्याएका थिए । सो मुद्दा तामेलीमा राख्ने काममा प्रमुख आयुक्त कार्कीका प्रतिनिधिका रूपमा स्वकीय सचिव गोवद्र्धन श्रेष्ठले भूमिका खेलेको स्रोतको दावी छ ।
विदेशी मुद्रा ल्याएको र त्यति ठूलो रकम ल्याउँदा पनि नेपाल राष्ट्र बैंकलगायतका निकायको स्वीकृति लिनुपर्नेमा लिइएको छैन । त्यसो त थापा आर्थिक अपचलनमा मुछिएको भन्दै फिफाले उनलाई तीन महिनाका लागि निलम्बनमा राखेकोमा सो अवधि समाप्त भएपछि फेरि अर्को तीन महिनाका लागि निलम्बनमा राखेको छ । अख्तियारले अध्ययन गरी अहिलेसम्म एन्फाले खर्चका लागि आर्थिक नियमावली नै नबनाएको उल्लेख गरेको छ । बिनानियमावली करोडौं खर्च हुँदा अख्तियारको दुरुपयोग नहुने र थापाले उन्मुक्ति पाउनुले अख्तियारप्रति जनताको विकर्षण बढेको बताइन्छ ।
अख्तियारले आइन्दा यस्तो नगर्ने भनेर थापालाई सचेत गराउने निर्णय गरी फाइल थन्क्याएको भन्दै लेखा समितिका सदस्यहरू रुष्ट भएका छन् । समितिले छानबिन गरी थापालाई कारबाही गर्न अख्तियार पठाएकोमा उसले भने उन्मुक्ति दिनुले थप रहस्य पैदा गरेको समिति सदस्य रामहरि खतिवडाले बताउनुभयो । समितिको आगामी बैठकमा यो कुरा उठ्ने र प्रमुख आयुक्तसँग यसबारेमा भेटेरै कुरा गर्ने विचारमा आफूहरू रहेको खतिवडाले जानकारी दिनुभयो । प्रहरीका तल्ला तहका अधिकारी र सुब्बा–खरदारलाई रंगेहात पक्राउ गरी कारबाही गर्ने अख्तियारले त्यति ठूलो अनियमितता हँुदा पनि उन्मुक्ति दिनुले अख्तियारप्रति अनास्था बढेको बताइन्छ । थापाले हरेक बैंकमा बैंक खाता सञ्चालन गरेको र एउटैमा ५–६ वटासम्म खाता खोलेका थिए । उनले श्रीमती र छोराछोरीका नाममा समेत लाखौं डलर बुझेका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply