पञ्चेश्वरमा सीईओ बन्न दौड
काठमाडौं । भारतसँग महाकाली सन्धि भएको १८ वर्ष पुग्न थालेको छ । दुवै देशको साझा नदी महाकालीबाट ६ हजार मेगावाट बिजुली निकाल्ने र त्यसबाट नेपाललाई फाइदा हुने भाषण त कति सुनियो † बल्लतल्ल आयोजना सुुरु गर्नका लागि बनाउन लागिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि नेपालमा देखिएको दौड थाहा पाउँदा भारतीयहरू कति हाँस्दा हुन् !
दुई देशबीच भएको सहमति अनुसार, पहिलो कार्यकालका लागि नेपालले प्रमुख कार्यकारी अधिकृत पाउँदैछ भने भारतले उपप्रमुख कार्यकारी अधिकृत । त्यसका लागि ऊर्जा क्षेत्रमा भित्रभित्रै ठूलै दौडधुप चलिरहेको छ । शक्ति केन्द्र धाउनेदेखि जे जति खर्च गर्न सकिन्छ, त्यसका लागि पनि पछि नपर्ने उम्मेदवार देखिएपछि नेताहरूलाई पनि सजिलो हुने नै भयो ।
अहिले पञ्चेश्वर आयोजनाको कार्यकारी प्रमुख बन्नका लागि सबभन्दा बढी लबिङमा लागेका छन्, विद्युत विकास विभागका पूर्वमहानिर्देशक डीबी सिंह ।
यसबीचमा सिंहले ऊर्जा मन्त्रालय सम्हालिरहेको एमालेका नेताहरूका घरमा कैयौं राउन्ड दौड मात्र लगाएका छैनन्, आफ्नो पक्षमा लबिङ गर्ने नेताहरूको टोली नै तयार पारेका छन् । उनी आयोजनाको मुख्य कार्यालय रहने क्षेत्र अर्थात् सुदूरपश्चिमका पनि होइन । तर, सुदूरपश्चिममा आयोजना बन्ने भएकाले आफ्नो कुरा सुन्नुपर्ने भन्दै नुवाकोटका सिंहको लबिङका लागि मुख्य नेतृत्व गरिरहेका छन् बाजुराका सभासद् तथा एमाले पोलिट्ब्युरो सदस्य कर्णबहादुर थापाले । आर्थिक कारणमै शंका लागेर एमाले अध्यक्ष ओलीले बीचैमा उद्योगमन्त्रीबाट बर्खास्त गरेका थापाको चलखेल किन भयो होला ? सहजै अनुमान गर्न नसकिने कुरा भएन । तर, उनीसँगै इमानदार भनेर चिनिने बझाङका पूर्वससभासद् तथा पूर्वमन्त्री भाुनभक्त जोशी, बैतडीका सभासद् दामोदर भण्डारी, कैलालीका सभासद् मोहनसिंह राठौर र दार्चुलाका सभासद् गणेशसिंह ठगुन्ना पनि डीबीलाई प्रमुख कार्यकारी नबनाइ विश्राम नलिने भन्दै दौड सक्रिय छन् ।
‘यसमा सूपको एउटै मत छ’ भन्दै उनीहरूले एमाले अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री वामदेव गौतम, उपाध्यक्ष विद्यादेवी भण्डारीदेखि ऊर्जामन्त्री राधा ज्ञवालीसम्मलाई पटक–पटक भेटिसकेका छन् । अध्यक्ष ओलीले पनि ‘ओके’ भनिसकेको भन्दै उनीहरू यतिबेला ऊर्जामन्त्री ज्ञवालीमाथि दबाब बढाउने अभियानमा छन् । विद्या भण्डारीले छोड्नासाथ अनेमसंघको अध्यक्ष हुन भनेर पालो पर्खिरहेकी ऊर्जामन्त्री ज्ञवालीमाथि दबाब दिनका लागि उक्त टोलीले भण्डारीलाई नै बलियो माध्यम भेटाएको छ । ऊर्जामन्त्री ज्ञवाली स्वयम्ले भने इन्जिनियर एसोसिएसनमा पहिलो पटक वामपन्थीका तर्फबाट अध्यक्ष जितेर रेकर्ड कायम गरेका इन्जिनियर महेन्द्र गुरुङलाई पठाउने योजना बनाएको थाहा भएको छ । गुरुङ अहिलेसम्म कुनै विवादमा नआएको, पहिलादेखि आफ्नो सम्पर्कमा रहेको र एमाले निकट इन्जिनियरहरूले पनि एक स्वरले सिफारिस गरेकाले उनको नाम अघि सारेको मन्त्री ज्ञवालीको तर्क छ । ‘आफूले भनेको एक जनालाई पनि नियुक्ति गर्न नसक्ने हो भने पदमा किन बसिरहने ?’ सम्म उनले बालकोटतिर सुनाइसकेको चर्चा छ ।
यही द्वन्द्वका बीचमा स्वाट्टै छिरेर सीईओ हुने चक्करमा छन्, ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारी । भारतसँग पीटीए गर्दा नेतृत्व गरेर सल्टाएको, भारतसँगका ऊर्जासम्बन्धी अरू वार्ताहरूमा पनि राम्रो भूमिका निर्वाह गरेको र सबैतिर राम्रो सम्बन्ध राख्न सक्ने भन्दै उनको नाम अघि आएको छ । मुख्य कुरा, एमालेले ऊर्जा मन्त्रालय सम्हाले पनि सरकारको नेतृत्व गरिरहेको कांग्रेसले विशेष चासो राखेका कारण मन्त्रीले चाहँदैमा एक्लै सीईओ नियुक्त गर्न नसक्ने बाध्यताको फाइदा अधिकारीले हुने देखिएको छ । स्रोतका अनुुसार, ऊर्जामन्त्री र प्रधानमन्त्रीका बीचमा उनको नाम साझा बन्न सक्ने सम्भावना छ ।
छ हजार मेगावाट विद्युत् क्षमता भएको पञ्चेश्वर परियोजनाको मुख्य कार्यालय महेन्द्रनगरमा बसेर डलरमा तलब बुझ्न पाइने फाइदा त छँदैछ, ठूलो आयोजना र छिमेकी मुलुकसँग प्रगाढ सम्बन्ध रहने भएकाले पनि त्यहाँ जान मरिहत्ते भइरहेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply