तराई–मधेसका संवेदनशीलताहरू

१. ऐतिहासिक सन्दर्भ
मानव सभ्यता आजसम्म आइपुग्न लाखौँ वर्ष लागेको छ । यसमा हामीले ध्यान दिनयोग्य कुरा के छ भने रूपन्देहीको बुटवलमा आदिम मानव रामापिथेकसको अवशेष र दाङको ग्वारखोला एवं नवलपरासीको डण्डामा पुरापाषणकालीन अस्त्र भेटिनुले मानव जातिको उत्पत्ति एवम् विकासको थलो हाम्रो देश नेपालको तराई–मधेस हुन सक्ने अनुमान गर्न सकिन्छ । जब दुनियाँमा राज्यको अवधारणा विकास भयो, त्यतिबेला अहिलेका कुनै पनि मुलुक यस रूपमा पक्कै थिएनन् । विकासक्रमसँगै भाषा, संस्कृति, जाति जस्ता कुराहरू पछि राज्यका सीमाहरू विकास भए । आज प्रत्येक राष्ट्र जसरी बनेका छन्, त्यसका पछाडि तिनीहरूको ऐतिहासिक विकासक्रमले मुख्य भूमिका निर्वाह गरेको छ । नेपाल राष्ट्र्र्रको निर्माण प्रक्रिया पनि यस सार्वभौमिक प्रक्रियाबाट अलग छैन । आजको नेपाल हाम्रा वीर पूर्खाहरूको सोच, समर्पण, त्याग र बहादुरीको समुच्च उपलब्धि हो ।
समथर भूभागदेखि उच्च हिमालसम्म मिलेर बनेको हाम्रो मुलुकले इतिहासका विभिन्न कालखण्डमा अनेक खालका आरोह–अवरोहहरू झेलेको छ । त्यस समयमा हाम्रा सीमारेखाहरूको आयतन कहिले बढ्ने त कहिले खुम्चिने काम पनि भएको छ । तर, हामीले गर्व गर्नुपर्ने मुख्य कुरा हो : हामी इतिहासदेखि नै स्वतन्त्र, सार्वभौम र स्वाधीन एवं स्वाभिमानी राष्ट्र्रका नागरिकका रूपमा रहँदै आएका छौँ । शक्तिशाली राष्ट्रहरू राज्य विस्तारमा लागेको बेलामा पनि हाम्रा पूर्खाले यस मुलुकको अखण्डता र अक्षुण्णतालाई बचाए । त्यसको पूराका पूरा रक्षा गर्नु, संवद्र्धन गर्नु र नेपालको शिर उच्च बनाउनु आजका हामी सबैको दायित्व हो भन्नेमा दुईमत छैन ।
विक्रम संवत्को तेस्रो शताब्दीअघिको नेपालको प्रामाणिक इतिहास भेटिँदैन । तसर्थ, त्यसअघिका कुराहरू थाहा पाउनका लागि आख्यान, बेद, पुराण जस्ता धर्मशास्त्रका ग्रन्थहरूलाई सन्दर्भका रूपमा लिनुपर्ने हुन्छ । इतिहासकारहरूका अनुुसार, ‘नेपाल’ शब्दको सर्वप्रथम प्रयोग ‘अथर्वपरिशिष्ट’ नामक पुस्तकमा गरिएको छ । कौटिल्यको अर्थशास्त्रमा ‘नेपालमा बुनेका आठपाटे राडीहरूको’ उल्लेख भएको पाइन्छ । चिनियाँ यात्री हुएन साङले आफ्नो यात्रा वृतान्तमा नेपाललाई ‘नि.पो.लो.’ भन्दै यसका विशेषताहरूको सविस्तार व्याख्या गरेका छन् । ‘अथर्वपरिशिष्ट’ र ‘कौटिल्यको अर्थशास्त्र’का अलावा ‘वार्हस्पत्यअर्थसूत्र’, राजा समुद्र गुप्तको प्रयागको अभिलेख, दक्षिण भारतका राजा यादवकृष्णको अभिलेख, काश्मिरको ‘इतिहासराजतरङ्गिणी’, ‘बृहत्संहिता’, ‘महाभारत’, ‘स्कन्दपुराण’, ‘देवीपुराण’, ‘नैषधचरित’, ‘बृहत्कथा’ जस्ता ऐतिहासिक ग्रन्थहरूमा पनि ‘नेपाल’ वा ‘नैवाल’ भन्ने शब्दको प्रयोग हुनुले हाम्रो मुलुकको इतिहास कति पुरानो छ भन्ने देखाउँछ ।
लिच्छविकालपछि नेपाल राज्यको विभाजन भएका कारण विक्रम संवत्को बाह्रौँ शताब्दीतिर जुम्लाको सिञ्जा र बाराको सिम्रौनगढ दुई शक्तिशाली राज्यको उदय भएको इतिहास पाइन्छ । नेपालको एकीकरण गर्न बेला–बेलामा अशोक चल्ल, हरिदेवसिंह, यक्ष मल्ल, मलैबम्म र मुकुन्द सेनले कोसिस गरे पनि गोरखाका राजा पृथ्वीनारायण शाहका पालामा आएर मात्रै त्यसले साकार रूप लिन पुगेको थियो ।
गोपाल वंश, महिषपाल वंश र किरात वंशका साथै इतिहासमा हामी विदेह–मिथिला सभ्यता, कौशिक सभ्यता र कपिलवस्तु गणराज्य जस्ता विशिष्ट सभ्यताहरू पनि पाउँछौं, जुन हाम्रो समग्र राष्ट्र निर्माणका आधारशीलाहरू हुन् ।
माथिका समग्र तथ्यहरूबाट के प्रमाणित हुन्छ भने अनेक प्रकारले शासन भए पनि, अनेक प्रकारका राज्य बने पनि र पछिल्लो कालखण्डमा बाइसे–चौबीसेका नाममा स–साना टुक्राहरूको राज्य चले पनि समग्रमा त्यो नेपाल थियो । हिमाल, पहाड र तराई–मधेस नेपालको अभिभाज्य र एकीकृत भूखण्ड हो । त्यही भूखण्डका आधारमा बनेको देश नेपाल आज विश्वका सामु इतिहासदेखि विदेशीले हमला गर्दा पनि आफ्नो अक्षुण्णता जोगाएर बस्ने गौरवशाली राष्ट्रका रूपमा स्थापित छ ।
राजनीतिक रूपमा मधेसले हाम्रो मुलुकको परिवर्तनमा सधैँ काँधमा काँध मिलाएको छ र अझै अग्रगामी भूमिका खेलेको छ । राणाशासनका विरुद्ध रौतहटको सदरमुुकाम गौरपारि भारतको विहार राज्यमा पर्ने बैरगनिया सीमा–बजारमा नेपाली काङ्ग्रेसले चर्चित बैरगनिया सम्मेलन आयोजना गरेर राणाशाहीका विरुद्ध सशस्त्र सङ्घर्ष गर्ने निर्णय गरेको थियो । फलस्वरूप त्यसको प्रचार–प्रसार मधेसमा हुने नै भयो । ००७ को क्रान्तिमा गौरका शिवप्रसाद सिंहले जीवन बलिदान गर्नुभएको थियो । त्यसअघि ००३ सालमा तात्कालीन रौतहट र हालको बारा जिल्लाको कचोर्वामा पर्ने झरोखरबाट राणाशासन विरोधी सङ्घर्षको सुरुआत भएको थियो । राणाशासनविरोधी आन्दोलनका क्रममा वीरगञ्ज, सप्तरी, बारालगायतका मधेसका क्षेत्रहरू नै सबभन्दा पहिला मुक्त क्षेत्र घोषणा
भएका थिए । यस सन्दर्भमा मधेसमा कम्युनिस्ट पार्टीको प्रवेश र मधेसमा आएको जागरण विशेष उल्लेखनीय पक्ष छ ।
२. मधेस र कम्युनिस्ट पार्टी
इतिहासका अरू तमाम पाटाहरूतर्फ नगई यस आलेखमा विवेचना गर्न खोजिएको विषयचाहिँ आजको सन्दर्भमा मधेस, मधेसका मुद्दा र त्यसमा राज्य तथा हाम्रो पार्टीको दायित्वसमेतका बारेमा चर्चा गर्नुपर्ने भएकाले त्यसमै केन्द्रित हुन खोजिएको छ ।
मधेससँग नेपाली कम्युनिस्ट आन्दोलनको सम्बन्ध अविभाज्यरूपमा जोडिएको छ । यो सम्बन्ध नेपाल कम्युनिस्ट पार्टीभन्दा पनि पुरानो छ । नेपालको पहिलो मजदुर आन्दोलनका रूपमा विक्रम संवत् ००३ मा विराटनगरमा मनमोहन अधिकारीको नेतृत्वमा उठेको आन्दोलन कम्युनिस्ट पार्टीभन्दा पनि जेठो छ, जुन मधेसबाटै सुरु भएको थियो । त्यस गौरवशाली विरासतबाट गाँसिएको मधेस र कम्युनिस्ट पार्टीबीचको सम्बन्ध अद्यावधि अन्योन्याश्रित छ ।
००८ सालमा रौतहटमा भएको किसान आन्दोलनका साथै बारालगायतका अरू ठाउँमा कम्युनिस्ट पार्टीले नै किसान आन्दोलन सञ्चालन गरेको थियो । त्यसले तराईमा किसान जागरण सिर्जना गर्न, जमिन्दारहरूका विरुद्धमा चेतना फैलाउन, खासगरी सामन्तवादबाट पीडित मधेसी किसानलाई इज्जत र अधिकार दिलाउन, शोषण–उत्पीडनबाट मुक्त गराउन, दासताको अन्त्य गर्न र सामाजिक परिवर्तनमा भूमिका खेल्नका लागि अतुलनीय योगदान गरेको छ । तराईलाई सामाजिक र राजनीतिकरूपमा बलियो बनाउनका लागि त्यस घटनाले कोसेढुङ्गाको भूमिका निर्वाह गरेको त्यसपछिका घटनाक्रमहरूले
प्रस्ट्याएका छन् ।
आन्दोलनले निर्माण गरेको त्यही लोकप्रियताको परिणामस्वरूप ०१५ सालमा नेपालमा पहिलोपटक भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले जम्मा ४ सिट जित्दा तराई (रौतहट)बाटै दुई जना (हरदयाल महतो र शेख फर्मान)ले जित्नुले पनि कम्युनिस्ट पार्टीको तराई–सम्बन्ध उजागर गर्दछ । अझ नेकपा
(एमाले)को सन्दर्भमा कुरा गर्ने हो भने त यस पार्टीको स्थापना नै तराईमा भएको हो । ०२८ मा झापा सङ्घर्ष, ०२८–२९मा मोरङको क्रान्तिकारी आन्दोलन, ०३१ मा विराटनगरमा झापा र मोरङका क्रान्तिकारीहरूले जारी गरेको क्रान्तिकारी अपिल, ०३२ सालमा विराटनगरमा को–अर्डिनेसन केन्द्रको गठन, ०३५ साउनमा धनुषामा को–अर्डिनेसन केन्द्रको ऐतिहासिक तेस्रो सम्मेलन– यी सबै मधेसमा कम्युनिस्ट पार्टीले गरेका महत्त्वपूर्ण कार्यहरू थिए । हामीले २०३५ पुस ११ गते मोरङमा नेकपा (माले)को स्थापना गर्दा होस् वा पछि ०४६ सालमा ऐतिहासिक रूपमा सिरहामा चौथो महाधिवेशन गर्दा होस्, तराईलाई नै रोजेका थियौँ । यस सन्दर्भमा खुला परिवेशमा राष्ट्रिय परिषद्को दोस्रो बैठक (२०५३ जनकपुर), पार्टीको राष्ट्रिय महाधिवेशन (२०५४ नेपालगञ्ज) र सातौं राष्ट्रिय महाधिवेशन (२०५९ जनकपुर) समेत हामीले तराई मधेसको भूमि र जनसमुदायबीच सम्पन्न गरेका थियौं ।
नेकपा (एमाले)भित्र तराई–मधेसको विकासका लागि सोच्ने पद्धतिको विकास आज एकाएक भएको होइन । ०५० सालमै सीतानन्दन रायको अध्यक्षतामा तराई समस्या अध्ययन कार्यदल बनाएर हामीले तराईको समस्यालाई स्वीकार गर्दै विषयको गम्भीरता र आफ्नो दायित्वलाई उच्च महत्त्वका साथ बोध गर्न कोसिस गरेका थियौँ । हामीले पहिलोपटक ०५१ सालमा नौ महिना सरकार चलाउँदा तराईमा विशेष समस्याका रूपमा रहेको नागरिकता र सुकुम्बासी समस्यालाई तदारुकताका साथ समाधान गर्ने कोसिस गरेका थियौँ । धनपति उपाध्यायको अध्यक्षतामा बनेको नागरिकतासम्बन्धी कार्यदल स्मरणीय छ । ०५१ सालमै मदरसा अध्ययन कार्यदलको गठन गरिएको थियो । सोही समयमा नेपाली सेनामा मधेसी, महिला र दलितको व्यापक सहभागिताको नयाँ पहल सुरु गरिएको थियो र पहिलोपटक राजविराजमा मधेसीहरूका लागि सेनाको छुट्टै भर्ना खोलिएको थियो । पछि, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, हुलाकी राजमार्ग निर्माण, पूर्व–पश्चिम रेल्वे सेवा, जनता आवास कार्यक्रमजस्ता तराई–मधेस लक्षित विकासका कार्यक्रममा पनि हामीले नै जोड दिएका थियौँ ।
३. मधेसको संवेदनशीलता, चासो र सरोकार
मुलुक सबै जाति, भाषा, संस्कृति, सम्प्रदाय र भूगोलको साझा फूलबारी हो । यहाँ रहेका प्रत्येक नागरिकमा आफू सार्वभौम देशको सार्वभौम र बराबरी अधिकार राख्ने बासिन्दा हुँ भन्ने भावना हुनुपर्छ । यस सन्दर्भमा मधेसमा देखिएको विशेष संवेदनशीलतालाई ख्याल गर्नुपर्छ ।
विभिन्न अतिवादी तत्त्वहरूले मधेसी जनताको भावनालाई भड्काउने असफल कोसिस गरिरहेका छन् । कुनै तथ्यमा आधारित नभएर चर्का कुरा गर्ने, असम्भव सपना देखाउने, अशिक्षित जनतालाई गलत कुरा बताउने र आफ्नो दुनो सोझ्याउने चालबाजीबाट मधेसी जनतालाई मुक्त गर्नका लागि सबभन्दा पहिला उनीहरूका जायज संवेदनशीलताप्रति सबैले सचेत रहनुपर्छ । ती मुद्दालाई यसरी उल्लेख गर्न सकिन्छ :
भाषा : नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । उक्त यथार्थलाई बिर्सेर तात्कालिन समयमा सर्वोच्च अदालतबाट स्थानीय भाषालाई सम्पर्क भाषाका रूपमा कामकाज गर्न लगाइएको बन्देजले भावनात्मक एकतामा चोट पुर्याएको देखिन्छ । पहाडका विभिन्न भागमा जस्तै मधेसी जनताको भाषामा विविधता छ । उनीहरू मैथिली, भोजपुरी, अवधी, थारू जस्ता विविध भाषाका धनी छन् । तर, मुख्यत: काठमाडौँमा तराई मूलको मानिस भेटिनासाथ अधिकांशले टुटेफुटेको हिन्दीमा कुरा गर्न सुरु गरिहाल्ने चलन छ । यो गलत हो । मधेसका साथीहरू बेला–बेलामा भन्ने गर्नुहुन्छ– ‘हामी नेपालीमा कुरा गर्न थाल्छौँ, हामीसँग हिन्दीमा कुरा गर्न सुरु गरिन्छ ।’ यसबाट उहाँहरूलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरिएको अनुभूति हुन जान्छ । अत: व्यवहारका त्रुुटिहरूलाई हटाएर भाषा र संस्कृतिको सम्मान अहिलेको आवश्यकता हो । यसले भावनात्मक दूरी घटाउने र एकता बढाउने काममा महत्त्वपूर्ण भूमिका खेल्दछ ।
भेषभूषा : कुनै पनि जाति वा समुदायको भेषभूषा रातारात विकास हुँदैन । हामीले यसको चर्चा गर्दा ऐतिहासिक विकासक्रमलाई हेर्नुपर्छ । खोलाको किनारमा बस्ने मानिसले आफ्नो जीविकाका लागि पनि पौडिन र माछा मार्न सिक्नैपर्छ, जुन हिमालमा बस्ने मानिसका लागि आवश्यक पर्दैन । हिमालमा चिसोबाट बच्नका लागि चौँरीका रौँ लामा हुनैपर्छ । जब प्रकृतिले नै यस्तो बनाइदिएको छ भने मानिसहरूमा पनि त्यो कुरा लागू हुन्छ । तराई–मधेसमा धेरै गर्मी हुन्छ । त्यही भएर त्यहाँ धोती–कुर्ता लगाउन सजिलो हुन्छ, जसरी हिमालमा बस्नेहरूका लागि बख्खु आवश्यक हुन्छ । कालान्तरमा त्यही पोसाक उनीहरूका लागि सजिलो र संस्कृति बन्छ । तर, आफ्नो प्रिय पोसाक धोती–कुर्ता लगाउँदा तराईबासीलाई हेप्ने खराब चलन छ । यस विशेष संवेदनशीलतालाई ख्याल गर्नैपर्छ ।
नेपाली भावना/भावनात्मक पक्ष : तराई–मधेस मूलका मानिसलाई छिमेकी देशसँग जोडेर हेर्ने गलत अभ्यास छ । भेट हुनासाथ ‘भैया’ भनिहाल्ने, हिन्दीमा कुरा गर्न सुरु गरिहाल्ने र हेप्ने कुराले मधेसी जनताको मनोभावनामा आघात पार्ने गरेको छ । यतिसम्मकि, एकपटक भारतीय कलाकार ऋषिक रोशनले ‘नेपाल मन पर्दैन भनेर बोले’ भनेको भरमा मधेसी मूलका नेपालीहरूमाथि राजधानीमै ज्यादतीसमेत भयो । अझ स–साना काम गरेर खाने वर्गका मानिसलाई झन् बढी हेप्ने गरेको पाइन्छ । बेच्न लगेको तरकारी लुटिदिने, ढक–तराजु छिनाइदिने, दुव्र्यवहार गर्ने जस्ता कुराले मुलुकको राजधानीमै हामी सुरक्षित छैनौँ र यो ठाउँ हाम्रो होइन भन्ने भावनालाई प्रश्रय दिन्छ । यस्ता गलत कामले मुलुकलाई भावनात्मकरूपमा जोड्ने काम गर्दैन ।
क्रमश:
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply