राजाले भने– ‘सूर्यबहादुर मैले त्यस्तो सोचेकै छैन’
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा गत वैशाख ३ गते राती निधन भएको छ । नेपाली राजनीतिका पुराना खेलाडी थापाको निधनप्रति सबैतिरबाट प्रकट भएको दु:खले उहाँको ६ दशक लामो राजनीतिक व्यक्तित्व उजागर गर्दछ । उहाँप्रति श्रद्धाञ्जलि दिंदै ‘बुधबार’ साप्ताहिकमा २०६९ भदौ २२ गते प्रकाशित अन्तर्वार्ताको समपादित अंश पुन: प्रकाशन गरेका छौं । – सं.
० जिन्दगीको यति लामो यात्रा गर्नुभयो, कहिलेकाहीँ फर्केर हेर्दा लामो यात्रा गरिएछ जस्तो लाग्दैन ?
– लाग्दैन, जीवनमा यस्तो व्यस्त भइयो कि यस्तो अनुभूति नै हुँदैन । विद्यार्थी कालमा पढ्ने कुरामा व्यस्त भइयो । त्यसपछि एक दुई वर्ष मेरो गाउँ मुगा, धनुकटामा व्यस्त रहें । त्यसपछि त राजनीतिले कहिल्यै छोडेन ।
० मैले सुनेअनुसार राजा महेन्द्रको धनकुटा भ्रमणका बेला तपाईंले डमरु उपहार दिनुभएको थियो रे हो ?
– हो, मोरङमा गोहीहडा भन्ने ठाउँमा हाम्रो जग्गा–जमिन छ । त्यसको वरिपरि जंगल पनि छ । हिउँदमा अचानक त्यहाँ पुगें । त्यहाँ बसेको बेला बाघको बच्चा अलमलिएर गाउँतिर लागेछ । गाउँलेले समातेर ल्याएर मलाई दिए । राजा धनकुटा आउने कार्यक्रम थियो, म गाउँ जानुपर्ने थियो । राजालाई के उपहार दिने होला सोचिरहेको थिएँ, त्यो डमरु पाएपछि त्यही लगेर दिएँ ।
० राजासँग तपाईंको सम्बन्ध त्यही डमरुले जुटायो, होइन ?
– हो । मेरो सम्बन्धको पहिलो सुरुआत यसैबाट भयो ।
० त्यो बेला राजासँग कस्तो संवाद भयो त ?
– राजाको कार्यक्रम धुलिखेलबाट सुरु गरेर पहाडी क्षेत्र हुँदै धनकुटा पुग्ने थियो । म पढाइ सकेर गाउँघरको सामाजिक काममै व्यस्त थिएँ । राजा आएपछि हामीले स्वागत गर्यौं । त्यहीँ क्याम्पस थियो । बेलुका भेटघाटमा राजासँग कुरा गर्ने मौका पाएँ । यो ०११–१२ सालको कुरा होला ।
० के कुरा भयो त राजासँग ?
– राजा त्यसरी दोहोरो कुरा गर्ने मान्छे होइनन् । पछिसम्म उनको बानी त्यही थियो । अरूको कुरा सुन्ने आफू कम बोल्ने बानी थियो । पछि के भन्नुपर्छ, दुई–चार वटा कुरा भन्ने, त्यत्ति हो ।
० तपाईंलाई काठमाडौं आउनू भनियो ?
– सबै कुरा गरेपछि ‘के छ कार्यक्रम, यही गाउँघरमै बस्ने हो कि ? भनेर सोधियो । म नयाँ युवक केटो, ढोका–सोका बनाएर स्वागत गरेको, बोली प्रभाव पार्ने खालकै थियो । त्यो देखेपछि सायद मलाई त्यसरी सोधिएको हुनुपर्छ । मैले ‘हैन म काठमाडौं नै जान्छु’ भनें । राजाबाट ‘काठमाडौं आएपछि मलाई खबर गरेर भेट्नू’ भनियो ।
० काठमाडौं आएपछि भेट्न जानुभयो ?
– गएँ । राजनीतिक कुराकानी पनि भए । काठमाडौं आएपछि नै राम्रो दोहोरो चिनजान भएको हो ।
० भर्खरै विश्वबन्धु थापाले एक ठाउँमा पञ्चायतको न्वारान नै सूर्यबहादुर थापा, तुलसी गिरी, मैले गरेको हो भन्नुभएको छ, त्यही हो यथार्थ ?
– त्यो यथार्थ हो । ०१७ सालको घटनापछि राजाको अध्यक्षता गठित मन्त्रिपरिषद्मा हामी तीन जना मन्त्री भयौं । कुनै एउटा पद्धतिबिना राजनीति हुँदैनथ्यो । त्यसबेलासम्म संसदीय पद्धति नै थियो । त्यसलाई अन्त्य गरिसकेपछि के गर्ने भन्ने प्रश्न उठ्यो । त्यस्तो ‘भ्याकुम’मा धेरै जान सकिँदैन, त्यसकारण एउटा निश्चित पद्धति चाहिन्छ भन्ने कुरा भएपछि पञ्चायतको जन्म भएको हो । नेपालको पुरानो कुरालाई आधार मानेर त्यसो गरिएको थियो । किनभने पञ्चायत पद्धति बैदिककालदेखि नै थियो । त्यसबेलाको राजनीतिमा औंलामा गन्न सकिने व्यक्ति मात्र राजनीतिमा सचेत थिए । एक त जनताले आफ्नो ठाउँको विकासको काम आफैंले गर्न पाउनुपर्छ र प्रशासन पनि हेर्नुपर्छ भनेर गाउँ पञ्चायतको अवधारणा ल्याइयो । त्यसले राजनीतिक ‘भ्याकुम’ पनि पूर्ति गर्दथ्यो । दोस्रो कुरा तलका आम जनता सचेत भएर आउँछन् भन्ने ध्येयका साथ त्यो पद्धति अँगालिएको थियो । तलका जनता विकास र प्रशासनका कामबाट, अञ्चल, केन्द्रसम्म आइपुग्दा राजनीतिक रूपमा पनि परिपक्व हुन्छन् र त्यसले विकासप्ेरमी वर्ग नै तयार हुन्छन् भन्ने मान्यता थियो ।
० तपाईं पञ्चायतको एक जना स्रष्टा तर पछिल्ला दिनमा तपाईं पञ्चायतभित्रै पनि आलोचक देखिनुभयो नि ?
– पद्धति निर्माण गरेर मात्र हुँदैन, त्यसको सञ्चालन कुन ढंगले गर्ने भन्ने कुरा हो । प्रशासनिक ढंगले आदेश मात्र गर्ने कि राजनीतिक रूपमा पनि जनतालाई शिक्षित गरेर ल्याउने । त्यसो गर्दा, सधैं नियन्त्रणमा नै राखियो भने उसको विकास हुन सक्दैन, जति हामी अपेक्षा गर्दछौं । उसको काम आदेश पालना गर्ने मात्र हुन्छ । पञ्चायत पद्धतिलाई राम्रोसँग अगाडि बढाउन पनि उदार दृष्टिकोण र चरित्र अपनाउनुपर्छ भन्ने मेरो मान्यता थियो । प्रजातान्त्रिक पद्धति समाप्त गरेर नियन्त्रित समाज निर्माण गर्यौं भने त्यसले राजनीतिक ‘भ्याकुम’ परिपूर्ति गर्न सक्दैन ।
० एकचोटि तपाईंले ‘भूमिगत गिरोह’ भन्ने शब्दावली प्रयोग गर्नुभयो, त्यसको खुब चर्चा पनि भयो, कुन सन्दर्भमा भन्नुभएको थियो ?
– त्यसबेला एउटा यस्तो वर्ग थियो, जो दरबारसँग आबद्ध थियो । उसको जिम्मेवारी कहीँ कतै केही छैन । ऊ खुला पनि छैन । त्यो यस्तो गिरोह बन्यो, जो अरूले पहिचान गर्न गाह्रो थियो । तर, उनीहरूले गरेका रिपोर्टबाट प्रशासन वा राजनीतिमा ‘रिफ्लेक्सन’ हुन थालेका लक्षण मैले देखें । प्रतिनिधिका माध्यमबाट हुनुपर्नेमा उनीहरूको बढ्ता बोलवाला हुन थालेको महसुस भएपछि मैले त्यो शब्दावली प्रयोग गरेको हुँ ।
० त्यसो भनेबापत पछि त्यो भूमिगत गिरोहसँग द्वन्द्व पनि त भयो होला नि ?
– हुने नै भयो । उनीहरू खुला भएर आएर द्वन्द्व गर्ने कुरा त भएन । उनीहरूले वातावरण बनाएर काम गराउने त दरबार थियो । हामी त्यहाँभित्र भित्रेरै बसेका मान्छेलाई थाहा हुन्थ्यो– यो कुरा कहाँबाट आयो ? यो राजाकै विचार हो कि अरूबाट प्रभावित भएर आएको हो भन्ने हामी सजिलै बुझ्न सक्थ्यौं ।
० तपाईंले तीनै किसिमका व्यवस्थाको अनुभव बटुल्नुभयो, तर हरेक परिवर्तनलाई सहज रूपमा लिनुभएको देखिन्छ, चाहे त्यो ०४६ को परिवर्तनपछि होस् या ०६३ को परिवर्तनपछि नै, तपाईंको के विशेषताले यसमा काम गरेको छ ?
– देश, काल र परिस्थितिले परिवर्तन ल्याउँछ । परिवर्तन दुई ढंगबाट हुन्छ । एउटा, व्यक्ति वा सानो समूहले गर्ने, अर्को आम रूपमा तलैबाट हुने परिवर्तन हुन्छ । यो क्रम चलिनै रहेको हुन्छ । पञ्चायत गयो एउटा परिवर्तन भयो । पञ्चायत या समयानुकूल परिवर्तन ल्याएन भने परिवर्तन हुनु अवश्यम्भावी छ भन्ने कुराको बोध भयो । त्यसमा भिजिरहेपछि, सबै गतिविधि सूक्ष्म तरिकाले आँकलन गरिरहेपछि त्यो त्यो आभास हुन्छ । मलाई पनि त्यो आभास थियो । त्यसैले मैले तत्कालीन राजालाई बारम्बार भनेको थिएँ– समयानुकूल तलको लक्षण बुझेर परिवर्तन गरिदियो भने त्यो सहज हुन्छ ।
० सूर्यबहादुर थापाले संकटमा साथ दिएन भनेर दरबारबाट गुनासो सुन्नुपरेन ? जबकि तपाईंका चेला कमल थापालगायतले सक्रिय राजतन्त्र भन्नुहुन्छ, तर तपाईंले ०६३ पछि कहिल्यै त्यस्तो अभिव्यक्ति निकाल्नुभएन ?
– म पञ्चायती राजनीतिमा संलग्न भएको र तत्कालीन अवस्थामा राजतन्त्रप्रति आस्था राखेर काम गरेको हुनाले ऊप्रति इमानदार त हुनैपर्छ । त्यसबेला हामी राजनीतिमा भएकाहरूमा दुई प्रकारका मान्छे थिए । एकथरी आदेशको पालना मात्र गर्ने, दरबारको घेराबाट जे आउँछ त्यसलाई मात्र बोकेर हिँड्ने थिए । दोस्रोथरी चाहिँ समय, काल, परिस्थितिको बदलावलाई बुझेर त्यहाँ बसेर पनि त्यही अनुसार परिवर्तन गर्न चाहने थिए । म यही दोस्रो श्रेणीमा थिएँ । समय, परिस्थिति यस्तो भएको हुनाले यसो गर्नुपर्यो भन्ने सल्लाह दिन्थें । दरबार ‘कन्भिन्स’ भएका बेला कहिलेकाहीँ त्यस्तो परिवर्तन भएको पनि छ । मैले ‘कन्भिन्स’ गर्नुभन्दा पहिला अर्कै पक्षले ‘कन्भिन्स’ गरेको छ भने परिवर्तन हुँदैनथ्यो । चाहे परिवर्तन गरून् या नगरून्, समय, परिस्थितिले ल्याउने कुरालाई कसैले रोक्न नियन्त्रण गर्न सक्दैन ।
० पछिल्लो पटक तत्कालीन राजा ज्ञानेन्द्रसँग यो विषयमा तपाईंको सरसल्लाह भएको थिएन ?
– भएको थियो । मैले राजा महेन्द्र छँदा पनि समय–समयमा खासगरी त्यसबेला राज्य सञ्चालनमा उदार र अनुदार पक्षको संघर्ष चलिरहेका बेला उदार पक्ष अपनाउनुपर्छ भन्ने सल्लाह बारम्बार दिन्थें । अनुदार पक्ष अँगालियो भने त्यसले अन्तिम अहित राजसंस्थालाई नै गर्छ भन्थें । राजा वीरेन्द्रको समयमा पनि समयसापेक्ष हुनुपर्छ भनेर सल्लाह दिन्थें । त्यसबेलाको एउटा घटना म सम्झन्छु– ‘हरेक वर्ष पुस १ गते पञ्चायतको जन्म भएको सिम्बोलिक रूपमा समारोह मनाइन्थ्यो । म पदमा थिइनँ । एक दिन दरबारका प्रमुख सचिव रञ्जनराज खनालको फोन आयो । उनले ‘यो समारोहको अध्यक्षता यहाँले गर्नु भन्ने हुकुम भएको छ’ भनेर ठ्याम्म फोन राखे । त्यसो गर्नुको अर्थ मैले मञ्जुरी दिन्छु वा दिँदैन भन्ने बुझेर गरिएको थियो । इच्छा त थिएन । तर, राजाले भनेपछि बस्नैपर्यो । त्यो समारोह टुँडिखेलमा हुन्थ्यो । राजासँग यसको सिलसिलामा दुईचोटि भेट्न पाइन्थ्यो । तयारीका क्रममा र कार्यक्रम सकेपछि । त्यो बेला विशेषत: नेपाली कांग्ेरसको गतिविधि निकै बढेको थियो । त्यो रोकिँदैन एउटा बिन्दुमा पुग्छ भन्ने मैले देखेको थिएँ । मैले राजालाई बाहिर आमजनता व्यापक सुधारको अपेक्षा गरेर बसेका छन्, सरकारले सुधारका केही कुरासहित भाषण गर्नुपर्छ, नत्र भने राम्रो हुँदैन भनें । पञ्चायतले पनि राम्रा काम गरेको छ, यो परिवर्तन सहज रूपमा पञ्चायत माध्यमबाटै भयो भने भोलि रक्तपात हुँदैन, रक्तपात हुने अवस्था आयो भने दुई कार्यकर्ताबीच लडाइँ हुन्छ । त्यसैले परिवर्तन गर्नैपर्छ । कुन रूपको परिवर्तन गर्ने भन्ने चाहिँ अहिल्यै सार्वजनिक गर्नुपर्दछ भनेर मैले धेरै किसिमले सम्झाएँ । तर, अर्को अनुदार पक्ष पनि थियो । राजाले त्यो सेयर गरे होलान्, त्यस्तो सम्बोधन भएन । भोलिपल्ट सभागृहमा आयोजित गोष्ठीमा मैले परिवर्तनका पक्षमा बोलें । समय–समयमा सल्लाह दिने काम मैले बारम्बार गरें ।
० तपार्इं महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रसँग प्रधानमन्त्रीकै रूपमा काम गर्नुभयो, तीन जनाको विशेषताको केही मूल्यांकन गर्नुभएको छ ?
– काम गर्ने शैली, बोलीचाली, व्यवहार चाहिँ समान थियो । दरबारको एउटा संस्कारले नै त्यो सिकाएको हुन्छ । ००७ सालमा राणाशासन समाप्त भएपछि राजनीतिक परिवर्तनको विकास हुनुपर्नेमा राजनीतिक किचलो अहिलेको जस्तै थियो । त्यसको फलस्वरूप महेन्द्रबाट ‘टेकओभर’ भयो । दलका नेताहरूको नाडी छामेरै त्यो कदम चालिएको थियो ।
० त्यो त त्यतिबेलाको कुरा, ०६१ मा ज्ञानेन्द्रले पनि त्यही गरे नि, जबकि उनी पढेलेखेका, दुनियाँको राजनीति बुझेका थिए, त्यसमा चाहिँ तपाईंको सुझाव के रह्यो ?
– राजा ज्ञानेन्द्रका बेला एक समय त म प्रधानमन्त्री नै भएँ । त्यसबेला निरन्तर सल्लाह दिने नै भएँ । त्यसपछि बाहिर बसेर पनि बारम्बार सल्लाह दिएकै हुँ । त्यसपछि बाहिर बसेर पनि बारम्बार सल्लाह दिएकै हुँ । ज्ञानेन्द्र राजा भएर अगाडि बढ्दा उनले आधार नै राजा महेन्द्रलाई माने । राजा महेन्द्रले जसरी एउटा व्यवस्था अन्त्य गरेर पञ्चायतलाई ३० वर्ष चलाएको कुरा नै राजा ज्ञानेन्द्रका लागि आदर्श थियो । महेन्द्रले जे गरेका थिए, त्यही ढंगको काम गर्यौं भन्ने नेपालमा म पनि केही गर्न सक्छु भन्ने ज्ञानेन्द्रलाई सोच आएको हो । तर, ज्ञानेन्द्रले नबुझेको वा बुझ्न गल्ती भएको हो भने राजा महेन्द्रले ‘टेकओभर’ गर्दाको नेपाल र विश्वपरिस्थितिमा आनका तान फरक थियो । यदि यो कुराको मूल्यांकन भएको भए शाही कदम हुँदैनथ्यो ।
० त्यही सुझाव तपाईंले दिनुभएन ?
– मैल दुई–तीनचोटि गएर भनें । यहाँ भएका जुन राजनीतिक शक्तिहरू थिए, खासगरी नेपाली कांग्ेरस र एमालेलाई सत्ता जिम्मा लगाउनु भन्ने मेरो कुरा होइन । तर, राजनीतिक सम्बन्ध चाहिँ यी दुई पार्टीसँग नराखी हुँदैनथ्यो । यी दुई पार्टीका राजनेता गिरिजाप्रसाद कोइराला र माधव नेपाललाई नियमित कहिले डिनरमा कहिले लन्चमा बोलाएर कुरा गरेर विश्वासमा लिनुपर्यो भन्ने सुझाव दिएँ । त्यसो गरेको भए त्यसको उपयोगिता नै बेग्लै हुनथ्यो । एकातिर बाहिर राज्यका विरुद्ध लडाइँ भइराखेको छ, अर्कातिर घरभित्र रहेका राजनीतिक शक्तिसँग राजसंस्थाको अनमेल हुनु राम्रो हुँदैन भन्ने कुरा मैले राजालाई बारम्बार सम्झाएँ ।
० त्यस्तो कुनै खास घटना छ ?
– सुरुमा दसैंको सरमयमा राजाबाट ‘टेकओभर’ हुँदै छ भन्ने कुरा आएपछि अष्टमीको दिन भेटको समय मागें । बिदा भनेपछि दरबार एकदम कडा थियो, ब्रह्मा आए पनि भेट्ने कुरा हुँदैनथ्यो । तर, संयोग मलाई भेट्न अष्टमीकै दिन समय दिइयो । मैले हरेक कोणबाट सम्झाएँ । मेरो अभीष्ट ‘टेकओभर’ गर्नुहुँदैन भन्ने थियो । ‘टेकओभर’ भयो भने पहिलो राजतन्त्रलाई, दोस्रो प्रजातन्त्र र तेस्रो देशलाई क्षति पुग्छ भनें । एक डेढ घन्टा नै लगाएर सम्झाएँ । राजाले धैर्य भएर सुने । अन्तिममा राजाले भने– ‘सूर्यबहादुर, मैले त्यस्तो सोचेकै छैन ।’ खुसी भएर फर्कें, ‘टेकओभर’ भएन पनि । माघ ११/१२ गते पनि यस्तै कुरा आयो । मैले प्रमाण पनि फेला पारें । राजनीतिज्ञलाई कहाँ राख्ने, के गर्ने भन्नेसम्मका तयारीका सूचना पाएँ । त्यसपछि फेरि दर्शनभेटको समय मागें । यसपटक २/३ दिनपछि मात्र समय दिइयो, म गएँ । मैले फेरि हरेक सम्भावित कोणबाट राजालाई हित हुने कुरा देखाउँदै ‘टेकओभर’ चाहिँ गर्नै हुँदैन भनेर सम्झाएँ । तर, त्यस पटक राजाले ‘सूर्यबहादुर † यसमा मलाई कोहीले सल्लाह दिएको हो, तर मैले निर्णय गरिसकेको अवस्था हैन’ भन्नुभयो । पहिलोचोटि फर्कंदा जति विश्वस्त थिएँ, त्यति यस पटक थिइनँ । माघ १९ मा ‘टेकओभर’ भइहाल्यो ।
० पछिल्लो समय ज्ञानेन्द्रसँग केही संवाद भेटघाट हुने गरेको छ ?
– अहिले छैन ।
० तपाईंसँग थुप्रै समृद्ध अनुभव छन्, तिनलाई लिपिबद्ध गर्ने र पछाडिको पुस्तालाई पढाउने कुनै योजना छैन ?
– म एकाग्र भएर लेख्ने कुरामा झर्को मान्ने मान्छे हुँ । तर, परिवारका सदस्य र अरू शुभेच्छुकले पनि घच्घच्याएपछि अहिले सुरु गरेको छु । एकसरो तयार भइसक्यो, त्यसलाई पुन: लेखन गर्न बाँकी छ । बिरामी भएपछि यो काम अलिक रोकिएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply