विज्ञहरू भन्छन्– विपत्तिलाई अवसरमा बदलौं
काठमाडौं । गत बैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि तहसनहस भएको मुलुकलाई पुनर्निर्माण गर्ने अवसरका रूपमा प्रयोग गर्नुपर्ने विज्ञहरूले सुझाएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गत आइतबार आफ्नै निवासमा आयोजना गर्नुभएको ‘अब के गर्नुपर्छ ?’ विषयक छलफलमा सहभागीहरूले विश्वका कैयौं मुलुकहरू यस्तै विपत्तिको जगमा उभिएर नयाँ रूपमा स्थापित भएको तथ्य प्रस्तुत गर्दै नेपालले पनि त्यही बाटो अनुशरण गर्नुपर्ने सुझाव दिए ।
छलफलका सहभागीहरूले उद्दार र राहत तत्कालै सकिने भए पनि पीडित नागरिकहरूको पुन:स्थापना र ध्वस्त संरचनाहरूको पुनर्निर्माण लामो समयसम्म चल्ने भएकाले त्यसमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिए । उनीहरूको भनाइ थियो– ‘तत्कालको ध्यान उद्दार र राहतमा लगाउनैपर्छ । तर, त्यो काम छिटै सकिन्छ । त्यसपछि लामो समयसम्म चल्ने काम भनेको पुन:स्थापना र पुनर्निर्माणमा हो, जसमा ध्यान दिने हो भने भोलिका दिनमा आउने सक्ने यस्तो विपत्तिबाट मुलुकलाई बचाउन सकिन्छ ।’
प्रभावित क्षेत्र र पीडित बासिन्दाहरूलाई दिनहुँ घरदैलोमा गई भेटिरहनुभएका पूर्वप्रधानमन्त्री नेपालले मुलुकलाई संकटको घडीबाट बचाउँदै भावी पुन:निर्माणको काममा जुट्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । त्यसका लागि राष्ट्रिय एकता र सरकारको प्रभावकारिता अनिवार्य शर्त भएको उहाँको भनाइ थियो ।
सरकार होइन, राज्य सक्रिय हुनुपर्छ
– डा. युवराज खतिवडा, पूर्वगभर्नर
अहिले संकटकाल घोषणा गरेको सुनिएको छ । यसका लागि पर्याप्त छलफल भयो वा भएन ? किनभने, संकटकालले समस्या सिर्जना गर्छ, सरकार अधिनायक हुन्छ । यस्तो बेलामा त नागरिकको अनुशासित र लोकतान्त्रिक सहभागिता चाहिन्छ । किनभने, यस्ता विपत्तिको सामना गर्ने सरकारले होइन, राज्यले हो । यस्तो बेलामा राज्यले बढीभन्दा बढी आफ्ना सहयोगहरूको दायरा बढाउनुपर्छ । राष्ट्रिय योजना आयोगमा स्वयम्सेवक राख्ने व्यवस्था छ । यस्तो बेलामा ५० हजार स्वयम्सेवक तयार गरेर गाउँगाउँमा पठाउनुपथ्र्यो । सहयोग गर्न युवाहरू तयार छन् । उनीहरूलाई परिचयपत्र दिने र केही पकेट खर्च दिएर उद्दार सामग्रीसहित गाउँमा पठाउनुपर्छ । उद्दारकर्ताहरूलाई फिर्ता जाऊ भनिएको छ । अहिल्यै त्यो समय आइसके जस्तो लाग्दैन । अनि राहत संकलनमा पनि संकुचन लगाउँदा विभिन्न संस्थाहरू निराश बनेका छन् । सुरक्षा फौज उद्दारमा खटेको छ । पाटनतिर इँटा उठाइरहेको देखिन्छ । अहिलेको प्राथमिकता त्यो हो कि पुरिएका बस्तीका मानिस निकाल्ने हो ?
३० हजारभन्दा बढी सहकारी छन् । हजारौं उपभोक्ता समितिहरू छन् । तिनलाई परिचालन गर्न सकिन्छ । विद्यालय अलि ढिलो बनाए पनि हुन्छ होला तर स्वास्थ्यचौकी त तत्कालै बनाइहाल्नुपर्छ ।
राष्ट्र संकटमा छ । यस्तो बेलामा सबैलाई भूमिका दिनुपर्छ । सरकारले मात्र गर्न सक्दैन । राज्यलाई बलियो बनाउनुपर्छ । सरकार र राज्य भनेका फरक कुरा हुन् । सरकारमा बस्दा हाम्रा संयन्त्रहरू बलिया छन्, किन बाहिरबाट संयन्त्र बनाउने भन्ने घमण्ड सबैमा हुन्छ । तर, संकटका बेला सरकारी संयन्त्रले मात्र काम गर्न सक्दैनन् ।
प्याकेजमा राहत वितरण गरेर हुँदैन । कतै खाद्यान्न होला, पाल र कपडाको अभाव होला । अनि कतै पाल र कपडा होलान्, खाद्यान्नको अभाव होला । कहाँ के आवश्यक छ भन्ने छुट्याउनुपर्छ अनि मात्र राहत वितरण गर्नुपर्छ ।
गाउँको जनशक्ति उपयोग
– ई. किशोर थापा, पूर्वसचिव
यसपटक हामी बढी नै डराएका छौं । तर, त्यति धेरै क्षति भएको छैन, जति हुन्छ भनिएको थियो । भौतिक क्षतिको कुरा गर्दा तीनथरी घरहरू भत्किएका छन् । पहिलो, आयु सकिएका भवनहरू । जस्तो– धरहरा, विभिन्न पुरातात्विक भवनहरू वा त्यस्तै पुराना घरहरू । दोस्रो, भवनसंहिता पालना नगरी बनाएका घरहरू । नगरपालिकाबाट एकथरी नक्सा लिने अनि बनाउँदा आफूखुसी बनाएका भवनहरूमा क्षति भएको छ । सानो जमिनमा बनाइएका ठूला घरहरू भत्किएका छन् । तेस्रो, जमिनको बनावटका कारण पनि क्षति भएको छ । घरहरू ठीकै भए पनि जमिन दलदले भएका कारण पनि क्षति भएको छ ।
अपार्टमेन्टहरू संरचनागत रूपमा ठीक छन् । तिनका बिम, पिलर र फाउन्डेसनहरू ठीक छन्, भित्ताहरू मात्रै गएका छन् । कुनै पनि अपार्टमेन्ट नढल्नुले पनि त्यो देखाउँछ ।
अब राहत र उद्दारपछि पुन:स्थापना र पुनर्निर्माणमा जानुपर्छ । त्यसका लागि हामीसँग २०४५ सालको अनुभव पनि छ । जनता आवास कार्यक्रमलाई अघि बढाउनुपर्छ ।
सरकारले प्रत्येक नागरिकको घर बनाउन सक्दैन । त्यसका लागि गाउँमा बसेको जनशक्तिलाई तालिम दिनुपर्छ । अहिले सरकारले गर्ने तीन काममा तालिम, प्रविधि र राहत हो । रेट्रोफिटिङ गरेर पनि कतिपय क्षति न्यून गर्न सकिन्छ ।
हामी बाजेको पालाका बनेका भवनहरूमा बस्दै आएका छौं । अहिले तीमध्ये केही भत्केका छन् । एक अर्थमा भन्ने हो भने यो राष्ट्र पुनर्निर्माणको मौका पनि हो । पुरातात्विक भवनहरूका नक्सा छन् । तिनलाई त्यही रूपमा बनाउनुपर्छ । भवन निर्माणका सन्दर्भमा हामीसँग राष्ट्रिय क्षमता छ, विदेश चाहिँदैनन् । गाउँका सिकर्मी, डकर्मीलाई प्रविधि सिकाएर काममा लगाउनुपर्छ ।
कम क्षतिमा धेरै शिक्षा
– सूर्यनारायण श्रेष्ठ, उपनिर्देशक, भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)
१९९० सालको भूकम्प जस्तो आएमा खत्तम हुन्छ भनिएको थियो, त्यो त होइन रहेछ नि त भन्ने गरिएको छ । कुरा त्यस्तो होइन । एउटै भूकम्पको पनि काठमाडौंमा फरकफरक कम्पन छ । गोंगबु क्षेत्रतिर बढी कम्पन छ भने ललितपुरमा कम कम्पन छ । काठमाडौं सुरक्षित छ भन्ने ठान्नु हुँदैन । अझै पनि ९० सालको जस्तो भूकम्पको सम्भावना छ । यसबाट संकट टरिसक्यो भन्ने होइन । यसमा खुसी हुनुपर्छ– कम क्षतिले हामीलाई धेरै शिक्षा दिएको छ ।
सरकारका लागि चुनौती थपिएको छ । सरकारले समयमै प्रविधि र स्रोत दिने होइन भने फेरि पनि त्यही समस्या हुनसक्छ । अब सरकारले केही गरेन भनेर मानिसहरूले पुरानै तरिकाले गाउँघरमा ढुंगा माटाको घर बनाउन थाल्छन् । फेरि उस्तै समस्या हुन्छ । ढुंगा–माटोबाट पनि भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ । त्यसका लागि प्रविधि आवश्यक हुन्छ ।
पुनर्निर्माणका लागि अलग्गै निकाय हुन आवश्यक छ । सन् २००१ मा गुजरात र २००५ मा पाकिस्तानमा भूकम्प गएपछि पाँच वर्षमा पुनर्निर्माण गरिएको थियो । अहिले पनि सरकारी तवरमा निर्णय गर्ने पुरानै तरिका छ । गृहमन्त्रीले राम्रो संयोजन गर्न सकेको देखिँदैन ।
पहिरोको खतरा ज्यादा छ
– डा. रञ्जन दाहाल, भूगर्वविद्
गोरखाको बारपाकमा पूरै बस्ती डुब्नुका पछाडि त्यो गाउँ पहिरोमा बसेका कारणले हो । लाङटाङ र घ्याम्पेसाल पनि पहिरोमा बसेका गाउँ हुन् । आगामी दिनमा कुन गाउँ पहिरोमा बसेका छन् भनेर अध्ययन हुनुपर्छ ।
अब निर्माणमा विशेष ध्यान दिनुपर्छ । गाउँमा उस्तै घर बनाउन दिने हो भने फेरि पनि विपत्ति आउँछ । २०–२५ हजार, ५० हजार र १ लाखका घरहरू कस्ता हुन्छन् भनेर इन्जिनियरले बनाउनुपर्छ । मुलुकमा ८ हजार इन्जिनियर छन्, अब तिनको काम आएको छ । जापानको अनुभवले भन्छ, हामीले घरको डिजाइन परिवर्तन गर्नुपर्छ । भूकम्प प्रतिरोधी घरहरू बनाउनुपर्छ । त्यसका लागि स्थानीय प्रविधि र स्रोत परिचालन गर्नुपर्छ ।
भूकम्पका कारण बाटोघाटो छेउमा चर्किएको हुन्छ । अब वर्षा आउन थालेको छ । सडक मार्गबाट गएर देख्न सकिन्न, अहिल्यै हेलिकोप्टर लिएर राजमार्गको छेउछाउमा कहाँकहाँ समस्या छ, हेर्नुपर्छ र बेलैमा काम थाल्नुपर्छ । अन्यथा भोलि वर्षाले झन् ठूलो विपत्ति ल्याउन सक्छ । पृथ्वी, वीपी र सिद्धार्थ राजमार्गमा विशेष ख्याल गर्नुपर्छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply