भूकम्प : निर्माणको अवसर कसरी बनाउने ?

नेपालले इतिहासबाट त्यति पाठ सिक्न सकेको देखिन्न । आज मुलुक जे जस्तो अवस्थाका बीचमा छ यसको एउटा महत्त्वपूर्ण कारण इतिहासबाट पाठ सिक्न नसक्नु पनि हो । नेपालले अतीतमा धेरै ठूला अप्ठ्याराहरू व्यहोरेको छ । यस्ता अप्ठ्याराहरूमा प्राकृतिक विपत्लगायत आर्थिक, राजनीतिक कठिनाइ पनि रहेका छन् । सयौं वर्ष लामो नेपाली इतिहासमा यस्ता दर्जनौं कठिनाइहरूलाई नेपाली समाजले खेपेको देखिन्छ तर यसबाट उचित शिक्षा ग्रहण गरेको देखिन्न । पटक–पटक ठूलठूला प्राकृतिक विपत्ति एवं आर्थिक, राजनीतिक कठिनाइहरूको सामना गर्नु तर त्यसबाट उचित शिक्षा ग्रहण गरेर अगाडि बढ्न नसक्नु कतै नेपालको विशेषता नै बनिसकेको त होइन भन्ने अनुभूति इतिहासलाई फर्केर हेर्दा हुन्छ । चिन्तकहरूले जुन जातिले, जुन देशले इतिहासबाट शिक्षा लिन, अनुभवबाट सिक्न सक्तैन त्यसको उन्नति पनि हुँदैन भनेर भनेका छन् । नेपालका सन्दर्भमा यो कुरा धेरै हदसम्म मेल खान्छ ।
नेपाल भूकम्पको जोखिममा छ भन्ने थाहा भएकै विषय थियो । यस विषयमा प्रशस्त अध्ययन अनुसन्धानहरू पनि भएका थिए । नेपालले कुनै पनि बेला ठूलो भूकम्पको सामना गर्नुपर्ने हुनसक्छ र यसको सामना गर्न आवश्यक पूर्व तयारी पनि पहिल्यैदेखि भनिँदै आइएको थियो । वर्षौं पहिलेदेखि यस्तो आइए पनि न त राज्यले यस विषयमा खास केही गरेको देखियो न त समाज नै गम्भीर बनेको पाइयो । भूकम्प आएपछिको अवस्थाले यस यथार्थलाई राम्रैसँग देखाउने कार्य गर्यो । यो भन्दा अझ उदेक र दु:खलाग्दो विषय पटक–पटक विनाशकारी भूकम्पको अनुभव सँगालेको नेपालले भूकम्पबाट हुनसक्ने विनाशबाट बच्ने गरी नेपालको भौतिक विकासलाई अघि बढाउन नसक्नु हो । वस्ती, सहर, बाटा, विद्यालय, क्याम्पस, अस्पताल आदि र्निाणका स्पष्ट नीति, योजना, कार्यक्रम, ऐन, नियमहरू राज्यले समयमै निर्माण र लागू गर्नै सकेन । नेपालको भौगर्भिक अवस्था, भूकम्पको सम्भावित जोखिम, बाढी र पहिरोबाट पुग्न सक्ने गम्भीर मानवीय एवं भौतिक क्षति आदिलाई दृष्टिगत गरेर राज्यले पुग्नसक्ने गम्भीर मानवीय एवं नीति बनाएर अघि बढ्न सक्नुपर्यो र समाजलाई पनि त्यसैअनुरूप डोर्याउन सक्नुपथ्र्यो तर त्यसो हुनसकेन । राज्यमा अदूरदर्शिता, अकर्मण्यता, उत्तरदायित्वविहीनता मात्रै देखिएन डरलाग्दो तदर्थवाद पनि देखियो । भ्रष्टाचारले माथिदेखि तलसम्म डरलाग्दो गरी आक्रान्त राज्यले पछिसम्म सोचेर जवाफदेहितासहित अगाडि बढ्नै सकेन । आज भूकम्पका साथसाथै आफ्नै कमजोरीका कारण निर्मित कतिपय गम्भीर समस्याहरू खप्न नेपाली समाज विवश बनेको छ ।
१९९० को भूकम्पपछिका असी वर्षमा भूकम्पको सम्भावित भयानक क्षतिबाट जोगिने गरी धेरै कार्य गर्न सकिन्थ्यो । त्यो महाभूकम्प थियो र त्यसको क्षति पनि भयानक थियो । त्यो बिर्सनै नसकिने त्रासदी थियो । आज पनि त्यस भयानक त्रासदीको स्मृतिलाई सँगालेर बाँचेका कैयौं मानिस जीवित छन् । तर, त्यो भयानक त्रासदी कहिल्यै गतिलो पाठ बन्न सकेन । स्मृतिबाट त्यो बिस्तारै–बिस्तारै हराउँदै गयो । वस्तीहरू आफ्नै ढंगले बस्दै गए, सहरहरू आफ्नै ढंगले अग्लिन थाले, विद्यालय, विश्वविद्यालय, अस्पताल आफ्नै ढंगले बन्न थाले । गतिलो नीति, योजना, ऐनकानुनहरू बन्नै सकेनन् । बनेका नीति नियमहरूलाई पनि धोती लगाइयो । भ्रष्टाचार सबै ठाउँमा मौलायो । एकताको नक्सा पास गरेर पाूचतले भवन बने । डेढ आना, दुई आना जग्गामा सात आठ तले भवन ठडिए । पैसाले सबैको मुख बन्द गर्यो । माथिल्लोदेखि तल्लो कुर्सीमा बस्ने सबैजसो यसको सिकार भए । आवश्यकता नेपाली समाजको भौतिक विकासको सुस्पष्ट नीति, योजना, तदनुकूलका नियमकानुन तथा विज्ञहरूको निर्माण मात्र थिएन नेपाली समाजको सामाजिक–सांस्कृतिक रूपान्तरणको पनि थियो । नयाँ चेतना, नयाँ मूल्य ग्रहण गरेको नेपाली समाजले नै भौतिक विकासको प्रक्रियालाई ठीक ढंगले अघि बढाउन गहकिलो योगदान दिन सकिन्थ्यो । प्राकृतिक विपत्बाट पाठ सिकेर न त भौतिक विकासको प्रक्रियालाई नै यस अवधिमा अघि बढाउन सकियो न त नयाँ चेतना र मूल्यको निर्माण गर्न नै सकियो । स्थिति घुमिफिरी रुम्जाटार नै रह्यो । यस अवधिमा कामभन्दा गफ धेरै भए । आजको कन्तविजोगले यसलाई राम्रैसूग प्रमाणित गरेको छ ।
इतिहासबाट पाठ सिक्न नेपालले के यस महाविपत्तिबाट पाठ सिक्न सक्छ ? के यो महाविपत्ति नेपालको कायापलट गर्ने अवसर सावित हुनसक्छ ? के आउँदा दिनहरूमा नेपाली जनताले बद्लिएको राज्य, नेतृत्व र तिनको रचनात्मक सामथ्र्यलाई अनुभव गर्न पाउनेछन् ? के नेपाल अब प्राकृतिक विपत्हरूसँग आफ्नै सामथ्र्यले जुझ्न सक्ने गरी अगाडि बढ्न सक्नेछ ? आदि जस्ता दर्जनौं प्रश्नहरू हाम्रा अगाडि छन् । प्राकृतिक विपत्हरूबाट पाठ सिकेर नेपालको कायापलट गर्ने गरी अगाडि बढ्नुपर्छ भन्ने विचार चारैतिरबाट व्यक्त भइरहेको बेला माथि गरिए जस्ता प्रश्नहरू अझ महत्त्वपूर्ण बन्छन् । प्राकृतिक विपत्तिबाट पाठ सिक्ने कुरा मूलत: नेपालको राजनीतिक नेतृत्वसँग जोडिएको छ । राज्यको सञ्चालन मूलत: राजनीतिक नेतृत्वले नै गर्दछ । राजनीतिक दलहरूले नै राज्य चलाउँछन् र त्यसलाई दिशा प्रदान गर्दछन् । मुलुकको समग्र विकासलाई कस्तो दिशा प्रदान गर्ने भन्ने विषय राज्यको नेतृत्व गर्नेहरूसँगै जोडिएको विषय हो । राज्यको नेतृत्व गर्ने राजनीतिक शक्तिहरू आफ्ना कमजोरीहरूप्रति गम्भीर नबनीकन यस त्रासदीबाट पाठ सिकेर अगाडि बढ्न असम्भव छ । ब्युरोक्रेसीलाई कस्तो बनाउने, सेना प्रहरीको सामथ्र्यको विकास कसरी गर्ने, कस्तो बौद्धिक समुदायको निर्माण गर्ने, कस्तो शैक्षिक जनशक्ति उत्पादन गर्ने, हाम्रो शिक्षा, संस्कृति कस्तो हुनुपर्ने, हामीले विकासको कुन मोडेललाई अपनाउने, सबै किसिमको भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना कसरी गर्ने, मुलुकलाई नयाँ दिशा कसरी दिने आदि जस्ता प्रश्नहरू मूलत: राज्यको नेतृत्व गर्नेहरूसँग सम्बन्धित प्रश्नहरू हुन् । आज राज्यको नेतृत्व गर्नेहरूमा जुन समस्या देखिन्छ त्यसबाट मुक्त नभई आजको अवस्थालाई अवसरका रूपमा प्रयोग गर्न सकिन्न ।
राजनीतिक अस्थिरता, लामो संक्रमणकाल, व्याप्त भ्रष्टाचार, सुशासनको अभाव, राजनीतिक द्वन्द्व, मुलुकको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक एवं शैक्षिक नीतिहरूमा रहेका गम्भीर त्रुटिहरू, राज्य चलाउनेहरूमा रहेका डरलाग्दा कमजोरीहरू आदिका कारण मुलुक दयनीय अवस्थाका बीचबाट गुजँ्रदै थियो । लाखौं युवाको विदेश पलायन, बढ्दो गरिवी र सीमित मान्छेहरूको हातमा केन्द्रित हूँदै गरेको पुँजीले हाम्रो समाजको टिठलाग्दो अवस्थालाई दर्साइरहेको बेला भूकम्पले त्यसलाई बढाउने कार्य गरेको छ । यस भूकम्पबाट सबैभन्दा ठूलो क्षति ग्रामीण जनता र तिनमा पनि विपन्न ग्रामीण जनताले उठाउनुपरेको छ । यो अवस्थाबाट मुक्त हुन अल्पकालीन एवं दीर्घकालीन दुवै नीतिहरू आवश्यक छ । पीडितहरूलाई राहत बाँडेर, घर बनाउन ऋण दिएर वा घर बनाइदिएर मात्र समस्या समाधान हुनेछैन । यसलाई समृद्ध र विकसित नेपाल निर्माणका नीति तथा योजनाहरूसँगै जोड्न सक्नुपर्दछ । समृद्ध र विकसित नेपाल निर्माणका यस्ता नीतिहरूको निर्माण नवउदारवादी सोचाइ एवं नीतिहरूबाट अलग रहेर गर्नसक्नुपर्दछ । अबको भौतिक एवं सामाजिक–सांस्कृतिक रूपान्तरण र विकासलाई आम जनताका व्यापक हितहरूसँग गाँसेर अगाडि
बढाउन सक्नुपर्दछ ।
यस विपत्तिबाट पाठ नसिक्ने हो भने नेपाल आउँदा दिनमा अझ ओरालो लाग्नेछ । नेपाललाई दरिद्र मुलुकहरूको अघिल्लो पंक्तिमा जानबाट कसैले रोक्न सक्नेछैन । प्राकृतिक विपत्का पीडाहरू आउँदा दिनहरूमा पनि खप्नुपर्नेछ । तर यस्ता प्राकृतिक विपत्का पीडाहरूभन्दा राज्यका कमजोरीबाट जन्मिएका पीडाहरू धेरै डरलाग्दा हुन्छन् । कतिपय अफ्रिकी मुलुकहरूबाट यससम्बन्धी राम्रो शिक्षा लिन सकिन्छ । राज्यले उपयुक्त नीति नियमअनुरूप मुलुकको भौतिक विकासको प्रक्रियालाई अघि बढाउँदा प्राकृतिक विपत्बाट हुने क्षतिहरूलाई धेरै न्यूनीकरण गर्न सकिन्छ । जापान जस्ता देशहरू यसका उत्कृष्ट दृष्टान्त हुन् । तर यसका निम्ति मुलुकको समग्र विकासका उपयुक्त नीतिहरू, उच्च संकल्प शक्ति, इमानदारिता, पारदर्शीता, गतिशीलता, कार्यकुशलता, जनताको सहयोग र आर्थिक आधार चाहिन्छ । आफ्ना वैयक्तिक, पारिवारिक र समूहगत स्वार्थहरूबाट माथि उठ्न नसक्ने राजनीतिक नेतृत्व र शासकहरूबाट यो कार्य सम्भव देखिँदैन । आजको पहिलो आवश्यकता राज्य चलाउनेहरूले आफ्ना कमजोरीहरूको मूल्यांकन गर्नु र त्यसलाई सच्याएर आफूलाई अगाडि बढाउनु हो ।
अहिले हाम्रो ध्यान भूकम्पबाट क्षति प्रभावित जिल्लाहरूमा राहत वितरण र अल्पकालीन पुन:निर्माणसूग जोडिएको छ र यो आवश्यक छ तर यस सँगसँगै हामीले पुन:निर्माण एवं समग्र मुलुकको भौतिक विकासका निम्ति नयाँ नीतिहरूको निर्माण गर्नु आवश्यक छ । यसका निम्ति विगतका नीतिगतका साथसाथै समग्र कमजोरीहरूको समीक्षा गर्न आवश्यक छ । तल्लो तहका जनतालाई ध्यानमा राख्दै समीक्षा र नयाँ नीति निर्माणको प्रक्रियालाई अघि बढाउन सक्नुपर्दछ । नीतिगत भ्रष्टाचारका विरुद्ध राज्य कडारूपमा प्रस्तुत हुन सक्नुपर्दछ । यसका निम्ति राजनीतिक शक्तिहरूका बीचमा समन्वय, समझदारी र एकताको आवश्यकता छ । राजनीतिक शीक्तहरूले मुलुक निर्माणको न्यूनतम साझा अवधारणाको निर्माण गर्न जरुरी छ । राजनीतिक दलहरूका बीचमा हुने समझदारी, समन्वय र एकताले सिंगो नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पुग्नेछ । आज नेपाली समाजमा जुन संवेदना सहयोग र एकताको भावना देखिएको छ, यसलाई पुँजीकृत गर्ने दिशामा गम्भीरतापूर्वक लाग्न आवश्यक छ । नव नेपाल निर्माणका निम्ति यसप्रकारको भावनाको धेरै ठूलो महत्त्व छ । यस भावनालाई महान् ऊर्जामा बदल्न सकिन्छ । पटकपटकको भूकम्प र आणविक बमबाट ध्वस्त जापानीहरूमा पीडा र त्यस पीडाबाट जन्मिएको भाइचाराको भावना अभूतपूर्व एकताको माध्यममात्र बनेको थिएन, त्यो महान् ऊर्जामा रूपान्तरित पनि भएको थियो । जापानलाई जापान बनाउन यसले निकै ठूलो भूमिका सम्पादन गरेको छ ।
नेपालले राजनीतिक संक्रमणकाललाई छोट्याउन आवश्यक छ । यस विपत्लाई अवसरका रूपमा प्रयोग गर्न यो अपरिहार्य छ । राजनीतिक संक्रमणको अन्त्यले राजनीतिक स्थिरता आउनेछ । छिटोभन्दा छिटो स्थानीय निर्वाचन सम्पन्न गर्न आवश्यक छ । यस प्राकृतिक विपत्को सामनाका साथसाथै मुलुकलाई अघिल्तिर डोर्याउन राष्ट्रिय सरकारको गठन यतिबेलाको आवश्यकता हो । यो प्राकृतिक विपत्को सामना, नयाँ निर्माण, नयाँ संविधान, स्थानीय निर्वाचन र संक्रमणकालको अन्त्यलाई ध्यानमा राखेर गरिनुपर्दछ । यसले नयाँ गतिलाई जन्म दिनेछ । मुलुकलाई नयाँ दिशा प्रदान गर्न यो जरुरी देखिन्छ । यसै पनि नेपालको आन्तरिक मामिलामा बाहिरको चासो धेरै रहँदै आएको पाइन्छ । भूकम्पपछि यसलाई अझ बढी अनुभव गरियो । सहयोगको नाममा बाह्य शक्तिहरू कसरी हावी हूँदा रहेछन् र ती के–के गर्न खोज्दा रहेछन् भन्ने कुरा धेरथोर यस विपत्मा पनि देखियो । राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै साझा सहमतिका आधारमा मुलुक निर्माणका नीति र योजनाहरू तयार गर्न सकिएन र त्यसपछि एकताबद्ध ढंगले कार्यान्वयन गर्न सकिएन भने बाह्य शक्ति नेपालमा अझ बढी निर्णायक हुनेछ र यो हाम्रा थप पीडादायी बन्नेछ । कमजोर सरकार र राज्य संयन्त्र, राजनीतिक अस्थिरता र अकर्मयताले अरूलाई नै फाइदा पुर्याउँछ । आजको खाँचो बलियो सरकार हो र यो भनेको राष्ट्रिय सरकार हो र यो भनेको राष्ट्रिय सरकार नै हो ।
निश्चय नै हामी कठिन घडीमा छौं । हाम्रा अगाडि ठूला चुनौती छन् । वर्षामा हुने बाढी पहिरोले हाम्रो कठिनाइलाई थप बढाउनेछ तर हामीले यसको सामना पनि गर्नेछौं । तर हिजोको जस्तो तरिकाले आउँदा दिनहरूमा चल्ने छैन । हामी सबैले आफूलाई बदल्नुपर्नेछ । सबैभन्दा राज्य राजनीतिक शक्तिहरूले आफूलाई बदल्नुपर्नेछ र मुलुकलाई नयाँ दिशा दिनुपर्नेछ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply