औजार बोकेर १० हजार कार्यकर्ता निर्माणमा

काठमाडौं । नेकपा (एमाले)ले भूकम्प प्रभावित जिल्लामा राहत तथा पुन:स्थापन अभियान लिएर जाने कार्यकर्ताको आइतबार भृकुटीमपबाट बिदाइ गरेको छ । उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले हेल्मेट र औजार बक्स दिएर बिदाई गरेका हुन् ।
यो अभियानअन्तर्गत एमालेले भूकम्प प्रभावित १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा कार्यकर्ता परिचालन गरेको छ । जसमध्ये हिजो काठमाडौबाट १० जिल्लाका ३३ निर्वाचन क्षेत्रमा खटिने कार्यकर्ताको बिदाइ गरिएको हो । उनीहरूले प्रत्येक जिल्लामा स्थानीय पार्टी कमिटी का साथै जिल्ला प्रशासन कार्यलयसँग समन्वय गरेर पुन:स्थापनको काम गर्ने बताइएको छ । हिजो काठमाडौका, भक्तपुर, ललितपुर, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, रामेछाप र दोलखा गरी ११ जिल्लाका ३३ निर्वाचन क्षेत्रमा प्रत्येक निर्वाचन क्षेत्रका २ सयका दरले परिचालित कार्यकर्ताको बिदाइ गरिएको हो ।
बाँकी ६ जिल्लाका १८ निर्वाचन क्षेत्रमा खटिने टोलीमध्ये ओखलढुंगा र सोलुखुम्बु जाने टोलीको लहानबाट, सिन्धुलीको सिन्धुलीबाटै गोरखा र लमजुङमा खटिने टोलीको पोखराबाट र मकवानपुर र चितवन खटिने टोलीको हेटौंडाबाट बिदाइ गरिएको छ । टोलीले प्रभावित गाउँमा मंगलबारदेखि असार १० गते सम्म १ महिना काम गर्ने बताइएको छ । उनीहरूको प्रत्येक दिन बिहान ८ बजे काम सुरु हुनु अघि र साँझ ६ बजे काम सकिएपछि हाजिरी गरिने र अन्तिममा कार्यसम्पादन मूल्यांकनका आधारमा पार्टीका तर्फबाट प्रमाणपत्र दिइने एमालेले जनाएको छ ।
एमाले कर्मी मौरीजस्तो पार्टी : ओली
अभियानमा जाने कार्यकर्तालाई बिदाइ गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मह मात्र खाने कामचोर मौरी जस्तो नभई कर्मी मौरी भएको बताएका छन् । एकमहिने राहत तथा पुन:स्थापना अभियान लिएर भूकम्प प्रभावित जिल्ला जान लागेका कार्यकर्तालाई आइतबार भृकुटीमण्डपबाट बिदाइ गर्दै ओलीले जनताकोमा मेजमान खान नभई सेवा गर्न जान लागेकाले बसुन्जेल जनतासँग मीठो बोली बोल्न पनि निर्देशन दिए ।
कार्यकर्तालाई निर्देशनात्मक सम्बोधन गर्दै ओलीले भने– ‘जनताको माझमा गएर काम गर्दा एमालेको शाख गिर्ने काम नगर्नुस्, भोक लाग्न सक्छ, थकाई लाग्न सक्छ तर जे–जस्तो अवस्थामा भए पनि जनतासँग बोल्दा रुखो नबोल्नुस्, मृदभाषी बन्नुस् । एक महिना काम गरेर फर्कदा जनताले आफ्नो छोरा–नाती बिदा गरेजस्तो महसुस गरेर आँसु झारुन् ।’
१२ मिनेट लामो सम्बोधनका क्रममा ओलीले काम गर्दा सबैभन्दा पहिला आफ्नो स्वास्थको ख्याल गर्न पनि कार्यकर्तालाई आग्रह गरे । ओलीले भने– ‘यो गर्मीमा पसिना त काम नगर्दा पनि आउँछ, पसिना मात्र होइन हातमा ठेला उठ्ने गरी काम गर्नुस् तर त्यसो भन्दैमा आफ्नो स्वास्थ्यको ख्याल नै नगर्ने पनि नगर्नु ।’
कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले विपद्को बेला सबै नेपाली एक आपसमा मिलेर यो अभियानमा लाग्नुपर्ने बताए । उनले भने– ‘यतिबेला पुन:स्थापनका लागि पहाडमा बाँसको जरुरी छ, तराईको बाँस पहाडका भूकम्पपीडितको पुन:स्थापनका लागि लैजानुपर्छ ।
१० हजार कार्यकर्ता परिचालित
एमालेले भूकम्पपीडितको राहत र पुन:स्थापनाका लागि १० हजार कार्यकर्ता परिचालित गरेको जनाएको छ । १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा खटिने ती टोलीका प्रति निर्वाचन क्षेत्र २ सय कार्यकर्ता रहने जनाइएको छ । त्यसमध्ये पनि १ सय जना सम्बन्धित निर्वाचन क्षेत्रकै र १ सय जना भूकम्पको प्रभाव नपरेका जिल्ला तथा पार्टीका विभिन्न जनवर्गीय संगठनबाट परिचालित हुने एमाले केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । प्रत्येक टोलीमा कम्तीमा एक जना इन्जिनियर वा ओभरसियर तथा स्वास्थ्यकर्मी पनि समावेश गरिएको एमालेले जनाएको छ ।
कहाँ, कसको नेतृत्व ?
हिजो बिदाइ गरिएका ३३ वटै टोलीको नेतृत्वको जिम्मा केन्द्रीय नेतालाई दिइएको छ । जसमा, काठमाडौं निर्वाचन क्षेत्र नं १ मा सावित्रा भुसाल, क्षेत्र नं २ मा रूपनारायण श्रेष्ठ, क्षेत्र नं ३ मा टंक कार्की, क्षेत्र नं ४ मा राजन भट्टराई, क्षेत्र नं ५ मा खगेन्द्र राई, क्षेत्र नं ६ मा राजेन्द्र राई, क्षेत्र नं ७ मा प्रकाश ज्वाला, क्षेत्र नं ८ मा जीवनराम श्रेष्ठ, क्षेत्र नं ९ मा विजय पौडेल, क्षेत्र नं १० मा सुरेन्द्र मानन्धर, भक्तपुर क्षेत्र नं १ मा सोम मिश्र, क्षेत्र नं २ मा परशुमेघी गुरुङ, ललितपुर क्षेत्र नं १ मा सुशीला नेपाल, क्षेत्र नं २ मा माधव पौडेल, क्षेत्र नं ३ मा रघुजी पन्त, सिन्धुपाल्चोक क्षेत्र नं १ मा अरुण नेपाल, क्षेत्र नं २ मा श्रीप्रसाद शाह, क्षेत्र नं ३ मा शेरबहादुर तामाङ, काभ्रे क्षेत्र नं १ मा ईश्वरी रिजाल, क्षेत्र नं २ मा भगवती चौधरी, क्षेत्र नं ३ मा शत्रुघ्न महतो, क्षेत्र नं ४ मा शिवबहादुर देउजा, नुवाकोट क्षेत्र नं १ मा श्याम बस्नेत, क्षेत्र नं २ मा खिमलाल भट्टराई, क्षेत्र नं ३ मा खेम लोहनीलाई टोली प्रमुखका रूपमा खटाएको छ । त्यसैगरी, धादिङ क्षेत्र नं १ मा मीनराज कँडेल, क्षेत्र नं २ मा गंगालाल तुलाधर, क्षेत्र नं ३ मा राजेन्द्रप्रसाद पाण्डे, रसुवामा माधव अर्याल, रामेछाप क्षेत्र नं १ मा देवशंकर पौडेल, क्षेत्र नं २ मा माधव ढुंगेल, दोलखा क्षेत्र नं १ मा पार्वत गुरुङ र क्षेत्र नं २ मा शिव भण्डारीलाई टोली नेता बनाएर खटाइएको छ ।
अनुगमनको जिम्मा स्थायी समिति सदस्यलाई
टोलीले १ महिनामा गरेको कामको अनुगमन गर्ने जिम्मा स्थायी समितिका सदस्यहरूलाई दिएको छ । काठमाडौमा अध्यक्ष ओली र प्रचार विभाग प्रमुख भट्टराई, भक्तपुरमा वरिष्ठ नेता झलनाथ खनाल, सिन्धुपाल्चोकमा वरिष्ठ नेता नेपाल, शंकर पोखरेल र अमृतकुमार बोहरा, नुवाकोटमा युवराज ज्ञवाली, धादिङमा अष्टलक्ष्मी शाक्य, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेल, रसुवामा भीम रावल, ललितपुरमा विष्णु पौडेल, रामेछापमा घनश्याम भुसाल, गोरखामा प्रदीप ज्ञवाली, सोलुखुम्बुमा पृथ्वीसुब्बा गुरुङ, लमजुङमा भीम आचार्य, सिन्धुलीमा मुकुन्द न्यौपाने, मकवानपुरमा सुरेन्द्र पाण्डे, चितवनमा छविलाल विश्वकर्मा, दोलखामा किरण गुरुङ र ओखलढुंगामा सोमनाथ प्यासी अधिकारीलाई अनुगमनको जिम्मा दिइएको छ ।
५० हजार घर बनाउने
यो अभियानअन्तर्गत एक महिनाको अवधिमा १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा ५० हजार घर निर्माण गर्ने लक्ष्य राखिएको प्रचार विभाग प्रमुख भट्टराईले बताए । उनले भने– ‘हामीले अहिल्यै यति नै संख्यामा घर निर्माण गर्ने भनेर किटान नै गरेका त छैनौं तर ५० हजार घर बनाउने लक्ष्य छ ।’ घर निमाणर््ा गर्दा स्थानीय पार्टी कमिटी र जिल्ला प्रशासन कार्यलयसँग समन्वय गरेर एक निर्वाचन क्षेत्रमा कम्तीमा एउटा गाउँ छनोट गर्ने र त्यो गाउँमा ध्वस्त भएका सबै घर निर्माण गरिने पनि उनले बताए । पुन:स्थापनाको प्राथमिकतामा सबैभन्दा पहिले विद्यालयलाई राखिने र नीजि घर बनाउँदा भने पहिला विपन्न, त्यसपछि घरमा युवा नभएका अशक्त र त्यसपछि दलीत समुदायलाई राखिने पनि भट्टराईले बताए । भूकम्प प्रभावित व्यक्ति कुन राजनीति दलसँग निकट छ भन्ने कुरा मतलब नराखी छनोट गरिएका गाउँका ध्वस्त सबै घर बनाइदिने उनले प्रस्ट पारे ।
टोलीको साथमा के–के ?
अभियानमा खटिएको टोलीले आफ्नो साथमा स्वास्थ र निमार्णसँग सम्बन्धित सामग्रीका साथै आवश्यक सबै बन्दोबस्तीका सामान सँगै लगेको अभियानका संयोजक एवं पार्टीको मोर्चा प्रमुख गोकर्ण विष्टले बताए । टोलीमा जाने हरेक दुई जनालाई एउटाका दरले मेट्रेस, किला–काँटा र ह्याम्मरसहितको निमार्ण सामग्री, हरेक १० जना बराबर एउटा त्रिपाल, दिनमा चार जनालाई १ केजीका दरले आवश्यक चामलका साथै सोही अनुपातमा दाल, नुन, चिनी, आलु, बेसार, प्याज, चिया, साबुन र एउटा टिमलाई एउटा सोलार टर्च लाइट दिएर पठाएको अभियानका सचिवालय सदस्य ठाकुर गैरेले बताए ।
घर निर्माण गर्दा राष्ट्रिय योजना आयोग र पुल्चोक इन्जिनियरिङ कलेजले अगाडि सारेको मोडललाई आधार मान्ने र कतिपय स्थानमा स्थानीय मोडलकै भूकम्प प्रतिरोधी घर निर्माण गरिने प्रचार विभाग प्रमुख भट्टराईले बताए । निर्माणमा प्रयोग गरिने जस्तापाताबाहेकको कच्चापदार्थ स्थानीय तहबाटै र जस्तापाता भने सरकारले जस्तापाताकै लागि दिएको राहत रकमबाट सम्बन्धित व्यक्तिले उपलब्ध गराउने पनि भट्टराईले बताए ।
अभियान गीत
कार्यकर्ता र स्थानीय जनतालाई पनि पुन:स्थापनाको काममा ऊर्जा प्रदान गर्नका लागि भन्दै एमालेले अभियान गीत पनि तोकेको छ । श्याम तमोटले रचना गरेको र रामेशलगायतको स्वर रहेको ‘गाउँ–गाउँबाट उठ….’ गीतलाई अभियान गीतका रूपमा अभियान अवधिभर घन्काएर काम गर्ने पनि एमालेले जनाएको छ । त्यसबाहेक ‘श्रम गर्दा कुनै हातमा चोट लाग्न सक्छ, श्रमदेखि डराएर कोही भाग्न सक्छन्’ बोलको गीत पनि अभियानका क्रममा बजाइने जनाइएको छ ।
मादक पदार्थ सेवनमा कडाइ
अभियानमा खटिने स्वयंसेवकहरूका लागि एमालेले ११ बुँदे आचारसंहिता तोकेको छ । जसमा उनीहरूले आफ्नो सम्पूर्ण खर्चको व्यवस्थापन आफै गर्ने, स्थानीय समुदायलाई आर्थिक बोझा पार्न नहुने, जनताको इच्छा या भावना विपरीत आफ्नो योजना लाद्ने काम नगर्ने, भत्किएका संरचना हटाउने क्रममा भेटिएका प्रत्येक बस्तु सम्बन्धित व्यक्तिलाई बुझाइदिने, मादक पदार्थ सेवन नगर्ने, जनतालाई अस्वाभाविक महसुस हुने गरी आफ्नो भड्किलोपन नदेखाउने, नैतिक र आर्थिक आचरणको कडाइका साथ पालना गर्ने, जनताको अहित हुने र पार्टीको प्रतिष्ठामा आँच पुर्याउने कुनै पनि काम नगर्नेलगायतका सीमा तोकिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply