आफ्नै प्रशंसामा मग्न
अझै पनि तराईका मानिसहरू सहज रूपमा काठमाडौंको हावापानी, वातावरण र माहोलमा भिज्न सक्दैनन् । तराई–मधेसका मानिसहरूका निम्ति काठमाडौं उपयुक्त थलो होइन । झन् आजभन्दा आधा शताब्दीअघि त तराईको सीमान्त गाउँमा जन्मिएका कुनै व्यक्तिले काठमाडौंको परिवेशमा भिज्न कति कष्ट उठाउनु पर्यो होला, उसले संघर्षका कस्ता–कस्ता आयामहरू छिचोल्नुपर्यो होला ? बीसको दशकमा नै सर्लाहीको एउटा ग्रामीण बस्तीबाट काठमाडौं आएर संघर्षका अनेक गल्छेडाहरू छिचोल्दै सरकारी र प्राज्ञिक क्षेत्रमा विशिष्ट तहमा पुगेका डा.रामदयाल राकेशले आफ्नो जीवनवृत्तलाई ‘अन्तर्रात्माको ध्वनि’मा उतारेका छन् । आत्मकथा भनिएको उक्त कृतिमा डा.राकेशले बाल्यकालीन दिनहरूदेखि प्राज्ञिक र प्रशासनिक सेवामा पुर्याएका योगदान र त्यस क्रममा आफँलाई सहयोग गर्ने व्यक्ति र दु:ख दिने व्यक्तिहरूका चरित्र उतार्न समेत हिच्किचाएका छैनन् ।
अचेल पनि तराईको पिछडिएको समाजमा बालविवाह कायम नै छ । झन् पचास–साठी वर्षअघि त कस्तो थियो होला, तराईको समाज ? त्यही समाजमा जन्मिएका राकेशले बालविवाह स्वीकार्नु पर्यो । आफ्नो असहमति हुँदाहुँदै पनि बालविवाहको चंगुलमा परेका उनले विरोधस्वरुप ससुराली पक्षको आतिथ्यलाई उपेक्षा गर्नुका साथै पत्नीसँग तीन वर्षसम्म कुनै सम्भोग नै नगरेको पक्षलाई उल्लेख गरेका छन् । बाल्यकालमै बिहे गरेका उनले धेरै समयपछि काठमाडौं आएर पद्मकन्या क्याम्पसमा प्राध्यापन गर्दा काठमाडौंमै नेपाली मुलकी केटीसँग विवाह गर्न सक्थे । तर, आफँ पारिवारिक उत्तरदायित्वप्रति धेरै सजग रहेको हुँदा नेपाली मुलकी केटीसँग विवाह नगरेको पक्षलाई उनले उल्लेख गरेका छन्– ‘म आफ्नो दाम्पत्य जीवनसँग पँर्ण रूपमा सन्तुष्ट थिएँ । मेरा कतिपय मधेसी प्राध्यापक साथीहरूले आफ्ना पँर्वपत्नीहरूलाई परित्याग गरेर नयाँ विवाह गरिसकेका थिए । गोरो छाला भएकी छैल छविलीसँग उनीहरूको नयाँ सम्बन्ध स्थापित भइसकेको थियो र मेरो अगाडि यी उदाहरणहरू थिए । तर पनि मलाई कहिल्यै पनि अर्को बिहे गर्ने विचार आएन ।’
जीवनका प्रारम्भिक दिनहरूमा नै प्राध्यापक हुने इच्छा राखे पनि प्राध्यापक हुन नसकेका राकेशले तीसको दशकमा जनकपुरमा घटित एउटा प्रसंगलाई अत्यन्तै रोचक ढंगले उल्लेख गरेका छन् । राष्ट्रिय विकास सेवाको टोली नेता भएर जनकपुर जाँदा उनी जुन गेस्ट हाउसमा बसेका थिए, त्यही गेस्ट हाउसमा तत्कालीन अञ्चलाधीश लीलाराज विष्ट पनि दलबलसहित आएर बसेका थिए । अञ्चलाधीश विष्टका लागि जुन होटलबाट स्वादिष्ट भोजन ल्याइएको थियो, होटलका मानिसले झुक्किएर विष्टका लागि ल्याइएको खाना उनको कोठामा आइपुग्यो । राकेशले पनि के सोचे भने, यो खाना मलाई नै ल्याइदिइएको हो । तर, जब उनले खाना खाए, गेस्ट हाउसमा होहल्ला मच्चियो । ‘अञ्चलाधीशको खाना अर्कै व्यक्तिले खाए’ यस्तै हल्ला फैलियो । र, अञ्चलाधीशका आसेपासेहरूले उनलाई केरकार गरे र भोलिपल्ट होटलवालाले उनीसँग रकम असुले पनि । तर, पछि उनै अञ्चलाधीश विष्टले चितवनस्थित आफ्नो घरमा आफँलाई आतिथ्य प्रदान गर्नुका साथै मीठो भोजन र विदेशी रक्सी खुवाएको प्रसंगलाई पनि उनले उल्लेख गरेका छन् ।
तीस वर्षसम्म प्राध्यापन पेसामा आबद्ध राकेश पछिल्लो समयमा भने प्राध्यापन पेसा छाडेर निर्वाचन आयोगको सहसचिवका रूपमा कार्यरत रहे । तत्कालीन प्रमुख निर्वाचन आयुक्त विष्णुप्रताप शाहले आफूमाथि गरेका ज्यादति र आयोगमा हुँदा गरेका ब्रम्हलुटबारे पनि उनले लेखेका छन्– ‘विष्णुप्रताप शाह धेरै घमण्डी र तानाशाह खालको प्रशासक थिए र साथसाथै लोभी पनि । उनको एउटा सञ्जाल आयोगमा थियो तलदेखि माथिसम्म र त्यो आर्थिक लाभको लेखाजोखा गर्दथे । एक जना अधिकृत कमिसनका लागि खटाइएको थियो । उनले एउटा निर्वाचनबाट एउटा बंगला र एउटा कार जोडे र उनका आसेपासेहरू पनि आर्थिक रूपमा विशेष लाभान्वित भए ।’ आयोगमा कार्यरत हुँदा आफँलाई विदेश भ्रमण, भत्ताजस्ता पक्षहरूबाट पँरै वञ्चित तुल्याइएको गुनासाहरू पनि उनले पुस्तकमा उल्लेख गरेका छन् ।
पद्मकन्या क्याम्पसमा सुरुमा अवैतनिक र पछि स्थायी रूपमै जागिर दिलाइदिने प्राचार्य अंगुरबाबा जोशीप्रति उनी निकै नै नतमस्तक बन्न पुगेका छन् । सिंगो पुस्तकभरि कम्तीमा पनि पाँच/सात ठाउँमा जोशीको अनुशासित व्यवहार र प्रशंसामा खर्चिएको छ । त्यस्तै, जीवनयात्रामा आफँलाई दु:ख दिने व्यक्तिहरूप्रति उनले गुनासो पोख्नुका साथै खुइल्याउने कार्य पनि गरेका छन् । कतै गुनासा, कतै प्रशंसा र कतै आत्मरतिका प्रसंगहरू उल्लेख गरिएको राकेशको आत्मकथामा आत्मकथाभन्दा धेरै आत्मप्रसंशा पाइनु पाठकहरूका निम्ति त्यति सन्तोषजनक पक्ष होइन । साथै, एउटै प्रसंगलाई उनले छ/सात पटकसम्म उल्लेख गरिरहँदा त्यसले झनै खल्लोपन उब्जाउँछ । उनले अंगुरबाबा जोशीको अनुशासनप्रियता, पहिलो पटक सिमराबाट प्लेन चढेर काठमाडौं आएको प्रसंग, पद्मकन्या क्याम्पसमा प्राध्यापन गर्ने दुई भारतीय प्राध्यापकको प्रसंगजस्ता पक्षलाई पटक–पटक उल्लेख गर्दा पुस्तकको ओज नै घटेको महसुस हुन्छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply