खाद्य संकट उत्पन्न हुनसक्छ
० महाभूकम्पले सबै क्षेत्रलाई तहसनहस तुल्यायो । कृषि क्षेत्रमा चाहिँ कति क्षति पुर्यायो ?
–महाभूकम्पले कृषि क्षेत्रमा पुर्याएको क्षतिबारे हिजोअस्तिसम्म हामीसँग बेग्लै तथ्यांक थियो । तर, अहिले भने राष्ट्रिय योजना आयोगको नेतृत्वमा विभिन्न क्षेत्रमा भूकम्पछि के कति क्षति भयो र क्षतिको स्थिति कस्तो छ, भन्नेबारे अध्ययन नै भयो । खाद्यान्नमा के कति क्षति भयो, पशुपन्छीहरू के कति मरे र अरू भौतिक सम्पत्तिहरू के कति क्षति भयो भन्नेबारे तथ्यांकहरू बटुलिएका छन् ।
अब केही दिनपछि नै विदेशी दातृनिकायहरूको नेपालमा सम्मेलन हुँदैछ । त्यो सम्मेलनमा पेस गर्नका लागि कुन–कुन क्षेत्रमा के कति क्षति भयो र अब राहत र पुनर्निर्माणमा कसरी लाग्ने भन्ने कुरामा हामी केन्द्रित भएका छौं । र, अहिलेसम्म हामीले संकलन गरेको क्षतिको विवरणअनुरूप कृषि क्षेत्रमा पर्ने बाली र पशुपन्छीको क्षति जोड्दा साढे अठ्ठाइस अर्ब पुगेको छ ।
० कृषि क्षेत्रमा भूकम्पले पुर्याएको क्षति साढे अठ्ठाइस अर्ब मात्रै हो कि, अझै बढ्नसक्ने सम्भावना छ ?
–अब करिब–करिब क्षतिको विवरण यही नै हो । केही मात्रामा हेरफेर हुनसक्ला । हुन त, तथ्यांकहरू सधैँ परिष्कृत भइ नै रहन्छन् । तर, छोटो समयमा उपलब्ध तथ्यांकहरूलाई नै हामीले आधार मान्नुपर्ने हुन्छ । किनकि, अब योजना बनाउनुपर्ने बेला भइसकेको छ । बजेट निर्माण गर्ने बेला भइसकेको छ । र, दातृनिकायले कति सहयोग गर्छन्, हामीले आफ्नो आन्तरिक स्रोत कति परिचालित गर्नसक्छौं ? यी कुराहरू छन् । तर, हामीले उपलब्ध साधन, स्रोतहरूको आधारमा क्षतिको विवरण बटुल्न सकेका हौं ।
अब हामीले क्षतिपूर्ति र पुनर्निर्माणमा ध्यान दिनेछौं । क्षतिपूर्ति भनेको तुरुन्तै हुने काम हो । क्षतिपूर्तिको काम हामीले एक वर्षभित्र पूरा गर्ने भनेका छौं । र, पुनर्निर्माणको काम चाहिँ ३६ महिनाभित्र गर्ने भनिएको छ । यी दुइटा कार्य गर्नका लागि कृषि क्षेत्रलाई साढे १५ अर्ब रुपियाँ चाहिने देखिएको छ । त्यसमा क्षतिपूर्तिका लागि ३ अर्ब ५७ करोड र अरू बाँकी चाहिँ पुनर्निर्माणमा खर्च लाग्ने देखिएको छ ।
० बाली र पशुमध्ये कुन क्षेत्रमा चाहिँ बढी क्षति पुर्यायो ?
भूकम्पले बालीतर्फ १८ अर्ब क्षति पुर्यायो भने पशुपन्छीतर्फ भने साढे दस अर्ब क्षति पुगेको छ । यो मोटामोटी आँकलन मात्र हो । तर, हामीले यथाशक्य रूपमा सही तथ्यहरू ल्याउने प्रयत्न गरेका छौं ।
० भूकम्पपछि कृषकहरूलाई प्रत्यक्ष फाइदा पुग्ने केकस्तो राहतको प्याकेज मन्त्रालयले ल्यायो ?
–किसानहरूलाई गर्न सकिने सहयोग हामीले गरी नै रहेका छौं । भूकम्प गएलगत्तै मानिसहरू आफ्नो ज्यान बचाउनतिर लागे । मानिसको ज्यान बचिसकेपछि उनीहरूले सञ्चित गरेर राखेका अन्नबालीहरू, घरपालुवा गाईबस्तु, भेँडा, बाख्रा, सुँगुरलगायतका पशुपन्छीहरू के कति बचे भन्ने हेरियो । र, सीमित जनशक्ति भए पनि अर्को चरणमा चाहिँ हामीले प्रभावित जिल्लाहरूमा, अरू जिल्लाहरूबाट जनशक्ति ल्याएरै भए पनि, पशुपन्छीहरूको उपचार गर्ने, मरेका पशुपन्छीहरूलाई व्यवस्थित तरिकाले तह लगाउने र बाँचेका पशुपन्छीहरूलाई अस्थायी रूपमा भए पनि बसोवासको व्यवस्था गर्ने कार्य गर्यौं ।
० भूकम्पले घरहरू भत्किएपछि किसानका अन्नपातहरू पुरिए । अब धान रोप्ने बेला भएको छ । तर, किसानहरूले बीउको समस्या झेल्नुपरिरहेको छ । किसानहरूलाई बीउ उपलब्ध गराउनेतिर तपार्इंहरूले के सोच्नुभएको छ ?
–संसद्ले संकल्प प्रस्ताव नै पारित गरेर किसानहरूलाई बीउ तुरुन्तै उपलब्ध गराउन निर्देशन दिएपछि हामीले बीउ वितरण कार्यलाई तीव्र तुल्यायौं । हामीले भूकम्प प्रभावित जिल्लाहरूमा ४ सय २३ मेट्रिक टन धानको बीउ नि:शुल्क रूपमा वितरण गरिसकेका छौं । अहिले हामीकहाँ दाताहरू पनि आइरहेका छन् । उनीहरूलाई हामीले जिल्ला–जिल्लामा गएर अस्थायी रूपमै भए पनि पशुहरूको बासस्थान बनाइदिन अनुरोध गरेका छौं । त्यसरी चासो राख्ने दाताहरूलाई हामीले सम्बन्धित जिल्लाहरूसँगै समन्वय गरेर काम गर्न सुझाव दिएका छौं ।
अहिले तीन वटा ‘बी’को अवधारणा आएको छ । तीन ‘बी’ अर्थात् बिल्डिङ, ब्याक, बेटर । अब निर्माण हुने भवनहरू पहिलाभन्दा पनि राम्रो हुनुपर्छ भन्ने अवधारणा हो यो । अब निर्माण हुने भवनहरू भूकम्प आउँदा असर नपुग्ने खालका हुनुपर्यो । हामीले ३६ महिनाभित्र पुनर्निर्माण गर्ने कुरा अघि सारेका छौं, अब निर्माण हुने भवनहरूमा यो सिद्धान्त अपनाइनु जरुरी छ भन्ने लाग्छ ।
० कतिपय जिल्लाका किसानहरूले त बीउ नपाएको गुनासो पनि गरेका छन् । यसलाई कसरी लिनुभएको छ ?
–संसद्ले संकल्प प्रस्ताव पारित गरेर किसानहरूलाई नि:शुल्क बीउ वितरण गर्ने निर्देशन दियो । तर, हामी नेपालीहरूमा एउटा प्रवृत्ति के देखिन्छ भने नि:शुल्क भनेपछि आवश्यक पर्ने र नपर्ने दुवैले लिन्छन् । र, बीउको सवालमा पनि यही भएको हो । अरू वर्ष भएको भए हामीले नि:शुल्क रूपमा वितरण गरेको बीउ पर्याप्त हुन्थ्यो । हामीकहाँ बीउको प्रतिस्थापन गर्ने दर भनेको १२ प्रतिशत रहेको छ । हामीले वितरण गरेको ४ सय २३ मेट्रिक टन बीउ भनेको करिब २५ प्रतिशतसम्मको विस्थापन दरलाई पुग्ने गरी हो । कतिपय किसानका बीउ जोगिएको भए पनि, त्यस्ता किसानहरूले नि:शुल्क पाउने भएपछि हामीले वितरण गरेको बीउ लिए । हामीले जसको बीउ क्षति भएको हो, त्यस्ता किसानलाई प्राथमिकता दिने भनेका थियौं । तर, हामीले नि:शुल्क बाँड्ने निर्णय गरिसकेपछि कसैलाई दिने र कसैलाई नदिने गर्नु पनि भएन । सबै किसानलाई जग्गाको क्षेत्रफलको आधारमा समानुपातिक रूपमा जति पुग्छ, त्यसरी नै दिइएको हो । तर, किसानहरूले आफूले अपेक्षा राखेअनुरूप बीउ नपाएको चाहिँ हुनसक्छ ।
० अहिले पनि ग्रामीण भेगका किसानहरू खेतीपाती गर्न छाडेर राहतकै पछि दौडिरहेका छन् । कतिपय किसानहरू त भत्किएका घर निर्माण कार्यमा पनि लागेका छन् । यस्तो स्थितिमा किसानहरू खेतीपातीतिर फर्किरहेका छैनन् कि भन्ने बुझिन्छ नि †
अब किसानहरूले मल्हमपट्टि लगाउँदै आफ्नो काममा फर्किन थालिरहेका छन् । हामी पनि किसानहरूलाई खेतीपातीतिर फर्काउनका लागि गहुँ काट्न खेतबारीमा नै गयौं । किसानहरूको बीचमा पुग्दा हामीले के महसुस गर्यौं भने केही समय भूकम्पले अल्मल्याएकै हो, किसानहरू आफ्नो बसोवासको व्यवस्था गर्न लागेकै हुन् । तर, अब भने किसानहरू सामान्य जनजीवनतिर फर्किन थालिसकेका छन् ।
० किसानहरूको अन्नपात पुरिएका छन् । राहतस्वरूप दिएको दाल, चामलले धेरै दिन पुग्ने सम्भावना पनि छैन । यस्तो स्थितिमा ठूलो खाद्य संकट उत्पन्न नहोला भन्ने सकिन्छ र ?
–हामीले भर्खरै एउटा आँकलन गरेका छौं । हाम्रो खाद्य वासलात यो असार मसान्तसम्म कस्तो छ भने, हामीकहाँ १ लाख ५५ हजार ५ सय ५८ मेट्रिक टन बचत हुने देखिन्छ । तथापि, यस पटक हाम्रो धानको उत्पादन चाहिँ घटेकै हो । हामीसँग ६ लाख ७६ हजार ८ सय मेट्रिक टन धान कम नै छ । मकै, कोदो, फापर, गहुँ र जौजस्ता बालीहरूमा भने हामी बढी नै छौं । तर, चामल बढी खाने हाम्रो बानी भएको हुँदा हामीलाई चामल चाहिँ पुग्दैन । गएको वर्ष यही समयमा ७ लाख ४९ हजार बचत थियो । तर, अहिले भूकम्पका कारण १ लाख मेट्रिक टन चाहिँ हामीलाई खाद्यान्न अपुग हुने देखिन्छ । गत वर्ष मनसुन कम भएको हुँदा धानको उत्पादन पनि कम नै भएको हो । मनसुन कम भएको हुँदा समयमै रोपाइँ भएन र रोपाइँ भए पनि बाढीले तहसनहस तुल्यायो । त्यही कारण, धान उत्पादन घट्न पुगेको हो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply