भुइँचालोपछिका चार परिदृश्य
नेकपा (एमाले)द्वारा भूकम्प पीडितको सेवामा सञ्चालित एकमहिने राष्ट्रिय स्वयंसेवक परिचालन अभियान– २०७२ मा खटिँदा विविधखालका अनुभवहरू प्राप्त भएका छन् र अनेकन अनुभूतिबाट गुज्रिनुपरेको छ । ती अनुभूतिहरू चलचित्रका रिलजस्तै छन्, एकपछि अर्को क्रमैसँग जोडिएका छन् । यहाँ तिनीहरूलाई जस्ताको तस्तै समेट्ने प्रयास गरिएको छ ।
परिदृश्य–१– राहत वितरण गर्नेहरू थरिथरिकाठूलाठूला संरचना भएका र नाम चलेका एनजीओ/आईएनजीओका मानिसहरूले राहत वितरणको नाममा केही पुरिया जीवनजल, केही सिटामोलका चक्की र दुई–चार बोरा चामल वितरण गरेर फोटो खिचाए । पछि तिनका अन्तर्राष्ट्रिय दातृ निकायमा रिपोर्ट पठाउँदा कैयौं टन चामल र लाखौंको औषधि वितरण गरेको कुरा लेखेछन् । धेरैजसो एनजीओ/आईएनजीओहरूले त्यसै गरेको देखियो ।
राहत वितरण गर्ने काममा धर्मको नाममा खुलेका विदेशी संस्थाहरू खुलेर लागेका थिए । उनीहरूले राहतको साथमा धर्म प्रचार पनि गर्दा रहेछन् भन्ने कुरा त पत्रपत्रिकामा पढ्न पाइएकै थियो । धराप परेका घरहरू भत्काउन र सर–सामान थन्क्याउन सहयोग गर्ने क्रममा कतिपय ठाउँका मानिसले आफ्नो अस्थायी टहरो वा पालमा बोलाएर चिया खुवाए । त्यहाँ उनका भगवान पनि पालमुनि नै बसाइँ सरेका थिए । हिन्दू पाञ्चायन देवता राखिएको ठाउँमा जतनका साथ राखिएका बाइबलका पुस्तक पनि भेटिए । जिज्ञासा राख्दा थाहा लाग्यो– ती पुस्तक राहत वितरण गर्नेहरूले दिएका रहेछन् ।
अर्को एक सुगम ठाउँमा विभिन्न संस्थाहरूले पालैपालो गर्दा चार पटकसम्म राहत पुगेको रहेछ । पाँचौँ पटक राहत बाँड्न जाने अर्को एक संस्थाका मानिसलाई स्थानीय एक जना सीधा मानिसले भनेछन्– ‘हामीले त धेरै पटक लिइसक्यौं हजूर † ऊ त्यो गाउँमा एक पटक पनि राहत पुगेको छैन भन्छन् । त्यता लैजाने कि ?’ ती सीधा मानिसले सोझो कुरा राखेपछि राहत बाँड्न आउनेले भनेछन्– ‘ओ हो यो कुरा त हामीलाई थाहा थिएन । अब कति फर्काएर लैजानु । तपाईंंहरूले नै राख्नुस् न †’ त्यसपछि राहत बाँड्न आएकाहरू चामलका साना–साना थैलाहरू स्थानीय मानिसहरूलाई समाउन लगाउँदै फोटो खिचाउँदै गर्न थालेछन् । गाउँका केही मानिसहरूले सुरुमा ‘हामीले त धेरैपटक लिइसक्यौं’ भन्ने ती सीधा मानिसलाई कुनातिर लगेर लछारपछार गरेछन् । मलाई रामकोटका एक जना शिक्षकले बताउनुभए अनुसार दिउँसो राहत बाँड्न आउने ती महानुभाव साँझ टेलिभिजनमा भन्दै थिए रे– ‘राहत वितरणमा सरकार पूर्णत: असफल भएको छ । राहत वितरणको काम सरकारले गर्ने कुरै होइन । सरकारलाई यथार्थ तथ्यांकबारे जानकारी नै हुँदैन ।…” इत्यादि ।
मलाई रामकोटका शिक्षक साथीले ती बहुरुपिया राहत वितरकलाई चिनाइदिएका थिए । ती महानुभाव संलग्न संस्थाहरूको देशव्यापी ठूलै जालो रहेछ । उनले नेपाली विद्यार्थीहरूलाई विदेश पढ्न पठाउने शैक्षिक कन्सलट्यान्सी पनि चलाएका रहेछन् । ती महानुभाव केही दिनअघि कक्षा ११ र १२ को परीक्षा सुरु हुन नदिन अनेक हथकण्डा अपनाउँदै हिँडे । केही नगालेपछि उनले ‘विद्यार्थीहरू परीक्षाका लागि मानसिक रूपमा तयार नै छैनन् । यसैले परीक्षा केही महिना पर सार्नु पर्छ’ भन्दै विभिन्न ठाउँमा लबिङ गर्दै पनि हिँडे । केही नलागे पछि उनको सञ्जाल परीक्षा असफल बनाउने अर्को खेलोमा लाग्यो । ‘भुइँतल्लामा मात्र जाँच लिइनु पर्दछ । त्यहाँभन्दा माथिल्लो तल्लामा जाँच लिइनु हुँदैन’ भनेर त्यो समूह खुबै लाग्यो । सरकारी इन्जिनियरहरूले जाँचपड्ताल गरी ‘सुरक्षित’ भन्ने पातो टाँसेर राखेका भवनमा पनि तल्लो तल्लामा मात्र जाँच लिनुपर्ने त्यस टोलीको तर्क गजबको थियो । हजारौं विद्यालय भत्किएको अवस्थामा सीमित सुरक्षित भवनमा पनि तल्लो तल्लामा मात्र परीक्षा सञ्चालन गर्नु सम्भव नै थिएन । तर, राज्यको तर्फबाट अभिभावकीय भूमिका पूरा गर्नुपर्ने कतिपय सीडीओहरू समेत जानेर वा नजानेर नेपालको शैक्षिक भविष्य धरापमा पार्नेहरूको लबिङबाट प्रभावित भएर जथाभावी निर्देशन दिँदै हिँडेको कुरा शिक्षक साथीहरूबाट थाहा लाग्यो ।
परिदृश्य–२– कतै पटक–पटक राहत, कतै अभाव, नक्कली पीडित र पार्टी कार्यकर्ताको भूमिका काठमाडौं जिल्लाको क्षेत्र नं. ९ को एक स्थानमा सुरुमा नेपाली कांग्रेसका केन्द्रीय नेताहरूले केही एनजीओहरू परिचालन गरेर राहत वितरण गरेका रहेछन् । त्यसपछि एमाओवादीका स्थानीय नेताहरूलाई आफू पछि परेको अनुभूति भएछ र त्यही ठाउँमा राहत बाँडेछन् । त्यसो नगर्दा सो ठाउँको आफ्नो भोट बिग्रने डर लागेछ उनीहरूलाई । केही दिनपछि नेकपा (एमाले)का एक जना स्थानीय कार्यकर्ताले पनि धेरै ठाउँमा हारगुहार गरेर केही राहत जम्मा गरेछन् र त्यही ठाउँमा लगेर बाँडेछन् । मैले त्यो थाहा पाएर उनलाई भनें– “तपाईंजस्तो पार्टीको पाको–पुरानो कार्यकर्ताले पनि यस्तो नचाहिँदो काम गर्ने हो ? राहत त नपुगेको दूरदराजको ठाउँमा पो पुर्याउनु पर्दथ्यो । एकै ठाउँमा सबै पार्टीले पालैपालो थपीथपी राहत पुर्याउनु त एकप्रकारको अपराध हो, यस्तो कामले अन्यत्र कसैले पाउँदै नपाउने अवस्था हुन्छ ।’ मेरो भनाइमा ती साथी रिसाए । उनले भने– ‘अरूले बाँड्ने, हामीले नबाँड्ने गर्दा त्यहाँको भोट त बर्बाद हुन्छ नि । तपाईंले त मलाई धन्यवाद पो दिनुपर्ने, उल्टै आलोचना पो गर्नुहुन्छ †’
‘एक त अहिले भोटको आसले काम गर्ने होइन । अर्को कुरा, एकैठाउँमा सबैले राहत पुर्याउँदा नपाउने ठाउँका जनताको भोट चाहिँ के हुन्छ नि ?’ भनेर मैले अलि कडाढंगले भनेपछि ती साथी झन् रिसाउँदै भने– ‘तपाईं कहिलेकाहीँ आउने नेतालाई स्थानीय कार्यकर्ताको मर्का के थाहा ?’
केही दिन अगाडि वासस्थान पुरै क्षति भएका भूकम्पपीडितहरूलाई नगरका वार्ड र गाविस सचिवमार्फत् रु.१५,०००/– वितरणको काम सुरु भयो । नक्कली परिचयपत्र बनाउने, राहत लिनकै लागि बीसौं वर्ष गाउँको घरमा नपुगेकाहरू पनि जाने, नक्कली अंशबन्डाको कागज बनाएर छुट्टै परिवार देखाई एकै घरका मानिसहरूले पालैपालो राहत लिने गरेका कुराहरू पनि पत्रपत्रिकाले लेखेकै थिए । हुँदाहुँदा भूकम्पबाट कुनै पीडामा नपरेकाहरूले पनि परिचयपत्र बनाएर राहत लिन थालेको सुनियो । स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि भएका भए धेरै मात्रामा त्यस्ता गतिविधि रोकिने थिए । नगरका वार्ड सचिवहरूले अनियमितता रोक्न सक्दो प्रयास गरे । राहत नदिए ज्यान मार्नेसम्मको धम्की दिइएका कारण उनीहरू स्थानीय पार्टी प्रतिनिधिहरूको मुख ताक्थे । सबै पार्टीका मानिसहरूले तुष्टीकरणको नीति लिए । फलानो वास्तविक पीडित होइन भन्ने जान्दाजान्दै पनि गलत कुराको विरुद्ध कोही पनि बोलेन । सबैले यही सोचे– ‘अर्को पार्टीको मानिस बोल्दैन भने म किन बोल्ने ? मैले किन भोट बिगार्ने ?’ मानौं एउटै मानिसले एमाले, कांग्रेस, माओवादी सबैलाई भोट दिन मिल्छ †
यसखाले बेथिति नहोस् भनेर मैले हाम्रो पार्टीका कार्यकर्तालाई सतर्क गराउन खोजें । सर्वदलीय संयन्त्रमा बस्ने कसैले पनि सत्यको पक्ष लिएर बोल्ने र त्यसो गरेबापत जे परे पनि बेहोर्ने आँट लिएनन् । नक्कली प्रमाण बनाएर राहत लिनेलाई कसैले पनि रोक्ने वा सार्वजनिक रूपले नंग्याउने काम गरेनन् । मैले अहिले काम गरेको काठमाडौं क्षेत्र नं.९ मा नक्कली पीडित बनेर राहत लिनेको नाममा कसैले पनि उजुरी दिएको मलाई थाहा छैन । कम्तीमा पनि एक हजारभन्दा बढीले नक्कली पीडित बनेर, अंशबन्डाको झूटो कागज बनाएर वा यस्तै फर्जी काम गरेर राहत लिए होलन् भन्ने मेरो अनुमान छ ।
मैले साथीहरूलाई सम्झाउन खोजें– ‘यसरी नक्कली पीडितहरूले राहत लिए भने सम्हालिनसक्नु हुन्छ । देशमा केही राजनीतिक पार्टी र शक्ति यसरी राहत बाँड्ने कुराकै विरुद्धमा छन् । नक्कलीहरूले राहत लिइदिँदा उनीहरूको तर्क बलियो हुनेछ । नक्कली सुकुम्बासीका कारण देशले अहिलेसम्म समस्या भोगेजस्तै गलत गर्नेलाई कारबाही नगर्ने हो भने नक्कली भूकम्पपीडितका कारण देश लामो समयसम्म समस्यामा पर्नेछ, वास्तविक पीडित मर्कामा पर्नेछन् ।’ तर कसैले पनि मेरो कुरामा ध्यान दिएन । गलत कुराका विरुद्ध लड्ने हाम्रो धार आधारभूत तहमा कतिसम्म कमजोर भएछ भन्ने कुराको तीतो नमुना हो यो । हुन त केन्द्रमा हुने जनविरोधी, नीति–नैतिकताविरोधी र पार्टीविरोधी गतिविधिका विरुद्ध हामीले नै पो के तातो पानी लगाएका छौं र भन्ने अनुभूति भयो । मनमा झन् धेरै पीडा भयो ।
परिदृश्य–३– थोरै मिहिनेती कार्यकर्ता, धेरै ठग र गफाडी
भूकम्पपीडितको सेवाका लागि स्वयम्सेवी अभियानमा खट्ने स्थानीय कार्यकर्ताहरूको अत्यन्त कम उपस्थिति रहने गरेको छ । जे–जति उपस्थित हुने गरेका छन्, तिनले भने जमेर काम गरेका छन् । धराप परेका घरहरूबाट सामान निकालिदिने, त्यस्ता घरहरू भत्काएर सामन थन्क्याउन सहयोग गर्ने जस्तो काम ज्यादै जोखिमपूर्ण छँदैछ । क्षेत्र नं. ९ का थोरै साथीहरूले यस्तो जोखिमको काम बडो निष्ठाका साथ गरिरहेका छन् । यस्तो काममा खट्ने कार्यकर्ता नै पार्टीको भाग्य र भविष्य बनाउने मानिस हुन् । यसैले जस्ले पार्टीको अभियानलाई तत्काल आत्मसात् गर्नसक्छ उसलाई संगठित सदस्यता दिने र जसले अधिकांश समय गफगाफ गरेर बिताउँछ, चित्त बुझे जुलुसमा आउँछ र चुनावमा पार्टीलाई भोटसम्म दिन्छ उसलाई साधारण सदस्यता दिने नीति नै सही थियो । कसको सनक र योजनाका भरमा नवौं महाधिवेशनबाट साधारण सदस्यताको प्रावधान हटाइयो भनेर मैले आजसम्म बुझ्न सकेको छैन । काम गर्ने सदस्य र नगर्ने सदस्यको मूल्यांकन एउटै भएपछि काम गर्नेहरूको जाँगर मरेर जानु स्वाभाविक छ । अब दिइसकेको सदस्यता खोस्न पनि गाह्रो, पार्टीको अभियानमा एक दिन पनि समावेश नहुने सदस्यको संगठित सदस्यता कायम राख्दा पनि पार्टीको चरित्र बचाउन गाह्रो । स्थानीय कार्यकर्ताको अत्यन्त कम उपस्थिति रहने गरेको कुरा बताउँदा केही साथीहरूलाई भने ज्यादै रिस उठ्दो रहेछ । जिल्लाका कतिपय पदाधिकारी, क्षेत्रीय इन्चार्ज र जिल्ला सदस्यहरू नै अभियानमा सामेल छैनन् वा विभिन्न बहानामा ठगेर बसेका छन् । आफ्नो ठगी लुकाउन उनीहरू विभिन्न बहाना र गुटगत कुरा गर्दछन् । जो–जसले काम गरेका छन् तिनीहरू नि:सन्देह सम्मान र उच्च मूल्यांकनका पात्र हुन् तर गुटको मानिस हो भन्दैमा कामै नगर्नेहरूको बहानामा साथ दिन त भएन नि साथीहरू †
परिदृश्य–४– थरिथरिका नेता र कार्यकर्ता
केही ठूलाबडा नेताहरूलाई साथमा लिएर स्वयम्सेवाको काम भइरहेको ठाउँमा जाने, फोटो खिचाउने, मिडियामा देखिने र नेता हिँडेपछि ती झिलिमिली कार्यकर्ता पनि हिँड्ने गरेको विषय त चर्चामा आएकै थियो । यी फेसबुक पर्सनालिटीहरू भैगए । मिहिनेती कार्यकर्ताहरूमा पनि ‘हामीले गरेको काम पनि ठूलाबडा नेताले आएर अनुगमन गरिदिए हुन्थ्यो’ भन्ने भावना हुनु स्वाभाविकै हो भन्ने लाग्छ । आफूले गरेको काम आफूभन्दा माथिकाले हेरिदिए हुन्थ्यो भन्ने भावना संसारका हरेक मानिसमा हुन्छ होला । नेताहरू भने इमानदार कार्यकर्ताले निरीक्षणका लागि बोलाउँदा नजाने तर फेसबुक पर्सनालिटीहरूले बोलाउँदा भने जसरी पनि समय निकाल्ने गर्दा रहेछन् । आखिर जमाना प्रचारको न छ । फेसबुक पर्सनालिटीहरू प्रचार गर्न खप्पिस छन्, नेताहरूले उनकै कुरा सुन्दा रहेछन् । यसपालि आफूले विश्वास गरेका साथीहरूको पनि गफाडी चरित्र र फेसबुक पर्सनालिटी देख्न पाइयो ।
निष्कर्ष– जमिनमा भुइँचालो गयो, गलत संस्कारमा भुइँचालो गएन
मलाई लागेको थियो– यो भुइँचालोले पार्टी कब्जा गरेर बसेका नेताहरूमा विकास भएको गैरकम्युनिस्ट आचरण, गुटबन्दी, नीति र विधिहीनतालाई गल्र्यामगुर्लुम ढाल्नेछ । म भ्रममा रहेछु । मलाई लागेको थियो– नेकपा(एमाले) यो भूकम्पको धक्काबाट जुरुक्क ब्युँझिने छ । यसले गुण–दोषको आधारमा नेता र कार्यकर्ताको मूल्यांकन गर्नेछ । म यसमा पनि भ्रममा रहेछु । मलाई लागेको थियो– हाम्रा आधारभूत तहका कार्यकर्ता बेथितिका विरुद्ध एकमत भएर लाग्ने छन् । नक्कली पीडितहरूले राहत लिँदा पनि हाम्रा आधारभूत तहका कार्यकर्ता चुप लागेर बसेको देख्दा म चकित छु । आमजनता पाप–धर्मको ख्याल त गर्छन् भन्ने लागेको थियो । म यसमा पनि भ्रममा रहेछु । जन मनोविज्ञान पनि कतिसम्म पतित भएछ भने राहतको पैसा लिन जे पनि गर्ने † माक्र्सले भनेको सम्झना भयो– परिस्थितिले मानिसको चेतना निर्धारण गर्दछ । देशमा ब्याप्त दलाल पुँजीवादले यस्तो परिस्थिति निर्माण गरेको छ कि आम जनताको यौटा ठूलै पंक्ति सके आफू पनि गोलमालमा सामेल हुने, नसके बेथिति चुपचाप सहने अवस्थामा रहेछ । दलाली हाम्रो समाजको आधारभूत चरित्र बनिसकेछ, यो अर्थतन्त्रमा मात्र सीमित छैन । को व्यक्ति हाम्रो पार्टीको तर्फबाट मन्त्री हुन्छ भन्ने कुरा पार्टीको बैठकमा होइन कुनै दलाल पुँजीपतिको बैठकमा तय हुन्छ भने पार्टीभित्रको दलालतन्त्र झन् खतरनाक छ भनेर बुझ्नुपर्ने हुन्छ । लौन यस्ता कुरामा कसरी भुइँचालो ल्याउन सकिएला ? स्वयम्सेवी अभियान जनताका बीचमा सकेको चलाउँला । जनतालाई वास्तविक राहत दिन क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्न सक्नुपर्दछ । यसका लागि फलामजस्तो दह्रो पार्टी चाहिन्छ । यस्तो पार्टी बनाउन त पार्टीभित्रै झन् बढी स्वयम्सेवी अभियान चलाउनुपर्ने भयो । यही हालत रहने हो भने पुनर्निर्माणको नेतृत्व गर्न सकिन्न ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply