अविरल जनसाहित्य यात्रामा अमर
काठमाडौँ । जनसाहित्यिक मञ्च, नेपालले हरेक महिनाको दोस्रो शुक्रबार आयोजना गर्दै आएको एकल कविता वाचन शृङ्खलाअन्तर्गत पन्ध्रौँ शृङ्खलामा वरिष्ठ प्रगतिवादी कवि एवम् प्राज्ञ अमर गिरी प्रस्तुत भए । आफ्ना १६ वटा प्रतिनिधि कविताका साथ नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रवचनकक्षमा खचाखच भरिएका कविता पारखीका माझ उपस्थित भएका कवि गिरी कविता वाचन आरम्भअघि आफ्नो काव्ययात्राका शुरुवाती दिनहरू सम्झिँदै थिए, ‘मेरो कविता लेखनको सुरुआत किशोर उमेरदेखि नै भएको हो । मेरा पिताजी र नेत्रलाल अभागी मेरा कवितायात्राका प्रेरणा हुन् । आज म उहाँहरूलाई स्मरण गर्न चाहन्छु ।’वामपन्थी आन्दोलनका एक योद्धा नेत्रलाल पौडेल ‘अभागी’को सम्पादनमा वनारसबाट प्रकाशित हुने नेपाली पत्रिका ‘सन्देश’मा ‘आमा’ शीर्षकको कविता प्रकाशित भएपछि निरन्तर रूपमा कविता विधामा साधनारत कवि गिरीले ‘चटामरी’ शीर्षकको कवितामा समकालीन समयको कथा भने–
जब ऐंठन हुन्छ
अत्यासलाग्दो यस सहरमा
सुटुक्क निस्कन्छु म
चटामरी खान
कुनै नेवारी खाजाघरमा ।
कविता सरल हुनुपर्छ भन्ने मान्यता राख्ने माक्र्सवादी सौन्दर्य शास्त्रीय समालोचक समेत रहेका उनले जीवन, जगत् र समसामयिकतामाथि रचना गरिएका जीवनको सुगन्ध, सपनाहरूको जतन, बुटनेवा, सुनको औँठी, स्मृति, रुनु र लाइसेन्स शीर्षका कविता सुनाए ।
उनका बाँकी कविताचाहिँ कवि तथा प्राज्ञ श्रवण मुकारुङले ‘घाम र म’, कवि तथा प्राज्ञ शशी लुमुम्बूले ‘वन र स्त्री’, ‘मित्रलाल पंज्ञानीले ‘पुन: नारायणहिटी’, ‘लिखत पाण्डेले ‘परिचय’, ‘आरएम डङ्गोलले ‘दु:साध्य समय’, ‘सङ्गीत श्रोताले ‘भोक’, बालमुकुन्द कार्कीले ‘सम्वाद’ र जयन्ता पोख्रेलले ‘हँसिया’ शीर्षकका कविता वाचन गर्न सघाएका थिए ।
जनसाहित्यिक मञ्च, नेपालकी काव्यविभाग प्रमुख एवम् कार्यक्रमकी संयोजक डा. विन्दु शर्माले कवि गिरीको परिचयका साथै उनको लेखनबारे संक्षेपमा प्रकाश पारेकी थिइन् भने समालोचक हेमनाथ पौडेलले उनका कविताको समीक्षा गरेका थिए ।
मञ्चका अध्यक्ष राम विनयको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, सदस्य–सचिव डा. जीवेन्द्रदेव गिरी, प्राज्ञ नर्मदेश्वरी सत्याल, राष्ट्रिय जनसांस्कृति महासंघ, नेपालका अध्यक्ष एवम् एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, कवि विनोद मञ्जनलगायतले कवि गिरी र उनका काव्यप्रवृत्तिका बारेमा बालेका थिए । कार्यक्रममा एमाले नेता तथा साहित्यकार प्रदीप ज्ञवालीको पनि उपस्थिति थियो ।
वि.सं. २०१७ साल भदौ २७ गते दाङको निमुरिया, रामपुरमा जन्मिएका कवि अमर गिरीका ‘घाम छेक्ने पहाड’, ‘तर पनि हामी जीवित छौँ, ‘दु:साध्य समय’ र ‘शब्दहरूका बीचमा’ कविताकृतिका साथै ‘समय, समाज र संस्कृति’ नामक विचार–चिन्तनमूलक कृति प्रकाशित छन् । उनले राष्ट्रिय प्रतिभा पुरस्कार, लोकेन्द्र साहित्य पुरस्कार, तारापन्त पुरस्कार, कृष्णमणि साहित्य पुरस्कार, योगेश्वर कलासाहित्य पुरस्कार, राप्ती सृजना पुरस्कार आदि प्राप्त गरेका छन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply