देशप्रेम र चिन्तनमा केन्द्रित
युवाकवि देवी नेपालले नेपाली काव्य–जगत्मा आफ्नै पहिचान बनाएका छन् । मूलत: छन्दमा कविता लेख्ने उनले छन्द–कविहरूको खडेरी निम्तिँदै गइरहेको बेला त्यसलाई भर्ने काम गरिरहेका छन् भन्दा अत्युक्ति नहोला । सीमित छन्द–कविहरूका लहरमा अग्रणी स्थान ओगट्ने नेपालले ‘सलादजस्तो देश’ कविताकृतिमा आफ्ना उत्कृष्ट छन्दोबद्ध कविताहरू पस्किएका छन् ।
बहुजाति, बहुभाषी, बहुसंस्कृतिले भरिएको नेपाल सदीयौंदेखि आफ्नै अलग पहिचान र सामथ्र्यले समृद्ध बन्दै आइरहेको छ । पूर्वदेखि पश्चिमका भूभागसम्म अनेक कला, संस्कृति, जातीय पहिचान र स्वरुप भिरेर मानिसहरू बसोबास गर्दै आइरहेका छन् । विविध जाति, भाषा र संस्कृति नै नेपालको पहिचान हो । तर, विगत केही वर्षयता भने वर्षौदेखिको सामाजिक सद्भाव र आत्मीयतालाई खल्बल्याउँदै जातीय, भाषिक मुद्दाहरूलाई बेतुक रूपमा उठाउने क्रम नचलेको भने होइन । कविले ‘सलादजस्तो देश’ कवितामा वर्षौदेखि जातीय, सामाजिक, सांस्कृतिक सद्भाव सँगाल्दै बाँचिरहेका नेपालीहरूमा रहेको परम्परागत एकता खल्बलिन दिनु नहुनेतिर औंला ठड्याएका छन् । लेख्छन्– ‘मेरो देश हिमाल भै उठिरहोस् संसारका माथमा/मेरो देश पहाड भै छरिरहोस् सौन्दर्य यो विश्वमा/मेरो देश मधेस भै फलिरहोस् त्यो अन्नभण्डारमा/मेरो देश सलाद भै रहिरहोस् ब्रह्माण्डको थालमा ।’
विगत केही दशकयता वैदेशिक रोजगारी जाने नेपाली युवाहरू बढ्दो रुपमा छन् । खाडी मुलुकहरूमा पसिना बेच्न जाने मात्र होइन, विश्वका समृद्ध मुलुकहरूमा समेत प्रतिभाहरु पलायन हुने क्रम तीव्र छ । रोजगारका सिलसिलामा देशका कर्मठ लाखौं युवाहरू विदेशिदा खेतबारीहरू बाझै हुनु स्वाभाविकै हो र ग्रामीण भेगहरूमा वृद्धवृद्धाहरू मात्रै रहनु अनौठो विषय होइन । ‘आमाको पुकार’ विदेसिने तिनै युवा पिँढीप्रति लक्षित छ । ‘युवा’ कवितामा उनले युवाहरूलाई स्वदेशमै श्रम र सीप पोख्न आग्रह गरेका छन् । युवा नै देश निर्माणको मुख्य आधार भएको हुँदा विदेशमा श्रम पोख्नु उचित नहुने तर्क कविले कवितामार्फत नै गरेका छन्– ‘युवा रहे स्वदेशमा अनेक फूल फुल्दछन्/युवा भए स्वदेशमा विकास मूल फुट्दछन् ।’
‘सुन्दर प्रकृति : भव्य संस्कृति’ मा भने कविले देशको विविध सांस्कृतिक पहिचान र विविधताबारे उजागर गर्न चाहेका छन् । हिमाल, पहाड र तराईमा बाँडिएको नेपाल विभिन्न जातिका सांस्कृतिक पहिचानले नै समृद्ध बनेको उनको काव्यिक तर्क छ । पञ्चायती व्यवस्थाको उत्कर्षकालमा झापाको सुखानीमा पाँच जना कम्युनिस्ट नेताहरूलाई तत्कालीन व्यवस्थाका भरौटेहरूले निर्ममतापूर्वक हत्या गरेका थिए । ‘प्रश्न : सुखानीको’ को कवितामा उनले सहिद भएका तिनै योद्धाहरूप्रति स्मरण गर्दै उनीहरुका सपना पूरा नभएकोप्रति दु:खेसो प्रकट गरेका छन् । सहिदको सपना साकार पार्छु भनेर बचन दिनेहरू नै सत्ता, स्वार्थ र मस्तीको संसारमा डुबेकोप्रति कविको चिन्ता जाहेर भएको छ । कवि नेपालका अधिकांश कवितामा देशप्रेम जताततै झल्किएको पाइन्छ । ‘सुन्दर देश देऊ’ मा उनी यसरी प्रस्फुटित हुन्छन्–‘यो देश हो सुन्दर फूलबारी/मास्लान् कसैले नभएर माली/नेपाल बोल्ने अब भेष देऊ/मभित्रको सुन्दर देश देऊ ।’
समग्रत: नेपालका कविताहरू देशप्रेम र चिन्तनमा बाँधिएका छन् । उनले अनेक सन्दर्भ र विषयमा कविता कोरे पनि त्यसको केन्द्रमा भने देशप्रेम नै उभिएका छन् । छन्दमा देशप्रेम छचल्किनु र माटोको सुवास आउनु नै उनको काव्यिक विशेषता हो ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply