पुष्पलाललाई पक्राउ पर्नबाट जोगाउँदा पाँच वर्ष जेल
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालसित मेरो पहिलो भेट २०१४ सालमा नेपाल योङ कम्युनिस्ट लिगको गठन गर्दा पार्टीको केन्द्रीय कार्यालयमा भएको थियो । सुरुमा मलाई काठमाडौँ उपत्यकाको सचिवका रूपमा र पछि नेपाल योङ कम्युनिस्ट लिगको सङ्गठन विस्तार काठमाडौँ बाहिर समेत गर्न महासचिवको रूपमा जिम्मेवारी प्रदान गरिएको थियो । राजनीतिक प्रशिक्षण दिने र सङ्गठनको तरिका सिकाउने कार्य बेलाबखत पुष्पलालबाट हुन्थ्यो । हामीलाई व्यायाम र पीटी निर्मल लामाले सिकाउनुहुन्थ्यो । निम्न पुँजीपति वर्ग स्रोत भएकाले सर्वहाराकरण गर्न हामीलाई वर्षको तीन महिना किसानको घरमा बस्न पठाइन्थ्यो । हामीले पराल बिछ्याएर सुत्ने, पानी रोटी खाने, किसानसित उठबस गर्ने गरी राजनीतिक शिक्षा पुष्पलालका साथै अरू कम्युनिस्ट नेताबाट पाएका थियौँ भने व्यावहारिक जनमुखी ज्ञान किसानहरूबाट प्राप्त गरेका थियौँ । प्रेरणा र प्रारम्भिक सैद्धान्तिक शिक्षा पुष्पलालबाट प्राप्त गरेकाले उहाँलाई मैले पहिलो राजनीतिक गुरुको रूपमा ग्रहण गरेको छु । खुला, भूमिगत र प्रवासमा रहँदा तीनै चरणमा पुष्पलालसित मेरो नियमित सम्पर्क र सम्बन्ध रहेको थियो ।
पार्टी खुला रहँदा०१४ देखि ०१७ सालसम्म पार्टी खुला रहँदा मेरो प्रायजसो पार्टी कार्यालयमा उहाँसित भेट हुन्थ्यो । पार्टी कक्षाका बेला प्रशिक्षण स्थलमा अन्तक्र्रिया हुन्थ्यो । आन्दोलनका बेलामा हामी सङ्घर्षको मैदानमा सँगै हुन्थ्यौँ ।
०१५ सालका आमनिर्वाचनको बेला पुष्पलाल काठमाडौँ क्षेत्र नं. १ मा नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवार हुनुभएको थियो । हामी सर्वप्रथम उहाँकै क्षेत्रमा कोणसभा, आमसभा र प्रचार–प्रसारमा सक्रिय स्वयम्सेवक भएर लागेका थियौँ । त्यसबेला विभिन्न चरणमा विभिन्न क्षेत्रमा निर्वाचन भएकाले मैले काठमाडौँ पछि मकवानपुर र त्यसपछि पूर्वी पाल्पामा नेपाल योङ कम्युनिस्टको तर्फबाट सक्रिय भएर सेवा गरेको थिएँ ।निर्वाचनपछिको नेपाली काङ्ग्रेसको सरकारले असमान गण्डक सम्झौता गरेकोमा र नेपालको घ्यू उद्योगमा प्रतिकूल असर पर्ने गरी डाल्डा घ्यू भारतबाट आयात गरेको विरोधमा जुलुस प्रदर्शनमा सहभागी हुँदा उक्त विषयमा हामीले पुष्पलालबाटै प्रशिक्षण प्राप्त गरेका थियौँ । त्यसक्रममा भएको प्रदर्शनबाट पार्टीलाई फाइदा भएको थियो ।
पुष्पलालले नै प्रेरित गरेर पार्टी सम्पर्क मिलाइदिएर नेपाल योङ कम्युनिस्ट लिगको सङ्गठन विस्तार गर्न पोखरा, धरान, धनकुटा, तेह्रथुम, चैनपुर, भोजपुर, ओखलढुङगा र बनेपाको भ्रमण गर्ने अवसर प्राप्त भएको थियो । मकवानपुर आफ्नो जन्मस्थल भएकाले त्यहाँ म आफनै सम्पर्कबाट नेपाल योङ कम्युनिस्ट लिग गठन गर्न गएको थिएँ ।पोखरामा नगरपालिकाका लागि चुनाव हुँदा त्यहाँ पुगेर नेपाल योङ कम्युनिस्ट लिगको सङ्गठन गरेका थियौँ भने पार्टी उम्मेदवारहरूका पक्षमा स्वयम्सेवकको रूपमा काम गरेका थियौँ । हिक्मतसिंह भण्डारीले त्यसबेला पोखरामा प्रशिक्षण दिने र कार्यकर्ता परिचालन गर्ने गर्नुभएको थियो ।
पार्टी भूमिगत हुँदा
०१७ पुस १ गते ‘कु’ गरेर राजा महेन्द्रले निर्वाचित सरकार र संसद् विघटन गरे र पार्टीहरूमाथि प्रतिबन्ध लगाए । त्यसपछि नेपाल कम्युनिस्ट पार्टी र त्यसको भ्रातृ सङ्गठन नेपाल योङ कम्युनिस्ट लिग पनि भूमिगत हुन बाध्य भए । त्यसबेला नेताहरूलाई गोप्य रूपमा बस्ने ठाउँ मिलाउने, पार्टीको सन्देश लाने ल्याउने कुरियरको काम गर्ने र राति नेताहरूलाई एक ठाउँबाट अर्काे ठाउँमा पुर्याउने काममा म संलग्न भएको थिएँ । लिगको गोप्य कार्य सञ्चालन गर्नुका साथै पार्टीलाई सघाउने काममा हामी लागेका थियौँ । यही क्रममा दरभङ्गा प्लेनममा मैले भाग लिएको थिएँ ।
०१८ भदौ २९ गते मेरो काठमाडौँ झाँेछेको पुरानो घरमा बेलुका पुष्पलाल आउने र त्यहीँ पार्टीको बैठक गर्ने तय भएको थियो । म बाहिरबाट साँझ घर पस्दा बाहिरी गेटमा दुई जना सीआईडी र सादा लुगामा प्रहरी बसेको देखेँ । यदि उनीहरूले देख्नेगरी निस्किनँ भने पुष्पलाल मकहाँ आउँदा पक्राउ पर्ने खतरा महसुस गरेर घरमा खाना खाएर प्रहरीले पक्राउ गरेमा यी बिस्तरा सामान पठाउनु भनेर साथै रहेका इन्द्रदत्त पन्तसित घरबाट निस्केँ । नभन्दै लुकेर बाटो ढुकेर बसेका प्रहरीले सिटी बजाएर घेरे र मलाई पक्राउ गरे । इन्द्रदत्त पन्तले त्यहाँबाट उम्केर पुष्पलालहरूलाई सो सूचना दिए । मेरो घरमा निर्धारित बैठक रद्द गरेपछि नेतागण पक्राउबाट जोगिनुभयो । तर, मैले पाँच वर्ष जेलमा बिताउनुपर्यो । ०१९ सालमा उमेर पुगेपछि पार्टीको पूर्ण सदस्य भइस् भन्ने सुखद सूचना जेलभित्रै पार्टी सूत्रबाट सुन्न पाएँ । नेतालाई पक्राउबाट जोगाउन पाँच वर्ष जेल बस्नुपरे पनि मलाई पछुतो भएन बरु गौरव महसुस गरेको छु । ०२३ सालमा जेलबाट छुटेपछि पुन: भूमिगत रूपमा पार्टीमा काम गर्न थालेँ । प्राध्यापन गर्न थालेपछि ०३२ सालमा सहाना प्रधानलगायत १७ जनालाई कम्युनिस्ट र काङ्ग्रेस भनेर सेवाबाट बर्खास्त गरियो । पत्रकारिता गर्न थालेको ‘जनजागृति’मा एउटा सम्पादकीय लेख्दा ३ वर्ष कैद र एक हजार रुपियाँ जरिवाना खेप्नुपरेको थियो ।
पुष्पलाल प्रवासमा हुँदा
०२३ सालमा जेलबाट छुटेपछि प्राय: वर्षको एक पटक पुष्पलाललाई भेट्न वनारस वा दरभङ्गा जाने गर्थें । अरू साथीहरूले खानेकुरा वा पैसा लगिदिए पनि म पुस्तक र पत्रिका खासगरी उहाँको रुचिको विषयका सन्दर्भ सामग्री लिएर जान्थेँ । एक पटक पुष्पलालले नेपालको ठूलो नक्सा लिएर आउन भन्नुभयो । त्यो एक प्रकारले सर्वसाधारणकहाँ पुग्दैनथ्यो । लुकाएर वनारस पुर्याएको थिएँ । त्यसबाट उहाँ निकै खुसी हुनुभएको थियो ।
नेपाल आउने विदेशी पार्टीका मान्छे र पत्रकार जो उहाँसित सम्पर्क गर्थे, प्राय: उहाँले काठमाडाँैमा मेरो ठेगाना दिएर सहयोग गर्न भन्नुहुन्थ्यो । सो जिम्मेवारी प्राय: मैले पूरा गर्थेँ । नेपालस्थित चीनलगायत केही विदेशी नियोगहरूसित कहिलेकाहीँ उहाँको सन्देश र पत्र पुर्याउने काम पनि मैले गर्नुपरेको थियो ।
म वनारस पुग्दा पुष्पलालले बीपी कोइरालालाई भेटेर मात्र फर्क भन्ने गर्नुहुन्थ्यो । सारनाथ गएर बीपीसित पनि भेट गथ्र्यांै । एक पटक बीपीले सारनाथ निवासमा भन्नुभएको थियो, ‘०१७ सालको घटना पनि जेल परेँ, छुटेपछि चीनको सट्टा भारतमा शरण लिएर बसिरहेको छु भने म चीनविरोधी भएर होइन, देशभित्र सम्पर्क गर्न खुला सीमाबाट सजिलो हुन्छ भनेर सुविधाका लागि मात्र हो । तिमीले सक्छौ भने चिनियाँहरूलाई भनिदेऊ कि नेपालमा प्रजातन्त्रको पुनर्बहाली भयो भने त्यो व्यवस्था छिमेकी मित्र देश चीनको विरोधमा कहिल्यै पनि जाने छैन ।’प्रवासमा रहँदा पुष्पलालले प्रशिक्षणका बेला हामीलाई निरङ्कुश राजतन्त्रात्मक पञ्चायतविरुद्ध कम्युनिस्ट र काङ्ग्रेस मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्छ भनेर जोड दिनुहुन्थ्यो । उहाँ नेपालमा प्रथम गणतन्त्रवादी हुनुहुन्थ्यो ।
पुष्पलालको निधन हुँदा
०३५ साउन ७ ते भारतको दिल्लीस्थित गोविन्दवल्लभ पन्त अस्पतालमा पुष्पलालको निधन भएको समाचार सोही दिन बेलुका अल इन्डिया रेडियोबाट सुनेपछि म र निरमान नेवा:ले खाँदै गरेको खाजा छोडेर जिल्ला पार्टीसँग सम्पर्क गर्न घरबाट निस्क्यौँ । भरसक उहाँको शव काठमाडौँ ल्याउने र शोभा भगवतीमा विसर्जन गर्ने सल्लाह भयो । भोलिपल्ट त्रिभुवन विमानस्थलमा सैनिक र प्रहरीले कडा पहरा दिएर शव आउन नदिने भएपछि गौचरमा जम्मा भएका हामी कार्यकर्ताहरू र जनता अस्तु प्राप्त गर्न आतुर थियौँ । बुद्धिमत्तापूर्वक स्थलमार्गबाट लुकाएर अस्तु गौचर ल्याइपुर्याए त्यहाँ जनसहभागितामा अस्तु यात्रा शोभा भगवती पुर्याएर श्रद्धाञ्जली अर्पण गरेर त्यहीँ विसर्जन गर्यौँ ।
संयुक्त जनआन्दोलन विकसित गरी लोकतन्त्रको पुन:स्थापना गरेर पुष्पलालको सपना पूरा गर्न शोभा भगवतीमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यकर्ता र जनताले कटिबद्धता व्यक्त गरेका थिए । ०४६ सालको संयुक्त जनआन्दोलनबाट निरङ्कुश पञ्चायत व्यवस्था फाल्ने पुष्पलालको चाहना पूरा भयो । उहाँले परिकल्पना गरेको गणतन्त्र भने दोस्रो जनआन्दोलनपछि ०६५ जेठ १५ गते पूरा भयो । तर, नयाँ जनवादी नेपाल बनाउन नेपाली समाजलाई आमूल रूपमा रूपान्तरण गर्ने पुष्पलालको सपना पूरा गर्न भने थप प्रयास जारी
राख्नुपर्ने देखिन्छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply