सीमान्तकृत वर्गको आवाज
नेपाली समाजभित्र विद्यमान गरिबी, बेरोजगारी र जातीय भेदभावजस्ता पक्षहरू सदैव भयावह चुनौतीका रूपमा उभिँदै आएका छन् । असन्तुलित विकासको परिणामस्वरूप ग्रामीण भेग र सहर–बजारमा समेत गरिबी एउटा तिखो समस्याको रूपमा उभिएको छ । गरिबीले सीमान्त तहका जनतालाई यति धेरै पिरोलेको छ कि, उनीहरू हरेक छाक कसरी टार्ने भन्ने चिन्तनमा नै उभिइरहेका हुन्छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिदृश्यहरूमा केकस्ता घटना–शृंखलाहरू जन्मिइरहेका छन्, गरिबीबीच बाँचिरहेका जनतालाई ती पक्षहरूमा सोच्ने, सम्झिने समय नै हुँदैन । उनीहरू त आफ्नो दैनिक गुजारा कसरी चलाउने भन्ने ध्याउन्नामा नै केन्द्रित हुन्छन् ।
डेढ दशकयता नेपाली रंगकर्मसँग साइनो जोडेर क्रियाशील रहेका पुरु लम्सालको लघु–नाटक ‘आमा र आमाहरू’ले नेपाली समाजमा हुर्किरहेको गरिबीको सटिक चित्रण गरेको छ । गरिबीले घरपरिवारभित्र शान्ति र सौहार्दता मेटिन्छ नै, मानिसहरूलाई आमहत्याको दिशातिर उन्मुख हुन पनि बाध्य तुल्याउँछ । यो लघु–नाटक एउटा परिवारभित्रको गरिबी र अशान्तिको कथा हो । नेपाली समाजमा व्याप्त पुरुषवादी मानसिकतालाई दिनहुँ मद्यपानमा रम्ने र घरभित्रको समस्याप्रति बेखबर हुने एकजना पुरुषमार्फत् उजागर चाहेको देखिन्छ भने श्रीमान्को अव्यावहारिकता, प्रताडना खेप्न बाध्य आम नेपाली महिलाको पीडा त झनै छताछुल्ल पोखिएको छ । छोराको शिक्षा आर्जन गर्ने चाहनालाई गरिबीकै कारण दबाउन बाध्य भएकी एउटी महिलाको कथा मात्र यो नाटकमा अंकित छैन, एउटी महिलाले के कति बोझ बोक्न बाध्य हुनुपर्छ भन्ने स्पष्ट संकेत पनि नाटकले गरेको छ ।
‘आमा र आमाहरू’ लम्सालको दोस्रो नाट्यकृति ‘अर्को ओरालो’भित्रका आधा दर्जन नाटकमध्ये एउटा नाटक हो । जुन नाटकमार्फत् उनले नेपाली समाजको चरित्र केलाउने प्रयत्न गरेका छन् । ‘अर्को ओरालो’ चाहिँ पति र पत्नीबीचको सम्बन्धमा आधारित नाटक हो । भर्खरै बिहे बन्धनमा बाँधिएका पति र पत्नीबीच यौन सम्बन्धले महत्त्वपूर्ण अर्थ राख्छ । यौन सम्बन्ध शारीरिक इच्छापूर्ति मात्र होइन, कुनै पनि नवविवाहित जोडीले जीवनको रथलाई अग्रगति दिने आधारबिन्दु पनि हो । बिहे गरेपछि यौन सम्पर्कका लागि अनेक प्रयत्न गर्ने एउटी नारीले आफूले इच्छाएअनुरूप पतिबाट यौन सम्पर्क पाउँदैन । यौन सम्बन्धका लागि पत्नीले अनेक प्रयास गर्छिन्, तर पतिबाट उनको इच्छा पूरा हुँदैन । यौन सम्बन्धप्रति पतिको उपेक्षाभावको सिकार बनेकी ती नारीले निकै नै सोधपुछ गरेपछि मात्र पतिले आफू समलिंगी भएको खुलासा गर्छ । र, आफ्नो पति समलिंगी भएको थाहा पाएपछि ती नारी पतिको हत्या गर्ने तहसम्म पुग्छिन् । यो नाटकले एउटी महिलाभित्र व्याप्त यौन कुन्ठालाई उजागर गर्नुको साथै उनीभित्रको यौन मनोविज्ञानलाई कोट्याउने प्रयत्न गरेको महसुस गर्न सकिन्छ ।
‘वर्जित सपना’ले माओवादी जनयुद्धको झल्को दिलाउँछ । विगतमा जनयुद्धलाई सफल तुल्याउन धेरै नेपाली युवा–युवतीहरूले बन्दुक उचाले । धेरैले सहादत प्राप्त गरे र धेरै घाइते भए । तिनै घाइतेमध्ये धु्रव पनि एउटा त्यस्तो पात्र हो, जसले युद्धमा लडेकै बेला दुवै आँखा गुमाए, श्रवण शक्ति पनि आंशिक रूपमा गुमाए । तर, अचेल ती पात्र यस्तो दयनिय स्थितिमा बाँचिरहेका छन् कि, उनलाई मृत्यु प्यारो लाग्न थालेको छ । जीवनदेखि दिक्दार भइसकेका ती पात्रलाई एउटी महिलाले हेरचाह गरिरहेकी छे, बाँच्नका लागि उनको जीवनसंगी भनिएका ती महिलाले वेश्यावृत्तिको बाटो रोजेकी छे । र, उनलाई भोग्नेहरूमा अरू मानिसहरू त छन् नै, जनयुद्धमा होमिएका उनका पतिका साथीहरूले पनि उनलाई भोगिसकेका छन् । मूलत: यो नाटकमार्फत् लम्सालले माओवादी युद्धमा सामेल कार्यकर्ताहरूको दयनिय जीवनकथा देखाउन चाहेका छन् । तर, माओवादी छापामारहरूको दुई किसिमको जीवनकथा छ, एकथरि मोजमस्ती र आरामको जिन्दगी बाँचिरहेका छन् भने अर्कोथरि आफ्नी पत्नीले गुपचुप रूपमा वेश्यावृत्ति गरेर आफू पालिएको कारुणिक दृश्य–विम्ब मौजूद छ ।
‘मनको तिर्खा’ले यौन कुण्ठा सँगालेर बाँच्न बाध्य एउटी नारीको कामेच्छालाई उजागर गर्न खोजेको छ । खासगरी, सहरको व्यस्ततम परिवेशमा बाँचिरहेका महिलाहरू आफ्नो यौन इच्छा पूरा नहुँदा पतिसँगको सम्बन्ध टुटाउने र अर्कै पुरुषसँग सम्पर्क गाँस्न लालायित हुन्छन् । सहरी परिवेश र सांस्कृतिक माहोलले निम्त्याएको यौन कुण्ठा र विकृतिको राम्ररी चिरफार गर्ने दिशामा यो नाटक केन्द्रित छ र सफल पनि भएको छद्द । प्राय: लघु–आयतनका नाटक लेख्न माहिर लम्सालका अरू दुई नाटक ‘तीजको लहर’ र ‘राममायाका रहरहरू’ पनि आ–आफ्नो परिवेशगत हिसाबले सफल नाटकका रूपमा उभिएका छन् । ‘सीमान्तकृत सामाजिक विषयवस्तु र यथार्थपरक लेखन नै यिनको विशेषता हो’ लम्सालको लेखनबारे पछिल्लो गातामा उल्लेख यी शब्दहरूजस्तै उनी वास्तवमै सीमान्तकृत वर्गको आवाज बन्ने प्रयास गर्दै छन्, नाटकको माध्यमबाट ।a
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply